नयाँ र परिमार्जित पाठ्यक्रम २०८४ देखि लागू हुने, पाठ्यक्रम विकास केन्द्रको सूचना

काठमाडौं। पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययन विषयका नयाँ पाठ्यपुस्तक तथा आधारभूत तह र प्रारम्भिक बालविकासका परिमार्जित पाठ्यक्रम शैक्षिक सत्र २०८४ देखि लागू हुने जनाएको छ।
Advertisement 1
केन्द्रले साेमबार सूचना जारी गर्दै पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सिफारिस र शिक्षा तथा खेलकुद मन्त्रालयको निर्णयअनुसार स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र सरोकारवालालाई जानकारी गराएको हो।
सूचनाअनुसार सामाजिक अध्ययन विषयको कक्षा ४–१२ को स्वीकृत पाठ्यक्रम अनुरूप विकास गरिएका कक्षा ५, ८, १० र १२ का पाठ्यपुस्तक शैक्षिक सत्र २०८४ देखि कार्यान्वयनमा आउनेछन्।
Advertisement 2
त्यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ वैशाख ११ गतेको निर्णय अनुसार स्वीकृत आधारभूत तह (कक्षा १–३) को परिमार्जित पाठ्यक्रम–२०८२ तथा प्रारम्भिक बालविकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम–२०८२ पनि यही शैक्षिक सत्रदेखि लागू गरिने भएको छ।
पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकअनुसार आवश्यक तयारी गरी प्रभावकारी कार्यान्वयन गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई अनुरोध गरेको छ।
Advertisement 3
सूचना पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत कुमार घिमिरेद्वारा जारी गरिएको हो।









