भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन। यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन्। कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन्।
Advertisement 1
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन्। उनीहरुले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काहियो १२५ सेटका दरले उपलब्ध गराएका हुन्। कैदीबन्दीले रु १०० देखि रु २ हजारसम्म नगद र श्रम दानगरी ती सामाग्री उपलब्ध गराइएको हो। रु ३ लाख ६७ हजार ३६ बराबरको सामान खरिद गरी डसना र सिरानी कारागार परिसरमानै बनाइएको सो अवसरमा जानकारी दिइयो।
प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेकाबाट गरिएको यो सहयोग उदाहारणीय र नमूना किसिमको भएको बताउनुभयो। कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन्। जसमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन्।








