सांसदद्वारा सुकुमवासीका समस्या समाधान गर्न माग

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन्।
Advertisement 1
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिदा सुकुमवासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हन्।
सांसद गणेशसिंह ठगुन्नाले सुकुमवासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानर्कषण गराउनुभयो। साथै उनले प्रधानमन्त्री वालेन्द्र शाहले केही समयअघि सदनमा सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे।
Advertisement 2
सांसद रमेशकुमार मल्लले केही दिनअघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीले देखिएको व्यवहार दुःखद् भएको उल्लेख गर्दै अब यस्ता घटना दोहोरिन नदिन सरकारसहित सम्बद्ध सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरे।
सांसद आरेन राईले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै मुलुकका श्रमिक, गरिब, सुकुमवासीका हकहितका पक्षमा काम गर्न सरकारसँग अनुरोध गरे।
Advertisement 3
सांसद ज्ञानबहादुर शाहीले आमनागरिकको बाँच्न पाउने आधार खोसिन नहुने बताउँदै गणेश नेपालीको आत्मदाहलाई रुखो व्यवहारले प्रोत्साहन गरेकाले त्यसमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे।
सांसद निष्कल राईले लोकतन्त्रको गहना भनेकै जवाफदेहिता र प्रश्न गर्ने अधिकार रहेको बताउँदै जनताको अभिव्यक्ति स्वतन्त्रतामा कुनै किसिमको बन्देज लगाउन नपाइने उल्लेख गरे। उनले एउटा नागरिकले आफ्नो ज्यान गुमाउन बाध्य हुनुपर्ने घटनाका बारेमा सरकार संवेदनशील हुनुपर्ने बताए।








