नेपाललाई पदक दिलाउने खेलाडी स्वदेश फिर्ता

काठमाडौं। जापानको २ फरक सहरमा भएको अन्तरराष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको नेपाली टोली स्वदेश फर्किएको छ।

Advertisement 1

जापानको नागोयामा सेप्टेम्बर २० देखि २३ तारिखसम्म भएको २०औँ एसियाली खेलकुद तथा योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म भएको ११औँ सितोरियो कराते डो अन्तरराष्ट्रिय च्याम्पियनसिपका पदक विजेतासहितको स्वदेश फर्किएको हो। दुवै प्रतियोगितामा नेपालबाट तीन पुरुष र पाँच महिला गरी आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। एसियाड खेलेका खेलाडी नै योकोहामामा भएको प्रतियोगितामा पनि सहभागी भएका थिए।

एसियाली खेलकुदको करातेमा नेपालका तेन्जिङ शेर्पाले मात्र पदक जिते। उनले पुरुष ८४ केजीमाथि कास्य पदक जितेका थिए। तेन्जिङको पदक २०औँ एसियाडमा नेपालले जितेको पहिलो पदक हो। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कास्य पदक पक्का गरेका थिए।

Advertisement 2

समग्र एसियाडको करातेमा तेन्जिङ पदक दिलाउने पाँचौँ खेलाडी हुन्। यसअघि एसियाडमा करातेले १ रजत र ३ कास्य जितेको थियो। १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कास्य तथा सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत जितेका थिए।

आठै खेलाडीले प्रतिस्पर्धा गरेको योकोहामाको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र तीन कास्य गरी छ पदक जितेको थियो। नेपालले व्यक्तिगत स्पर्धामा ४ र टिम स्पर्धामा २ गरी छ पदक हात पारेको थियो। महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाए। महिला ६८ केजी मुनि निरूपा दोङ तामाङले रजत तथा पुरुष ६७ केजी मुनि मिनबहादुर तामाङले कास्य जिते।

Advertisement 3

दोहोरो पदक जितेका एरिका र निरूपाले महिला टिम कुमुते पनि कांस्य हात पारे। यो स्पर्धामा उनीहरूसहित मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङले प्रतिस्पर्धा गरेका थिए। मेघा, एलिसा र सानुमायाले महिला टिम काता पनि कास्य प्राप्त गरे।

एसियाली खेलकुदमा भाग लिएपछि नेपाली टोली जापानको नागोयाबाट योकोहामा भएको प्रतियोगितामा सहभागी भएको थियो। पदक विजेता तेन्जिङले आफूले कराते यात्रा सुरु गरेको बौद्ध डोजोलगायत सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै अझ लामो यात्रा तय गर्न बाँकी रहेको बताए।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेपका सदस्य मोनालिशा खम्बु र ललिता नाथ, नेपाल कराते महासङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले स्वागत गरेका थिए।

खेलाडीसँगै टोलीका व्यवस्थापक कराते महासङ्घका अध्यक्ष युवराज लामा, कराते महासङ्घका महासचिव दावा गुरुङ तथा प्रशिक्षकद्वय कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ पनि स्वदेश फर्किएका छन्।

प्रकाशित :२०८३ आश्विन १४, बुधबार १५:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम