सरकारको सुशासनको यात्रा: आशा र संशयका बीच हामीले खोजेको समाज

व्यवस्था फेरियो, प्रविधिको विकासले भूगोलका सिमानाहरू नजिकिए, तर विडम्बना ! मानिसका मनहरू झन् टाढिँदै गएका छन्। आधुनिकताको दौडमा हाम्रा मौलिक मूल्य-मान्यताहरू हराउँदै छन् र नेपाली माटोको सुगन्ध कतै उपभोक्तावादको धुवाँमा हराउन थालेको छ। राणाकाल, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा नेपाली समाजले राजनीतिक व्यवस्था त पटक-पटक फेर्यो, तर आम नागरिकको अवस्था, सामाजिक चिन्तन र सांस्कृतिक आचरणमा अपेक्षित रूपान्तरण हुन सकेन। आजको नेपाली समाज बाहिरबाट हेर्दा विकास र प्रविधिको चमकधमकमा देखिन्छ, तर यसको भित्री तहमा विकृति, विसंगति र नैतिक संकटको गहिरो खाडल बन्दै गएको छ।

Advertisement 1

 

राजनीतिका नाममा मौलाएको बेथिति

Advertisement 2

हाम्रो समाजको सबैभन्दा ठूलो विसंगति राजनीतिमा मौलाएको विकृति हो। राजनीति सेवाको माध्यम नभएर कमाउने व्यवसाय र शक्तिको आडमा अपराध लुकाउने थलो जस्तो बन्यो। भ्रष्टाचार यसरी संस्थागत भएको छ कि सानादेखि ठूला नीतिगत निर्णयसम्म राज्यका उच्च ओहोदाका व्यक्तिहरूको संलग्नता देखिनुले कानुनी राज्यको खिल्ली उडाएको छ। अपराध गर्नेहरू राजनीतिक संरक्षणका कारण सजिलै उम्किने र इमानदार नागरिकहरू सधैँ पीडित भइरहने अवस्थाले समाजमा तीव्र निराशा र संशय फैलिएको छ।

 

Advertisement 3

तडकभडक र प्रविधिको सामाजिक मूल्य

नेपाली समाज यतिखेर तीव्र रूपमा देखासिखी र तडकभडकको संस्कृतितर्फ ढल्किएको छ। आज मानिसको मूल्यांकन उसको विचार, चरित्र र योगदानका आधारमा होइन, बरु उसले लगाउने लुगा, चढ्ने गाडी र बस्ने बंगलाका आधारमा हुन थालेको छ। यो उपभोक्तावादी संस्कृतिले समाजमा अस्वस्थ प्रतिस्पर्धा बढाएको छ। आर्थिक हैसियत नभएकाहरू पनि ऋण गरेरै भए पनि विलासी जीवनशैली अपनाउन बाध्य छन्, जसले अन्ततः मानसिक तनाव, पारिवारिक विखण्डन र अपराधलाई प्रश्रय दिइरहेको छ।

प्रविधि र इन्टरनेटको विकासले संसारलाई साँघुरो त बनायो, तर मानिसहरूबीचको आत्मिक दूरी बढाइदियो। सामाजिक सञ्जालहरू रचनात्मक कार्यका लागि भन्दा पनि अफवाह फैलाउन, गालीगलौज गर्न र अरूको चरित्रहत्या गर्न बढी प्रयोग भइरहेका छन्। युवा पुस्ता डिजिटल कुलतको सिकार बन्दा परिवारका सदस्यहरू एउटै कोठामा बसेर पनि एकअर्कासँग बोल्दैनन्। यसले हाम्रो सामाजिक संवाद र सामूहिक भावनालाई बिस्तारै समाप्त पार्दै लगेको छ।

 

ऊर्जावान् युवाको विदेश पलायन र हाम्रो शिक्षा

देशभित्र आर्थिक अवसरहरूको अभाव हुँदा हाम्रा ऊर्जावान् युवाहरू दिनहुँ हजारौँको संख्यामा विदेशिन बाध्य छन्। जसको कारण गाउँघरहरू युवाविहीन र वृद्धाश्रमजस्ता बनेका छन्। वैदेशिक रोजगारीले रेमिट्यान्स त भित्र्याएको छ, तर बदलामा नेपाली समाजले श्रीमान्-श्रीमतीबीचको अविश्वास, सम्बन्धविच्छेद, बालबालिकाको संस्कारमा कमी र वृद्धवृद्धाहरूको एक्लोपनजस्ता गम्भीर सामाजिक मूल्य चुकाउनुपरेको छ। हाम्रो वर्तमान शिक्षा प्रणालीले प्रमाणपत्र त दिन्छ, तर संस्कार र आत्मनिर्भरता दिन सक्दैन। शिक्षा पूर्ण रूपमा व्यापारीकरण भएको छ र यसले युवाहरूलाई आफ्नो माटो र श्रमप्रति गौरव गर्न सिकाउनुको सट्टा विदेश पलायन हुन प्रेरित गरिरहेको छ।

 

नयाँ उदय र सुशासनको आशा

यस्ता निराशा र बेथितिका बीच नयाँ पुस्ताको विद्रोह र परिवर्तनको तीव्र चाहनाको जगमा स्थापित वर्तमान बालेन शाह नेतृत्वको सरकारको उदयले नेपाली समाजमा आशाको नयाँ किरण सञ्चार गरेको छ। वर्षौँदेखिको थितिहीनता र राजनीतिक जडतालाई तोड्दै सरकारले सुशासन, भ्रष्टाचारविरोधी कडा कदम र प्रशासनिक सुधारका एजेन्डाहरू अघि सारेको छ। सार्वजनिक जग्गा तथा सम्पदाको संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गर्न खोजिएको सुधारका प्रयासहरूले आम नागरिकमा अब चाहिँ देशमै केही हुन्छ कि भन्ने बलियो विश्वास जगाएको छ। युवाहरूलाई देशकै माटोमा श्रम गर्न र पुराना बेथिति विरुद्ध सचेत बन्न प्रेरित गर्दै अबको समाज कुन दिशामा अघि बढ्नुपर्छ भन्ने एउटा स्पष्ट मार्गचित्र कोर्न खोजेको छ।

 

रूपान्तरणको बाटोमा आशंका र संशय

तथापि, यो रूपान्तरणको यात्रा सहज र निष्कन्टक भने छैन। प्रणाली सुधार्ने कडा कदमहरू चालिँदै गर्दा समाजका भित्री तहमा केही नयाँ असन्तुष्टि र नागरिक द्वन्द्वका रेखाहरू पनि कोरिएका छन्। नदीकिनारका सुकुम्बासी बस्तीहरू व्यवस्थापन गर्ने क्रममा देखिएको तनाव र फुटपाथ व्यवस्थापनका नाममा साना श्रमजीवीहरूमाथि परेको मर्काले नीति कार्यान्वयनमा सामाजिक संवेदनशीलताको कमीलाई उजागर गरेको छ। राज्यले कानुनी शासन बलियो बनाउन खोज्दा नागरिकका न्यूनतम मानवीय अधिकार, जीविकोपार्जनका आधारहरू र नागरिक समाजको स्वतन्त्र स्पेस कतै खुम्चिने त होइनन् भन्ने संशय बढेको छ। साथै देशको अर्थतन्त्रमा अपेक्षाकृत सुधार आउन नसक्नु र बेरोजगारी यथावत् रहनुले नयाँ नेतृत्वमाथि पनि पुराना बेथितिकै छाया मडारिने चिन्ता थपिदिएको छ।

 

हामीले परिकल्पना गरेको सभ्य समाज

यस्ता द्वन्द्व र विरोधाभासका बीचमा पनि एउटा सभ्य, न्यायपूर्ण र सुसंस्कृत समाजको परिकल्पना गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। हामीले चाहेको समाज यस्तो हुनुपर्छ जहाँ लिंग, जाति, वर्ग वा धर्मका आधारमा कसैमाथि पनि विभेद नहोस् र कानुनको नजरमा सबै समान होऊन्। त्यो समाज सदाचार र नैतिक मूल्ययुक्त होस्, जहाँ मानिसको पहिचान पद वा शक्तिले होइन, उसको इमानदारिता र समाजप्रतिको सेवाभावले निर्धारण गरोस्। हामीले परिकल्पना गरेको समाजमा कुनै पनि श्रमलाई सानो वा ठूलो भनी वर्गीकरण नगरियोस् र आफ्नै देशको माटोमा पसिना बगाउने किसान, मजदुर र उद्यमीलाई राज्यले उच्च सम्मान गरोस्।

 

निकास र अबको बाटो

यसका लागि समाजको दिशा र चिन्तनमा आमूल परिवर्तनको आवश्यकता छ। अबको नेपाली समाजलाई सही दिशा दिनका लागि सांस्कृतिक र नैतिक पुनर्जागरणको सुरुवात व्यक्तिको आचरणबाटै हुनुपर्छ। घरपरिवार र विद्यालय तहदेखि नै बालबालिकाहरूलाई नैतिक शिक्षा र सामाजिक उत्तरदायित्वका बारेमा सिकाउनुपर्छ। शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउँदै सरकारी र निजी विद्यालयबीचको खाडललाई पुरेर सबैका लागि समान अवसरको ग्यारेन्टी राज्यले गर्नुपर्छ। युवा पलायनलाई रोक्न सरकारले देशभित्रै कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ।

 

जबसम्म राजनीति सफा हुँदैन, तबसम्म समाजका अन्य अंगहरू सुध्रिन सक्दैनन्। त्यसैले राजनीतिमा युवा, बौद्धिक र निष्ठावान् व्यक्तिहरूको प्रवेश अपरिहार्य भइसकेको छ। भ्रष्टाचारीहरूलाई सामाजिक र कानुनी रूपमा बहिष्कार गर्ने संयन्त्र बन्नुपर्छ र राज्यका हरेक निकायमा जवाफदेहिता पूर्ण रूपमा लागू गरिनुपर्छ। आधुनिकताका नाममा हराउँदै गएको अर्मपर्म, गुठी र सामूहिक हितको भावनालाई ब्युँताउँदै स्थानीय स्तरमा सामाजिक संवादलाई बढावा दिनुपर्छ।

 

हामीले खोजेको समाज पक्कै पनि विकृत र विसंगतिपूर्ण समाज होइन। तर यो समाज आकाशबाट झर्ने पनि होइन; यो हाम्रै सोच, व्यवहार र कर्तव्यबोधको उपज हो। यदि हामी वर्तमानका विकृतिहरूलाई टुलुटुलु हेरेर बसिरह्यौँ र गैरजिम्मेवार बन्यौँ भने भावी पुस्ताले अझ भयावह समाजको सामना गर्नुपर्नेछ। त्यसैले अब समाजको दिशा बदलिनु आवश्यक छ र यो रूपान्तरणको सुरुवात आफैँबाट हुनुपर्छ। जब प्रत्येक व्यक्ति चरित्रवान् बन्छ, तब परिवार सुध्रिन्छ र परिवार सुध्रिएपछि समुदाय हुँदै सिंगो राष्ट्र सुसंस्कृत बन्छ। अतः हाम्रा प्राचीन गौरवशाली मूल्य-मान्यता र आधुनिक वैज्ञानिक चेतनाको सुन्दर समिश्रण गरी एउटा यस्तो सभ्य समाजको निर्माण गरौँ, जहाँ हरेक नागरिकले गौरवका साथ भन्न सकोस्— हो, हामीले खोजेको समाज यही हो !

 

प्रकाशित :२०८३ भाद्र २३, मंगलवार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry