खाद्य प्रदूषणबाट स्वास्थ्यमा पर्ने असर

खानेकुरा नभई हाम्रो जीवन सम्भव छैन । शरीरलाई निरोगी बनाइराख्न हामीलाई स्वस्थ, स्वच्छ र सन्तुलित खानाको आवश्यकता पर्दछ । आजकाल नाफा कमाउन खानामा विभिन्न अखाद्य, हानिकारक कुराहरु मिसाउने, खानालाई आकर्षक बनाउन अखाद्य रंगहरुको प्रयोग गर्ने, खानेकुरालाई स्वादिलो बनाउन अजिनामोटो लगायत विभिन्न रासायनिक बस्तुहरु मिसाउने, सडेगलेका बस्तुहरु पनि बिक्री गर्ने चलन बढ्दै गएको छ ।

Advertisement 1

हावा र पानी पश्चात् हामीलाई नभई नहुने अतिआवश्यक बस्तु खाना नै हो । शरीरको आवश्यक पोषणको लागि र रोगका जीवाणुसँग जुध्न हामीलाई मिसावटविनाको प्रदूषणरहित खानाको आवश्यकता पर्दछ । हाम्रो शरीरको रोग निरोधक क्षमता हामीले दैनिक उपभोग गर्ने खानामा अन्तरनिहित पोषक तत्वहरु जस्तै कार्बोहाइड्रेट, प्रोटिन, फ्याट (चिल्लो पदार्थ), भिटामिन, र खनिज पदार्थहरुको मात्रा र शुद्धतामा निर्भर गर्दछ । राम्रो स्वास्थ्यको लागि हाम्रो भोजनमा यी आवश्यक पोषक तत्वहरु सन्तुलित मात्रामा हुनु जरुरी छ । हामीले खाने खानामा यी तत्वहरुको मात्रामा कुनै कारणले कमी या बढी हुन गएमा हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्न जान्छ ।जब हाम्रो शरीर अस्वस्थ रहन्छ, हामीले आफ्नै लागि पनि केही गर्न सक्दैनौं । आफ्नो जीवन आफैंलाई भारी हुन्छ । अरुको हितको लागि, समाज र राष्ट्रको लागि त सोच्न पनि सक्दैनौं । किनकि स्वस्थ चिन्तनको लागि स्वस्थ मनको आवश्यकता पर्दछ र स्वस्थ मनको लागि स्वस्थ शरीरको आवश्यकता पर्दछ । स्वस्थ शरीरको लागि स्वस्थ र सफा खानेकुरा खानु पर्दछ । त्यसको लागि हामीलाई खाद्य गुणस्तरबारे जानकारी हुनु आवश्यक हुन्छ । खाद्य गुणस्तरमा आउन सक्ने समस्याहरु जस्तै खाद्य मिसावट, खाद्य प्रदूषण र खाद्य विषाक्तताकोे बारे पनि जान्नु जरुरी हुन्छ ।

अनुचित आर्थिक लाभको लागि खाद्य सामग्रीहरुमा अखाद्य बस्तु मिसाउनुलाई खाद्य मिसावट भनिन्छ। वातावरणीय तत्वहरु जस्तै पानी, हावा र माटोको माध्यमबाट खाद्यचक्रमा अनावश्यक बस्तुहरुको प्रवेशलाई खाद्य प्रदूषण भनिन्छ । अनि बासी खानेकुरा अथवा लामो समयदेखि असुरक्षित ढंगले राखिएको खानेकुरामा सूक्ष्म जीवाणुहरु प्रवेश गरी उक्त खानेकुरा सडाइदिन्छन् र त्यहाँ केही विष तत्वहरु उत्पन्न हुन जान्छन् । त्यस्ता खानेकुरा उपभोग गरिएको खण्डमा रोग लाग्न सक्दछ यसलाई खाद्य विषाक्तता भनिन्छ ।समग्रमा भन्नुपर्दा खाद्य प्रदूषित तत्वहरु रासायनिक र जैविक गरी दुई प्रकारका हुन्छन् । यी विषाक्त तत्वहरु वातावरणीय तत्वहरुमार्फत् अथवा मिसावटको माध्यमबाट खाद्य सामग्रीहरुमा प्रवेश गर्दछन् । केही विष तत्वहरु भने प्राकृतिक रुपमै केही खाद्य सामग्रीहरुमा प्रचुर मात्रामा रहेका हुन्छन् । यी तत्वहरुको बारेमा सबैले जानकारी राख्नु स्वास्थ्यको लागि अति आवश्यक कुरा हो । यहाँ केही महत्वपूर्ण खाद्य प्रदूषित तत्वहरु, मिसावटकारी तत्वहरु, सूक्ष्म जीवाणुजन्य विषहरु र प्राकृतिक जैविक विषाक्तताको बारेमा केही जानकारी दिन खोजिएको छ ।

Advertisement 2

प्रदूषित खाद्य तत्वहरुको रुपमा पाइने प्रमुख रासायनिक तत्वहरु मध्ये फ्लोराइड, नाइट्रेट, कीटनाषक विषादीहरु, रेडियोधर्मिक आइसोटोेपहरु, लेड, क्याड्कियम, मरकुरी आदि महत्वपूर्ण मानिन्छन् । फ्लोराइड दाँतको लागि नभई नहुने तत्व हो । यो चिया, चना, मसला, गहुँ आदिमा पनि पाइन्छ तर जुन ठाउँको पानीमा १.५ पिपिएमभन्दा बढि फ्लोरियम पाइन्छ, त्यो ठाउँका मानिसमा यस तत्वले हाड सम्बन्धी समस्या पैदा गर्न सक्दछ । त्यसबाट बच्न त्यहाँका जनताले कागती तथा अमिलो जातको फलफूलहरुको सेवन गर्नु उपयुक्त हुन्छ । किनकी भिटामिन ‘सी’ले फ्लोरिक क्लोराइडको विषाक्ततालाई कम गरिदिन्छ ।
जब कीटनाशक विषादी खेतबारीमा प्रयोग गरिन्छ, त्यसको केही मात्रा अवशेषको रुपमा खाद्य बस्तुमा मिसिएर बसेको हुन सक्दछ । त्यस्ता बस्तुहरुको सेवनले कालान्तरमा हामीमा स्नायु सम्बन्धी, श्वासप्रश्वास सम्बन्धी, पाचन प्रणाली सम्बन्धी, प्रजनन प्रणाली सम्बन्धी समस्या खासगरी बाँझोपन र क्यान्सर जस्ता घातक रोगहरु, घाउखटिराहरु अनि मृगौला र कलेजोलाई कमजोर तुल्याउने जस्ता समास्याहरु उत्पन्न गराउँदछन् ।

लेड (सिसा)को मात्रा हाम्रो शरीरमा प्रति १०० ग्राम रगतमा ४० माइक्रो ग्रामभन्दा बढी मिसिन गएमा यसले हेमोग्लोबिन उत्पादन प्रक्रियालाई अवरुद्ध पार्दछ । फलस्वरुप शरीरमा रक्तअल्पतालाई नित्याउन सक्दछ । यो तत्व पानी र पेन्टको माध्यमबाट खाद्य सामग्रीहरुमा प्रवेश हुन सक्दछ । क्याडमियम भन्ने तत्व शरीरलाई कत्तिपनि आवश्यक नपर्ने वस्तु हो । यो हाम्रो शरीरमा २० देखि ३० ग्राममात्र प्रवेश गरेमा पनि ओष्टिओमाल्सिया (हाड नरम हुने) भन्ने रोग लाग्न सक्दछ ।हामी टिनको बट्टामा धेरै प्रकारका खाने कुराहरु राख्ने गर्दछौं । यदि हाम्रो खानामा टिनको केही परिमाण घुल्न गयो र हामीले २ देखि ३ ग्राम प्रतिदिन भन्दा बढी लगातार एक हप्तासम्म सेवन गर्न पुग्यौं भने यसले हाम्रो शरीरमा विषको काम गर्न पुग्दछ र हामीलाई मार्न पनि सक्दछ । खासगरी अम्लीयपनका खानेकुराहरु टिनका भाँडामा बिलकुल राख्नु हुदैँन ।

Advertisement 3

चाँडै धनी हुन व्यापारीहरुले खाद्यबस्तुहरुमा अखाद्य बस्तुहरु मिसावट गरी उपभोक्ताहरुको स्वास्थ्य बर्बाद गरेका हुन्छन् । कहिलेकाहीँ तिनीहरुले तोरीको तेलमा आर्जेमोन तेल (तोरी जस्तै कालो गेडा हुने बिरुवाको तेल) मिसाएर बेच्ने गर्दछन् । जसको सेवन लगातार १–३ महिना सम्म गरेमा खुट्टा, तिघ्रा र अनुहार सुन्निने रोग, आखाको ग्लुकोमा (अन्धो पनिहुनसक्ने) र कलेजो सुन्निने रोग लागि मर्ने सम्भावना हुन्छ । त्यसैगरी सेतो तेलको नामबाट चिनिने र गन्ध नभएको सिथर तरल बस्तुलाई वनस्पति घिउ र तोरीको तेलमा मिसाई बेच्ने गरिन्छ, जसको अत्यधिक सेवनले पक्षाधात जस्तो घातक रोग उत्पन्न गराउँछ ।

असुरक्षित ढंगले भण्डारण गरिएको खानेकुरा खाँदा पनि हामीलाई समस्या हुन्छ । राम्ररी भण्डारण नगरिँदा सूक्ष्म जिवाणुहरु जस्तै ब्याक्टेरिया, ढुसी आदिको कारणबाट खाद्य बस्तुमा बिष तत्वहरु पैदा हुन जान्छन् । केही जीवाणुहरुले अनुकूल ताप र आद्र्रता पाएमा खाद्य सामग्रीहरुमा प्रवेश गरी तिनलाई सडाई विष तत्व उत्पन्न गर्दछन् । त्यस्तो प्रदूषित खानेकुरा खाँदा हामीमा रोग लाग्दछ । जस्तै कोलेस्ट्रिडियम बोटुलीनम तथा स्टाफीलोकोकी भन्ने ब्याक्टेरियाले क्रिम, खीर, सस, दूध, अण्डा, मासु आदि खाद्य बस्तुमा प्रवेश गरी कहिलेकाहीँ त छ घण्टाभित्रै खानेकुरालाई विषाक्त बनाउँछन् । यस्ता बासी खानेकुरा खानाले उपभोक्ताको ज्यानै जान सक्दछ । दशैंमा मासु धेरै दिनसम्म राखी खानाले र मिठाहरु पनि पुरानो खानाले यस्तो समस्या हुन सक्दछ ।

प्राकृतिक रुपले खाद्य बस्तुमा पाइने विष तत्वमध्ये सोलामिन, गोसिपोल, ओक्जालीक एसीड, युरिसिक एसिड आदि प्रमुख मानिन्छन् । सोलामिन एक प्रकारको ग्लुको अल्कलोइड विष हो । यो कालो दाग लागेको तथा घामले गर्दा हरियो भएको आलुमा पाइन्छ । यसले पखाला लाग्ने तथा पेट दुख्ने गर्दछ । गोसिपोल फिनोलिक यौगिक हो, जुन कपासको बीउमा पाइन्छ । यो खाने कुरामा मिसिएमा मान्छे, भेंडा र सुंगुरलाई विष लाग्दछ । ओक्जालिक एसिड प्याज, अमला, खेसरीको दाल र चनामा प्रशस्त पाइन्छ । यी खाद्य बस्तुहरु सधैं अत्यधिक उपभोग गर्ने उपभोक्तालाई मृगौलामा पत्थरी हुन सक्दछ । त्यस्तै युरिसिक एसिड सरसांैको गेडा मिसेर पेलेको तोरीको तेलमा पाइन्छ, अत्याधिक सेवनले आँखाको दृष्टि कम हुने रोग लाग्न सक्दछ । माथि उल्लेखित खाद्य प्रदूषणले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर गर्ने हुँदा हरेक उपभोक्ता यसप्रति अत्यन्तै सचेत बन्नु पर्दछ । सचेत उपभोक्ताहरुले नै खाद्य बस्तुमा हुने हरेक खालको मिसावट र प्रदूषणबारे अन्य व्यक्तिहरु बीच चर्चा–परिचर्चा गरी सिंगो समाजलाई सचेत तुल्याई सबैलाई स्वस्थ बनाउन कोसिस गर्नु पर्दछ ।

प्रकाशित :२०७८ माघ ४, मंगलवार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry