अर्बपति नासु गुप्ताको भ्रष्टाचार शृंखलाः गाडी चढ्छन् डेढ करोडको, ८ महिनामा साढे ४ करोड कमाई

सरकारी जागिर खाएर भन्ने नै हो भने महिना दिन पनि चलाउन गाह्रो छ । अझ विशेष गरि त सामान्य पदमा भएकोलाई धेरै नै गाह्रो छ । तर, एक यस्तो व्यक्ती छन् जो नायब सुब्बा पदमा रहेर पनि कुल १४ करोड ८९ लाख २३ रुपैयाँ आयभन्दा बढी आर्जन गरेको अनुसन्धानमा देखिएपछि उनीबिरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
चार करोडको घर, ९० लाखको जग्गा, २७ लाखको गाडी, ७१ लाख व्यवसायमा लगानी, ४३ लाख सापटी दिएको, परिवारबाहेकका अन्य व्यक्तिका नाममा झन्डै पाँच करोड २८ लाखको घर, ४० लाखको गाडी, झन्डै तीन करोड बैंक मौज्दात आदि । यो कुनै ठूलो व्यापारी वा धनाढ्यको सम्पत्ति विवरण होला भनेर स्वाभाविक अनुमान लगाउन सकिन्छ । तर, यो एकजना नायब सुब्बा (नासु)को सम्पत्ति हो । त्यो पनि सरकारी सेवामा प्रवेश गरेदेखि आर्जित सम्पत्ति । औसत बेतन रहेको साधारण निजामती कर्मचारीलाई घरखर्च व्यवस्थापन गर्न पनि मुस्किल छ । गुप्ताका छोरा रकी र विक्की समेत श्रीमती र अन्य नातेदारसमेत ९ जनाका बिरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

Advertisement 1

गुप्ताले भ्रष्टाचारबाट आर्जित सम्पत्ति नातेदारको नाममा समेत लुकाएको अनुसन्धानमा खुलेपछि नातेदारबिरुद्ध पनि मुद्दा दायर गरेको आयोगले जनाएको छ । २०४७ असार २७ मा मालपोत कार्यालय मुस्ताङबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुूदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुख समेतको जिम्मेवारीमा कार्यरत गुप्ताको सार्वजनिक सेवा प्रवेशदेखि आ.व. २०७५÷७६ सम्मको अवधिलाई जाूच अवधि लिएर अनुसन्धान गरेको थियो । मदन गुप्ता र उनका छोराको बैध आय ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँ अनुसन्धानका क्रममा देखिएको थियो ।
सधैं पर्सा र सिमरा मालपोतमा कसरी ?
निजामती सेवा ऐनमा प्रत्येक २ बर्षमा कर्मचारीको सरुवा हुन्छ । आवधिक सरुवाको प्रावधान सुशासनका लागि पनि राखिएको हो । तर उनी करीब २५ बर्षदेखि पर्सा, बारा र रौतहट मालपोत कार्यालयमा मात्र कार्यरत छन् । सामान्य प्रशासन मन्त्रालयबाट उनको सरुवा २÷२ बर्षमा हुनुपर्नेमा ८ बर्षसम्म पनि हुूदैनथ्यो । गुप्ता ८ वर्ष वीरगञ्ज मालपोतमा काम गरेपछि नायब सुब्बा पदमा सिमरा मालपोतमा पुगेका थिए । सिमरामा कार्यालय प्रमुखकै रुपमा उनी कार्यरत थिए । सिमरा मालपोत कार्यालयको प्रमुखमा दरबन्दी उपसचिवको हो । तर नायबसुब्बा गुप्ताले भूमिब्यवस्थापन विभागका तत्कालीन महानिर्देशकहरू जीतबहादुर थापा, शत्रुघनप्रसाद पुडासैनी, रोहित भट्टराई, मुक्ति आचार्यसम्मलाई घुस बुझाएर कार्यालय प्रमुख रहँदैआएका थिए ।
२०७५ सम्म गुप्ता नै सिमरा मालपोतको कामु प्रमृुख थिए । र, कार्यालय प्रमुखले पाउने गाडीदेखि सबै अधिकार समेत उनलाई दिइएको थियो । निजामती सेवा ऐनबिपरीत नासुलाई कार्यालय प्रमुख दिने महानिर्देशकहरूलाई पनि अख्तियारले कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ । सामान्य आर्थिक अवस्थाका गुप्ताले करोडांैं सम्पत्ति आार्जन गर्दा पनि भ्रष्टाचार गर्न छाडेनन्, उनले राजस्व रसिद नै कीर्ते छापेर सरकारी कोषमा जाने रकम समेत घोटाला गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

डिल्लीबजार मालपोतमा १० बर्ष कार्यरत अरबपति नासु लक्ष्मण भट्टराईले नक्कली जग्गाधनी खडा गरी बेजिल्लाको जग्गा रजिष्टूेसन पास गर्नसमेत पछि परेनन् । चावहिल मालपोतमा ८ बर्षदेखि कार्यरत लक्ष्मण बस्नेत अर्का अरबपति नासु हुन् । गुप्ता, भट्टराई र बस्नेत निजामती सेवा ऐन अनुसार आवधिक सरुवा नगरेका कारण जन्मिएका पात्र हुन् । ऐनअनुसार आवधिक सरुवा नगर्ने हो भने यस्ता पात्रहरू जन्मिदै जानेछन् ।
डेढ करोडको गाडी चढ्ने नासु
नासु गुप्ताले परिवारका सदस्यहरूका नाममा घर खरिद तथा निर्माणमा ४ करोड ८ लाख ५१ हजार रुपैयाँ, परिवारका सदस्यहका नाममा जग्गा खरिदमा ९० लाख १४ हजार १ सय, बैंक तथा वित्तीय संस्थाहरूबाट लिइएका कर्जा र कर्जा चुक्ता समेतमा ३ करोड २७ लाख ४५ हजार १२ रुपैयाँ, पुूजीगत लगायतका कर शीर्षकमा ९ लाख ७० हजार २ सय ६० रुपैयाँ, सवारी साधन खरिदमा २७ लाख ६२ हजार ५ सय, पार्वती स्टेशनरी र गायत्री निशान अटो कर्प प्रा.लि र नेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायहरूमा ७१ लाख रुपैयाँ लगानी गरेको अनुसन्धानका क्रममा देखिएको थियो । अरु सापटी दिएको ४३ लाख ५ रुपैयाँ, पारिवारिक लालन पालन लगायतका अतिरिक्त खर्च (शैक्षिक खर्च, सुन चाूदी खरिद विद्युतीय उपकरण), छोरा विक्कि गुप्ताको विवाह लगायतमा ६१ लाख खर्च गरेको देखिएको थियो ।

Advertisement 2

यसैगरी गुप्ताले परिवारका सदस्यहरू बाहेकका अन्य व्यक्तिहरू कविता कुमारी र राजेशकुमार गुप्ता र इन्दिरा देवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गाहरूमा ५ करोड, २७ लाख ८९ हजार ५ सय, परिवारका सदस्य बाहेकका अन्य व्यक्ति निरजकुमार गुप्ताको नाममा सवारी साधन जिप खरिदमा ४० लाख, परिवारका सदस्य बाहेकका व्यक्ति राजेशकुमार गुप्ताको नाममा निशान टूेडर्स ंं(पेट्रोल पम्प) मा लगानी ४० लाख लगानी गरेको आयोगको अनुसन्धानमा खुलेको थियो ।
नासु गुप्ता र संलग्न अन्य समेतका नाममा संचालित विभिन्न बैंक खाताहरूमा देखिएको मौज्दात २ करोड ८५ लाख २८ हजार ८ सय ९२ रुपैयाँ समेत गरी जम्मा १९ करोड ३६ लाख ६१ हजार १ सय ६९ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको थियो । उनको र छोरा रक्कीको गरी वैध आय ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँमात्र देखिएको थियो ।

स्रोतका अनुसार उनले धेरै सम्पत्ति भारतमा आफन्तको नाममा लुकाएका छन् । अख्तियारले छानबिन गरेपछि उनी भारतस्थित ससुरालीमा गएर लुकेको र नेपालमा रहेको सम्पत्ति पनि उतै लगेको आशंका गरिएको छ । नासु गुप्ताका बारेमा भूमि ब्यवस्थापन विभागमा धेरै उजुरी परेपछि विभागले २०७५ चैत १४ मै उनी र उनको परिवारका ९ जनाको सम्पत्ति रोक्का गर्न सबै मालपोत कार्यालयका नाममा पत्र काटेको थियो । त्यसपछि नै उनले सम्पत्ति भारततिर भूमिगत भएका थिए ।

Advertisement 3

पद नायब सुब्बा गुप्ताले भ्रष्टाचार गरी आर्जित सम्पत्तिबाट करिब १ करोड २५ लाख रुपैयाँ पर्ने बा ११ च ९६६० नम्बरको फोर्ड इन्डरोभर गाडी चढ्ने गरेका थिए । भूमाफियाहरूको समूह बनाई विभिन्न जग्गा खरिद तथा किर्ते गर्ने गरेका गुप्ताले जगत नारायण प्रसाद यादवको नाममा वीरगञ्ज महानगरपालिका९१६ मा १० करोड रुपैयाँभन्दा बढी मूल्यको १३ कित्ता जग्गा खरिद गरेका थिए ।

गुप्ताले छोरा र ज्वाूईको नाममा करोडौं अकूत सम्पति जोडेको, सुन्धारास्थित ७ तले लण्डन होटलमा लगानी गरेको, आफ्ना मतियार र सहयोगीहरूका नाममा वीरगञ्जका विभिन्न स्थानमा १६ कित्ता जग्गा र पक्की घरहरू जोडेको, मातपोत राजस्व अपचलन गरेको करोडौं रुपैयाँ रकम ब्याजमा लगाएका प्रमाणहरू अख्तियारले फेलापारेको थियो । गुप्ताले भ्रष्टाचार गरी आर्जन गरेको अकुत सम्पत्ति जगत नारायण सहित मुकेश प्रसाद श्याम तिमल्सिनाको नाममा लगानी गरेका थिए । मुकेश प्रसादले नै मदनको रकम लगानीका लागि सेटिङ मिलाउने गरेका थिए ।
आम्दानीको तीन गुणाभन्दा बढी सम्पत्ति
गुप्ताले आफ्नो सेवा अवधिमा वैध सम्पत्तिको तुलनामा झन्डै तीन गुणाभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ । सरकारी सेवामा प्रवेश गरेयता उनको खर्च र लगानी मात्रै १९ करोड ३६ लाख ६१ हजार रुपैयाँ छ । आयोगले सरकारी सेवामा प्रवेश गरेदेखिको उनको वैध आयसमेतको हिसाब निकालेको छ । जसअनुसार उनको वैध आय चार करोड ५४ लाख ७२ हजार रुपैयाँ छ । बाँकी १४ करोड ८१ लाख ८९ हजारबराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी अख्तियारको छ । ‘अमिल्दो र अस्वाभाविक देखिन आएकाले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको १४ करोड ८१ लाख ८९ हजार निजले राष्ट्रसेवक भएपश्चात् के–कस्ता स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न सकिएन,’ अख्तियारले आरोपत्रमा भनेको छ । त्यही रकमलाई अख्तियारले बिगो कायम गरेको छ ।

कति छ गुप्ताको सम्पत्ति ?
परिवारका सदस्यका नाममा घर खरिद तथा निर्माणः चार करोड ८ लाख ५१ हजार
परिवारका सदस्यका नाममा जग्गा खरिदः ९० लाख १४ हजार
बैंक तथा वित्तीय संस्थाबाट लिइएका कर्जा तथा भुक्तानीः तीन करोड २७ लाख
पूँजीगतलगायतका कर शीर्षकः नौ लाख ७० हजार
सवारीसाधन खरिदः २७ लाख ६२ हजार
व्यवसायमा लगानीः ७१ लाख
सापटी दिएकोः ४३ लाख
छोराको विवाहलगायतको खर्चः ६१ लाख
परिवारका सदस्यबाहेकका अन्य व्यक्तिहरूमा लगानी
कविताकुमारीरराजेशकुमार गुप्ता र इन्दिरादेवी काफ्लेलगायतका नाममा घरजग्गामाः पाँच करोड २७ लाख ८९ हजार
निरजकुमार गुप्ताको नाममा जिप खरिदः ४० लाख
राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स (पेट्रोल पम्प)मा लगानीः ४० लाख
आफू र अन्यसमेतका नाममा बैंक खाता मौज्दातः दुई करोड ८५ लाख २८ हजार

(तस्वीर साभारः वीरगञ्ज डेली अनलाइनबाट)

प्रकाशित :२०७८ जेष्ठ ४, मंगलवार १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry