स्थानीय तहबाटै स्वास्थ्य बीमाको सामूहिक दर्ता र नवीकरण गर्न सकिने, बोर्डले सुरु गर्‍यो डिजिटल सेवा

काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको आबद्धता र नवीकरण प्रक्रियालाई सहज बनाउन स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सञ्चालनमा ल्याएको छ।

Advertisement 1

बोर्डले २०८३ कात्तिक १७ गतेदेखि आफ्नो HIB e–Portal मार्फत ‘बल्क इनरोलमेन्ट तथा रिन्युअल’ (Bulk Enrollment/Renewal) सेवा औपचारिक रूपमा सुरु गरेको हो। नयाँ व्यवस्थासँगै प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्ड प्रयोग गरेर नागरिकलाई सामूहिक रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन र पुरानो बीमा नवीकरण गर्न सक्ने भएका छन्।

सेवाको पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरिएको बोर्डले जनाएको छ।

Advertisement 2

नयाँ प्रणालीमार्फत स्थानीय तहले आफैँ वा दर्ता सहयोगी परिचालन गरेर नागरिक तथा लक्षित लाभग्राहीको बीमा दर्ता, नवीकरण, योगदान रकम भुक्तानी र अभिलेख व्यवस्थापन गर्न सक्नेछन्। यसले स्थानीय सरकारलाई स्वास्थ्य बीमा विस्तारको प्रक्रियामा प्रत्यक्ष रूपमा सहभागी गराउने अपेक्षा गरिएको छ।

यसअघि सामूहिक रूपमा बीमा आबद्धता तथा नवीकरण गराउन विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थालाई डिजिटल प्रणालीले सहज बनाउने विश्वास बोर्डको छ। एउटै ड्यासबोर्डबाट धेरै नागरिकको विवरण व्यवस्थापन गर्न सकिने भएकाले दर्ता प्रक्रियामा लाग्ने समय घट्नुका साथै अभिलेख व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

Advertisement 3

बोर्डले डिजिटल सेवा उपयोग गर्न इच्छुक प्रदेश तथा स्थानीय तहलाई सम्बन्धित प्रदेश र जिल्ला कार्यालयसँग समन्वय गरी संस्थागत पहुँच प्राप्त गर्न आग्रह गरेको छ।

बोर्डको यो पहलले स्वास्थ्य बीमा कार्यक्रमलाई नागरिकको घरदैलोमा पु¥याउन स्थानीय तहको भूमिका थप प्रभावकारी बनाउने तथा बीमा आबद्धता र नवीकरणलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य राखेको छ।

प्रकाशित :२०८३ कार्तिक १८ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]