डनवाद र धनवादमा जनवाद किन बिक्यो ?
भगवान विष्णु र देवराज इन्द्रबीच मर्यादाको विषयलाई लिएर संघर्ष चल्यो । कुरैकुरामा उत्तेजित इन्द्रले १२ वर्षसम्म पृथ्वीमा एक थोपा पानी बर्साउन नदिने घोषणा गरे । इन्द्रको विश्वास थियो– ‘पृथ्वीबासीको रक्षाका लागि सम्पूर्ण देवगण मेरो शरणमा आउने छन् ।’ यही सोचेरे मेघलाई वर्षा नगराउने आदेश दिए । तत्काल वर्षा रोकियो । नी अब मानव लोकमा कोकोहोलो मच्चिएला भन्ने इन्द्रको विश्वास थियो । तर किसानले सोचे– ‘यदि एकदशक हामीले आफ्नो कर्तव्य बिर्सियौं भने सन्ततिले कर्मको बाटो बिर्सन सक्छन् ।’ उनीहरु तत्काल खेत जोत्न थाले । खडेरीमा किसानले खेत जोतेको देखेर भ्यागुतोले आश्चर्य प्रकट ग¥यो । किसानले उसलाई आफ्नो कर्ममा लीन हुन सम्झायो । भ्यागुतोले पनि सोच्यो– ‘यदि मैले पानी नआएको निहुँमा टर्टराउन बिर्सिएँ भने त्यो मेरो धर्म विपरीत हुन्छ ।’ ऊ पनि घोक्रो तानी तानी टर्टराउन थाल्यो । भ्यागुतो टर्टराएको सुनेर आश्चर्यचकित हुँदै मयूरले अनर्थको काम नगर्न सल्लाह दियो । भ्यागुतोले मयूरलाई सम्झायो– ‘भाइ, हाम्रो अधिकार भनेको कर्म गर्नु हो । कर्म गरेपछि फल नपाइने कुरै छैन ।’ मयूर पनि विन्दास ढंगले पखेटा फिँजाएर नाच्न थाल्यो ।
Advertisement 1
आफ्नो आदेश कार्यान्वयन भएको हेर्न इन्द्र पृथ्वीमा झरे । उनका आँखा कोलाहल हेर्न लालायित थिए । तर आश्चर्य, सवै आफ्नो काममा निर्लिप्त देखेरे होस हवास ऊड्यो । उनले व्यर्थको मेहनत नगर्न आग्रह गर्दा उल्टो किसानले थर्काए– ‘तपाईं आफ्नो काम गर्न नगर्न स्वतन्त्र हुनुहुन्छ तर हामीलाई हाम्रो कार्म गर्न दिनुस् । किनकि कर्म नै धर्म हो ।’ किसानको भनाइले इन्द्रको आँखा खुल्यो । उनलाई लाग्यो– ‘आज जुन देवराज इन्द्रको पद मैले पाएको छु, त्यो मेरो कर्मका खातिर हो । यदि कर्मबाट च्यूत भएँ भने संसारले गर्ने आदर सम्मानबाट वञ्चित हुन्छु । बद्नामीबाहेक मेरो हात केही लाग्ने छैन ।’ तत्काल मेघलाई पानी बर्साउन आज्ञा दिएर गल्तीको प्रायश्चित गर्दै स्वर्गलोक फर्किए ।
आफूलाई नेपाल धर्तीका इन्द्र सम्झिने केपी र पिके मिलेनन् भने के हुन्छ ? उनीहरुको आफ्नै पखेटा काटिने बाहेक केही हुँदैन । देशको राजश्व र देवश्व मास्नु हुन्न भन्ने प्रज्ञा र चेतना दुवैको शून्य छ । लाज लुगामा नभएर नियतमा हुन्छ । यो पृथ्वीमा मानिस आउने जाने, उत्थान, पतन सबै कर्मअनुसारका स्वाभाविक फल हुन् । सारा नेपालीले आफ्ना बाउबाजेसंगै तर्पण दिने राजा वीरेन्द्रको वंश नासपछि अस्वाभाविक बाटैबाट भएपनि अर्को राजा आएर त्यो ठाउँ पूर्ति गरेकै हुन् । राजा नभएर सिंहासन खाली भएन । जतिसुकै रोए कराए पनि कुनै एक व्यक्ति राजपरिवारसंग सति गएको सुनिएन । पद्दति हैन राजा खुशी पारेर राजनीतिमा अनवरत जागिर खाएका पञ्च बहुदलमा बसाईं सरेर राजावादी र बहुदलवादी दुवै पसलमा आफूलाई बिकाए । पत्रकारको भेषमा उदाएको पात्र रमेशनाथ पाण्डेले राजा महेन्द्र, बीपी, जीपी हुँदै प्रचण्डसम्मको सुत्रधार हुन भ्याए । दुई तिहाइ सरकार हुँदा बीपीका पिलर भनिएकाहरु उनैलाई ‘कू’ गर्ने रणनीतिको मतियार बने । माओवादी महाभारतमा प्रचण्डलाई गणेश भएर मन, वचन र कर्मणा सघाएका बाबुराम भट्टराई आफ्नो विगतप्रति पश्चातापको प्रलाप गरिरहेका छन् । सिद्धान्त, जेल, संघर्ष नभएर अबको सम्बन्ध धन्दाले निर्धारित गर्छ । शहीद, बेपत्ता परिवार, लडाकू, घाइते भनेका प्रचण्डको राजनीतिक म्यारिज खेलका ‘माल’ हुन् । जुन सरकार आए पनि प्रचण्ड यिनै तुरुप लिएर आर्जनको मोलमोलाइ गर्न भ्याउँछन् । बीपी कोइराला, मदन भण्डारी देउरालीका ढुंगा हुन् । यिनको माथमा अविर छरेर एक फन्का लगाएपछि जति अपराध गरे पनि उसले मुक्ति पाउँछ । कुनै पनि पार्टी लोकप्रियताले नभएर चुनावका दिन पाक्ने पकवान र चुनाव खर्चको चाँजोपाँजोमा ‘भाले’ हुने हुन् । चुनावको टिकट लिलाम बढाबढ नै हो । सबै राजनीतिक दलका मुखियाले यो सत्य घाँटीघाँटीसम्म बुझेका छन् । वर्षको सय, पचास करोडको आम्दानी नगर्ने व्यक्ति प्रमुख राजनीतिक दलको मुखिया हुने सपनामा पनि नसोचे हुन्छ । माधव नेपाल, रामचन्द्र पौडेलजस्ता सानो ह्याकुलो हुनेका लागि कार्यकारी पद अंगुर अमिलो बन्दै जानुको यथार्थ पनि यही हो ।
भनिन्छ– सबैभन्दा सत्य कहानी भट्टीले सुनेको हुन्छ भने भने झठो प्रलापको साक्षी अदालत बन्ने गर्छ । न्यायमूर्तिहरु कानले हेर्छन् । जब आँखाले हेर्नेहरुको आतंक बढ्छ, तब कानले हेर्नेहरु चनाखो हुन्छन् । को ठीक, को बेठीकको बहस आफ्ना ठाउँमा छ । तर सत्यचाहिँ के हो भने जब झण्डेहरुको बाक्लो उपस्थितिले कार्यपालिका र न्यायपालिकाबीच अन्तर भेटिन्न तब न्याय लिलामको वस्तु बन्छ । न्याय हराएको मुलुकमा चल्ने भनेको धनवाद, डनवाद नै हो । बिन लादेन र सद्दाम हुसेन अमेरिकाको पालनपोषणमा हुर्किएका पात्र थिए । कालान्तरमा तिनै पात्रको टाउको दुखाईबाट आजित अमेरिकाले साम, दाम, दण्ड, भेदको बाजी राखेर सिध्याउनु प¥यो । यो त टेलर मात्र हो, भागवण्डाको राजनीति नसच्चिने हो भने कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मात्र हैन, भोलिका दिनमा यी शक्तिको साँचो फेसबुके मास्टरले खोस्न सक्छन् । यहाँ समस्या चारआना तर समस्यालाई हेर्ने दृष्टिकोण बारआनाको हुँदा समस्याको चाङ लाग्दै गएको छ । यो देशका नागरिक, यहाँका ठूला मानिस र मिडियाको चरित्र एकछिन सामाजिक सञ्जालमा हेर्दा ऐना हुन्छ । गौरवपूर्ण न्यायालयले उत्ताउलो राजनीतिक नेतृत्वलाई लगाम लगाएका संसारमा थुप्रै उदाहरण छन् । छिमेकी मुलुक भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानी सेनाका एक लाख जतिलाई बन्दी बनाइन् । पाकिस्तान टुक्राएर दुई स्वतन्त्र देश बनाइन् । सिक्किमलाई भारतमा बिलय गरिन् । दक्षिण एशियाका कुनै शासक उनलाई आँखा उठाएर हेर्न सक्दैनथे । अटलविहारी बाजपेयीले त गान्धीलाई ‘रणचण्डी’ को उपाधि दिए । धाँधली र सरकारी बलको प्रयोग गरी उनले पश्चिम बंगालको चुनावमा सीपीएम पार्टीलाई चुनाव बहिष्कारका लागि बाध्य पारिन । त्यसपछि कांग्रेसको एकलौटी शासन चलाइन् । तर जगमोहनलाल नामका न्यायाधीशले इन्दिरा गान्धीले गराएको चुनाव कानुनी खिलाफ भएको भन्दै बदरको घोषणा गरिदिए । यो पैmसलाले सम्पूर्ण भारत हल्लियो । एउटा न्यायाधीशको पैmसलाले सर्वशक्तिमान इन्दिरा गान्धीले शक्ति र सत्ताबाट हात धुनुप¥यो । करोडौंको ‘राजमाता’ भनिएकी गान्धी चुनावमा नराम्रोसंग पछारिइन् । ‘म नै राज्य हुँ’ भन्ने लुईस चौधौंको अहं जब अरुमा रुपान्तरण हुन्छ, तब यस्ता घटना स्वाभाविक बन्दै जान्छन् ।
जनता पाखुरी बजार्ने काममा अग्रसर भएको भए यो देशका नेता उहिल्यै सन्यासी हुन्थे । कोरोनाले महाविकट आउँदासमेत नेपालीको चरित्र बीसको उन्नाइस भएन । भारतीय नाकावन्दीताका उनीहरु १ लिटर तेल पाउन चारदिनको निद्रा मार्न तयार भए तर निर्भरताको अध्याय थाल्ने जाँगर कतै देखिएन । चैतमा हलोका सियोमा मकै छरेर भारत पसेको एउटा ठिटो ५ महिनापछि आपैंmले रोपेको मकैको बोटलाई ‘ए लम्बा लम्बा पत्तेवाला पेड क्या हे’ भन्ने खालको तोरी लाउरे भएर निस्कनेलाई क्रान्तिकारीको दर्जा दिएर राजहाँस बनायौं । यिनै कर्मले राजनीतिक कोलाजभित्रको रंग झन्झन् फिका देखिन थाल्यो । सिंहदरबारको कुर्सीमा आसिन शासकभन्दा सिंहदरबार भजाउने दलालहरु शक्तिशाली बन्दै गए । देशका विषय विज्ञहरु आफ्नो विषयमा कम, अरु विषयमा बढी चतुर भएर निस्कन थाले । कालो कोट लगाउने वकिलहरु वकालतभन्दा जग्गा बेचबिखनको धन्दामा जमे । पत्रकारको कलम लेखाइमा थोरै, दाइहरुलाई सल्लाह दिन धेरै बिक्न थाल्यो । सम्पत्तिका नाममा एउटा चिउरा मिल नभएकाहरु निजीक्षेत्रका नेता दरिए । राजनीतिको पहिलो खुड्किलोमै पछारिएकाहरु मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भए । जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरु देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकी स्वघोषित बुद्धिजीवी भएर शहर पसे । बैंकहरुले कालोसूचिमा नाम डामेकाहरु खुल्ला अर्थतन्त्रका मतियार भए ।
छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्वाकांक्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे । गोराहरुको ढाढस पाएका जंगबहादुरले पहिले आफूलाई राणाजी बनाए । आफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पु¥याए । भाइहरुको विवाह राजा खलकसंग मात्र गराएनन्, आफूलाई श्री ३ घोषणा गरेर राजपाटमा प्रभाव जमाए । यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिए पनि राज्य झन्झन् कमजोर बन्ने रहेछ ।