भन्सारका डिजीमाथि अख्तियारको निगरानी

अर्थमन्त्री डा. प्रकाशशरण महत र तत्कालिन अर्थ सचिव अर्जुन पोखरेलले विश्वास गरेर भन्सार विभागको महानिर्देशकमा पठाएका शोभाकान्त पौडेलमाथि अख्तियारले निगरानी बढाएको छ । भन्सारका कर्मचारीहरुसँग सेटिङ गरेर अहिले पनि करोडौंका सामानहरु भित्रिरहेको सूचनाका आधारमा महानिर्देशक पौडेलमाथि निगरानी बढाइएको हो ।
Advertisement 1
अख्तियार स्रोतका अनुसार वीरगञ्ज भन्सारस्थित ड्राइपोर्ट (सुख्खा बन्दरगाहा)मा राजस्व छली तथा कोटाविपरीत ल्याइएका ठुलो परिमाणका सुपारी, रक्सी, छोकडा र मरिच आएको सूचना पाएपछि महानिर्देशक पौडेललाई अख्तियारले वयानका लागि बोलाएको छ ।
अख्तियार स्रोतका अनुसार भन्सार विभागका कर्मचारीहरुसँगको सेटिङबिना सुन, सुपारी, विदेशी मदिरा, पोस्तादानालगायत सामग्री कन्टेनरमा आउन सम्भव नै छैन । स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर कोटाविपरीत ल्याइएका झण्डै ४० ट्रक सुपारी, १० कन्टेनर अवैध रक्सी, ठुलो परिमाणका छोकडा, मरिच लगाएका माल सामानहरू गोप्य रूपमा राखिएका छन्। वर्षौंदेखि भन्सारका कर्मचारीहरुसँगको मिलेमतोमा अर्बौं राजस्व छली र तस्करी भइरहेको छ । एउटा सामानको भन्सार तिरेर अर्कै अवैध सामान भन्सारबाटै बाहिरिन थालेको सूचनाका आधारमा महानिर्देशक पौडेललाई अख्तियारले शंकाको घेरामा राखेको हो । यो भन्दा अगाडि आन्तरिक राजश्व विभागका महानिर्देशक बन्न ठुलै शक्ति तथा निकै जोडबलमा महानिर्देशक बनेका पौडेलले ठूला कम्पनीहरुसँग सेटिङ गरी कर छुट गराएर भ्रष्टाचारमा मुछिएका थिए । उनी ठूला करदाता कार्यालयको प्रमुख छँदा एनसेलको लाभ कर छलीमा पनि मुछिएका थिए।
Advertisement 2
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी उनै पौडेलले पाएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।