कम्पनी दर्तासँगै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने व्यवस्था लागू

 

Advertisement 1

काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले असार १६ गते बाट स्थायी लेखा नम्बर (PAN) र सोको प्रमाणपत्र कम्पनी दर्ता प्रक्रियासँगै अनलाइनमार्फत डाउनलोड तथा प्रिन्ट गर्न सक्ने भएका छन्।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच २०८३ साल वैशाख ३१ गते भएको विद्युतीय प्रणाली अन्तरआबद्धतासम्बन्धी समझदारीपत्रअनुसार विकसित प्रणाली २०८३ साल असार १५ गतेदेखि कम्पनी रजिष्ट्रारको कार्यालयको CAMIS प्रणालीमा सफलतापूर्वक सञ्चालन (लाइभ) मा आएको छ।

Advertisement 2

नयाँ व्यवस्थाअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले आफ्नो स्थायी लेखा नम्बर (PAN) तथा प्यान प्रमाणपत्र कम्पनी रजिष्ट्रारको कार्यालयको CAMIS प्रणालीमार्फत नै सिधै डाउनलोड तथा प्रिन्ट गर्न सक्नेछन्। यसका लागि छुट्टै प्रक्रिया अपनाउनुपर्ने अवस्था रहने छैन।

कार्यालयले यस व्यवस्थाले कम्पनी दर्ता प्रक्रियालाई थप छिटो, सहज, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने विश्वास व्यक्त गरेको छ। साथै, विद्युतीय सेवा विस्तार तथा अन्तरनिकाय समन्वयमार्फत सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारी प्रयासमा यसले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Advertisement 3

यस सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयले आम सेवाग्राही तथा सरोकारवालालाई नयाँ व्यवस्थाको जानकारी गराउँदै उपलब्ध विद्युतीय सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।

प्रकाशित :२०८३ असार १७, बुधबार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry