एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा पुगेको छ।

Advertisement 1

स्थानियलाई सहज बनाउन बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक सहरी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले सुरुआत गरिएको सो परियोजना अन्तिम चरणमा पुगेको हो। जितपुर बजारसमेत अहिले नयाँस्वरुप देखिन थालेको छ। यसो त सडक, नाला, पैदलमार्ग, मिनीमार्केट तथा बस्ती विकास समेटिएको यो परियोजनाले नगर केन्द्रको स्वरुप नै परिवर्तन गर्ने अपेक्षा समेत गरिएको छ।

सहरी विकास मन्त्रालयको रु ३४ करोड ८६ लाख ५७ हजार लागतमा परियोजना सञ्चालन गरिएको थियो। हाल जितपुर बजार, अस्पताल लाइन, रातामाटे, अर्खाैले हुँदै बजगाउँसम्म सात दशमलव ८५ किलोमिटर सडकखण्डमा नाला, बेस र सब–बेस निर्माण सम्पन्न भइसकेको छ भने कालोपत्रको काम तयारी भइरहेको छ।

Advertisement 2

मिनीमार्केट भवन पनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। सडक, नाला र फुटपाथ निर्माणले आवतजावत सहज हुने महालक्ष्मी जितपुरकी स्थानिय हेमकुमारी श्रेष्ठले जानकारी दिए।

सहरी विकास तथा भवन निर्माण आयोजनाले कार्यान्वयन गरिरहेको आयोजनाका निर्माण कम्पनीका प्रतिनिधि सन्तोष राईका अनुसार २०८० असोजमा सम्झौता भएर काम अगाडि बढेको थियो। आयोजनाको काम २०८२ माघ महिनाभित्रै सम्पन्न गर्नुपर्ने शर्त थियो। तर निर्माणमा ढिलाइ हुँदा हालसम्म जम्मा करिब ६५ प्रतिशत काम सम्पन्न भएको राईले बताए। यस अवधिसम्म सरकारले निर्माण कम्पनीलाई रु २० करोड ५५ लाख ५३ हजार भने भुक्तानी गरी सकेको छ।

Advertisement 3

निर्माण पक्षले रिङरोड क्षेत्रभित्रको जग्गा विवाद, केन्द्रबाट समयमै बजेट निकासा नहुनु, पछिल्लो महिना निर्माण सामग्री अभाव तथा मूल्य वृद्धिका कारण काम ढिलो भएको कम्पनीले जनाएको छ। महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज रायमाझीका अनुसार जितपुर बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक सहरी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए। उनले काम ढिला भएको र निर्माण सम्पन्न गर्न कम्पनीलाई आग्रह गरिरहेको जानकारी दिए। निर्माणका लागि आवश्यक ‘सामग्री’ तयार रहेको र वर्षायामका कारण काम ढिला भएको उनले बताए। बीचमा बाधा अवरोध नआए पुषसम्ममा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम निर्माण सम्पन्न हुने नगरप्रमुख रायमाझीले बताए।

प्रकाशित :२०८३ भाद्र २३, मंगलवार १३:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry