जनमैत्री र जवाफदेही भूमिकामा निजामती प्रशासन
प्रजातान्त्रिक शासन प्रणाली जनमुखी शासन प्रणाली हो । संघीय शासन प्रणाली उच्चतम प्रजातान्त्रिक शासन प्रणाली हो । यस प्रणालीमा जनतासंग सरकार संग छिटो, छरितो र सहजतापूर्वक अन्तरक्रिया गर्न , आफ्ना गुनासो राख्न,सेवा लिन र शासन प्रणालीमा सहभागी हुने अधिकार रहेको हुन्छ । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरु र सार्वजनिक सेवा प्रदायक हरु जनताको निकटतम दूरी मा रहनु पर्दछ अनि मात्र त्यो सरकार प्रभावकारी हुन्छ भन्ने परिपूरणको सिध्दान्तको वास्तविक प्रतिविम्व संघीय शासन प्रणाली हो भन्ने गरिन्छ । यस अर्थमा संघीय शासन प्रणाली अन्तरगतको निजामती प्रशासन अझै बढी प्रभावकारी, पारदर्शी, परिणाममुखी हुनु आवश्यक हुन्छ ।
Advertisement 1
जनताको अभिमत र चाहनालाई कार्यरुपमा परिवर्तन गर्न सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासनयन्त्रको प्रभावकारिता, चुस्तता , प्रतिबध्दता र तटस्थताले जनअभिमतको सच्चा कदर हुन सक्दछ । तटस्थता प्रशासनयन्त्रको त्यो अपरिहार्य गुण हो जसको मूल ध्येय कानूनले निर्धारित गरेका प्रक्रियालाई पूर्णरुपमा परिपालना गर्दै सेवाग्राही संगको सम्बन्धलाई स्वच्छता, निष्पक्षता, इमान्दारिता र तटस्थतालाई आफ्नो मूलमन्त्र वनाई पेशागत दक्षता, व्यवसायिकता र विशिष्टताका आधारमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, जनमुखी र परिणाममूलक बनाउनु हो । यसको साथ साथै सरकारी नीति र कार्यक्रम प्रति अपनत्वबोध, स्वामित्व ग्रहण, कार्यान्वयनमा तदारुकता र दृढ ईच्छाशक्ति, मनोवलयुक्त भावनाको व्यवहारगत अबलम्बन सहितको प्रतिबध्दता अर्को आवश्यकीय आयाम हो ।
Advertisement 2
जनप्रतिनिधिव्दारा प्राप्त जनताको अभिमत र चाहनालाई कार्यरुपमा परिवर्तन गर्न सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसै अर्थमा निजामती प्रशासनले सरकारको नेतृत्व गर्ने वा नगर्ने दल विशेषको राजनैतिक आस्था वाट प्रभावित नभै संविधान, कानून,नीतिको परिवेश भित्र रही कार्यकारी निकायको रुपमा रहेको सरकारको सच्चा प्रतिनिधिका रुपमा रही प्राप्त जनताको अभिमत र चाहनालाई कार्यरुपमा परिवर्तन गर्न दत्तचित्त रहनु पर्दछ । यदि प्रशासनयन्त्र प्रभावकारी भयो, सेवा प्रवाहमा चुस्त दुरुस्त रह्यो, सरकारी नीति नियमको अन्तरवस्तु प्रति प्रतिबध्द र त्यसको परिपालनामा तटस्थ रही प्रतिबध्दतापूर्वक कार्यान्वयन गर्ने तत्परता देखायो भने जनअभिमतको सच्चा कदर भएको हुन्छ । यसले गर्दा जनता प्रति सरकारको विश्वसनीयता अभिवृध्दि हुने र सरकारको दिगोपना रहने गर्दछ । यसैले कुनै पनि देशको सरकार त्यहांको प्रशासनयन्त्र भन्दा राम्रो हुन सक्दैन भन्ने गरिएको छ । यसर्थ देशको निजामती र अन्य समग्र सार्वजनिक प्रशासन जति सेवामैत्री , सेवाग्राहीमैत्री, जनताप्रति जवाफदेही हुन्छ त्यति नै मात्रामा सरकार प्रति जनताको विश्वासमा अभिवृध्दि हुन्छ । यसरी सरकार प्रति जनताको विश्वासमा अभिवृध्दि गर्न र सरकारको स्थायित्वव्दारा राजनैतिक स्थायित्व ल्याउने कार्यमा निजामती प्रशासनको भूमिका महत्वपूर्ण हुने गर्दछ ।
सरकार कुनै राजनैतिक दल विशेषको हुने भएकोले सामन्यतया उसले आफु अनुकुलको प्रशासनयन्त्रको अपेक्षा राख्नु स्वभाविकै हो तर प्रशासनयन्त्र प्रतिस्पर्धात्मक छनौट प्रणालीबाट आएका हुन्छन् उनीहरुको पेशागत मर्यादा र आचरण, उत्तरदायित्व एउटा निश्चित कानूनी आधारशीलावाट निर्देशित भएको हुन्छ यसर्थ उनीहरुले चुनाव प्रणाली बाट आएका पदाधिकारी को आदेशलाई स्वेच्छा वा कुनै वादवाट प्रेरित भएर काम गर्न सक्दैनन् । प्रशासनयन्त्रको दायित्व भनेको सरकारले ल्याउने नीति निर्माणमा असल पृष्ठपोषक, व्यवहारकुशल कानूनी आधारशीला प्रदान गर्नमा सहयोगी, नीति कार्यान्वयनका लागि अनुकुल संस्थागत संरचना तयार गर्ने, नीतिको सकारात्मक वकालतकर्ता र सरल सहज झन्झटमुक्त तरीकावाट सेवा प्रवाहलाई प्रभावकारी बनाउनु हो ।
Advertisement 3
तटस्थता प्रशासनयन्त्रको त्यो अपरिहार्य गुण हो जसमा कर्मचारी कुनै वाद, आस्था, समूह वा वर्गगत साइनोवाट आफूलाई पूर्ण रुपमा मुक्त गराउंछ । उसको मूल ध्येय भनेको कानूनले निर्धारित गरेका प्रक्रियालाई पूर्णरुपमा परिपालन गर्दै सेवाग्राही सम्बन्धको सम्बन्धमा स्वच्छता, निष्पक्षता, इमान्दारिता र तटस्थतालाई आफ्नो मूलमन्त्र वनाई पेशागत दक्षता, व्यवसायिकता र विशिष्टताका आधारमा सरकारको प्रतिनिधिको रुपमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, जनमुखी र परिणाममूलक बनाउनु हो । तटस्थतामा राजनीतिक तटस्थता, वर्गीय तटस्थता, संस्कारगत तटस्थता, भौगोलिक तटस्थता, भाषिक तटस्थता, धार्मिक तटस्थता आदि पर्ने गर्दछन् र सार्वजनिक जिम्मेवारी ग्रहण गरेका प्रशासकहरु यस्ता सामीप्यता वाट मुक्त रहन सक्नु पर्दछ । तटस्थ र प्रतिबध्द निजामती सेवाले नै सार्वजनिक सेवाको प्रभावकारितामा बृध्दि ल्याउन सक्दछ।
नीति निर्माण राजनीतिक नेतृत्वको मूल कार्यक्षेत्र हो। तर राजनीतिक नेतृत्वसंग जनताका ईच्छा, आकांक्षा,चाहनाका सन्दर्भमा परिवर्तनको एउटा स्पष्ट लक्ष्य रहेको हुन्छ तर त्यो ईच्छा, आकांक्षा,चाहनालाई कानूनी र प्रशासनिक प्रक्रियाको माध्यमवाट नीति दस्तावेजमा प्रतिविम्वित गराउन, कार्यान्वयनको सुनिश्चितताको लागि संस्थागत संयन्त्रको परिचालन गर्न र तल्लो तहसम्म फैलिएको प्रशासनिक संयन्त्रको परिचालनव्दारा जनतासंग सम्पर्क कायम गर्न प्रशासनिक संयन्त्रको परिचालनको आवश्यकता हुन्छ । यसैले तटस्थता प्रशासनयन्त्रको अपरिहार्य विषवस्तु भएपनि विषगत विज्ञता र स्थायी संयन्त्र भएको कारणले प्रशासनयन्त्रले दक्षता सहितको तटस्थताद्धारा सकारात्मक योगदान गर्न सक्छ भन्ने मान्यताको विकास हुदै गएको छ । यो अवधारणाले आस्था, वाद वा विचारको आवध्दता सहितको दक्षतालाई पूर्ण रुपमा नकारेको छ ।
प्रशासनयन्त्र सरकारको मूल सहयोगी र कार्यकारी संयन्त्र हो ।स्थायी सरकारको रुपमा रहेर प्रशासनयन्त्रले सरकारका नीति नियमको कार्यान्वयन, सरकार समक्ष आएका जनताका चाहना, सरकारले जनता समक्ष प¥याउनु पर्ने सेवा सुविधालाई सरल , सहज, कम झन्झटिलो तरीकाले पु¥याउनु यसको प्रमुख दायित्व हो । यसका लागि कर्मचारीहरुमा सरकारी नीति र कार्यक्रम प्रति अपनत्वबोध हुनु आवश्यक छ । सरकारी नीति र कार्यक्रम प्रतिको अपनत्वबोध, स्वामित्व ग्रहण, कार्यान्वयनमा तदारुकता र दृढ ईच्छाशक्ति, मनोवलयुक्त भावनाको व्यवहारगत अबलम्बननै प्रतिबध्दता हो ।
निजामती सेवा राज्य संचालनको सहयोगी कार्यकारी अंग हो। सरकारले जनता समक्ष गरेका प्रतिबध्दताहरु निश्चित प्रक्रिया र परिपाटी भित्र रहेर जनता र सरकार वीचको सम्बन्ध सेतुको रुपमा रहेर पूरा गर्ने गर्दछ । विद्यमान निजामती सेवा राज्यको एकात्मक स्वरुपको कारणले एकात्मक प्रकृतिको रहेको छ । राज्य संघीय संरचनामा रुपान्तरण भएपछि निजामती सेवाको स्वरुप पनि सो अनुरुप प्रजातान्त्रिक , सुशासनको संवाहक, सेवामैत्री, जवाफदेही र उत्तरदायी हुनु आवश्यक हुन्छ ।
संघीय स्वरुपमा निजामती प्रशासनको भूमिका सेवा प्रवाहको दृष्टिले जति महत्वपूर्ण छ तटस्थता र निश्पक्षताको दृष्टिले अझै चुनौतीपूर्ण छ । एकात्मक प्रकृतिको प्रजातान्त्रिक शासन प्रणालीमा एउटा वा केही राजनीतिक दल सरकारमा रहने र सरकार वाहिर अन्य दल तथा सरकारमा प्रतिनिधित्व गर्ने दललाई मत नदिएका मतदताहरु रहन्छन। यस परिप्रेक्ष्यमा निजामती प्रशासनको भूमिका दलगत प्रभावमा नआई तटस्थ र प्रतिबध्द भै सेवा प्रवाह गर्नु हो । संघीय शासन प्रणालीमा यो समस्या अझ घनीभूत रुपमा देखिन सक्छ । यसमा केन्द्रीय सरकार कुनै एक दलको, संघीय सरकार दोश्रो दलको र स्थानीय सरकार तेश्रो दलको हुदा निजामती कर्मचारीले हरेक तहमा राजनैतिक तटस्थता प्रदर्शन गर्दै सेवा प्रवाहमा प्रतिबध्दता, कार्य सम्पादनमा प्रभावकारिता र आफ्नो विशिष्टता र दक्षताको कुशल प्रदर्शन गर्नु पर्ने हुन्छ । यस सन्र्दमा निजामती प्रशासनको दायित्व पेशागत दक्षता सहितको प्रतिबध्दताको अवधारणाको प्रत्याभूति गर्नु हो ।
आजसम्म आइपुग्दा निजामती प्रशासनमा केही चुनौतीहरु थपिएका छन् यी चुनौतीहरुको सामना गर्न नसकेमा समस्याहरुले विकराल रुप लिन पनि सक्छन् । योग्यता प्रणालीमा हुर्किएको निजामती प्रशासन सरुवा, पदस्थापना, अवसरको समान उपलब्धता जस्ता विषयहरुमा धेरै ठाउँहरुमा चुक्न पुगेको छ । ऐन नियममा व्यवस्थित प्रावधानहरुको पारदर्शी प्रयोग हुनु अति नै आवश्यक छ । निजामती ऐन ल्याएर तीनै तहको निजामती प्रशासनलाई थप विधि सम्मत र वृत्ति विकासका आयामहरुलाई पूर्वानुमानयोग्य बनाउनु आवश्यक छ । निजामती प्रशासनका मूलभूत मान्यता र आदर्शहरुलाई मजवूत बनाउदै यसको साख र गरिमा बृध्दि गर्नु पर्ने विषय पनि उति नै सामयिक छ । सदाचारमा विश्वासिलो, सेवा प्रवाहमा भरपर्दो र जनमैत्रीय प्रशासनको दरिलो आधारस्तम्भमा रुपान्तरण हुनु पर्ने चुनौती र अवसर दुवै नेपालको निजामती प्रशासन समक्ष विद्यमान छ । निजामती सेवा दिवसमा यी यावत विषयहरुमा सम्बध्द सवैवाट प्रतिबध्दता आउनु आवश्यक छ ।
यस वर्षको निजामती दिवसले संघीय स्वरुपमा निजामती प्रशासनलाई तटस्थ, प्रतिबध्द रही सार्वजनिक सेवा प्रवाह र सुशासनको प्रत्याभूतिमा समर्पित प्रखर संवाहक वन्न अभिप्रेरित गरेको छ आजको दिनमा यी विषयहरुलाई यथार्थतामा रुपान्तरण गर्न अभिप्रेरित हुनु सवै निजामती कर्मचारीहरुको मूल दायित्व हो ।