डिजिटल आँधीमा हराउँदै गरेको पठन संस्कृति

आजको आधुनिक संसार तीव्र गतिमा कुदिरहेको छ, जहाँ मानिससँग सबै कुराका लागि समय छ, तर एउटा पुस्तक शान्त भएर पढ्ने फुर्सद छैन। डिजिटल ग्याजेटहरूको लतले हाम्रो मस्तिष्कलाई छोटा र सतही सूचनामा अभ्यस्त गराइरहँदा, यसले हाम्रो सोच्ने र विश्लेषण गर्ने मौलिक क्षमतालाई नै अपाङ्ग बनाउँदै लगेको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ। टिकटक, फेसबुक र इन्स्टाग्रामको १५ सेकेन्डका ‘रील्स’ र ‘शट्स’ को कृत्रिम संसारमा आधुनिक मानिसको धैर्यता बालुवा झैँ पग्लिँदै गइरहेको छ। प्रविधिको तीव्र आँधी र डिजिटल ग्याजेटहरूको लतका कारण एकाग्र भई पुस्तकका पानाहरू पल्टाउने परम्परागत संस्कार आज ठुलो सङ्कटमा परेको छ। यस्तो चुनौतीपूर्ण समयमा पुस्तकको अस्तित्वसँगै जोडिएको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको पठन संस्कृति हो।
Advertisement 1
पठन संस्कृति भन्नाले पुस्तक वा कुनै पनि लिखित सामग्रीलाई नियमित रूपमा पढ्ने, त्यसमाथि गम्भीर चिन्तनमनन गर्ने र त्यसबाट प्राप्त ज्ञानलाई आफ्नो दैनिक व्यवहार, आचरण एवं जीवन पद्धतिमा उतार्ने बानी वा संस्कारलाई बुझाउँछ। वास्तवमा कुनै पनि समाज कति सभ्य, सचेत, लोकतान्त्रिक, विचारशील र उन्नत छ भन्ने कुराको वास्तविक मापन त्यस समाजका नागरिकहरूमा विद्यमान पठन संस्कृतिले गर्दछ। पठनले मानिसको कल्पनाशीलतालाई पखेटा दिन्छ, तार्किक क्षमतालाई धारिलो बनाउँछ र मानवीय संवेदनशीलतालाई अझ प्रगाढ तुल्याउँछ।
Advertisement 2
पठन संस्कृति केवल फुर्सदको समय काट्ने साधन वा एउटा सामान्य रुचि मात्र होइन, यो त मानव जातिको समग्र आत्मिक, बौद्धिक र सामाजिक विकासको अनिवार्य आवश्यकता हो। बौद्धिक विकासका दृष्टिकोणले पुस्तक मस्तिष्कका लागि एउटा उत्तम व्यायाम हो। जसरी शारीरिक व्यायामले शरीरलाई तन्दुरुस्त राख्छ, त्यसरी नै नियमित पठनले मस्तिष्कका कोषहरूलाई क्रियाशील, सचेत र जीवन्त राख्छ। यसले मानिसको स्मरणशक्ति बढाउन र रचनात्मकता विकास गर्न मद्दत गर्छ। मानव जातिले हजारौँ वर्षको अनुभव, अनुसन्धान, इतिहास, विज्ञान, संस्कृति र दर्शनबाट जे जति ज्ञान आर्जन गरेको छ, त्यसलाई सुरक्षित राख्ने र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने निर्विकल्प माध्यम पठन नै हो। पठन संस्कृति बिना ज्ञानको निरन्तरता सम्भव छैन।
Advertisement 3
सामाजिक दृष्टिकोणले हेर्दा एउटा सभ्य समाजको निर्माणमा पठन संस्कृतिको ठुलो भूमिका हुन्छ। पुस्तकले मानिसलाई ‘समानुभूति’ अर्थात् अरूको दुःखलाई आफ्नै सम्झेर बुझ्ने क्षमता सिकाउँछ। विभिन्न देश, काल र परिस्थितिका चरित्रहरूको भोगाइ पढेर मानिसले अरूको विचार, संस्कृति र जीवनशैलीप्रति आदर गर्न सिक्छ, जसले समाजमा सहिष्णुता, भ्रातृत्व र शान्ति कायम गर्न मद्दत गर्दछ। यसका साथै आधुनिक, व्यस्त र तनावग्रस्त जीवनमा आत्मिक शान्ति प्राप्त गर्नका लागि पुस्तक अध्ययन एउटा उत्कृष्ट औषधि साबित भएको छ। यसले मानिसलाई डिप्रेसन र एन्जाइटी जस्ता समस्याबाट टाढा राख्न मद्दत गर्छ।
मानिसले पुस्तक पढ्ने उद्देश्य, परिस्थिति र प्रकृतिका आधारमा पठनको शैली र यसको स्वरूपलाई मुख्य दुई भागमा वर्गीकरण गरेर हेर्न सकिन्छ। पहिलो अनिवार्य पठन हो, जुन मानिसले आफ्नो औपचारिक शिक्षा पूरा गर्न, कुनै निश्चित पेसा अङ्गाल्न वा जागिरको सिलसिलामा बाध्य भएर वा कर्तव्य ठानेर गर्नुपर्ने हुन्छ। स्कुल र कलेजका पाठ्यपुस्तकहरू, प्राज्ञिक पाठ्यक्रमहरू र कार्यालयका कानुन, ऐन तथा निर्देशिकाहरू यस अन्तर्गत पर्दछन्। यसको प्रकृति बढी औपचारिक र परीक्षा वा परिणाममुखी हुन्छ। दोस्रो स्वैच्छिक वा अभिरुचिको पठन हो, जुन बढी स्वतन्त्र स्वरूपको हुन्छ। यो मानिसले कुनै बाह्य दबाब वा बाध्यता बिना, केवल आफ्नो व्यक्तिगत इच्छा, उत्सुकता, ज्ञानको तिर्खा मेट्न वा विशुद्ध आत्मिक मनोरञ्जनका लागि स्वतःस्फूर्त रूपमा गर्ने पठन हो। उपन्यास, कविता, नाटक, दर्शन, इतिहास, सफल व्यक्तिहरूको जीवनी र आत्मवृत्तान्तको अध्ययन यसभित्र पर्दछन्। यसले मानिसको आन्तरिक चेतनालाई व्यापक बनाउँछ।
पठन केवल अक्षरहरूको पहिचान मात्र होइन, बरु पुस्तकमा अन्तर्निहित भावना, विचार र मर्मलाई सही रूपमा ग्रहण गर्नु नै वास्तविक पठन हो। इतिहासदेखि नै पुस्तक वाचनका मुख्य दुईवटा शैलीहरू प्रचलनमा रहेका छन्। आवाज निकालेर पढ्ने सस्वर वाचन शैली विशेष गरी प्राथमिक तहका साना विद्यार्थीहरूका लागि र सामूहिक रूपमा अरूलाई सुनाउनका लागि अत्यन्तै उपयोगी हुन्छ। यस शैलीले पाठकको उच्चारण शुद्ध बनाउन, स्वरको उतारचढाव बुझ्न र आत्मविश्वास बढाउन ठुलो मद्दत पुर्याउँछ। अर्कोतर्फ मनमनै र शान्त भएर पढ्ने मौन वाचन अलि परिपक्व शैली हो, जहाँ पाठकले बाहिर आवाज ननिकाली केवल आफ्नो आँखा र मस्तिष्कको तीव्र समन्वयमा पुस्तकको अध्ययन गर्दछ। मौन वाचनले मानिसलाई तीव्र गतिमा पढ्न सघाउँछ र विषयवस्तुलाई गहिराइमा बुझ्न, विश्लेषण गर्न तथा चिन्तन गर्न मद्दत गर्दछ। समयको परिवर्तनसँगै आजको युगमा आधुनिक पाठकहरूले मुख्य अंश मात्र सरसरती हेर्ने ‘स्किसमङ’ र विशिष्ट सूचना वा शब्द खोज्ने ‘स्क्यानिङ’ जस्ता तीव्र पठनका आधुनिक प्रविधिहरू प्रयोग गर्ने गरेका छन्। यी आधुनिक शैलीहरूले समयको बचत गराए तापनि साहित्यिक आनन्द र गहिरो दार्शनिक बुझाइका लागि भने आज पनि धैर्यपूर्वक गरिने परम्परागत गहन पठनकै महत्त्व बढी देखिन्छ।
प्राचीन र मध्यकालमा जब संसारभर नै साक्षरताको दर निकै कम थियो र पुस्तकहरू हातले लेखिने हुनाले अत्यन्तै दुर्लभ र महँगा हुन्थे, तब समाजमा एउटा अनौठो र सुन्दर पठन संस्कृति विद्यमान थियो, जसलाई ‘पुस्तक वाचन परम्परा’ भनिन्छ। त्यतिबेला समाजमा एकजना साक्षर व्यक्तिले पुस्तक चर्को स्वरमा पढ्ने र बाँकी सयौँ अशिक्षित वा सामान्य मानिसहरूले एक ठाउँमा भेला भएर ध्यानपूर्वक सुन्ने प्रचलन थियो। युरोप र अरबका पुराना कफी हाउसहरू, सार्वजनिक चौतारीहरू तथा राजदरबारहरूमा विशेष रूपमा व्यावसायिक पुस्तक वाचकहरू राखिन्थ्यो। नेपालको सन्दर्भमा पनि यो मौखिक र सामूहिक पठन संस्कृति निकै बलियो रूपमा रहेको देखिन्छ। गाउँघरमा पुराण लगाउँदा, स्वस्थानी व्रत कथा वाचन गर्दा वा हिउँदका चिसो रातहरूमा चौतारी वा आगोको धुनी वरिपरि बसेर ‘भानुभक्तीय रामायण’ भट्ट्याउँदा अरूबाट पुस्तक वाचन गराउने र सामूहिक रूपमा सुन्ने निकै ठुलो सामाजिक परम्परा थियो, जसले समाजलाई जोड्ने काम गर्दथ्यो।
विश्व मानचित्रमा पुस्तक पढ्ने बानीको भौगोलिक विविधतालाई हेर्दा निकै रोचक तथ्यहरू अगाडि आउँछन्। विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षणहरूका अनुसार विश्वमा प्रतिहप्ता पुस्तक पढ्ने समयका आधारमा भारत, थाइल्याण्ड, चीन र फिलिपिन्स जस्ता एसियाली देशहरू अग्रस्थानमा पर्दछन्। यहाँका मानिसहरू प्राज्ञिक र स्वैच्छिक पठनमा धेरै समय खर्चिन्छन्। युरोपेली मुलुकहरू विशेष गरी फिनल्याण्ड, आइसल्याण्ड र नर्वे जस्ता देशहरूमा प्रतिव्यक्ति पुस्तक प्रकाशनको दर र पुस्तकालय जाने नागरिकहरूको सङ्ख्या संसारमै सबैभन्दा उच्च रहेको छ। आइसल्याण्डमा त क्रिसमसको पूर्वसन्ध्यामा एकअर्कालाई पुस्तक उपहार दिने र रातभर पढेर बिताउने एउटा सुन्दर र अनौठो राष्ट्रिय परम्परा नै छ, जसलाई ‘जोलबोकाफ्लोड’ भनिन्छ। यसको विपरीत युद्धग्रस्त क्षेत्र, चरम गरिबी, अनिकाल र न्यून साक्षरता दर भएका अफ्रिकी तथा अन्य पिछडिएका मुलुकहरूमा भने पुस्तकको पहुँच र पठन दर निकै दयनीय र दुःखलाग्दो अवस्थामा रहेको देखिन्छ।
आजको आधुनिक र उपभोक्तावादी समाजमा हाम्रो गौरवपूर्ण पठन संस्कृति एक गम्भीर सङ्कट र चुनौतीहरूको चक्रव्यूहमा फसिरहेको छ। सबैभन्दा ठुलो चुनौती मानिसहरूमा बढ्दै गएको अधैर्यता र ध्यानको कमी अर्थात् ‘शर्ट एटेन्सन स्प्यान’ हो। सामाजिक सञ्जालको अत्यधिक प्रयोगले गर्दा आधुनिक मानिसको मस्तिष्क छोटा रील्स र सट्स हेर्न अभ्यस्त भइसकेको छ। यसले गर्दा घण्टौँसम्म एकाग्र भई पुस्तक पढ्ने क्षमता तीव्र रूपमा ह्रास हुँदै गइरहेको छ, जसका कारण गम्भीर विचार र दर्शनका पुस्तकहरू ओझेलमा पर्दै गएका छन्। पूर्वाधारको दृष्टिकोणले हेर्दा, विशेष गरी नेपाल जस्ता विकासोन्मुख देशका गाउँघर र सरकारी विद्यालयहरूमा व्यवस्थित सार्वजनिक पुस्तकालयहरूको ठुलो अभाव छ। पुस्तक पढ्न चाहनेहरूले पनि सहजै पुस्तक पाउने वातावरण छैन। अर्कोतर्फ, बढ्दो महँगी र क्रयशक्तिका कारण पनि समस्या थपिएको छ। कागज र मुद्रणको मूल्य निरन्तर बढ्दै जाँदा आज बजारमा पुस्तकहरू निकै महँगा भएका छन्। यसले गर्दा पुस्तक खरिद गर्नु सर्वसाधारण नागरिकको क्रयशक्तिभन्दा बाहिरको विषय बन्दै गइरहेको छ। यसका साथै लेखन र प्रकाशनको क्षेत्रमा पनि व्यावसायिकता र नाफा कमाउने नाममा गुणस्तरहीन, सस्तो लोकप्रियताका लागि लेखिएका र सतही पुस्तकहरूको बाढी आएको छ, जसले पाठकमा भ्रम पैदा गरिरहेको छ।
हराउँदै र सङ्कटमा पर्दै गएको पठन संस्कृतिलाई पुनः ब्यूँताउन र नयाँ पुस्तामा हस्तान्तरण गर्न हामीले तत्कालै केही ठोस उपाय र स्पष्ट भावी कार्यदिशा अँगाल्नु अनिवार्य भइसकेको छ। पठन संस्कृतिको सुरुवात पहिलो पाठशाला अर्थात् घर र पारिवारिक वातावरणबाटै हुनुपर्दछ। अभिभावकहरूले आफैँ मोबाइल र ग्याजेट छोडेर पुस्तक पढ्ने बानी बसाल्नुपर्छ, ताकि बालबालिकाले त्यो सिकोस्। बालबालिकाहरूको जन्मदिनमा डिजिटल ग्याजेट वा महँगा खेलौनाको सट्टा रचनात्मक पुस्तक उपहार दिने पारिवारिक संस्कार बसाल्नुपर्दछ। राज्यको नीति र पुस्तकालय अभियान पनि उत्तिकै महत्त्वपूर्ण छ। राज्यका तर्फबाट एक स्थानीय तह, एक आधुनिक पुस्तकालयको नीतिलाई कडाइका साथ लागू गरिनुपर्दछ। प्रत्येक विद्यालय र स्थानीय समुदायमा भौतिक पुस्तकका साथै अत्याधुनिक ई-लाइब्रेरीको स्थापना गरिनुपर्छ, जहाँ सर्वसाधारणको निःशुल्क पहुँच होस्। व्यक्तिगत तहमा हामी सबैले साताको वा दिनको केही समय प्रविधिबाट टाढा रहने अर्थात् ‘डिजिटल डिटोक्स’ को अभ्यास गरी दैनिक कम्तीमा १० देखि १५ पाना रचनात्मक पुस्तक पढ्ने दृढ सङ्कल्प गर्नुपर्दछ। विद्यालय, कलेज र स्थानीय समुदायमा नियमित रूपमा पठन क्लबहरूको स्थापना गरिनुपर्छ। महिनामा कम्तीमा एक पटक एउटा पुस्तकमाथि सबै मिलेर खुला चर्चा, समीक्षा र स्वस्थ बहस गर्ने वातावरण निर्माण गरेमा युवा पुस्तामा पठनप्रति रुचि जाग्नेछ।
पठन संस्कृति मानिसलाई मनुष्यत्व (मानवता) र अज्ञानताबाट विवेकको मार्गतिर लैजाने ज्ञानको सर्वोत्तम आलोक हो। आजको सामाजिक सञ्जालको युगले निम्त्याएको मानसिक अधैर्यता र सतही ज्ञानको दलदलबाट बचेर एक विचारशील, सुसंस्कृत, संवेदनशील र सचेत नागरिक बन्नका लागि पठन संस्कृतिलाई जोगाउनु आजको सिङ्गो मानव समाजको प्राथमिक र अपरिहार्य दायित्व हो।








