दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

चन्द्रकला भण्डारी।
जङ्गलको बाटो, काँधमा क्यामरा अनि आँखामा चरा खोज्ने सपना बोकेर मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेल एक दशकदेखि दौडधुप गरिरहनुभएको छ। पेसा र सोखले फोटोग्राफर खरेल आज नेपालकै वन्यजन्तु संरक्षण र चरा अनुसन्धानमा इतिहास ब्युँताउने नाम बन्नुभएको छ।

Advertisement 1

नेपालमा डेढ सय वर्षदेखि नदेखिएको दुर्लभ चरा ‘हङरायो’ र नेपालकै इतिहासमा पहिलोपटक ‘हरित परेवा’ पत्ता लगाएर विश्वभर सनसनी मच्चाउने खरेल हाल मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको अध्यक्ष हुनुहुन्छ। उहाँले नै ‘बैजनी ढाँडे बुङ्गे’ चरा नेपालमा पहिलोपल्ट फेला पार्नुभएको अभिलेखीकरण भएको छ।

विसं २०७८ पुसको जाडोमा इलामको सूर्योदय नगरपालिका–१ स्थित थुम्के भन्ने ठाउँमा चरा खोज्न हिँडिरहेका बेला खरेलको नजर आकाशमा ठूला प्वाँख फिजाएर उडिरहेका एक जोडी अनौठा चरामा प¥यो। संयोगले ती चरा नजिकैको रुखमा बसेपछि उहाँले केही तस्बिर र भिडियो खिच्नुभयो। त्यही चराको फोटोले उहाँलाई संसारभर चिनायो। ती चराहरु दुर्लभ प्रजातिको एक जोडी ‘हङरायो’ थिए।

Advertisement 2

“फोटो खिचिसकेपछि यो खबर म कसलाई सुनाउँ, कुन मिडियालाई भनुँ, कि के गरुँ जस्तो भएको थियो”, अनौठो चरा भेट्दाको खुसी साट्दै उहाँ भन्नुहुन्छ, “मेरो भाग्य, ती चरा रुखमै बसे। उडेर टाढा गइदिएका थिए भने मैले फोटो खिच्न पाउने थिइन। मैले फटाफट फोटो खिचेँ। त्यो मेरो जीवनकै सबैभन्दा अविस्मरणीय क्षण हो।”

प्रधानमन्त्री भीमसेन थापाको पालातिर ब्रिटिस खोजकर्ता ब्रायन हड्सनले नेपालमा विश्वमै पहिलोपल्ट ‘हङरायो’ चरा भेटिएको प्रमाण पेस गर्नुभएको थियो। डेढ सय वर्षपछि खरेलले यो चरा नेपालमा जीवितै रहेको प्रमाण दिनुभयो। त्यसअघि खोजकर्ताहरुले ‘हङरायो’ नेपालबाट लोप भइसकेको औपचारिक प्रतिवेदन नै दिइसकेका थिए।

Advertisement 3

सुरुका दिनमा दृश्य, फूल र पुतलीको तस्बिर खिच्ने खरेलको ध्यान विस्तारै चराचुरुङ्गीतर्फ सोझियो। भारतकी प्रख्यात वाइल्डलाइफ फोटोग्राफर राथिका रामास्वामी र जीवविज्ञानका लेखक कमल मादेनका कामहरूले उहाँको मनमा चरा खोज्ने भोक जगाइदियो। यही भोकले उहाँलाई नेपालको चरा इतिहासमै एउटा सुनौलो पाना थप्ने ठाउँसम्म पुर्यायो।

नेपालको ८८७ औँ चराको रूपमा ‘हरित परेवा’लाई मानिन्छ। यो चरा २०७७ मङ्सिर ९ गते मेचीनगर नगरपालिका–७ मा खरेलले नै फेला पार्नुभएको थियो। घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ। यो परेवा नेपालमा पाइन्छ भनेर खरेलले नै पत्ता लगाउनु भएको हो। २०८१ फागुन ७ गते उहाँले मेचीनगरकै काँकडभिट्टामा ‘बैजनी ढाँडे बुङ्गे’ चराको तस्बिर र भिडियो खिच्नुभएको थियो। उक्त चरा नेपालमा पहिलोपल्ट फेला भेटिएपछि नेपालमा पाइने चराको सूचीमा एउटा चरा थपिएको थियो।

मेचीनगरको बाहुनडाँगीमा ‘बगर बट्टाई’ र इलामको रोङस्थित कुटीडाँडामा ‘रातो ढाँडे पुष्पकोकिल’ लगायतका दर्जनौँ दुर्लभ मानिएका चराको खोज गरेर उहाँले नेपाललाई चराको स्वर्गको रुपमा चिनाउन योगदान दिनुभएको छ। उहाँले अति दुर्लभ मानिएको पेट कैले कोइली, कालो टाउके बगेडी र संसारकै सबैभन्दा तीव्र गतिमा उड्ने शाहीबाज नामक चरा समेत मेचीनगरमै फेला पारेर तस्बिर सार्वजनिक गर्नुभएको छ।

भौगोलिक रूपमा नेपाल सानो भए पनि चराको विविधतामा विश्वकै २६ औँ स्थानमा पर्छ। हाल नेपालमा ९०३ प्रजातिका चरा रेकर्ड भइसकेका छन्। त्यसमा पनि मेचीनगर क्षेत्र चराहरूको ‘हटस्पट’ रहेको उहाँ बताउनुहुन्छ। उहाँकै पहलमा मेचीनगरमा मात्रै ३६१ भन्दा बढी प्रजातिका चरा भेटिइसकेका छन्।

मेचीनगर–५ मा हालै उहाँले लामो पुच्छर भएको स्वर्गचरीको बच्चा हुर्काइरहेको जोडी नै फेला पार्नुभएको छ। नगरपालिका, बैंकलगायतका सरकारी तथा गैरसरकारी निकायले उहाँले खिचेका सुन्दर एवं दुर्लभ चराहरुको तस्बिरलाई आफ्नो कार्यालयको अतिथि गृहमा सजाएर र स्मारिकाहरुमा प्रकाशन गरेर सम्मान दर्साउने गरेका छन्।

नेपालमा चरा संरक्षणको अवस्था निकै दयनीय रहेकोमा खरेल चिन्ता व्यक्त गर्नुहुन्छ। “हाम्रो देशमा चरा पनि जोगाउनुपर्छ र ? भन्ने चेतना छ”, उहाँ भन्नुहुन्छ– “कोशी टप्पुभन्दा पूर्व एउटा पनि वन्यजन्तु आरक्ष नहुनु र देशैभरि जम्मा दुईवटा घोडाघोडी र जगदीसपुर ताल मात्र ‘चरा संरक्षित क्षेत्र’ हुनुले चरा संरक्षणतर्फ राज्यको उदासिनता प्रष्ट हुन्छ।” मेची नदीपारि भारततर्फ भने आसामसम्म पुग्दा १२ भन्दा बढी वन्यजन्तु संरक्षित क्षेत्रहरु रहेको उहाँले बताउनुभयो। मेचीनगर, रोङ र सूर्योदय क्षेत्रलाई समेटेर ‘चरा संरक्षित क्षेत्र’ घोषणा हुनुपर्ने उहाँको धारणा छ। यस क्षेत्रमा चरा देखाएर पर्यटक आकर्षण गर्न सकिने उहाँको भनाइ रहेको छ।

नेपालमा अहिलेसम्म चरा पर्यटनको सम्भावनालाई सरकारले अध्ययन नगरेको गुनासो गर्दै उहाँले नेपालको हावापानी, भूगोल र प्राकृतिक सौन्दर्यसँगै चरा हेर्न समेत विदेशबाट पर्यटक भित्र्याउन सकिने बताउनुभयो। उहाँ भन्नुहुन्छ, “तर यसका लागि राज्यले चरा संरक्षित क्षेत्रहरु घोषणा गर्नुपर्छ र प्रचारप्रसारलाई व्यापक बनाउनुपर्छ।”

चरा रमाइलोका लागि मात्र होइन, मानव अस्तित्वका लागि अनिवार्य रहेको खरेल बताउनुहुन्छ। हाम्रो साहित्य, संस्कृति र सङ्गीत चराकै चिरविरबाट सुरु हुने जनाउँदै उहाँले चरा बिनाको धरती निरस र बस्न अयोग्य हुने बताउनुभयो। किंवदन्ती, उखान, गीत, लोकभाका र श्रुतिहरुमा चरा बाँचेको उहाँ बताउनुहुन्छ। उहाँ चराहरुलाई धरती हराभरा बनाउने ‘अदृश्य माली’ भन्न रुचाउनुहुन्छ। “चराले बोलेको, गाएको, नाचेको भावलाई लिएर गीत र साहित्य रचना भएका छन्”, उहाँ भन्नुहुन्छ, “बिहानलाई बुझाउन कथा लेख्नुपर्यो भने चरा चिरविर गरेको भन्ने गरिन्छ। चित्रकारले हिमाल मास्तिर चरा उड्दै देखाउँछ। चराले फलफूल खाएर बिस्कटयाउँदा होस् या चुच्चोमा टिपेर फलफूल अर्को ठाउँमा पु¥याउँदा झुक्किएर झरेका बीजबाट वनजङ्गल फैलिएको हो।”

चराको चोरी शिकारी रोक्न र यसको बासस्थानको संरक्षण मात्रै गर्न सक्दा ठूलो उपलब्धि हुने उहाँ बताउनुहुन्छ। ग्याटिसजस्ता साधन प्रयोग गरेर चरा मार्ने र चरालाई आतङ्कित तुल्याउने कार्यलाई निरुत्साहित गर्न विद्यालय तहमै चरा संरक्षणको ज्ञान दिनुपर्ने उहाँको धारणा छ। चरामार्फत विश्वभर नेपालको नाम चम्काउने खरेलको पर्दा पछाडिको ब्यथा भने निकै मार्मिक छ। राज्य र समाजको उदासिनताका कारण चरा खोज्दाखोज्दै उहाँले आफ्नो निजी सम्पत्ति धेरै खर्च गरिसक्नुभएको छ। चरा जोगाउने कुरा गर्दा मानिसहरू हाँस्ने गरेको तीतो अनुभव उहाँसँग छ। आफूसँग चराको तस्बिर र भिडियो खिच्ने अत्याधुनिक क्यामरा र लेन्सको अभावका कारण थुप्रै दुर्लभ तस्बिर र भिडियो कैद गर्न नपाएको उहाँको गुनासो छ।

यही क्षेत्रमा काम गर्ने क्रममा उहाँले सामाजिक पहिचान र सम्मानसमेत पाउँदै आउनुभएको छ। चरा तथा वन्यजन्तुको खोज, अनुसन्धान र संरक्षणमा पु¥याउनुभएको योगदानको कदर गर्दै सुसेली साहित्यिक परिवारले उहाँलाई गत वर्ष डा मुकेशकुमार जनककुमारी चालिसे विज्ञान पुरस्कारबाट सम्मानित गरेको छ भने लाल भागिरथा बानियाँ प्रतिष्ठानले राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेको छ। कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकडभिट्टाले उहाँलाई पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रहेका चराहरुको खोजी गर्नका लागि सहयोग लिने गरेको छ।

चराको खोजीका लागि उहाँ नेपालको विभिन्न जिल्ला र भारतको केही प्रान्तहरुमा पुग्नुभएको छ। विदेशबाट नेपालका चरा हेर्न आउने पर्यटक र अनुसन्धाताहरुलाई उहाँले ‘गाइड’को रुपमा झापा, इलामलगायत देशका विभिन्न जिल्लामा घुमाउने गर्नु भएको छ। चरा संरक्षणका लागि तीनै तहका सरकारले बजेटको व्यवस्था नगरेकोमा उहाँको गुनासो छ। पर्यटकीय पूर्वाधारको नाममा बन क्षेत्रमा कङ्क्रिटका ठूला संरचना बनाउने र कर्कश आवाज निकाल्ने ‘साउन्ड सिस्टम’ प्रयोग गरिदा चराको बासस्थान र विचरणमा नकारात्मक असर परेको उहाँको भनाइ छ। पछिल्ला दिनमा उहाँले नयाँ पुस्तालाई चरा चिनाउने र संरक्षणको चेतना जागृत गर्ने अभियान सञ्चालन गरिरहनु भएको छ। विद्यालयमा गएर चरा संरक्षणको विषयमा पढाउनेदेखि सिमसार र जङ्गलहरुमा पुगेर समुदायलाई चरा चिनाउने प्रशंसनीय कार्य उहाँको नेतृत्वमा भइरहेको छ।

प्रकाशित :२०८३ असार ११, बिहीबार १०:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम