सचिव थरी थरीका :- कोही एक दिने, कोही चार दिने
सरकारले ४ दिनपछि अवकाशमा जान लागेका एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन शुक्रबार होइन । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहिबार बस्दै आएको छ तर एक जना सहसचिवलाई सचिवमा बढुवा गर्नका लागि अस्ति शुक्रवार मन्त्रिपरिषद्को बैठक डाकियो र सोही बैठकले शंकरप्रसाद खराललाई सहसचिबाट सचिवमा बढुवा गर्ने निर्णय भयो ।
Advertisement 1
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा रामेश्वर दंगाल, दोश्रो नम्बरमा मुकुन्द्रप्रसाद निरौला र तेश्रो नम्बरमा खरालको नाम सिफारिस गरेको थियो । सरकारको निर्णय अनुसार गत शुक्रवार सचिवमा बढुवा भएका खराल (हिजो) मंगलबारबाटै अनिवार्य अवकाशमा गइसकेका छन् । त्यस दिन बैठकले उनलाई सचिवमा बढुवा नगरेको भए उनी सहसचिव पदमै अवकाश हुन्थें । मन्त्रिपरिषद्ले पालो मिचेर तेश्रो नम्बरका खराललाई सचिव बनाएर राज्यकोषमा भार थपेको छ । कनिष्ठ सहसचिवलाई ४ दिन भए पनि सचिव बनाएर घर पठाउने उदेश्यले अकस्मात मन्त्रिपरिषद्को बैठक डाकेर उनलाई सचिवमा बढुवा गरेको हो । जागिरे जीवनको लामो समय लोकसेवा आयोग,योजना आयोग,आन्तरिक राजश्व विभागमा बिताएका उनी ०४४ साल साउन १ मा सेवा प्रवेश गरेका थिए । ०६९ फागुन २६ मा सहसचिवमा पदोन्नति भएका उनै खरालकै लागि अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको दरबन्दी समेत थपेको थियो ।
Advertisement 2
सचिवमा बढुवा भएका खरेल पदस्थापन समेत नभइ अवकाशमा गएका छन् । चार दिनका लागि मात्रै सचिव बढुवा भएपनि खरालले पूर्वसचिवको सामाजिक प्रतिष्ठा प्राप्त गर्नेछन् भने उनको पेन्सनपट्टा सचिवबाट सेवा निवृत्त भएको बन्नेछ । यद्यपि, दुई–चार दिन सेवा अवधि बाँकी रहेकालाई बढुवा गरेर पदस्थापन गर्न, उसले कार्यभार सम्हाल्न नपाउँदै सेवा निवृत्त हुने हुँदा यसरी गरिने बढुवाको औचित्य पुष्टी गर्न गाह्रो हुन्छ ।
कर्मचारीहरुको इच्छा अनुसार मन्त्री र सरकारहरुले कसरी निर्णय गर्दछन् र राज्यकोषमा भार थप्छन् भन्ने उदाहरण खराल एक्ला पात्र चाहिँ होइनन् । हालै राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्त भएका महाश्रम शर्मा एक दिनका लागि सचिव बढुवा भएका थिए । उनले सचिव भएर हाजिर गर्न पनि पाएनन् । उनको हकमा त अझैं दिउँसो उनी सेवा निवृत्त भएर बिदाई भए । साँझ बसेको मन्त्रिपरिषद् बैठकले राती १२ बजेसम्म उनी सचिवमा बहाल गरेको थियो । सहसचिवबाट उनलाई सचिवमा उकालिँदा एकातिर प्रतिष्ठा पाए अर्काेतिर पेन्सनपट्टा । त्इही सचिव बनाइएको कारण अहिले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष खान सजिलो बनाइयो ।
Advertisement 3
महाश्रम शर्माझैं अर्थ मन्त्रालय र मातहतका विभागमा लामो समय काम गरेका सूर्य आचार्य पनि उसैगरी बढुवा भए । उनी तीन दिनका लागि सचिव बढुवा भएका थिए । यस अघिको सरकारले दुई साता पछि अवकाशमा जान लागेका बीर बहादुर राईलाई सचिवमा बढुवा गरेको थियो । सहसचिवमै घर जाने राईलाई नियम मिचेर सचिवमात्र बनाइएन अवकाशको केही साता पछि नै लोकसेवा आयोगमा पठाइयो । उनी पनि पदस्थापन नै नभइ अवकाशमा गएका थिए । उसैगरी श्री आचार्यका लागि पनि नियम मिचेर केही साताका लागि सरकारले सचिव बनाएको उदाहरण छ ।