सामान्य प्रशासन मन्त्रालयसँग छैन वैदेशिक अध्ययनमा गएका कर्मचारीको विवरण

 

Advertisement 1

कोही जागिरे जीवनभर एक चोटी प्लेन चढ्न नपाउने,विदेशी भूमि टेक्नै नपाई अवकाशमा जाने । केही अध्ययन,सेमिनारका नाममा दर्जनौ पटक विदेश डुल्ने,तीमध्ये केही उतै भासिने ।
सरकारी कोटाबाट अध्ययन बिदामा चीन,अमेरिका,जापान,अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका मुलुकमा पुगेका कर्मचारी उतै बेपत्ता हुने सिलसिला बढ््दो छ ।
फितलो कानुनका कारण कर्मचारीमा यस्तो मनोबल बढ्दै गएको छ । निजामती सेवा ऐनको दफा ४० (ख)मा विदेशमै बेपत्ता हुने कर्मचारीमाथि बर्खास्त गर्ने र हालसम्म सरकारबाट लिएको रकम असुलउपर गर्ने गरी कारबाही प्रक्रिया अघि बढाउनु पर्ने भए पनि भगौडा कर्मचारीलाई बर्खास्त मात्र गर्न सकिएको छ । उनीहरुबाट असुल उपर गर्न नसकिएको पशुपक्षी मन्त्रालयका एक अधिकारीले सुनाए ।
राज्यले लाखौं लगानी गरेर विदेश पढ्न पठाएकाहरु उतै भासिनेक्रम बढु्न थालेसँगै सरकारका लागि टाउको दुखाईको बिषय बन्न थालेका छ । विशेष गरी प्राविधिकतर्फका कृषि,वन,स्वास्थ्य सेवाका कर्मचारीहरु पीचएडी गर्न भन्दै वैदेशिक अध्ययनका नाममा विदेशिने र स्वदेश नफर्कने रोग बढ्न थालेसँगै सरकारी अधिकारीहरुको टाउको दुखाईको बिषय बन्न पुगेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनका एक अधिकारीका अनुसार,यसरी अध्ययन बिदा लिएर उतै पलायन हुने कर्मचारीको संख्या ५ सयभन्दा माथि छ । विशेष गरी चीन,अमेरिका,कोरिया,क्यानडा लगायतका मुलुकहरुले नेपालबाट हरेक बर्षजस्तो सयौंका संख्यामा कर्मचारीलाई वैदेशिक अध्ययनको नाममा लैजादै आएको छ । सरकारी सुविधामा विदेश अध्ययनमा जाँदा फर्केर राष्ट्रको सेवा गर्ने कबुलियत गरेर सरकारकै कोटामा विदेश जाने, तर उतै बेपत्ता हुने प्रवृत्ति कतिसम्म डरलाग्दो छ भने अघिल्लो बर्षमात्र कृषि मन्त्रालयका ११ प्राविधिक कर्मचारी विदेशबाट फर्किएनन् ।

Advertisement 2

वन सेवाका झण्डै आधा दर्जन कर्मचारी उसैगरी विदेश भासिए ती नेपाल फर्किएनन् । यसरी हराउनेमध्येका एक हुन्, खानी तथा भूगर्भ विभागका इन्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर । जो असाधारण बेतलबी बिदा स्वीकृत गराएर १८ जेठ २०६७ नेदरल्याण्ड हानिए । ११ बर्ष व्यतित भइसक्दा समेत उनी सम्पर्कमा आएका छैनन । तीन बर्षको अध्ययन बिदा स्वीकृत गराएर अमेरिका हानिएका अर्काे जियोलोजिस्ट रोशन कोइराला पनि भासिए । स्वदेश फिरेनन् । भूमी व्यवस्था मन्त्रालयका प्रमुख नापी अधिृकत नवराज सुवेदीले पाँच वर्षको असाधारण बिदा लिएर अष्ट्रेलिया हानिएका अझैं स्वदेश फर्किएका छैनन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बाली संरक्षण अधिकृत भीम चौलागाईं यसैगरी वैदेशिक अध्ययनका नाममा विदेशिएर हराएको बर्षाै भयो । सम्पर्कमा नआएपछि उनको नाममा हालै मात्र पत्रिकामा सूचना प्रकाशन गरेको छ मन्त्रालयले । कृषि मन्त्रालयकै ११ कर्मचारी सम्पर्कबिहिन भएपछि ती माथि कारवाहीको डण्डा स्वरुप जागिरबाटै बर्खास्त गरेको छ मन्त्रालयले । बर्खास्त भएकामध्ये उपसचिव खड्गसिंह विष्टसहित,पशु विकास अधिकृत यादव शर्मा बजगाईं,वागवानी विकास अधिकृत सुरेश घिमिरे लगायत छन् ।

Advertisement 3

वैदेशिक अध्ययनका नाममा मात्र होइन तालिमका नाममा समेत सरकारले गरेको लगानी बालुवामा पानी सरह हुँदै आएको छ । तालिमका सिलसिलामा विदेश पुगेर फर्किए पनि तालिम अनुसारको जिम्मेवारी नपाउने हुँदा ती कर्मचारीबाट नतिजा त परको कुरा व्यक्ति बन्ने तर राज्यले केही प्रतिफल लिन नसक्ने स्थिती छ । जस्तो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक अनुसार आर्थिक बर्ष ०७५ / ७६ मा १६१ कर्मचारी वैदेशिक अध्ययन भ्रमणमा निस्किएकोमा ७६/ ७७ मा ११७ जना र ७७/ ७८ मा ५८ जना विदेश पुगेका छन् । यस्तै यही अवधिमा अध्ययन विदा लिएर ०७५/ ७६ मा १५ जना, ७६/७७ मा  १७ जना र अघिल्लो आर्थिक बर्षमा ५ जना अध्ययन विदा स्वीकृत गराएर जापान,अमेरिका,बेलायत,चीन,मलेसिया लगायतका मुलुकमा पुगेका छन् ।

कुन मन्त्रालयबाट कति कर्मचारी विदेश गए,कति फर्किए ? यस्को एकीन विवरण अरु मन्त्रालयले सामान्य प्रशासनलाई उपलव्ध गराउनु पर्ने भए पनि उपलव्ध गराएका छैनन । अन्य मन्त्रालयहरुमै बुझ्न खोज्दा अधिकांश मन्त्रालयको कर्मचारी प्रशासन शाखाले अध्ययनका नाममा विदेश गएर नफर्किने कर्मचारीको विवरण लुकाउने प्रयास गरेका छन ।

प्रकाशित :२०७८ मंसिर १५, बुधबार ०८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry