संगठनमा प्रतिभा व्यवस्थापन
संगठनको सफलता प्रतिभा व्यवस्थापनको प्रभावकारितामा निर्भर रहने गर्दछ ।यो विषय मानव संसाधन व्यवस्थापनको महत्वपूर्ण आयाम पनि हो ।
मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । मानवश्रोत लाई मानवशक्ति वा श्रमशक्ति वा जनशक्ति पनि भन्ने गरिन्छ । मानवशक्ति वा श्रमशक्तिले अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने संवेदनालेयुक्त महत्वपूर्ण श्रोत हो। मानव संसाधन राष्ट्को सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै हो । देश संघीय संरचनामा प्रवेश गरेको अवस्थामा यसको महत्व अझै बढेको छ। मानव श्रोतको प्रभावकारिता वाट अन्य अन्य साधनश्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिने भएकोले मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा चिनिने गरेको हो । मानव संसाधन व्यवस्थापनको क्षेत्र निकै फराकिलो छ ।
Advertisement 1
मानव श्रोत व्यवस्थापनका अंगहरुमा योजना,प्राप्ति, उपयोग, विकास ,संभार, एकाकार, अवकाश र अवकाश योजना जस्ता विषयहरु समावेश भएका हुन्छन् । संगठन भित्र मानव स्रोतको प्राप्ति, तालिम तथा विकास, संगठन र यस अन्तरगत सम्पादन गर्नु पर्ने कार्यको प्रारुप तयार गर्ने कुराहरु यसको कार्यक्षेत्र अन्तर्गत पर्दछन् । यसका साथै मानव स्रोत योजना, यसको विकास र उपयोग, श्रमिक सम्बन्ध र उत्प्रेरणाका विषयहरुलाई पनि यसले समेट्ने गर्छ । यी सवै पक्षको उचित परिचालन वाट हुने अन्य पक्षहरुको प्रभावकारिता वढ्ने हुनाले नै मानव साधन महत्वपूर्ण र आवश्यकीय संयन्त्रको रुपमा रहने गर्दछ ।
मानव संसाधनको विवेकपूर्ण व्यवस्थापननै प्रतिभा व्यवस्थापन हो । प्रतिभा व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पूजीको रुपमा लिने गर्दछ र कसरी व्यक्ति विशेषमा रहेको दक्षतालाई सांगठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य वाट अभिप्रेरित गर्ने गर्दछ । साधारण अर्थमा प्रतिभा व्यवस्थापन संगठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो ।प्रतिभा व्यवस्थापनको यो बुझाईले संगठनमा प्राप्त भैसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्दछ तर प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र पक्ष र चक्र संग सम्बन्ध राख्ने विषय हो ।मानव संसाधन व्यवस्थापन नियुक्ति पूर्व र अवकाश पश्चातका विषय संग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त उत्कृष्ट जनशक्तिको प्राप्ति, विकास, प्रयोग र संगठनमा टिकाइराख्ने विषय समेत संग सम्बन्धित छ ।
Advertisement 2
संगठनमा उपलब्ध जनशक्तिलाई कार्यशैली, प्रविधि, विकसित नवीनतम प्रवृत्ति संग परिचित गराई कार्य सहजताका साथ सम्पादन गर्न सक्ने कौशलमा वृध्दि ल्याउनमा विकासको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मानवश्रोत विकास मानव श्रोत व्यवस्थापनका अवयवहरु मध्ये महत्वपूर्ण र प्रभावकारी अवयवको रुपमा चिनिने गर्दछ । संगठनमा एक पटक लिईएको जनशक्ति लाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तन को परिवेशमा सामयिक रुपमा परिमार्जित र विकास गरिनु पर्ने मान्यता नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्वपूर्ण विषय हो ।
मानव श्रोत ब्यबस्थापनमा विकास को महत्वपूर्ण स्थान रहेको छ । मानव श्रोत विकासलाई जनशक्ति विकासवा तालिम भनेर पनि चिन्ने गरिन्छ । जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तन संगै ज्ञान, सीप , र मनोवृत्ति मा सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई संगठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन सहयोग पुर्याउंछ । तालिमको आधुनिक मान्यता अनुसार तालिमले जनशक्ति लाई वर्तमान आवश्यकता अनुसार र भावी आवश्यकता अनुसार चल्न सक्ने बनाउन सक्नु पर्दछ भन्ने अवधारणाको विकास भएको छ ।
Advertisement 3
संगठनमा उर्जाशील, उत्पादनशील र सिर्जनशील जनशक्तिको विकासमा तालिमको महत्वपूर्ण भूमिका रहन्छ । जनशक्ति विकासले संगठनको दैनिक कार्यलाई व्यवस्थित गर्न, अपेक्षित परिणाम निकाल्न र संगठनको साख अभिवृध्दि गर्न प्रखर भूमिका निर्वाह गर्न सक्दछ जसले अमूल्य निधिको रुपमा रहेको जनशक्तिको क्षमतालेयुक्त पूजीको प्रयोग सामथ्र्यमा प्रभावकारिता ल्याइदिन्छ । तालिम यस्तो व्यवस्थापकीय औजार हो जसले मानवश्रोत व्यवस्थापनका अन्य आयामहरुको प्रभाकारितामा समेत सकारात्मक प्रभाव पार्ने सामर्थ्य राखेको हुन्छ । संगठनमा उपलब्ध सवै जनशक्ति संगठनका पूंजी तथा अमूल्य निधी हुन । सिर्जनशील, उर्जाशील, उत्पादनशील जनशक्तिहरु संघीय सुशासनका संवाहक हुन् ।प्रतिभा व्यवस्थापनको आयामलाई यसै परिवेशमा हेरिनु र परिचालित गर्नु आवश्यक हुन्छ ।
(दामोदर रेग्मी संघीयताका विज्ञ तथा कुशल प्रशासक हुन् )