विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

राजनीति असत्यबाट पैदा हुन्छ। र सधैंभरि सत्यलाई आदर्श ठान्छ। समाज, राजनीति, धर्म र नीति निर्माण सत्यको ढाकछोप गर्नको लागि भएको हो। जुनसुकै सिद्धान्त र दर्शनको सोच असत्यलाई उजागर गर्नको लागि हुन्छ। स्वयं सत्य हुँदैन ।यो कालक्रमिक सापेक्ष सत्यमा आधारित हुन्छ। तर यही असत्यभित्र हामी आदर्शको परिकल्पना गर्छौं। यो स्वभाविक हो। संसारका राजनीतिक दर्शनहरू असत्य हुन्। तर यिनीहरूले जीवनसँग नजिकै बसेर खेल खेल्छन्। त्यसैले सत्य जस्ता देखिन्छन्। तर कालान्तरमा यो एउटा घटना मात्र बन्न सक्छ। जसरी हामी इतिहास पढिरहेका छौ

Advertisement 1

हालसालै न्युयोर्कको मेयरमा जोरन मेमदानी जितेका छन्। सेवर सोसिलाइजेसन उनको नारा छ। परम्परागत पुँजीवादी राजनीति र सिद्धान्तभन्दा फरक नियन्त्रित समाजवादलाई उनले अङ्गीकार गरेका छन्। यो अमेरिकाको मूल राजनीतिभन्दा फरक धार हो। सोझै प्रभावितसँग विकास र पुँजीको विकास, पुजी र अवसरको एकाकार गराउने यो नीतिले न्युयोर्कवासीहरू निकै लालायित छन् । पुँजीवादको उत्कर्षले अनेकन शङ्का उब्जाइरहेको र पुँजी स्वयंले पूँजीको वितरणमा प्रभाव पारेको र पुँजीको धुर्वीकरणले सीमान्त वर्ग चिन्तित रहेको अवस्थामा उनले यो निकै राम्रो र आकर्षक नारा दिएर पदमा पुगेका छन्। शास्त्रीय पुँजीवाद र नव उदारवादका खराबी हरू र पुँजीभित्र फ्युजन हुन नसकेको समाजवादी वितरण प्रणालीलाई उनले स्पष्ट रुपमा नियन्त्रित वा सहज समाजवादको नाममा नयाँ सोचाइको उदय गराएका छन्। यो उदय विश्वको धुरी सहर न्युयोर्कबाट सुरु भएको छ। र यसले विचार र पुँजीको उत्पादन र वितरण प्रणालीमा निकै ठूलो परिवर्तन क्रमश विश्वमा ल्याउने छ नै भन्ने आशा गर्न सकिन्छ। किनकि अहिले दक्षिण एसिया युरोप दक्षिण अमेरिका लगायतका देशमा राजनीति र जनताको बीचको वैमन्यता बढ्ने कारण पुँजीको नीति र समाजको धारणामा एकअप्रता नआउनु नै हो। यसलाई शक्ति र अवसर प्राप्त र पहुँच प्राप्त राष्ट्रहरुले आफ्नो पकडमा लिन चाहन्छन् नै यो राजनीतिको परम्परा नै हो। नेपालको जेन्जी आन्दोलन यही मूल परिवर्तनको सोचमा आधारित छ।

भूमि पूँजी सिद्धान्त र विचारको आडमा शक्ति राष्ट्र वा समूहले आफ्नो प्रभाव फैलाउने कार्य विश्व राजनीतिमा नयाँ होइन। माया सिभिलाइजेसनदेखि आजको एआइसिभिलाइजेसनसम्म यसका रूप र तरिकाहरू फरक होलान्। तर मानिस मस्तिष्कमा खोजी र चुनौती बोकेर आज पनि त्यसरी नै हिँडिरहेको छ। मार्क्सले २०० वर्ष अगाडि पुँजीवादले पुँजीको धुर्वीकरण गरेर आफ्नो खुट्टामा आफै वनचरो हान्छ। र यसको क्षयकरण सुरु हुन्छ भन्ने दर्शनको असर अहिलेको वैश्विक विश्वमा देखिसकेको छ। अहिले आन्तरिक राष्ट्रवाद विश्व भूराजनीतिमा धुमिल भएको छ। दोस्रो युद्धपछि धेरै देशहरूले आन्तरिक राष्ट्रवाद र राष्ट्र निर्माणमा ठूलो मौका पाए। जसले अवसर थाहा पाए उनीहरू धनी भए। विकसित भए ।शक्तिशाली भए। जसले अवसर गुमाए। अब पुँजीको धुर्वीकरणको मियोमा विलय हुँदैछन्। यो आन्तरिक राष्ट्रवादको दुःखद घटना हो। यो असरभित्र विश्व राजनीति प्रवेश गरिसकेको छ। अहिले विश्व राजनीतिमा राजनीतिका नियम हरू लागू हुँदैनन्। प्रथम र दोस्रो विश्वयुद्धको बीचको राजनीति तरल अवस्था भन्दा जटिल स्थिति अहिले छ। यो जटिलताले राष्ट्र राजनीति चिन्दैन ।शक्ति स्रोत र सम्पत्ति चिन्छ। वैश्विक विश्व यसैमा आधारित छ। यो हामीले पहिचान नगरेको विषय होइन। व्यक्तिगत स्वार्थ र भूराजनीतिको विचार भित्र व्यक्तिका नीति विचार सिद्धान्त धुमिल हुन्छन्। अहिले हाम्रो राष्ट्रवाद धुमिल भएको छ। अहिलेको पुस्ताले परिवर्तन खोजेको छ।

Advertisement 2

विचार सिद्धान्त र दर्शनलाई नीति बनाएर राजनीति गर्ने राजनीति तन्त्रहरू अहिले बाद र दर्शनको क्षयीकरण र पुँजीको एकाधिकारको कारण चुनौती सामना गर्न बाध्य छन्। यो चुनौतीलाई अब नीतिले होइन पूँजीले मात्र समाधान गर्न सक्छ भन्ने पछिल्लो अमेरिकी नीति ले युरोप लाई धराशाही तुल्याएको छ। र यसको असर मध्यपूर्वमा पूर्ण रुपमा परिसकेको छ। भारत यसको चुनौतीको सामना गर्दैछ। नेपाल जस्ता देशहरु आन्तरिक राष्ट्रवाद भूराजनीतिको चपेटामा परिसकेको छ। अब आन्तरिक अर्थनीति वा अर्थ राजनीति ले मात्र राजनीति धुर्वीकरणलाई आत्मसाथ गर्न सक्दैन। यसका लागि पश्चिमा वा पूर्वीय जुनसुकै शक्तिको आडमा सरल लिनु बाहेक अर्को विकल्प पनि छैन। तर यो विकल्पलाई अपनाउन देशभित्र उदार राष्ट्रवाद र स्वतन्त्र विचारको आवश्यकता छ। हाम्रो जस्तो संकुचित राष्ट्रवादले यसलाई स्वीकार्न गाह्रो छ। त्यसैले बेलैमा राजनीतितन्त्र जनतामुखी हुनु जरुरी छ।

जेन्जी आन्दोलनपछिको आन्तरिक राष्ट्रवादलाई पुराना राजनीतिक दलहरूले समेत स्पष्ट उत्तर दिन सकेका छैनन्। २००७ सालको परिवर्तनपछि नेपालमा एउटा दरिलो डक्टिनको आवश्यकता थियो। जसरी भारतमा अहिले पनि नेहरु डक्टिनले काम गरेको छ। तर नेपालमा न कुनै बादले स्थापित भयो न कुनै मूल नीतिले काम गर्यो नेपाल एउटा भूगोल मात्र होइन यसको प्रकृतिसँग सोझै सम्बन्ध छ। हामीले न प्रकृति बुझ्यौ न त भूराजनीति। हाम्रो प्रकृति सनातन हो। र हाम्रो राष्ट्रवाद सनातन र वसुधैव कुटुम्बकममा आधारित छ। हामी तथस्थताका पुजारी हौँ। हाम्रोमा शक्ति र बलमा आधारित बाह्य राजनीति प्रतुत्पादक हुन्छ। किनकि नेपालीहरू बहादुर भएपनि आफ्नो गुणलाई शान्तिको रुपमा प्रयोग गर्न चाहन्छन्। यो नेपालीको मनोविज्ञान हो। विश्वमा आएको परिवर्तनलाई आत्मसाथ गर्न नसक्नु राजनीतिक दलहरूको ठूलो दुर्गुण हो। अझै पनि उनीहरूको आवाज सुन्दा यो दुर्गुणलाई स्वीकार गर्ने र सुधार भाषा उनीहरुमा पाइँदैन। सुधार हो अहिले यो बदलाको राजनीतिमा देखिँदैछ। आन्तरिक गडबडी भएपछि बाह्य हस्तक्षेप कठोर हुने गर्छ। अहिले थुप्रै राष्ट्रहरूमा यो देखिसकेको छ।

Advertisement 3

अहिले विश्वमा एउटा चेत पलाएको छ। भूगोलको सिमाना र सोचाइ क्रमश संकुचन हुँदैछ। यो संकुचनले सूचना र विचारलाई निमेेशमै प्रवाह गर्छ। एआइ सोसलाइजेसनले मान्छेलाई विभेद र समानताको स्पष्ट सीमाङ्कन गरिराखेको छ। जुन विषय केही दशक अगाडि ठूलो विचारको खाडल र सूचनाको अन्धकारमा शासन गरिन्थ्यो। अहिले यो सर्वसाधारणदेखि अर्बपतिसम्म पहुँच बराबरी छ यो पहुँचले विश्वव्यापीकरण र वैश्विक विश्वलाई पूर्णरूपमा प्रकट गरेको छ। एआइसी भिलाइजेसनले भूगोल र राजनीतिलाई तरल बनाएको छ। पुँजीलाई चलायमान बनाएको छ। विश्वभर फैलिएका नेपालीहरूलाई यो ज्ञान छ। यो ज्ञानलाई बुझ्न नसक्नु नै नेपाली राजनीतिको सबभन्दा ठूलो कमजोरी हो। राजनीतिभित्रको ब्युरोक्रेसीले नेपाली राजनीतिलाई उदार हुन दिएन र यही क्रम चल्दै जाने हो भने अब राजनीतिक दल होइन नयाँ विचार र धारणा अनुसारका पद्धतिले काम गर्न थाल्छ।

राष्ट्रवाद सिमानामा जुध्नु मात्र होइन आन्तरिक मजबुती बनाउनु हो। हाम्रो राष्ट्रवाद सिमानामा जुध्न पुग्छ। आन्तरिक खराबीको आडमा निर्मित राष्ट्रवाद ले जनतालाई भरोसा दिँदैन यो चुनावी नारा मात्र बन्छ। राष्ट्रवाद लाई अहिले जनताले सहजै बुझेका छन्। अब नयाँ आन्तरिक राष्ट्रवादको जन्म हुँदैछ। यसको प्रसव वेदना सुरु भएको छ। यो स्वतन्त्र राष्ट्रवादले नयाँ पुराना मान्यताहरुलाई खतम पारिदिन्छ। यो राष्ट्रवाद अन्तर्राष्ट्रिय भूराजनीतिको धुर्वीकरण भन्दा बाहिर जान सक्दैन। र राष्ट्रवादको नारा रोजगारी पुँजी सुविधा र विकास हुन पुग्छ। यो बाइप्रोडक्ट सिद्धान्तले विश्वका कैयन राष्ट्र र राजनीतिलाई आफूभित्र समहरण गर्छन् ।यसको असर भेनेजुएलाको राष्ट्रपतिको अपहरणबाट भइसकेको छ। मुगलहरूले राजाहरूलाई अपहरण गर्नु अलेक्जेन्डर र सिकन्दरहरूले राजाहरूलाई बन्दी बनाएर राज्य एकीकरण गर्नु र अहिलेका घटनाक्रममा कुनै फरक छैन। हामी पुन नियन्त्रित र आन्तरिक राष्ट्रवादको मजबुतीतिर जाँदैछौं। पुँजीवादी राष्ट्रहरूले समेत यसको अनुकरण गरिरहेका छन्।

बाद र दर्शनले थुप्रै निरङ्कुशतालाई अन्त्य गर्यो। र विश्व मानवताको परिकल्पना गर्यो। तर पुँजीको खराबीलाई यसले थुप्रै अनुमान गर्न सकेन। किनकि पुँजी मानिसको स्वभावसँग केन्द्रित छ। यो स्वभावले नै मानव सभ्यतालाई यो अवस्थासम्म ल्याइ पुर्‍याएको हो पूँजीले सिद्धान्त वाद वा दर्शनलाई आफ्नो अनुकूल प्रयोग गर्छ नै भन्ने कुरा औद्योगिक क्रान्तिपछि नै थाहा थियो। तर बजारको नियमले यसलाई स्वतन्त्र हुनबाट मुक्त गर्छ। भन्ने खालको परिकल्पना अहिलेको प्रयोगबाट झुटो साबित भयो। र अहिले अर्थशास्त्रका नियमहरु समेत पुँजीको अगाडि नतमस्तक छन्। उदारीकरणले पुँजी र प्रजातन्त्रलाई जोडिदियो तर प्रजातन्त्रभित्रको राजनीतिले पुँजीलाई गलत प्रयोग गर्छ भन्ने विषय अहिले प्रमाणित हुँदैछ। र पुँजी र समाज को हाइब्रिड प्रयोग हुन बाँकी छ। यो प्याटर्नमा एआई र बहुराष्ट्रिय कम्पनीहरूले गरेको पुँजीको धुर्वीकरण लाई पुन ीमान्त वर्गसम्म पुर्‍याउन कस्तो सिद्धान्त र नीति जन्मन्छ त्यो हेर्न बाँकी छ। अहिलेको पुस्ताले त्यही संक्रमण खोज्दैछ। यो संक्रमण लाई हाम्रो राजनीतिले बुझ्न निकै कठिन छ। किनकि नेपालको अर्थनीति राजनीतिको नीति सँग जोडिएको छैन। अर्थात् राजनीतिले आफ्नो मूल अर्थनीति बनाउनै सकेको छैन। यस्तो अवस्थामा विश्व बदलिँदो पुँजीको धुर्वीकरण र राजनीतिमाथि पुँजीको संक्रमणले राजनीतिमाथि व्यापारी र उद्योगीहरूको पकड बढ्दैछ। यो पकड भित्र मान्छेको होइन पूँजीको अधिकारको व्याख्या बढी हुने गर्छ। यतिखेर हामीले हाम्रो अर्थनीतिलाई कसरी राजनीतिको मूल आधार बनाउने भन्ने ठूलो चुनौती छ।

वैश्विक(सम्पत्ति स्रोत र सुविधा) माथिको हस्तक्षेप मानव जातिको पुरानै स्वभाव हो। अलेक्जेन्डर सिकन्तर मुगलहरूले भूराजनीतिको लागि भूमि विस्तार गरेका थिएनन्। उनीहरुले खोजेको सम्पत्ति स्रोत र सुविधा नै थियो। तर यो वैश्विक दर्शनमा आधारित थिएन अहिले यसको रूप परिवर्तन भएको छ। आदत उही हो। भूमि पूँजी र श्रमको बदला प्रविधि ऊर्जा र विचारले लिएको छ। अब पुँजी पृथ्वीमा छैन। आकाशमा छ। पुँजीको स्रोत अब पृथ्वी होइन आकाश भएको छ। यो आकाशले देशको सिमाना चिन्दैन जनता चिन्दैन प्रयोगको साधन मान्छ र यो राजनीतिमा तुरुन्तै प्रयोग हुन्छ। अबको विश्व राजनीति प्रजातन्त्र वा यस्तैवादमा रहेर वैश्विक आधारमा दबाब र नियन्त्रण कायम हुनेछ। अहिलेको मध्यपूर्वको युद्ध युक्रेन युद्ध युरोपको बजार एसियामा सर्दै गरेको बजारको शक्ति र राजनीति ले वैश्विक विश्वको परिचय दिइरहेको छ। यहाँ कुनै राजनीति वा दर्शन होइन पूँजीले काम गरेको छ यसको समसामयिकतालाई बुझ्नु भनेको जेएनजी आन्दोलनलाई बुझ्नु र त्यस अनुसारको आन्तरिक सुधार गर्नु हो। यसका लागि ढिलाइ गर्नु भनेको हामी भूराजनीतिको चपेटा र पुँजीको धुर्वीकरण भित्र सहजै प्रवेश गर्नुहो। शक्ति राष्ट्रहरूले जतिसुकै रणनीति र डिप्लोमेसी प्रयोग गरे पनि अबको समयले प्रयोग गर्ने इन्टेलिजेन्स यही हो। यही इन्टेलिजेन्स भित्र रहेर हामीले काम गर्नुपर्छ।

नेपालमा नीतिअनुसार नेता र नेतृत्व छैन। नीति नेतृत्व केन्द्रित छ। नेतृत्व नीति केन्द्रित छैन। त्यसैले दलहरू बन्छन् फुट्छन् गुटहरु बन्छन् मिल्छन् यसको मूल मियो नीतिले गरेको छैन। नेतृत्वको स्वार्थ र अहमताले गरेको छ। यसको पिक्चर देशभित्र मात्र होइन बाहिर पनि प्रष्ट छ। देशको प्राग इतिहास र उत्तर आधुनिक नीतिले देशको नीति निर्माण हुने गर्छ ।हाम्रोमा राजनीतिमा यो संस्कार रहेन। र नीतिहरू विरोधाभास भए।। जेन्जी आन्दोलनपछि जन्मेका विचार र राजनीतिक दलहरूको भाषा पनि यसभन्दा फरक छैन। अब पनि स्पष्ट नीति र धारणाबिना राजनीतिमा प्रयोग गर्यौ भने हामी अन्तर्राष्ट्रिय नीति र धारणाको घेराभित्र प्रवेश गर्छौं। छिमेकी राष्ट्र र पश्चिमी शक्तिहरुले यसको सूचना दिइसकेका छन्। सूचना बुझ्नु नबुझ्नु हाम्रो क्षमता हो।

प्रकाशित :२०८२ माघ २६, सोमबार १४:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry