कर्मचारीतन्त्रमा विकृत हुनुको कारण यसमा राजनीतीककरण बढी हुनु हो
कर्मचारीतन्त्रमा विकृत हुनुको पहिलो कारण यसमा राजनीतीककरण बढी हुनु हो। राजनीतिकर्मीहरूको कर्मचारीतन्त्रमा चाख बढेको छ। उनीहरूले आफू अनुकूल व्यक्तिहरूको हितमा मात्रै सोच्न थाले। अझ आफ्ना अनुचर भनिएकाहरूलाई आकषिर्क आकर्षक ठाउँमा पठाउने खेल हुन थाल्यो। दोस्रो, कर्मचारीहरू स्वयं राजनीतिमा लाग्ने होडबाजी तीव्र छ। यससँगै कर्मचारी युनियनहरू राजनीतिक दलहरूका भ्रातृ र शुभेच्छुक संस्थामा रूपान्तरित हुने दृश्य देखिन थाल्यो। सेवाग्राहीको राजनीति त अझ भयानक छ। जब सेवाग्राहीसँग राजनीतिक व्यवहार हुन थाल्छ, तब आमनागरिकको दृश्यमा कर्मचारीतन्त्र ठीक भएन भन्ने मान्यता बस्न पुग्छ। जब नागरिकले सेवा पाउनुपर्ने कार्यालयमा पनि राजनीति हुन्छ, तब संस्थाको औचित्य समाप्त हुन्छ। राज्यले निर्माण गर्ने नीतिमा राजनीति हुन्छ, तर राज्यले प्रदान गर्ने सेवाप्रवाहमा राजनीति हुनु दुर्भाग्यपूर्ण हो। कर्मचारी संघ या युनियनसँग आबद्ध कर्मचारीहरूले फरक राजनीतिक आस्था भएकाहरूलाई सेवाप्रवाहमा विलम्ब गरिदिने या महँगो पारिदिने प्रवृत्ति छ। दलहरूले यस्ता विकृति चाँडोभन्दा चाँडो सच्याउनेतिर नलाग्ने हो भने कर्मचारीतन्त्रमा यो खतरनाक विषयमा रूपान्तरित हुने खतरा छ।