माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली। यहाँको कैलारी गाउँपालिका–५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट एकयाममा रु २ लाख ५० हजार बचत गर्दै आएका छन्।
Advertisement 1
करिब १० कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछापालन व्यवसाय गर्दै आउएका उनले एकयाममा रु १३ लाख बराबरको माछा बिक्री हुने जानकारी दिए। उनका अनुसार सबै खर्च कटाएर रु २ लाख ५० हजार बचत हुन्छ।
खेतीकिसानीसँगै केही नयाँ काम गरौँ भन्ने योजनाले माछापालन व्यवसाय सुरु गरेको चौधरीले बताए। “व्यवसायको सुरुवातमा कामको कुनै अनुभव थिएन। व्यवसायमा नयाँ थिएँ, त्यसैले सुरुका वर्षमा पोखरीमा माछा मरेर क्षति व्यहोर्नु परेको थियो”, उनले भने, “पछि विस्तारै व्यवसायप्रति अनुभव बटुल्दै गएपछि अहिले मनग्य आम्दानी हुँदै गएको छ, जीविकोपार्जनका लागि कुनै समस्या छैन।”
Advertisement 2
चौधरीका अनुसार अहिले पोखरीमा पङ्गासेस, कमन कार्प, ग्रास, रहुँ जातका माछा छन्। माछा होलसेलमा प्रतिकिलो रु २५० र फुटकरमा प्रतिकिलो ३०० मा बिक्री हुने उनले जानकारी दिए।
माछा बिक्रीका लागि बजारको समस्या नभए पनि अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले बिक्री दरमा वृद्धि हुन नसकेको चौधरीले गुनासो गर्नुभयो। भारतबाट आयात भएका माछाको मूल्य होलसेलमा प्रतिकिलो रु २२० र फुटकरमा प्रतिकिलो २८० मा बिक्री हुने भएकाले स्थानीय उत्पादनको बिक्रीमा केही कठिनाइ हुने उनको अनुभव छ।
Advertisement 3
उत्पादित माछा धनगढी, टीकापुर र केही स्थानीय बजारमा बिक्री हुने चौधरीले बताए। माछापालनका लागि सुरुमा पोखरी निर्माण गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट रु १० हजार प्रतिकट्ठाका दरले रु १ लाख तथा कैलारी गाउँपालिकाबाट रु ५० हजार बराबरको बोरिङसहित पानी तान्ने मोटर र जाल अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालनमा सहज भएको व्यवसायी चौधरीले जानकारी दिए।
पछिल्लो समय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तथा स्थानीय सरकारले व्यावसायिक कृषिमा आवद्ध हुन चाहने किसानलाई अनुदान सहयोग गर्न थालेपछि गोबरेलामा व्यावसायिक रूपमा माछापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ।















