‘ज्योतिको जीवन बचाऊ’ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं। वीर अस्पतालका नर्सहरूले नर्स तथा मिडवाइफहरूको १५ बुँदे माग तत्काल कार्यान्वयन गर्न र आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटको जीवनरक्षाका लागि सरकारसँग तत्काल पहल गर्न माग गर्दै अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।
Advertisement 1
प्रदर्शनमा सहभागी नर्सहरूले ‘१५ बुँदे माग तुरुन्त पूरा गर’, ‘नर्स ज्योति रानाभाटको जीवन रक्षा गर’, ‘न्यूनतम पारिश्रमिक ग्यारेन्टी गर’ तथा ‘विभेदकारी कानुनी व्यवस्था संशोधन गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सरकारले तोकेको न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रम शोषण अन्त्य, सेवा–सुविधा सुधारलगायतका १५ बुँदे माग राख्दै रानाभाट साउन १४ गतेदेखि आमरण अनशनमा बसेकी हुन्। मंगलबार उनको अनशन पाँचौँ दिनमा प्रवेश गरेको छ।
Advertisement 2
हाल वीर अस्पतालमै उपचाररत रानाभाटको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सकहरूले बताएका छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको रक्तचाप र रगतमा चिनीको मात्रा लगातार घटिरहेको छ। चिकित्सकले सघन उपचार कक्ष (आईसीयू) मा राख्न सुझाव दिए पनि उनले अस्वीकार गरेकी छन्। उनले औषधिसमेत नलिएको अस्पताल स्रोतले जनाएको छ।

Advertisement 3
रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम तथा अर्थ मन्त्रालयका प्रतिनिधि सहभागी हुने उच्चस्तरीय वार्ताको माग गर्दै आएकी छन्। स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोलीसँग छलफल भए पनि ठोस कार्ययोजना नआएको भन्दै वार्ता निष्कर्षविहीन बनेको जनाइएको छ।
यसअघि नेपाल नर्सिङ संघले पनि सरकारसँग विगतका सहमति तत्काल कार्यान्वयन गर्न तथा अनशनरत रानाभाटको जीवनरक्षाका लागि प्रभावकारी पहल गर्न आग्रह गरेको थियो। संघले नर्सहरूको तलब–भत्ता, सेवा–सुविधा र कार्य वातावरणमा सुधार नगरे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा प्रतिकूल असर पर्ने चेतावनी दिएको छ।
रानाभाटका प्रमुख मागमा सरकारी तथा निजी अस्पतालमा कार्यरत नर्स र मिडवाइफका लागि सरकारले तोकेकोभन्दा कम नहुने न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने, सम्मानजनक सेवा–सर्त लागू गर्ने, पर्याप्त दरबन्दी सिर्जना गर्ने, श्रम शोषण अन्त्य गर्ने, जोखिम भत्ता उपलब्ध गराउने, सार्वजनिक बिदाको व्यवस्था गर्ने तथा विभेदकारी कानुनी प्रावधान संशोधन गर्ने विषय समावेश छन्।








