काठमाडौंमा अझैं एक साता निषेधाज्ञा थप्ने तयारी,कुन- कुन क्षेत्र खोल्न पाइन्छ ?

काठमाडौंमा गत १६ वैशाखदेखि जारी निषेधाज्ञा भोली मध्यरातबाट सकिँदैछ । जारी निषेधाज्ञा कुन मोडालिटीमा अघि बढाउने भन्ने बिषयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु बैठकमा जुट्दैछन् । काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले आज निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्न लागेको हुन् । आज अपरान्ह ३ बजेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक छ। उक्त बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुका अनुसार कोरोना भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञा अझैं लम्बाउने तयारी छ ।
Advertisement 1
कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझैं कम्तिमा एक सातादेखि १० दिन सम्म अझैं लम्बाउने तयारी छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार ‘स्मार्ट लकडाउनबारे सरकारबाट आधिकारिक डकुमेन्ट आइनसकेको भए पनि यो पटक थपिने निषेधाज्ञा पहिलेभन्दा अझैं खुकुलो हुने उनले सुनाए ।
‘स्मार्ट लकडाउन’को मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी)लाई छ । तर, सिसिएमसीले मोडालिटी तयार गरेर स्थानीय प्रशासनलाई सर्कुलर गरिसकेको छैन ।
Advertisement 2
उनका अनुसार व्यापारिक संस्थाहरु बार तोकेर खोल्ने गरी एक सातादेखि १० दिनसम्मको निषेधाज्ञा जारी हुनसक्ने सम्भावना बढेको छ । यातायात तथा सवारी साधन संचालनका विषयमा यसअघि गरिएको जोरविजोरको मोडालिटीमा भन्दा अन्तिम अंकलाई आधार मानेर सोही अंकसँग मिल्दो बारका आधारमा सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ । यसो गर्दा एकैपटक सडकमा भीडभाड कम हुने आँकलन सरोकारवाला निकाय र स्थानीय प्रशासनको छ ।
यस्तै असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी छ । यस्तै ग्राहकलाई बसेर खान नदिने सर्तमा केही समय दिएर खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको छ ।