निजामती सेवाभित्रको विकृती सम्झदा त जोगी बनेर हिँड्न मन लाग्छ’


Advertisement 1

निजामती सेवाभित्र कतिधेरै विकृतीका बान्की छन् भने राम्रा काम गर्ने कर्मचारीलाई कहिँ कतैबाट इन्करेज छैन् ।
यहाँ नराम्रो काम गर्नेलाई दण्ड सजाय पनि छैन् । तीन दशकदेखि यस्तै विकृती र विसंगतीका साक्षी छन् कुमारप्रसाद दाहाल । जो जिम्मेवारीको हिसाबले अहिले वैदेशिक रोजगार विभागको महानिर्देशकको कुर्सीमा आसिन छन् ।


२०४७ सालमा निजामती सेवामा प्रवेश गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल निम्न मध्यम वर्गीय परिवामा जन्मिए, हुर्किए । मूलथलो खोटाङका उनी २०२४ सालमा चन्द्रगढीमा जन्मिएका हुन् । रोजगारीकै खोजीका क्रममा लोक सेवा परीक्षा उत्तीर्ण गरेर उनले निजामती सेवामा प्रवेश गरे । विराटनगरको सिँचाई इकाईमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका उनी त्यतिबेला स्नातक तहमा अध्ययनरत थिए । र, पछि विराटनगरबाटै स्नातकोत्तर उत्तीर्ण गरेका उनले निजामती सेवामा प्रगति भएको देख्दैनन् । सरकारी जागिरे भएको तीन दशक बितेपनि निजामती क्षेत्रतर्फको सुधारमा ज्यूँका त्यूँ देख्छन् ।
उनका अनुसार प्रविधिले फड्को मार्दा मात्र केही परिवर्तन भएका छन् तर, समस्यता उहीँ छन् । समयको यति दौडानमा विश्व प्रविधिको सहायताले असम्भव कुरा सम्भव भइसक्दा पनि नेपालमा भने त्यस्तो कुनै परिवर्तन नछाएको उनी बताउँछन् । साथै, निजामती क्षेत्रबाट जनताले पाउनुपर्ने सेवा अझैँ पाइनसकेको उनको अनुभवले बताउँछ ।
निजामती क्षेत्रमा परिवर्तन नहुनुमा उनी विभिन्न कमजोरी देख्छन् । पहिलो नीतिगत र दोस्रो कर्मचारी स्वंयम मोटिभेसन भएनन र तेस्रो राजनीतिक रुपमा कर्मचारी चलायमान अनिश्चितता भएको उनको बुझाई छ । सम्पूर्ण कर्मचारीतन्त्र तन्दुरुस्त बनाउने संघीय निजामती सेवा विद्येयक अड्किनु र यस्लाई फुटबल जस्तो खेल्नु दुर्भाग्य भएको उनी बताउँछन् ।

Advertisement 2

कासमु,पुरस्कार प्रणाली,सरुवा बढूवा लगायतका यी तमाम विकृतीका किनारामा बसेर साक्षी भावले हेरिरहेछन् । निजामती सेवामा यस्तो रोग हाबी छ,यी विकृती तथा विसंगतीका बिषयमा मुख खोल्दा सरुवा वा बढूवामा प्रभावित हुने डर । त्यही कारण कर्मचारीहरु हतपत्त यी विकृतीबारे बोल्दैनन् ।


एउटा राष्ट्रसेवक कर्मचारी भएको नाताले यी यावत् कुराहरु सम्झिदा कहिलेकाही जोगि बनेर हिँडौ जस्तो लाग्ने उनी सुनाउँछन् । उनी भन्छन्, ‘हुनत यहाँको अवस्था देखेर एक खालको बानी पनि परिसक्यो । कसैले नयाँ काम गर्न खोज्यो भने दिदैन । र, यसैगरी चलिरहन्छ यहाँ भनेर चित्त बुझाउनु सिवाय अरु केही नै छैन ।’
यात्रा
०५५ सालमा शाखा अधिकृत भएका उनले रामेछाप जिल्लामा भूमिसुधार र मालपोत कार्यालयमा बसेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरे । रामेछापपछि इलाम सरुवा भएका उनी २०६० सालमा शिक्षा मन्त्रालयमा आए । २०६२ सालमा खुला परीक्षामार्फत् उपसचिव भएपछि बाग्लुङ जिल्लाको स्थानीय विकास अधिकारी भएर उनी पुगे । बाग्लुङमा केही समयको बसाइपछि मुगुमा उनको सरुवा गरियो । ६ महिना मुगुमा बसेका उनलाई पुनः सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरियो ।
२०६५ देखि ०६७ सालसम्म पोखरा महानगरपालिकाको यातायात व्यवस्था कार्यालयमा उनी कार्यरत रहे । त्यसपछि सरुवा भएर सूचना आयोगमा आएका उनको २०६९ सालमा सहरी तथा भवन निर्माण विभागको जिम्मेवारी दिइयो । विभागमा ४ वर्ष काम गरे काम गरेका उनले २०७३ सालमा खुला परीक्षामार्फत् उनी सहसचिवमा बढुवा भए ।
कर्मचारीतन्त्रको अवस्था
३० वर्षअघि निजामती सेवामा प्रवेश गरेका उनी आज पनि सोच्छन्, ‘हिजोका दिनमा कुनै विभाग अटोनोमस थिएनन् । आज पनि छैनन् । प्रविधिगत र कार्यगत प्रणालीमा एक कदम पनि अगाडि बढ्न सकिएन । खाली टिप्पणी र भनसुनबिना कामै गर्न नसक्नु दुर्भाग्य बन्यो ।’
त्यसो त कर्मचारीहरु पनि एक्स्ट्रोभर्ट नभई इन्ट्रोभर्ट हुनाले जनतामा आफ्नो पहुँच पु¥याउन नसकेको देखिन्छ । हुनत कर्मचारीतन्त्रमा विशेषगरी राजनीतिको गह्रौ भारीले थिचेको देख्छन् उनी । उनी भन्छन्, ‘यसकारण पनि कर्मचारीतन्त्रमा विकास हुनुर्ने गुणले प्रवेश पाएन । जबकि देशको नीति बनाउने राजनीतिले माथिबाटै कर्मचारीतन्त्रलाई विशेषगरी चलायमान बनाउनुपथ्र्यौ ।’
२४ वर्ष विभिन्न दुर्गम जिल्लामा बसेर सेवामा घामपानी नभई लागेका उनी खुला परीक्षामार्फत् उत्तीर्ण भई क्रमशः शाखा अधिकृत, उपसचिव हुँदै सहसचिवसम्म आएका हुन् । कुनै भनसुनमार्फत् पदमा बढुवा भएका होइनन् उनी । त्यतिबेला राजधानी छिर्न पाउने कर्मचारी बडो भाग्यमानी ठानिन्थ्यो । उनी भन्छन्, ‘त्यतिबेला सोर्स, फोर्स लगाएर मात्र सरुवा गरिन्थ्यो । यद्यपि, अहिलको अवस्थामा कर्मचारीतन्त्रमा गुणात्मक रुपमा फड्को मार्नमा चुकिए तापनी संख्यात्मक हिसाबले धेरै उचाईमा पुगिएको छ ।’
अनुभव
२०७३ सालमा सहसचिव भएपछि आपूर्ति विभागको महानिर्देशक बनेर बजार अनुगमनलाई अझ कडा बनाए । अस्पताल, विद्यालय, औषधि पसल, खाद्य पसल, कपडा पसललगायत क्षेत्रमा दैनिक अनुगमनलाई तीव्रता दिए । स्वच्छ बजार भएन भने ग्राहक ठगिरहन्छन् भन्ने भावनाका साथ अनुगमनलाई प्राथमिकता दिने क्रममा उनलाई विराटनगर महानगरपालिकामा सरुवा गरियो । त्यहाँ एक वर्ष स्थानीय तहमा सेवा दिए ।
त्यसपछि यातायात व्यवस्था विभागको जिम्मेवारी दिइयो । यातायात क्षेत्रमा आमूल सुधार गर्न चाहेका उनले कानुको उपयोग गर्न असमर्थ भए । कानुनभन्दा ठूला व्यक्ति तथा संघ संस्था हावी हुनुमा देश विकासमा टड्कारो देख्छन् ।

Advertisement 3

सह सचिव भए पछि उनलाई अधिकांश मिलेको पद हो महानिर्देशक । सह सचिव बनेलगतै उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक बने । त्यहाँ पुगे लगतै शिक्षा,स्वास्थ्य,यातायात क्षेत्रमा भएको ठगीलाई लगाम लगाउने खोजे । चौधरी ग्रुपको लगानी रहेको नर्भिक अस्पताल,आरजु राणाहरुको लगानी रहेको युलेन्स स्कूलको ज्यादती बाहिर ल्याए । बदलामा उनलाई त्यहाँबाट खेदियो र पुर्याइयो विराटनर महानगरपालिका । त्यहाँबाट बर्ष दिन पछि यातायात व्यवस्था विभागको डिजी बनाएर तानियो ।
र यातायातमा भएको सिण्डिकेट रोक्न खोजे । गंगबु बसपार्कमा ल्होत्सेको लुटथ्यो । त्यसलाई रोक्न खोज्दा त्यहाँबाट पनि खेदिएर राष्ट्रिय सूचना आयोगतिर पठाइयो र त्यहाँबाट अहिले वैदेशिक रोजगार विभागमा पठाइएको छ । र यही रहँदा म्यानपावरवालाहरुको फण्डा बाहिरिएको छ ।


अबको लक्ष्य
हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको महानिर्देशक रहेका उनी वैदेशिक क्षेत्रलाई संस्थागत र नीतिगत गर्न चाहेको बताउँछन् । उनका अुनसार सबैका लागि अपनत्व लिने खालको क्षेत्र बनाउने चाहेको र जहाँ साना ठूला भन्ने भेदभावको अन्त्य गर्नु नै अबको एउटै लक्ष्य हो ।
वैदेशिक रोजगार ऐन, ०६४ साँच्चिकै उत्कृष्ट ऐन रहेको उनको अध्ययन, अनुसन्धान र निष्कर्ष रहेको छ । यो ऐन सबैले पूर्ण रुपमा पालना गर्ने हो भने विदेश जान चाहने कोही पनि श्रमिक नठगिने उनी बताउँछन् । बेरोजगारी र गरिबीमाथि खेलवाड गर्न कसैले नपाउने बताउँदै उनी भन्छन्, ‘कसैले भैँसी त कसैले घरबार नै बेचेर वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । तर, यहाँ बिचौँलिया र म्यानपावर संस्थाले उनीहरुको पैसा लुट्ने प्रवृत्ति अझ मौलाउँदो छ । अब यो खालको विकृति हटाउन नै म दत्तचित्त भइ लागि रहेको छु ।’
त्यसो त वैदेशिक रोजगार विभागमा आएपछि के के सुधारका काम भए ? उनी भन्छन्, ‘श्रम स्वीकृतिलाई अनलाइनकरण गरिएको छ । अब यसलाई पूर्ण रुपमा प्रविधि मैत्री बनाएर दलाली र बार्गेनिङका धन्दाको अन्त्य गरिनेछ । र, यहाँ बसुन्जेल यो कामलाई एक इन्च पनि तलमाथि हुन दिने छैन ।’
समस्या र चुनौतीका भारी
सरकारी सेवामा प्रवेश गरेपछि अनेकन् समस्या र चुनौतीका भारीहरु बोकेका उनीसँग अझैँ सामना गर्नुपर्ने समस्या र चुनौती उस्तै रहेको उनी सुनाउँछन् । प्रत्येकले छलेर ठगि गर्ने यो क्षेत्रमा सुधार गर्न तत्पर रहने बताउँदै उनी भन्छन्, ‘यहाँ चोक चोकमा ठगिने र ठग्ने अनगिन्ति छन् । अब त्यो विकृति निमिट्यान्न पारिनेछ ।’
प्रस्तुति :- लोकराज रुम्दाली

प्रकाशित :२०७७ मंसिर २१, आईतवार १३:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry