अब निजामतीमा पनि श्रेणीगत हटाएर तहगत व्यवस्था

सरकारले निजामती सेवामा पनि तहगत व्यवस्था लागू गर्ने अन्तिम तयारी गरिरहेको छ । निजामती सेवामा अहिले रहेको श्रेणीगत व्यवस्थालाई हटाएर तहगत व्यवस्था गर्न लागिएको हो । सरकारले श्रेणीगत व्यवस्थालाई खारेज गर्दै सबै कर्मचारीलाई तहगत रूपमा रूपान्तरण गर्न लागिएको हो ।
Advertisement 1
अहिले स्वास्थ्य सेवादेखि संस्थानहरू र प्रदेश, स्थानीय तहमा समेत तहगत व्यवस्था लागू भइसकेको छ । यद्यपि निजामती सेवामा श्रेणीगत व्यवस्था भएका कारण सबै सेवामा एकरूपता ल्याउन यस्तो व्यवस्था लागू गर्न खोजिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अहिले निजामती प्रशासनमा कार्यालय सहयोगीदेखि नायव सुब्बासम्मका कर्मचारीलाई राजपत्र अनङ्कित र शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीलाई राजपत्राङ्कित तृतीयदेखि विशिष्ट श्रेणीसम्म विभाजन गरिएको छ । यस्तै अहिले स्वास्थ्य सेवा र सार्वजनिक संस्थानमा ६ र ७ तहमा कार्यरत कर्मचारीलाई शाखा अधिकृत ८ र ९ तहका कर्मचारीलाई उपसचिव, १० र ११ तहलाई सहसचिव र १२औँँ तहलाई विशिष्ट श्रेणी वा सचिवको जिम्मेवारी प्रदान गरिँदै आएको छ ।
Advertisement 2
श्रेणीगत व्यवस्थामा माथिल्लो श्रेणी र तल्लो श्रेणीबीच सौहार्द सम्बन्ध नभएको र प्रशासन सेवाबाट पेलिएको कर्मचारीहरुभित्रै गुनासो सुन्न पाइन्छ । कर्मचारीबीच एउटै प्रणाली राख्दा कुनै पनि कर्मचारीबीच विभेद नहुने र कर्मचारीको मनोबल उच्च भई सेवा प्रवाहमा समेत गुणस्तर आउनेछ ।
तीनै तहबीच प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, एकअर्को तह र सेवाबीच प्रशासनिक सहयोग आदानप्रदान गर्न र सबै कर्मचारीको वृत्ति विकासमा एकरूपता ल्याउन सबै सेवामा तहगत प्रणालीको व्यवस्था गर्ने प्रारम्भिक छलफल भएको मन्त्रालयले जनाएको छ ।