खरिदारको पावर :- सरुवा स्थगित हुँदा पोखराबाट गोर्खा,दुई महिनामै बढुवा भएर पुरातत्व विभागमा हाजिर

नियम कानुन भनेको मान्नेलाई मात्र न हो । माथिसम्मै पहुँच र पावर भएका कर्मचारीलाई न त सरकारी नियमले छुन्छ न त परिपत्रले नै केही लर्छाछ ।
Advertisement 1
सरकारको एउटा निकाय संघीय मामिला तथा सामान्य प्रशासनले गरेको परिपत्रलाई धज्जी उडाउँदै एक जना राजपत्र अनंकित द्धितीय तह (खरिदार)तहको कर्मचारीको सरुवामात्र भएन । उनले अरुको मुखैमा आएको भाग खोसेर बढुवा समेत खान भ्याएको एउटा रोचक दृश्य फेला परेको छ,निजामती वृत्तमा ।

Advertisement 2
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदार तहको सरुवा रद्ध गरेको समयमै एक जना कर्मचारीको सरुवा भएको भेटिएको छ ।
मन्त्रालयको चलानी नम्बर ३०८ अनुसार, ०७९ मंसिर २८ यस खालको परिपत्र गरी खरिदारको सरूवा तथा पदस्थापन रोक्का गरेको थियो । सामान्यको परिपत्र अनुसार ०७९ फागुन मसान्तसम्म खरिदारको सरुवा स्थगित गरिएको थियो । तर संघीय मामिला तथा सामान्य प्रशासनको परिपत्रलाई कुल्चदै गृह मन्त्रालयले कर्मचारी संकेत नम्बर २०४४६८ भएकी दधिकला भुसालको सरुवा गर्यो । गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखा हेर्ने कुलशेखर अर्यालको हस्ताक्षरित सरुवा पत्र अनुसार भुसाललाई पुस ७ गते जिल्ला प्रशासन कार्यालय पोखराबाट जिल्ला प्रशासन कार्यालय कार्यालय गोरखामा सरुवा गरिएको भेटिएको छ ।
Advertisement 3

गृहबाट सरुवाको पत्र तयार भएको ४ दिन पछि नै भुसाल पोखराबाट गोरखास्थित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पुगिन । र उनी ११ गते देखि नै त्यहाँ काम गर्न थालिन ।
सामान्यको परिपत्र विपरित सरुवा भएको भेटिएपछि गोरखा जिल्लास्थित विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु उक्त सरुवा बदरको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगे । मन्त्रालयका तत्कालीन सचिवलाई पत्र लेखे । त्यहाँ कार्यरत शिवराज बराल,शुकदेव नेपाली,शोभाकान्त पोखरेल लगायतले सरुवा बदरका लागि पत्र नै लेखेका थिए ।

अझैं रोचक त संघीय मामिला तथा सामान्य प्रशासनको परिपत्रलाई कुल्चदै भुसालको सरुवामात्र भएन तीन महिना पछि नै उनको बढूवा समेत गरिएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले उनलाई खरिदारबाट नायब सुब्बा तहमा बढुवा गर्न भ्यायो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष,सम्बन्धित कार्यालयको प्रमुख र कोष तथा लेखा नियन्त्रक प्रमुख सदस्य सचिव रहने उक्त बढुवा सिफारिस समितिले जेष्ठता र कार्यसम्पादनका आधारमा हुने बढुवामा उनी खरिदार तहबाट नायब सुब्बामा बढुवाका लागि सिफारिस भइन । उनीसहित शिवराज बराल,सुकदेव नेपाली पछि तेश्रो नम्बरमा दधिकलाको बढुवा गरिएको भेटिएको छ । चौथों नम्बरमा बढुवा सिफारिस भए विक्रम सुवेदी ।

सामान्यको परिपत्रलाई कुल्चिएर यदी दधिकलाको सरुवा पोखराबाट गोर्खामा नभएको हुँदो हो त गोर्खाकै सिरानचोक गाउँपालिकामा कार्यरत अजिता राई बढुवा हुने थिइन तर प्रक्रिया मिचेर आएकी दधिकलाले आफ्नो वृत्ति विकासमै असर पुर्याएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गण्डकी प्रदेशमा बढुवा बदरको माग गर्दै उजुरी समेत दिइएको देखिन्छ,०८० साल वैशाख ४ गते ।

यसरी सामान्य प्रशासनको परिपत्रलाई धज्जी उडाउँदै सरुवा भएकी र अरुको वृत्ति विकास नै खोसेर बढुवा भएकी भुसाल एक दिनमात्र सो कार्यालयमा हाजिर भएर आजै आइतबारदेखि पुरातत्व विभाग,काठमाडौंमा हाजिर भइसकेकी छिन् ।
अब हेर्न बाँकी छ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो परिपत्रको प्रतिरक्षा गर्दछ कि गर्दैन ? दधिकला भुसालको सरुवा बदर हुन्छ कि हुँदैन ?


















