पार्टीका अधिवेशन र युवाको सहभागिता
अधिवेशनका हिसाबले अहिले चारवटा पार्टी चर्चामा छन्। ती मध्ये नेपाली कांग्रेसले आफ्नो कार्यकाल सकिएको साढे पाच वर्षका दिनबाट अधिवेशन शुरू गर्यो तर केन्द्रीय अधिवेशन बारम्बार सारी रहेकोले कहिले सकिने हो टुंगो छैन। प्रजातान्त्रिक पार्टी भएकोले यसका कार्यकर्तामा कसैको दवाव वा जवर्जस्त सहन गर्ने बानी नभएको र निर्णयमा अडिग रहन नसक्ने पार्टी नेत्तृत्त्वका कारण यस्तो परिस्थिति उत्पन्न भएको हुन सक्छ।अहिले जोगी देखे भैसी डराउने र भैसी देखे जोगी डराउने नेपाली उखान संग चरीतार्थ हुने गरी नेपाली कांग्रेसको अधिवेशन धरमर भै रहेको छ। तर पनि सन्निकट रहेको राष्ट्रिय सभाको निर्वाचनका कारण निर्वाचन आयोगको चेतावनीले सो पार्टीको नेत्तृत्त्वको चेत खुलेर होला निर्वाचन हुने लक्षण देखिदैछ।
नेकपा एमालेले पनि अधिवेशन गर्दै छ तर यो पार्टीमा अध्यक्ष ओलीले जे भन्यो त्यही हुने र अध्यक्षको आदेश पालना नगरे कारवाहीमा परिने डरले ओलीको मनोनयनलाई हांक दिने दुश्साहस कसैले गरेका छैनन्।त्यसै गरी मुखमा लोकतन्त्र र घाटी भन्दा तल तानाशाह हुने अभिलाषा बोकेको माओवादी केन्द्रले पनि आफूलाई चोख्याउन राष्ट्रिय भेलाको नाम दिएर कार्यकर्ताहरू जम्मा गर्न खोज्दै छ भने संवैधानिक राजतन्त्रको नारा लिएर अगाडि बढ्दै गरेको दक्षिणवादी दल राप्रपा पनि अधिवेशन गर्न तम्सिएको देखिन्छ। यहा नाम मात्रको प्रजातन्त्र हुनाले अधिवेशन पनि नाम मात्रका हुने गर्छन् ।महाधिवेशनको प्रकृया पारदर्शी बनाएको दल नेपाली कांग्रेसमा प्रतिस्पर्धाको नाममा सभापतिका उम्मेद्वार करीव आधा दर्जन देखिएका छन् तर यिनीहरू कसैले पनि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छैनन्।
हाल पार्टीमा देखिएका समस्या के के छन्? तिनीहरूको समाधान कसरी गर्ने? हाल विश्व संगै नेपालको प्रजातन्त्रमा देखिएका Challenges के के हुन्? तिनीहरूको समाधान कसरी गर्ने? पार्टीको गन्तब्य कहा हो? के के समस्याहरू गन्तब्य सम्म पुग्दा सामना गर्नु पर्छ र ती कसरी सामना गर्ने भन्ने विषयमा उम्मेद्वार भै रहेका ब्यक्तिको दृष्टि के हो? गएका संसदीय निर्वाचनमा के कति कारणले पार्टीको स्थान यो स्थितिमा रहन पुग्यो? यसलाई कसरी सुधार्ने र भविष्यमा सरकारमा जानु पर्दा पार्टीले कस्तो भूमिका खेल्ने भन्ने तर्फ आफ्नो सोच नै नबनाई पार्टीको नेत्तृत्त्वमा दावी गर्ने प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको छ।देशमा विद्यमान समस्याहरू तर्फ केन्द्रित हुनुको सट्टा अर्को गुट वा समूहलाई कसरी पाखा लगाउन सकिन्छ भन्ने ध्येयले काम गरेको जस्तो बुझिदैछ। यो रोग नेपाली कांग्रेस भित्र मात्र नभएर अन्य पार्टीमा समेत देखिएको छ।
त्यसै गरी अहिले राजनीतिमा थप अर्को विकृति देखा परेको छ, त्यो के भने निर्वाचन प्रणालीमा मतदाताले नेताको चयन गर्छन् तर यहां के देखियो भने नेताले मतदाता छनौट गरीरहेका छन्। यह त झगडियाले न्यायाधीश छाने जस्तो भै रहेको छ। नेपाली कांग्रेसमा कृयाशील सदस्यताको नाममा भएको दुरूपयोग र एमालेमा महाधिवेशनमा गरिएको मनोनयनले पंचायतकालीन गांऊ फर्के अभियानलाई बिर्साएको छ।
नेपालका राजनीतिक दलहरूले मतदातालाई दुहुनो गाई ठानेर जवर्जस्त चुनावमा मतदान गर्न र गराउन लगाउने प्रवृत्ति हावी हुदै गएको छ।
त्यसै गरी विद्यमान पार्टी नेत्तृत्त्वले आफूले लिएको पद छोड्न नचाहने प्रवृत्ति जुनसुकै पार्टीमा देखिएको छ। कम्युनिष्ट चरीत्र भएका पार्टीमा त यसो हुनु स्वभाविकै मानिन्छ तर प्रजातान्त्रिक भनिएका पार्टीमा समेत सत्ता हस्तान्तरण गर्ने कुनै छाटकाट देखिदैन। यसरी पद मात्र हत्याउने तर पार्टीलाई दिशा निर्देश गर्न नसक्ने नेत्तृत्वको चाहनाले आफ्नो पार्टीमा मात्र हैन अन्य पार्टीमा समेत विकृति निम्त्याउछ।
वास्तवमा पार्टीको अधिवेशन भनेको समय अनुसार पार्टीलाई विकसित गर्ने र पार्टीलाई निर्देशित गन्तव्यमा पुर्याउन सक्ने ब्यक्तिलाई पार्टीको नेत्तृत्त्वमा लैजाने उपयुक्त र अनिवार्य अवसर र माध्यम हो।तर आजभोली पार्टी महाधिवेशनलाई आफ्नो सत्ता कै निरन्तरताको माध्यम कसरी बनाउन सकिन्छ त्यता तिर अधिवेशनलाई डोर्याउदै गएको पाईन्छ। यस किसिमको चाहना जुनसुकै पार्टीको नेत्तृत्त्वमा रहेको पाईन्छ।
अनि यसरी हुने महाधिवेशनले राजनीतिक बजारमा रहेका र भिजन भएका ब्यक्तित्वलाई नेत्तृत्त्वमा लैजान्छ तर हाम्रो राजनीतिक बजारमा त्यस्ता ब्यक्तित्व जन्मेका छन् कि छैनन् सोचनीय स्थिति छ। नाम चलेका ठूला ठूला कलेज तथा विश्वविद्यालयबाट राजनीतिक फाटमा भावी नेत्तृत्त्वले जन्मने वातावरण पायो कि पाएन भनेर सोच्दा यसको जवाफ सकारात्मक पाईदैन। किनभने लामो समय देखि विद्यार्थी युनीयनको चुनावहरू हुन सकेको पाईदैन। अझ भनौ भने हाम्रो राजनीतिक नेत्तृत्त्व नै यस विषयमा उदासीन रहेको पाईन्छ। यसरी राजनीतिक बजारमै देखा नपरेको नेत्तृत्त्व महाधिवेशन गरेका कारणले मात्रै पाईने त हैन होला। यसैलाई निहु बनाएर पिण्ड खाने बेलालाई समेत हाम्रा नेताले राजनीतिमा दुरूपयोग गर्दैछन् जस्तो लाग्दैछ।
यसरी राजनीतिक नेत्तृत्त्वले आफ्नो स्वार्थ पूर्ति गर्ने माध्यमको रूपमा महाधिवेशनको दुरूपयोग गर्दै गर्दा सो पार्टीमा रहेका यूवा पुस्ता प्रतिकृयाविहीन हुने परिपाटीले निश्चय पनि राम्रो संकेत गरेको भने पाईदैन ।राजनीतिलाई चलायमान र समय सम्मत बनाउन नयां अबधारणाका संबाहक यूवाहरू अगाडि नबढ्ने हो भने समाजको परिवर्तकको रूपमा राजनीति अगाडि आउन नसक्दा मुलुक गतिहीन बन्न पुग्छ। त्यसैले निकट भविष्य मै हुन र गर्न गै रहेका महाधिवेशनहरूलाई बढी भन्दा बढी फलदायी बनाउन सबै पार्टीका युवा कार्यकर्ताहरू कुनै हालतमा चुक्ने छैनन् भन्ने अपेक्षा गरिन्छ।