नवलपरासी डुबानमा, आधादर्जन बढी सरकारी कार्यालय बन्द

अधिकांश सरकारी कार्यालयहरूको महत्वपूर्ण कागजात तथा कम्प्युटर लगायतका मेसिनरीहरु भिजेर बिग्रेपछि पश्चिम नवलपरासीमा डुबानमा परेका आधा दर्जन बढी सरकारी कार्यालयहरूको सेवा बन्द भएको छ ।
Advertisement 1
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, निर्वाचन कार्याल, नापी कार्यालय, शिक्षा समन्वय इकाई कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन लगायतका कार्यालयहरूबाट तत्कालै सेवा दिन असमर्थ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत शुक्रबार अविरल वर्षाका कारण आएको भीषण बाढीले सदरमुकाम परासी बजार पुरै डुबानमा परेको थियो । डुबानमा परेका अधिकांश कार्यालयहरूको महत्वपुर्ण कागजातहरु भिजेका छन् भने कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी, स्क्यानर, लगायतका मेसिनहरु पनि भिजेर बिग्रेका छन् । त्यस्तै अफिस टेबल, कुर्ची, सोफा, दराज, फाईलहरु, नेटवर्किङ वायरहरु पनि भिजेका छन् भने कर्मचारीहरु बस्ने अवासका खाट र ओछयान, खाद्यान्न कपडासमेत भिजेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए ।
कार्यालयमा भिजेका कागजातहरु सुकाउँदै सुरक्षित गरिँदै छ भने बिग्रेका कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका उपकरणहरु मर्मत गराउँदै कार्यालयको सरसफाई समेत भइरहेकाले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।