जहाँ जात्रा चल्दछ जहिलेतहिले

भद्रगोल कस्तोसम्म भने ७ सय ५३ स्थानीय तहमध्ये झण्डै २ सय स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत छैनन् । तर, संघले कर्मचारीलाई स्थानीय तहतिर पठाएकामध्ये झण्डै ३० उपसचिव हाजिर गर्न नपाएर नपाएर रनभूल्लमा छन् । यस्ता गुनासो बोकेर कर्मचारी सिंहदरबारमा लर्को लाग्ने क्रम बढेको छ ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी खटन पटन गर्न सक्दैन । खटाएकामध्ये झण्डै तीन दर्जन कर्मचारी स्थानीय तहले हाजिर लगाउन दिएनन भन्दै सिंहदरबार फर्किएर दिन कटाइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनसँग आदेश पालना नगर्ने स्थानीय तहको अनुदान कटौती गर्न सक्नेसम्म अधिकार छ । तर न आदेश पालना नगर्ने स्थानीय तहको अनुदान कटौती भएको छ । बरु दैनिक जसो सिंहदरबारका कोठा कोठामा अहिले जनप्रतिनिधिहरुको भीड लाग्न थालेको छ,कार्यकारी पठाइदेऊ भन्दै ।
संघीय मामिला तथा सामान्य मन्त्रालयको प्रांगणमा यस्तो गुनासोको पोको बोकेर पुग्ने कर्मचारीमात्र होइन कार्यकारी खोज्दै सिंहदरबार धाउने जनप्रतिनिधिको संख्या पनि कम छैन । सयौं संख्याका कर्मचारी सरुवाको लागि मन्त्रालयमा धाइरहेका छन् । यस्तै समस्या बोकेर त्यहाँ मन्त्रीदेखि सचिव सह–सचिवकै कार्यकक्षतिर भौंतारिने जनप्रतिनिधिको संख्या पनि कम छैन ।
मंगलबार बिहान यस्तै गुनासो बोकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रांगणमा पोखिरहेकी थिइन नजमु शेहर । उनी वाराको सिम्रौनगढ नगरपालिकाको उपमेयर । उनीसँगैको एउटा समूहले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी,कर्मचारी प्रशासन महाशाखाको हर्ताकर्ता कमल भट्टराईको कार्यकक्षमा पुगे । मन्त्रीका स्वकीय र सचिवालयका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत पठाइदिनुहोस भनेर हार गुहार र नमस्कार समेत गरे तर तार लागेन । तीन दिनदेखि उनीहरु प्रमुख प्रशासकीय अधिकृत माग्दै सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चोटा कोठा धाइरहेका छन् तर अझै केही पार लाग्न नसकेको सुनाए ।
त्यहाँका प्रमुख प्रशासकीय दिनेश न्यौपानेको सरुवा भइसकेको छ र प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ,विष्णुभक्त सिग्देल । पठाइएको हाकिम नगएका कारण त्यहाँ समस्या भएको कर्मचारीहरु सुनाउँछन ।