फूल र मान्छे

फूललाई त के छ र फुलिदिए भयो
मुसुक्क हाँसिदिए भयो
सुवास छरिदिए भयो
मादकता पोखिदिए भयो
धेरै पोखिएर थोरै लुकाए भयो
स्वार्थी छ फूल
राम्री भएर आ आ ! भनेर बोलाइदिए भयो
भोग्न नदिने निर्दयी सुन्दरी !

Advertisement 1

दु:ख त मान्छेलाई छ
सुवास रुपी प्रेमपत्र लेखेर पठाउँछे फूल
नजिकै गएर हेर्छ मान्छे
अहो ! उत्तेजित हुन्छ उन्मादित
एक स्पर्शको अभिलाषा
एक आमोद एक प्रमोदको उत्कण्ठा
आसक्त हुन्छ मान्छे
फूल हेर्छे मस्किन्छे प्रमत्ता
कुनै आवरण छैन
रजोवती फूल देखाइदिन्छे ल हेर् !
मान्छे दगुर्दै जान्छ छुन

किन्तु
हचक्क हुन्छ खतरा पो छ कि !
सोच्दछ
हाउभाउले आउ भन्छे
कटाक्षको तीर मुटुमा ताक्दै
नव प्रमदा फूल
केस्रा केस्रा पुष्पिका
पट्ट फुटेर रस छर्दै
वैरागीको राग जगाउने प्रच्छन्न पुष्टहरु
लुकेर लुक्न नसक्ने फक्राइहरु देखाउँदै
मुस्काउँछे मारक फूल

Advertisement 2

नजिकै जान्छ मान्छे
फूल बोल्दिन छड्के नजरले हेर्छे मात्र
मान्छे सोच्दछ
के यो इशारा हो ?
मेरै लागि हो कि अरु छ कोही ?
हेर्छ नियालेर अनि सुस्तरी छुन्छ
अहो ! केही बाँकी छ !
थोरै आवरण बाँकी छ अझै
केही छ लुकेको
त्यसैमा उत्कण्ठित हुन्छ मान्छे
विक्षिप्त हुन्छ

अनि भन्छ
हे फूल ! सबै पोख प्रकट गर
किन सानो आवरण ?
लुकेको देखाऊ प्रिय फूल ! लुकेको देखाऊ
विस्मित छ मान्छे
जाग्छ जिज्ञासा
बाहिर यो रहेछ
अझै भित्र के छ ?
फूलले फेरि कटाक्ष गर्छे मुस्काउँदै
त्यो बाँकी छ र त म बाँकी छु !
त्यही त हो फूलको मूल
विक्षिप्त बनाउने

Advertisement 3

अनि अर्की फुल्छे प्रमदा उत्तेजिका
फेरि दगुर्दै जान्छ मान्छे
तर
अन्तिम आवरण खुल्दैन
सोध्छ मान्छे
के हो त्यो सधै लुकिरह्यो ?
फूल भन्छे
त्यही देख्ने आशामा जन्म लिइरहेछ मान्छे
युगानुयुग

प्रकाशित :२०७७ भाद्र २८, आईतवार १०:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry