कमाइ खाने भाँडो बन्दै नेपालको राजनीति

भन्नलाई राजनीति भनेको मूलनीति भन्छन् र कुरो सही पनि होला तर हाम्रो देशको राजनीति त मूल नीति नभएर भूल नीति पो भै रहे जस्तो छ। यसरी राजनीतिको परिभाषा बिगार्ने हाम्रै नेताहरू हुन जसले राजनीतिलाई कमाई खाने भांडो मात्र बनाए। त्यसैले हाम्रो र हाम्रै जस्तो देशमा राजनीतिमा प्रवेश गर्न छु्ट्टै योग्यता चाहिन्छ, जुन अन्य देश संग मेल खादैन।

Advertisement 1

राजनीतिक दलमा लाग्ने योग्यताको कुरा गर्दा नेपालको राजनीतिक ईतिहांस हेर्नु पर्ने हुन्छ। यसरी सरसर्ति नेपालको राजनीतिक ईतिहांस हेर्दा प्रारम्भिक चरणका राजनीतिक योग्यतामा ईमान्दारिता, कर्तब्य निष्ठता, आदर्श र दूर दृष्टी जस्ता गुणहरू पर्ने गर्दथे। यस्तै योग्यताको प्रयोग गर्दै प्रारम्भिक कालमा राजनीतिक गतिविधि हुने गर्दथे। त्यति बेला सत्तामा बसेका नेताहरू सुध्रिन नचाहेको हुदा राजनीति गर्नेहरूले आफू सत्तामा जान शान्तिजन्य किसिमका गतिविधि गर्ने गर्थे। हुन त विश्वका अधिकांश देशका राजनीतिक परिवर्तनहरू शान्तिजन्य गतिविधिबाट भएका देखिदैनन्। हुन त भारतमा अंग्रेजलाई त्यहाबाट हटाउन महात्मा गान्धीको नेत्तृत्त्वमा अहिंसात्मक आन्दोलन सफल भयो भनिएको छ तर राजनीतिक आन्दोलनहरू कुन अहिंसात्मक र कुन हिंसात्मक हुन्छन् भन्ने कुरा समय, त्यहाको सत्ता र आन्दोलनकारीको प्रयासमा भर पर्छ। नेपालको सन्दर्भमा भन्ने हो भने जनता र सत्ता बीचको संघर्ष राणा शासनको अधिनायकवादको अन्त्यका लागि गरिएको राजनीतिक आन्दोलन पहिलो हो भन्न सकिन्छ।यो बेला राणा शासनको विरोध गर्नेहरू कतिलाई शहीद बनाईयो, कतिलाई बेपत्ता पारियो त्यो कुरा ईतिहासमा अंकित छ तर पनि यो आन्दोलनमा राजा र प्रजा नै एक भएर शान्तिपूर्ण तवरबाट राणाको जहानिया शासनको अन्त्य गरिएको हो। त्यति बेला राजनीतिक चेत भएको पार्टी नेपाली कांग्रेस मात्र थियो, अहिले जस्तो कम्युनिष्टहरू आन्दोलन गर्न सक्ने हैसियतमा थिएनन्। नेपाली कांग्रेस र राजा बीचको सहकार्यमा भएको संघर्षमा भारतको समेत सहयोग थियो र भारत एउटा छिमेकीको नाता मात्रका कारणले नभएर नेपालमा आफ्नो प्रभूत्व कायम रहेको देखाउन चाहन्थ्यो, जुन आज पर्यन्त छ। यसरी राजा र प्रजाको संयुक्त संघर्षले राणा शासन विरूद्धको संघर्ष अहिंसात्मक तवरबाट सम्पन्न भएर नेपाली जनताको हातमा शासन ब्यबस्था आयो।

२०१७ सालमा तत्कालीन राजाले संसदीय ब्यबस्था उपर धावा बोलेर राजाको अधिनायकवादी शासन सत्ता लागू गरे पछि एउटा प्रजातान्त्रिक राजनीतिक दलको नाताले नेपाली कांग्रेस राजनीतिक आन्दोलनमा उत्रियो। त्यति खेर अहिलेको जस्तो अन्य राजनीतिक दलहरूको अस्तित्व देखा परिसकेको थिएन तर केही मात्रामा कम्युनिष्टहरू नभएका हैनन् तर प्रजातन्त्रको विपक्षमा लाग्ने कम्युनिष्टहरू राजा तिरै लागेर नेपाली कांग्रेसले संचालन गरेको आन्दोलनको विपक्ष मै देखिए। यसरी नेपाली कांग्रेसले ०४५/४६ को आन्दोलन भन्दा अगाडि पंचायति ब्यबस्थाको विरोधमा एक्लै आन्दोलन जारी राख्यो। आन्दोलनका क्रममा राज्य पक्षबाट हिंसात्मक कृयाकलाप गरे पनि नेपाली कांग्रेसले आफ्नो शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिदै रह्यो र आफ्नो पार्टी संग साधन श्रोतको अभाव हुदा पनि सर्वसाधारणलाई धम्क्याएर चन्दाको नाममा असुली गर्नुको सट्टा राष्ट्रको ढुकुटी ओसार्ने जहाजलाई अपहरण गरेर सो खांचो पूरा गरेको थियो।

Advertisement 2

२०४६ सालमा जब नेपाली कांग्रेसको अगुवाईमा अन्य वाम घटक मिलेर संयुक्त आन्दोलन गरे अनि पंचायति ब्यबस्था ढल्यो र यो आन्दोलन समेत अहिंसात्मक नै थियो। राजनीतिको नाममा हिंसात्मक आन्दोलन कम्युनिष्ट पार्टीबाट हुने गरेको पाईन्छ। नेकपा मालेबाट गरिएको २०२८ सालको आन्दोलन होस् वा २०५२ सालबाट शुरू गरिएको माओवादी आन्दोलन होस् दुवै आन्दोलन हिंसामा आधारित आन्दोलन हुन्। हिंसा, काटमार, विष्फोटन सभ्य समाजमा नपच्ने तरीका हुन आन्दोलनका। मानिसलाई विचारबाट हैन भय र त्रासबाट परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता आजको यूग सुहाउदो मान्यता हैन, यो मान्यता जंगली मान्यता हो। आफ्नो हातमा शासन लिनको लागि जनमतको साहरा लिनुको सट्टा द्वन्द र आतंकको सहारा लिन खोज्नु कथित कम्युनिष्टहरूको एकमात्र मार्ग हो। यसैले कम्युनिजम् मा लाग्नको लागि हत्या, हिंसा र आतंकमा पोख्त हुनु पर्छ। धर्मलाई अफिम मानिने यो बिचारमा संस्कार, संस्कृति र परम्परालाई मान्यता दिईदैन। मनमा दया, ममता, करूणा नहुनु नै यसमा लाग्ने योग्यता हो। लुटपाट गर्ने, धम्क्याउने सीप यो दर्शनमा हुनु जरूरी मानिन्छ। अरूको तर्क नसुन्ने र आफ्नो कुरा पेलेरै भए पनि लागू गर्ने , तर्क वितर्क गर्ने लाई उनीहरूले लेण्डूप दोर्जेको नाम लिएर आफूहरू पन्छिन खोज्ने चलन छ।

त्यसै गरी आजभोली हामीले प्रायः सबै दलहरूमा कालाबजारी, हत्यारा, अपराधीहरूको प्रभावले ईमान्दार र कर्तव्यनिष्ट कार्यकर्ताहरू ओझेलमा पर्ने गरेको सुनिन्छ। अर्को शब्दमा भन्नु पर्दा राजनीतिमा अपराधिकरण भएको पाईन्छ। यसरी राजनीतिको योग्यतामा अपराध समेत पर्ने गरेको देखिन्छ। एउटा ब्यापारी केही वर्ष एउटा दलमा प्रवेश गर्छ अनि फेरि अर्कोमा जान्छ। जुन दल सरकारमा जान्छ त्यो ब्यापारी त्यसमै जान्छ। खासगरी त्यो ब्यक्ति खासमा ब्यापारीको नाममा कालोधन्दा गर्ने, कर छल्ने, ठगी गर्ने स्वभावको हुने गर्छ र कानूनी कारवाहीबाट बच्नको लागि राजनीतिको छाता ओड्छ त्यो पनि सत्ताको।

Advertisement 3

खासगरी हामीले हाम्रो राजनीतिलाई ब्यबसाय बनाएको हुनाले यसैबाट कमाऊ धन्दा गरेका छन् हाम्रा नेताहरूले। यो धन्दाको लागि ठग, अपराधी, कालाबजारियाको संगत जरूरी ठान्छन् हाम्रा राजनीतिज्ञले। त्यसो भएर यस्तो खुराफात गर्न सक्ने क्षमता पनि हाम्रो राजनीतिको योग्यता बन्न पुगेको छ। यसै गरी हाम्रो राजनीतिको योग्यतामा नाताबाद, फरीयावाद पनि पर्ने गरेको छ। यसैको लागि हामीले संविधानमा समानुपातिक र समावेशीको नाम राखेका छौ। हामीले अन्य ईमान्दार कार्यकर्ता भन्दा आफ्ना श्रीमतीहरुलाई योग्य ठान्छौ, कति केटी साथीहरू पनि यसमा पर्छन्, कतिका भाइ भतिजा समेत यसमा योग्य हुन्छन्। यसै गरी हाम्रा नेताको पकेटमा पर्न सक्ने क्षमता पनि अर्को योग्यता भित्र पर्छ। यसरी पकेटमा पर्न त्यति बेला सम्भब हुन्छ जब त्यो पकेटमा हात्तीले बास गर्छ।

धेरै अगाडिको कुरा नगरौ, पंचायती कालमा कलेजहरूबाट नेता उत्पादन हुने गर्थे। अहिले नेता हुने हरू त्यति बेला कै कलेजका उत्पादन हुन्। यसो भन्दै गर्दा हाम्रो पढाईलाई बुज्रूवा शिक्षा भन्नेहरू समेत सरकार प्रमुख भएको सन्दर्भमा कलेजबाट नेता उत्पादन हुन्थे भनी रहदा यो कुरा उनीहरूलाई दन्त्य कथा जस्तो लाग्न सक्छ तर सत्य कुरा भन्न के को लाज आजभोली शिक्षालयलाई पार्टी कार्यालय बनाईएकोले हाम्रा शिक्षालयबाट नेताहरू जन्मन सकेका छैनन्। यहाबाट केवल कार्यकर्ता मात्र जन्मेको हुदा आज हाम्रो देशको राजनीतिक अवस्था यस्तो गुज्रेको हालतमा देखिएको छ।

हामीले हाम्रो औपचारिक शिक्षालाई राजनीतिको योग्यताको आधार मान्न छोड्यौ, जसले हाम्रो राजनीतिले गन्तब्य पहिचान गर्न सकेन। हाम्रो राजनीति चुनाव मुखी भयो तर सेवा मुखी हुन सकेन, हाम्रो राजनीतिले जनताको पिर, पर्का र समस्या देख्न सकेन। किनभने हाम्रा नेताहरू हामी बीचबाट नछानिएर तस्कर, कालाबजारिया र अपराधीबाट छानिन पुगे। यसैले हामीले हाम्रो राजनीतिलाई स्वच्छ र कलंकरहीत नबनाए सम्म हामीले यसलाई देश र जनताको पक्षमा अनुवाद गर्न सक्दैनौ।

प्रकाशित :२०८० माघ २४, बुधबार ०९:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry