प्रजातन्त्रको अनुभूति जनतालाई कहिले होला ?

वि सं. २००७ सालमा जनताको ठूलो बलिदानी र तत्कालीन राजा त्रिभुवनकोसमेत प्रयासमा राणा शासनको अन्त्य भई प्रजातन्त्र आयो । गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथचन्द र शुक्रराज शास्त्री जस्ता महान व्यक्तिहरु त शहीद नै भए । जनताको ठूलो बलिदानीबाट प्राप्त प्रजातन्त्रको गला निमोठ्ने काम ०१७ सालमा राजा महेन्द्रले गरे र निरकुंश पञ्चायती व्यवस्था लादे । त्यसको व्यापक विरोध भयो जनताको तर्फबाट र २०३६ सालमा पञ्चायती व्यवस्थाकै विरुद्धमा आन्दोलन भयो । आन्दोलनको दबाबका कारण राजा वीरेन्द्रले जनमत संग्रहको नाटक गरे र पुनः पञ्चायती व्यवस्थालाई जिताएर निरंकुशतालाई नै निरन्तरता दिए । पछि २०४६ सालमा फेरि जनआन्दोलन भयो र राजालाई बहुदलीय व्यवस्था स्वीकार्न र अपनाउन बाध्य बनायो । राजा वीरेन्द्रको हत्या पश्चात् फेरि राजा ज्ञानेन्द्रले निरंकुशता लादे । त्यसको प्रतिकारमा पनि २०६२ र ०६३ मा जनता आन्दोलन गर्न बाध्य भए र अहिले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।

Advertisement 1

यो अवधिमा बलिदानी गर्ने नेपाली जनताले त केही पाए जस्तो भने लाग्दैन । बरु निरंकुश पञ्चायतीराजलाई मलजल गर्नेहरु, बहुदलीय प्रजातन्त्रको नै गला निमाठ्नेहरुले नै लोकतन्त्रमा पनि मालामाल हुने वातावरण पाएका छन् । कोही मन्त्री भए, कोही प्रधानमन्त्री त कसैले सभामुखको बराबरको मान–सम्मान पनि पाए । यो नेपाली जनताले टुलुटुलु हेरिरहेकै अवस्था हो ।

हाम्रो देशसँगै स्वतन्त्र भएका या निरङ्कुशताबाट मुक्त भएका विश्वका कैयांै मुलुकहरुले आर्थिक, सामाजिक र विज्ञान प्रविधिको क्षेत्रमा ठूलो प्रगति हासिल गरे । ती मुलुकका जनता आधारभूत आवश्यकताहरु (खाने, लाउने, बस्ने, स्वास्थ्य उपचार, शिक्षा आदि) परिपूर्तिका समस्याबाट त पूर्णरुपेण मुक्त भएका छन्् । साथै स्वतन्त्रता, समानता र मानवअधिकारको समेत पूर्ण अनुभूति गर्ने अवसर प्राप्त गरी सुखी जीवनयापन गर्न पाएका छन् ।

Advertisement 2

त्यतिबेलै स्वतन्त्र भएको छिमेकी भारतले पनि धेरै प्रगति गरिसकेको छ । तर नेपाली जनताले एकतन्त्रीय जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रको विरुद्धमा पटक–पटक आन्दोलन गरेर, कैयौंपटक बलिदानी दिएर लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेपनि गाँस, बास, कपास, स्वास्थ्योपचार, शिक्षा आर्जन जस्ता आधारभूत अवसरबाट नै वन्चित हुनु परेका जनता अझै कैयौं छन् भने स्वतन्त्रता, समानता र मानवअधिकारको प्रत्याभूतिको अवस्था पनि मजबुत बन्न सकेको छैन ।
प्रजातन्त्र, लोकतन्त्र या गणतन्त्र जे प्राप्त भए पनि के भो त ? जनताले त्यसको अनुभूति गर्न पाउनुप¥यो नि ! त्यो हुन सकेको छैन । भोकमरीले विकट क्षेत्रका जनता अहिले पनि मरेका छन्, सामान्य रोगको पनि उपचार हुन नसकेर गरीब जनता मरिरहेकै छन्, रोजगारीको खोजीमा युवाशक्ति पलायन भइरहेका छन् । गाउँहरु खाली छन्, बूढाबूढी, केटाकेटी, बेसहाराहरुले सहारा पाउन सकेका छैनन् ।
शिक्षा धन हुनेका लागि मात्र भएको छ, रोजगारी पहुँचवालाका लागि मात्र भएको छ । न्याय पनि पैसामै तौलेर मात्र पाइन्छ । मुन्द्रे, जुल्फेहरुको मार कति बेला कसले भोग्नुपर्ने हो ? भन्न सकिने अवस्था छैन । जताततै छोटे हुन् या बडे डनहरुको नै राज छ । उनीहरुबाट कोही अन्यायमा प¥यो भने सुनुवाइ हुँदैन, पुलिस, प्रशासन मौन देखिन्छन् । किनकि डनहरु भनेकै कुनै न कुनै पार्टीसँग आबद्ध रहेका हुन्छन् ।
कुनै पनि क्षेत्रमा काम गर्न प¥यो भने विनादलाल हुनै सक्दैन । विनाकमिसन जनताले सेवा लिनै सक्दैनन् अझै पनि । अहिले त स्कूल, कलेजमा विद्यार्र्थी भर्ना गर्दा पनि कुन दलालले कति पैसा जिप्ट्याएको हुन्छ पत्तै पाउन सकिन्न । मालपोतमा जग्गा पास गर्दा, बैंकमा ऋण लिँदाका कुरा त परै जाओस्, चेलीबेटी बेचबिखन, बालबालिका र महिलामाथिको शोषण, हिंसा, जातीय भेदभाव, क्षेत्रीय विभेद, लैङ्गिक असमानता, आर्थिक असमानता अहिले पनि कहाली लाग्दो अवस्थामै छ । हुने र नहुनेकोे, गरीब र धनबीचको खाडल बर्सेनी बढ्दो छ । हिजो अत्यन्त कमजोर आर्थिक अवस्थाका केही नेता र उनका आसेपासे कार्यकर्ताहरुको आर्थिक अवस्था भने आकासिएको आकासियै छ । भ्रष्टाचारी, कालाबजारी, कमिसनखोर र दलालहरुले अकुत धन थुपारेका छन् । उनीहरुको जीवनशैली अत्यन्त भड्किलो बनेको छ, जसले गर्दा महँगी बढाउन मद्दत पुगेको छ । त्यसको मार सर्वसाधारण तथा कम आम्दानी हुने जनताले प्रत्यक्ष रुपमा खेप्नु परेको छ ।
जनताको बलिदानीले प्रजातन्त्र पनि आयो, लोकतन्त्र र गणतन्त्र पनि, तर यसबाट त जनतालाई के नै भयो र ? जबसम्म उनीहरुले त्यसको प्रतिफल प्राप्त गर्दैनन्, जुनै खालको ‘तन्त्र’ प्राप्त भए पनि त्यसले अर्थ राख्दैन । जनताले त्यसको अनुभूति प्राप्त गर्न पाउनुप¥यो । त्यो वातावरण बनाइदिने भनेको राजनीतिक दलहरुले हो । तर यति लामो समयावधिसम्म पनि नेपाली जनताले देशमा प्रजातन्त्र आएको अनुभूति गर्न नपाउनु यो हाम्रो लागि ठूलो विडम्बना हो ।
अब विगतलाई सम्झेर टाउको समातेर झोक्राएर मात्र हुने केही छैन । आगामी दिनहरुमा पनि नेपाली जनता यिनै प्रवृत्तिको मारमा पर्न नपरोस् । राजनीतिक पार्टीहरुले पनि जनताको यो बलिदानीको कदर गरेर प्रजातन्त्रको प्रतिफल दलका मुठ्ठीभर नेता र कार्यकर्ताले मात्र हैन सबै नेपालीले पाउनु पर्छ भन्ने विशाल सोच बनाउन सकून् ।
जोे सत्तामा गए पनि देशमा शान्ति, अमनचयन हुन सकोस्, सोझा–निमुखा जनताले शान्तिपूर्वक जीवनयापन गर्ने वातावरण बनोस्, जनजीविका सहज बन्दै जाओस्, विकास निर्माणका कामहरु अगाडि बढून्, आधारभूत समस्याले कोहीपनि पिरोलिन नपरोस्, सबै क्षेत्र, तह र तप्काका जनताले मानवअधिकारको सुनिश्चतताको अनुभूति गर्न पाउन् । भ्रष्टाचार, घुस, कमिसनखोरी आदिको अन्त्य हुन सकोस्, सबै खाले जनताले सार्वभौम भएको अनुभूति गर्न पाऊन् । अनि मात्र प्रजातान्त्रिक राज्य व्यवस्थाको सार्थकता सिद्ध हुनेछ ।

प्रकाशित :२०७८ कार्तिक १०, बुधबार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry