प्रमुख प्रशासकीय अधिकृत गुरागाईं अनिवार्य अवकाशमा, महानगरले छिट्टै नयाँ नेतृत्व पाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं उमेर हदका कारण बुधबारदेखि सरकारी सेवाबाट अनिवार्य अवकाशमा गएका छन्। महानगरपालिकाले एक कार्यक्रमका बीच उनको औपचारिक बिदाइ गरेको छ।
Advertisement 1
गुरागाईंले करिब २ वर्ष काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्य गरेका थिए। नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८१ भदौ २७ गतेको निर्णयअनुसार उनी २०८१ असोज ७ गते महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापन भएका थिए।
उनको कार्यकालमा महानगरको प्रशासनिक सञ्चालन, सेवा प्रवाह तथा संस्थागत व्यवस्थापनसँग सम्बन्धित विभिन्न निर्णय र प्रशासनिक सुधारका काम अघि बढेका थिए। यस अवधिमा महानगरको प्रशासनिक नेतृत्वसँग सम्बन्धित विषयहरू सार्वजनिक बहसको केन्द्रमा समेत रहेका थिए।
Advertisement 2
बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्य, विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
गुरागाईंको अवकाशसँगै काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पद रिक्त भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अब छिट्टै नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी गरेको स्रोतले जनाएको छ। नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएपछि महानगरको प्रशासनिक नेतृत्वले निरन्तरता पाउने अपेक्षा गरिएको छ।








