नास्टमा बेइथिति : कानुनविपरित संकाय प्रमुख नियुक्ति, सचिव र भिसी मिलेर संस्थामा मनपरी
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा नेतृत्वले बेथिति गरेको कर्मचारीले आरोप लगाएका छन्। नास्टका उपकुलपति (भीसी) प्रा. डा. दिलिप सुब्बा र सचिव डा. रबिन्द्र ढकालको मिलेमतोमा नास्टमा बेथिति भइरहेको नास्टका कर्मचारीहरुले बताएका हुन्।
Advertisement 1
विज्ञान तथा प्रविधि क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्दै आएको नास्टले उपकुलपति सुब्बा र सचिव ढकालको मनपरीले वैज्ञानिकहरुले योजना अनुसार अनुसन्धान गर्न पाएका त छैनन नै। साथै संस्थालाई धरासयीको बाटोमा पनि पु¥याउन खोजिएका नास्टकै कर्मचारीहरुको आरोप छ।
नास्टको मूल उद्देश्य अनुसन्धान गर्ने हो। क्षेत्रअनुसार अध्ययन अनुसन्धानका लागि दुईवटा फरफरक संकाय छन्। एउटा संकाय विज्ञान संकाय र अर्को प्रविधि संकाय। विज्ञानसँग सम्बन्धित अनुसन्धान विज्ञान संकायअन्तर्गत पर्छ भने प्रविधिसँग सम्बन्धित अध्ययन प्रविधि संकायको मातहतमा छ। दुइटै विभाग (संकाय)मा एक–एक जना प्रमुख रहने कानुनी प्रावधान छ। संकाय प्रमुखको नियुक्ति सम्बन्धित विभागमा कार्यरत वरिष्टतम वैज्ञानिक प्राविधिकहरुबाट छनोट हुने भनिएको छ।तर, विज्ञान संकायमा वरिष्ठतमलाई बाइपास गरेर कनिष्ट व्यक्तिलाई प्रमुखमा नियुक्त गरिएको छ।
Advertisement 2
विज्ञान संकायको प्रमुखमा डा. गणबहादुर बज्राचार्यलाई नियुक्त गरिएको छ। कानुनअनुसार नियुक्ति पाउनुपर्ने दिपा श्री रावल हुन्। रावल वरिष्ठतम योग्यताक्रमअनुसार पहिलो नम्बरमा छन्। वरिष्ठताको क्रमअनुसार बज्राचार्य चौथो नम्बरका व्यक्ति हुन्। उनीभन्दा अघि वरिष्ठतमको पहिलो नम्बर डा. दिपा श्री रावल, दुई नम्बरमा डा. अन्जना गिरी, तीन नम्बरमा डा. बुद्दराम शाह छन्। वरिष्ठतमको हिसाबले गणबहादुर बज्रचार्य चौथो नम्बरमा भए पनि उनलाई नै नियुक्ति दिइएको छ। नास्टमा त्यसको व्यापक विरोध भइरहेको छ।
संकायहरुमा प्रमुख नियुक्त गर्ने अधिकार व्यवस्थापन परिषद्मा निहित छ। परिषद्का सदस्यहरुले वरिष्ठतमको योग्यताक्रमअनुसार नियुक्ति हुनुपर्ने माग राखे पनि परिषद्बाट नियुक्तिको टुंगो लागेन। त्यसपछि उपकुलपति आफैंले चौथो नम्बरमा रहेका बज्राचार्यलाई नियुक्ति दिएका नास्ट स्रोतको दाबी छ। नास्टभित्र अहिले पनि त्यसको व्यापक विरोध भइरहेको छ। बज्राचार्यको उक्त नियुक्ति गैरकानुनी रहेको भन्दै व्यवस्थापन परिषद् बैठकमा पटपकटक कुरा उठेको छ।
Advertisement 3
पटकपटक कुरा उठे पनि सम्बोधन गर्न नसकिएको र सम्बोधन गरेमा भीसी र सचिवको स्वार्थ पूरा नहुने भएकाले भिसी र सचिवले पछिल्लो समय व्यवस्थापन परिषद्को बैठक नै बोलाउन छाडेका छन्। भीसीको अध्यक्षतामा बस्ने बैठकमा गल्ती भएको विषय परिषद्का सदस्यहरुले पटकपटक उठाएका नास्ट स्रोत बताउँछ। ‘परिषद्का सदस्यहरुले योयो गल्ती भएको छ, करेक्सन गर्नुपर्छ भनेपछि परिषद्ले करेक्सन गर्नुपर्ने हो,’ स्रोत भन्छ, ‘तर, करेक्सन गर्ने गर्ने गर्ने… भन्दै उपकुलपति र सचिवले टारिरहेका छन्।’
नास्टमा कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ। नास्टमा रहेको बेइथितिबारे कुलपति अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली जानकार छन्। तर, कुलपतिले कुनै चासो नदेखाएको आरोप नास्टका कर्मचारीले लगाएका छन्। व्यापक विरोध भएपछि सचिव र भीसीकै मिलेमतोमा संकाय प्रमुख भर्तीका लागि अर्को विज्ञापन निकालिएको छ। ‘नियम विपरित विज्ञापन निकालेर अर्को गल्ती गरिएको छ,’ स्रोतको भनाइ छ, ‘परिषद्ले गर्ने काम यिनीहरुले आफैं गरिरहेका छन्। विज्ञापन निकाल्ने काम पनि परिषद्बाट स्वीकृति भएपछि मात्रै हुनुपर्थ्यो।’
भिसी र सचिवले सिनियरलाई नदिएर जुनियरलाई संकाय प्रमुख बनाउनु कानुनविपरित छ। त्यसपछि गत कार्तिक ५ गते प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भनेर देखावटी रुपमा विज्ञापन गरिएको छ। ‘उक्त विज्ञापन खोल्नु अर्को गल्ती हो, ‘स्रोत भन्छ, ‘परिषद्बाट स्वीकृति नगराई विज्ञापनमार्फत निवेदन माग गर्नु नियमविपरित छ। नियमले सम्बन्धित संकायको वरिष्ठतम्लाई नियुक्ति दिने भनेको छ।’
उक्त विज्ञापनको पनि कामकारबाही अगाडि बढाइएको छैन। कार्तिकदेखि माघ तेस्रो सातासम्म पनि विज्ञापनमार्फत परेका ओदनमा थप कारबाही भएको छैन। यसबीच एक पटक बसेको परिषद्ले १ हप्ताभित्र ३ जनाको समिति बनाएर छनोट गरेर परिषद्मा ल्याउनू पनि भनेको थियो।
त्यहीअनुसार समितिले वरिष्टता योग्यताक्रमअनुसार परिषद्मा सिफारिस गरे पनि परिषद्बाट नियुक्तिको टुंगो लागेको छैन। उपकुलपति र सचिवले व्यवस्थापन परिषद्को बैठक बस्न मानेका छैनन्।