बरण्डाभार क्षेत्रको तालतलैया व्यवस्थापन गर्दै वन कार्यालय

चितवन। डिभिजन वन कार्यालयले बरण्डाभार क्षेत्रमा रहेका सङ्कटापन्न तालतलैया एवं पोखरी व्ययवस्थापनको काम सुरु गरेको छ। १० हजार २०० हेक्टर क्षेत्रफलभित्र पर्ने बरण्डाभार क्षेत्रमा रहेका १५ वटा तालतलैया एवं पोखरी व्यवस्थापनका लागि काम सुरु गरिएको हो।
Advertisement 1
कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार तालतलैया संरक्षणका लागि रु १० लाख बजेट रहेको छ। बरण्डाभार क्षेत्र संरक्षणका लागि विनियोजित बजेट रु ३५ लाखमध्ये पनि ताल तलैया संरक्षणमा अधिक बजेट खर्च गर्ने योजना रहेको उनले बताए। बरण्डाभार क्षेत्रमा रहेका १५ भन्दाबढी तालको संरक्षण र व्यवस्थापनको काम सुरु गरिएको उनले जानकारी दिए।
उनले भने, “सङ्कटमा परेका ताल तलैयाहरुको संरक्षण गर्दै वन्यजन्तुका लागि आवश्यक पानीको मात्रा वन क्षेत्रमा नै पु¥याउने योजना रहेको छ।” अहिले बरण्डाभार क्षेत्रमा रहेका तालतलैया सङ्कटमा पर्दा घाँसेमैदान घट्दै गएको उनले बताए। उनका अनुसार अहिले तालतलैया जलकुम्भी, माइकेनियालगायत झारले तालतलैयालाई सङ्कटमा पारेको छ। सङ्कटमा परेका तालतलैयालाई पुनःसंरचना र अद्यावधिक गर्ने काम सुरु गरिएको हो।
Advertisement 2
बरण्डाभार क्षेत्रबाहेक सामुदायिक वन क्षेत्रमा रहेका ताललाई व्यवस्थापनका लागि वन समितिलाई परिपत्र गरी सकिएको छ। यस कार्यालयको कार्यक्षेत्रमा बरण्डाभार क्षेत्रबाहेक अन्य क्षेत्रमा गरी ४४ वटा तालतलैया रहेका छन्। उनका अनुसार सबै तालतलैया एवं पोखरीलाई व्यवस्थापन गर्दै अघि बढ्न लागिएको हो।
पानीको स्रोत सुक्दा वन्यजन्तुलाई मात्रै समस्या नभई बोटबिरुवालाई समस्या हुने गरेको छ। यसले जमिनमा पानीको मात्रा पुनरभरणमा ठूलो सहयोग पुग्दछ। वर्षात्का समयमा ती पोखरीमा पानी भरिन्छ। त्यसका लागि पनि व्यवस्थापनको सहयोग पुग्ने गर्दछ।















