पुष्करलाई सचिव र थापालाई एआइजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल बहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई प्रशासन समूहबाट सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगले गरेको सिफारिसका आधारमा उनको बढुवा भएको हो । बिहीबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले सहसचिवहरू कृष्णहरि पुष्कर, खगेन्द्र प्रसाद नेपाल र किरण राज शर्माको नाम सचिवमा बढुवाका लागि सरकारलाई सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिसमा परेका पुष्करको बढुवा भएको हो । पुष्कर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रवक्ताको जिम्मेवारीमा थिए ।

Advertisement 1

यस्तै क्याविनेटले डिआईजी थापाको एआइजीमा बढुवा गरेको हो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । संगठनमा हाल नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा आशा सिंह छन् । १० दिनअघि गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको थियो । सरकारले एआइजीको दरबन्दी थपेर उनको बढुवा गरेको हो । अब थापा आगामी बैशाखमा महानिरीक्षक बढुवाको प्रतिस्पर्धामा हुनेछन् ।

प्रकाशित :२०७८ असार २५, शुक्रबार ०५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry