निजामती सेवा दिवस :-नारा होइन पद्दती निर्माण गरौ

वि.सं. २०१३ मा तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्य स्वयंको पहलकदमीमा विधीवत स्थापना भएको निजामती सेवाले विभिन्न कालखण्ड पार गरेको ६५ वर्ष पुगेको छ । यसविचमा विभीन्न शासन व्यवस्थाहरु देख्दै भोग्दै खारीएर अहिलेको बलियो र मजबुद अवस्थामा आइपुग्दै गर्दा अझसम्म पनि यो स्वयम्मा आलोचनामुक्त रहन भने सकेको छैन । यसको आफ्नै संंरचनात्मक जटिलताका साथै व्यवस्थापनमा रहेका कमजोरीका कारण यदाकदा जनमुखी हुन नसकेको भनी जनताका गुनासा रहेकै छन् भने सरकारमा रहेका र नरहेका जिम्मेवार राजनैतिक नेतृत्व पनि आफ्नो नितीगत कमजोरीलाई लुकाउन कर्मचारीलाई दोषि देखाउने प्रवृत्ति कायमै रहेको पाइन्छ । यसका वावजुद पनि हाम्रो निजामती सेवा अझसम्म पनि प्रमुख आकर्षण तथा सबैभन्दा ठुलो रोजगारीको केन्द्र रही आएको छ ।

Advertisement 1

विक्रम संवत २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान निर्देश गरे अनुरुप देश संघीय संरचना र स्वरुपमा गइसकेको छ । तिन तहको शासकिय स्वरुप गठन हुने संबैधानिक व्यवस्था अनुरुप हाल ७५३ वटा स्थानीय तह, ७ वटा प्रदेश र एउटा संघ रहने गरी तिनै तह लगभग निश्चित भइ ७५३ वटै स्थानीय तह गठन भै कार्यसंचालन भएको तथा तत् तत् स्थानहरुका जिल्ला समन्वय समितिको गठन समेत भइसकेको छ । संबैधानिक व्यवस्थाको ५ वर्ष तथा सबै तहको निर्वाचन भइ विधिवतरुपमा सरकार गठन भएको ३ वर्ष पार भैसक्दा पनि प्रशासनिक व्यवस्था भने कामचलाउ मात्र भएको छ तापनि पुर्णरुपमै व्यवस्थापन हुन केही समय लाग्ने देखिएको छ ।

निजामती सेवा दिवसका अवसर पारेर हरेक वर्ष जसो विभिन्न कार्यक्रमहरु गर्ने, विभिन्न घोषणा गरिने, आकर्षक नारा निर्माण गर्ने लगायत पुरस्कार, पदक वितरण गर्ने समेतका कार्यहरु धुमधामका साथ गरीने र उक्त कार्यवाट स्वयं पुरस्कार र पदक प्राप्त गर्ने कर्मचारीनै डिमोरलाइज हुने वातावरण सृजना हुने गरेको छ । यसै बिचमा कर्मचारीको सर्वाधिक चासोको बिषय रहेको प्रमुख कानुनको संगै भावी निजामती सेवा कस्तो बन्ने भन्नेमा अहिले व्यापक चासो र चिन्ताका रुपमा रहेको पाइन्छ । निजामती सेवा दिवसलाई दिवस मनाउनेरुपमा मात्र लिएर नारा निर्माण गरी आकर्षक नाराले व्यानरको शोभा बढाउने काम मात्र नगरी अव यस्ता महत्वपुर्ण अवसरहरुलाई हरेक बर्ष देहायका नौला अभ्यास र पद्दती निर्माण गरी नौलो आशा जगाउने दिवसकारुपमा मनाउने प्रचलन अहिलेको आवश्यक रहेको छ ।

Advertisement 2

१. एकिकृत निजामती सेवा र पद बर्गिकरण :-

बिगतमा स्वास्थ्य सेवा ठुलो र जटील रूपमा रहेकाले व्यवस्थापनमा समेत समस्या हुने देखि फरक ऐनबाट निर्देशित रहेकोमा समायोजनपछि यो खुम्चीएको अव यसलाई अलग गरीरहनुपर्ने देखिदैन ।

Advertisement 3

स्वास्थ्य सेवालाई संघीय निजामती सेवा भित्रै समावेश गर्दा अवश्य पनि एकै खालको प्रणाली अपनाउन आवश्यक हुने नै हुँदा अवको पाँच वर्षभित्र श्रेणीगत वा तहगतमध्ये एक प्रणाली अवलम्बन हुने व्यवस्था छ । यस्तो प्रणाली कायम गर्दा स्थानीय तह र प्रदेश निजामती सेवाको पदिय व्यवस्था समेतका आधारमा गर्नुपर्ने हुँदा श्रेणिगत भन्दा तहगत प्रणाली कायम हुने विश्वास गरीएको छ । यस्तै खालको व्यवस्था साविक ऐनमा समेत नभएको होइन तर उक्त व्यवस्थाले समय निश्चित नगरेको समयावधी कायम गर्दा कार्यान्वयन हुने आश गर्न सकिन्छ ।

अहिले तिन तहको संरचना र अलग अलग सेवा कायम गर्ने व्यवस्था रहेकाले अवको निजामती सेवा पनि अन्य संघीय सरकारी सेवा, प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका लागी समेत मार्गदर्शन हुनेगरी बनाइनु पर्छ । यसवाट मात्र यो सबै एकिकृत निजामती सेवाको परिकल्पना गरी राष्टिय कर्मचारी नीति तथा एकिकृत निजामती सेवा सम्बन्धी नीति विना नै संघीय नाम राखेर विधेयक तयारी गर्दैमा मात्र यो सवै तहको सरकारी सेवाको लागी मार्गनिर्देशक कानून हो भन्ने आधार हुँदैन तसर्थ यसलाई संघीय होइन केन्द्रीय निजामती सेवा का रुपमा यसलाई फराकिलो नजरले हेरी सोही अनुसारका बनाउनु पर्छ ।

२. जनमुखी सेवाका लागी कार्यसम्पादनमा सुधार :-

हाल जनतामा रहेको अत्याधीक गुनासो कर्मचारीले दिने सेवा प्रवाह र कार्यशैली सँग बढी सम्बन्धित रहेकाले कार्यसम्पादन सम्झौताको व्यवस्थालाई कानुनमा नै समेट्ने गरी परिमार्जन गर्नुपर्नेछ । सो अनुसार मन्त्री र सचिव, सचिव र विशिष्ट श्रेणीका अधिकृत तथा विभागीय प्रमुखसँग सम्झौता हुनेछ । सबै तहका कर्मचारीको कार्यसम्पादन सम्झौता हुनेछ । कार्यसम्पादन सम्झौता अनुसार जति प्रतिशत प्रगती हुनेछ त्यस्कै आधारमा कति अंकसम्म दिने सो को आधार प्रष्ट गर्ने र काम गरे पनि नगरे निजको कार्य प्रशंसनीय रहेको लेखी शतप्रतिशत अंक दिनुपर्ने वाध्यता समेत समाप्त हुनेछ । यसले व्यवहारिक समस्यालाई पनि तर्कयुक्त बनाउने छ । चौविसै घण्टा मदिरा सेवन गरे पनि शतप्रतिशत अंक दिने बेला मन कुँडिने अवस्थाको समेत अन्त्य हुनेछ । निजामति कर्मचारीले सम्पादन गर्नुपर्ने कुनै काम समयमा नभएका कारण सेवाग्राहीमा हानी पुगेमा वा ढिलासुस्तीका कारण नोक्सानी भएमा, सरकारी सम्पत्तिको दुरुपयोग गरेमा, सेवाग्राहीलाई अपमानजनक व्यवहार गरेमा, तोकिएको समयभित्र आफूभन्दा माथिल्लो निकायमा सम्पादन गर्नुपर्ने काम पूरा नगरेमा पनि पारिश्रमिक कट्टाको प्रस्ताव होस् ।

३. जिम्मेवार निजामती कर्मचारी :-

साविकमा रहेका कर्मचारीका आचरणका अलावा निजामती कर्मचारीले निर्वाह गर्नुपर्ने जिम्मेवारी र दायित्व किटान गरी संविधान र कानुनको परिपालना गरी कार्यसम्पादन गर्ने, उपलव्ध साधन र स्रोतको मितव्ययीतापूर्वक परिचालन गर्ने, सरकारी वा पदिय अधिकार तथा स्रोत साधनलाई निजी वा निहित स्वार्थका लागी उपयोग नगर्ने तथा कार्यालय समयमा व्यक्तिगत काममा समय व्यतित नगर्ने, सेवाग्राही र आमजनताप्रति जवाफदेही रही निष्पक्ष र पारदर्शी तवरले छिटो छरितो र गुणस्तरयुक्त सेवा प्रदान गर्ने, कार्यसम्पादन प्रक्रियालाई सरलीकरण गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग र नवप्रवतनलाई प्रोत्साहन गर्ने लगायतका विषयहरुलाई जिम्मेवारी र दायित्व कायम गरीयोस् । यसका साथै गुण र दोषका आधारमा उपल्ला स्तरका तथा कार्यालय प्रमुख भइ काम गर्ने कर्मचारीको नेतृत्व परिक्षण गर्ने र सो का लागी सम्बन्धित कर्मचारीले नेतृत्व गरेको संस्थाको वार्षिक कार्यक्रमको प्रगती, नीति विश्लेषण क्षमता, कार्यसम्पादन गर्दा नेतृत्व लिन सक्ने क्षमता, निर्णय क्षमता, सेवाग्राही वर्गको सन्तुष्टि, वेरुजु फछ्र्यौटको प्रगती, संवैधानिक निकायको वार्षिक प्रतिवेदनमा देखिएको वेरुजु, सामुहिक कार्य प्रणाली, पेशागत संवेदनशिलता, अन्तरवैयक्तिक सम्बन्ध र कार्यरत निकायमा गरेको रचनात्मक वा सिर्जनात्मक सुधारलाई आधार लिइ आगामी जिम्मेवारी दिने व्यवस्था होस् ।

४.वैज्ञानिक दरवन्दी सिर्जना :-

हाल हचुवा र शक्तिका आधारमा मनपरी गरीएको दरवन्दी सृजनालाई तर्कयुक्त र विश्वसनीय आधार कायम गर्दै  वैज्ञानिक गराउने प्रयास अनुरुपको कानुनी व्यवस्थाका लागी बस्तुगत आधारमा अध्ययन गरी ओ एण्ड एम गर्ने, प्रविधीमैत्री बनाउने, न्युनतम जनशक्तिवाट अधिकतम प्रतिफल लिने कुरालाई आधार बनाइएको छ । यसरी दरवन्दी सृजना, हेरफेर र पुनरावलोकन गर्दा बैज्ञानीक र अनुमानयोग्य बढुवा प्रणाली स्थापीत गर्ने गरी पदसोपानको अनुपातसमेत मिल्ने गरी बनाउनुपर्दछ ।
निजामति कर्मचारीले गर्नुपर्ने कामको लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त नगर्ने र एउटा सेवाभित्र बहुमाध्यमवाट कर्मचारी भर्ना गरी जिम्मेवारी र कार्यविवरण खण्डित हुने कार्य नगरीयोस बरु त्यसरी काम गराउनुपर्ने देखिएमा एजेन्सीकरण गरी काम नै अलग गर्ने व्यवस्था मिलाउनु पर्छ । निजामतिमा आफू अनुकूल करार र ज्यालादारी कर्मचारी भर्ना गरेर राज्यलाई भार थपेको आरोप लागिरहेको समयमा यस्तो व्यवस्था राख्न व्यवस्था गरौं ।

५. नव रक्त सहितको सघन समावेशी सेवा :-

विधेयकको प्रतिवेदन अनुसार निजामति सेवाका सबै श्रेणीको आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हटाइएको छ । खुला, अन्तर तह र बढुवाको व्यवस्था मात्र यथावत छ । यस्तै, विशेषज्ञबाहेक अन्य पदमा करार सेवा लिन पाइने छैन । खुल्ला प्रतिस्पर्धात्मक परिक्षाका लागी अधिकतम उमेर चालिस कायम गरिएको छ जसका कारण नयाँ युवा जमात बढ्ने हुँदा नव रक्तको बढोत्तरी भइ नव संस्कृतिको समेत प्रवेश पाउने र सेवाप्रवाह प्रभावकारी हुने मा विश्वास गर्न सकिन्छ ।
समावेशी रूपमा हुने पदपूर्तिको प्रतिशत परिवर्तन भएको छ । यसले सबै वर्ग समुदायको उचित प्रतिनिधीत्व हुन जाने जसले राष्टिय एकतामा बल पुग्नेछ । साविकको निजामती सेवा ऐनमार्फत जनादेश भन्दै अधिक लोकतान्त्रीक देखिन विना अध्ययन समावेशी पद्धती निजामती सेवा लगायत सवै सरकारी सेवामा क्रमशः भित्रयाइयो र सँधै कायम हुने विषय होइन है भन्नका लागी दश वर्षका पुनरावलोकन गर्ने वाक्य थपियो । संविधानतः विपन्न पिछडिएका र पछाडी पारिएका वर्गलाई मुलप्रवाहमा ल्याउनु असल अभ्यास हुँदै हो तापनि यस्तै नाममा शिक्षक कर्मचारी र व्यापारीका श्रीमतिहरु महिला कोटामा, मधेसका जमिन्दारका सन्तान मधेसी कोटामा, मुस्लीम दलित, कर्णाली क्षेत्रका काठमाडौ वसेर पढ्ने हैसियत राख्नेका सन्तानहरु तत् कोटामा र एउटा औलो नभएका र मधुरो श्रवण क्षमता भएका राम्रै घरका सन्तानहरुले फरक क्षमता भएका व्यक्तिका कोटामा जागीर खान पाउने र पटक पटक दोहारो तेहरो लाभ लिदै माथी पुग्ने पद्धतीलाई कायम गर्दै जाने व्यवस्थाले ति आवजहिन र अवोध दुरदराजका जनता जो चुनावी नारामा अधिकतम समेटिने वर्ग हो उसैलाई मुल प्रवाहमा बन्देज हुदै जाने परिस्थीतिले लोकतन्त्रलाई कति मलजल गर्ला भन्ने तर्फ ध्यान जावस ।

६. कार्यसम्पादन र अनुभवमा आधारीत बढुवा प्रणाली :-

बढुवाका विभिन्न आधार मध्ये अंक विभाजनलाई आधार मान्दा कुल एक सय अंकमध्ये कार्यसम्पादन मुल्यांकनवापत र भौगोलिक क्षेत्रमा काम गरेको अंकलाई बढी कायम गरिनुपर्छ जसअनुसार यी दुई आधार र नकारात्मक सुची बनाइ सो समेतलाई बढुवा पाउने प्रमुख आधारका लिनुका साथै कर्मचारीलाई नसिहत वा तलब कट्टिको सजाय भएको भए एक वर्ष, कार्यसम्पादन मूल्यांकनमा नब्बे प्रतिशतभन्दा कम अंक प्राप्त गरेको भए एक वर्ष, बढुवा रोक्का वा तलब वृद्धि रोक्काको साजय भएको अवधिभर र कुनै कर्मचारीको नाममा लेखा परीक्षणबाट व्यक्ति पेश्की वा बेरुजु रहेको पाइएमा फरफारक नभएसम्म नकारात्मक सूचीमा राखिने व्यवस्था गरीनुपर्छ ।
त्यसैगरी भ्रष्टाचार, किर्ते, राष्ट्रहित विरुद्धको अपराध, लागू औषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तुको वेचबिखन, बहुविवाह, जातीय छुवाछुत तथा भेदभाव वा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भएमा अयोग्य हुने भनेको छ । त्यस्तै भविष्यमा सरकार सेवाको निमित्त आयोग्य ठहरिने गरी सरकारी सेवाबाट बर्खास्त गरिएको र विदेशी मुलुकुको स्थायी आवासीय बसोबास (ग्रिनकार्ड) अनुमति प्राप्त गरेको विषयलाई सम्भावित उम्मेदवार हुन रोक लगाउने व्यवस्था गरौं ।

७. आचरणमा आधारीत सामाजीक सुरक्षा :-

ऐन बमोजिम निवृत्तिभरण वा पारीवारीक निवृत्तिभरण पाइरहेको व्यक्तिले भ्रष्टाचार, किर्ते, राष्ट्रहित विरुद्धको अपराध, लागु औषध कारोवार, सम्पत्ति शुद्धिकरण, पुरातात्वीक वस्तु बेचविखन, मानव बेचविखन, अपहरण, शरीर वन्धक, जवरजस्ती करणी, बहुविवाह, जातीय छुवाछुत तथा भेदभाव वा नैतिक पतन देखिने अन्य फौज्दारी अभियोगमा अदालतबाट कसुरदार ठहरेमा वा प्रचलित कानुन वमोजिम राज्य विरुद्धको कसूर मानिने फौज्दारी अभियोगमा अदालतबाट कसूरदार ठहरे वा निजले विदेशी मुलुकको स्थायी आवासीय अनुमती प्राप्त गरेको भएमा तथा सामाजिक सञ्जाल वा कुनै सञ्चारमाध्यम मार्फत सामाजिक द्धेस वा कलह बढ्ने र हिंसा भड्किने गरी राज्यविरुद्धको कुनै अभिव्यक्ति दिएको वा गोप्य राख्न पाउनुपर्ने सूचना खुलासा गरेको पुष्टि भई नेपाल सरकारले निवृत्तभरण नपाउने निर्णय गरेमा त्यस्तो निवृत्तभरण पाउने छैन ।

८. संरचनात्मक स्वायत्तता सहितको जनशक्ति व्यवस्थापन :-

प्रदेश मन्त्रालयको पद प्रदेश निजामती सेवाको पद हुनेछ भनी प्रदेश सरकारको कर्मचारी नै प्रदेश सरकारको नेतृत्व हुने व्यवस्था गरीएको छ साथै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद प्रचलित कानून बमोजिम सम्बन्धित स्थानीय तहको पद कायम हुने व्यवस्था गरौं, जसले समायोजन भइ प्रदेश तथा स्थानीय तहमा समायोजन भइ गएका र साविक स्थानीय निकायमा काम गरीरहेका कर्मचारीलाई अधिक प्रेरणा र खुसीको कुरो बन्नेमा दुइ मत छैन ।

९. सरुवामा चक्रिय प्रणाली स्थापीत गर्ने :-

निजमती कर्मचारीलाई सरुवा गर्दा अनिवार्यरुपमा चक्रिय प्रणाली अवलम्वन गरीनेछ । यसरी सरुवा गर्दा निजामती कर्मचारीलाई सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पुर्वानुमानयोग्य र पारदर्शी हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम गरीनेछ भन्ने उल्लेख गरौं । यसै अनुसार नियम बन्ने र सोही अनुसार कार्यान्वयनमा जाने देखिन्छ तर नितिगत स्पष्ट नभएकै कारण यसअघिको कार्यान्वयन फितलो रहीआएकोमा अव पनि सोही अनुसार सरुवाले निरन्तरता नपाउने विश्वास भने गर्न सकिन्छ ।

१०. श्रम अधिकारको रक्षा :-

समितिको प्रतिवेदनले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनलाई यथावत राखेको छ र युनियन पदाधिकारीलाई जिम्मेवारीप्रति उत्तरदायी बनाउने गरी कानुनमा नै स्पष्ट पारिएको छ । पदाधिकारी तथा कार्यसमिति सदस्य रहेको अवधिमा पनि तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । समितिको प्रतिवेदनमा दलैपिच्छे ट्रेड युनियन हुने र उनीहरुलाई कामै खटाउन नसक्ने प्रवृत्ति अन्त्य गर्न एउटा मात्र आधिकारिक युनियन राख्ने प्रस्ताव गरेको हो । हाल सबै जसो कार्यालयमा दर्जनभन्दा धेरै युनियन भएकाले यसको अन्त्य गर्ने व्यवस्था समितिले प्रस्ताव गरेको छ । अहिले यो व्यवस्थाको पनि धेरै विरोध भइरहेको छ ।

माथी भनिएअनुसार जिम्मेवार र जवाफदेही कर्मचारी युनियन राख्ने भन्ने हद सम्म यो सकारात्मक नै छ यसलाई कसरी नियमन गर्ने त्यो सोच्नुपर्ने भएको पक्कै हो तर यसका नाममा लोकतान्त्रीक प्रकृयानै अवरुद्ध हुने गरी संविधान र श्रम कानूनको बर्खिलाप साविकमा रहेका ट्रेड युनियननै नामेट पार्ने षड्यन्त्र कहाँवाट रचियो यो खोजिको विषय बनाइनुपर्दछ । कानुनी व्यवस्था अनुसार प्रति पाँचहजार सदस्यताका आधारमा स्थापना भएका  ट्रेड युनियनहरु कसरी दलका कार्यकर्ता वा दलका भातृसंगठनका रुपमा जनिय सो सोचनीय छ । दलहरुलाई संघ संगठन बनाउनु छैन भने कसैलाई नजिक आउने वातावरण नदिने या आफ्ना विधानमा निजामती संगठन आवद्ध हुन नपाउने अनिवार्य व्यवस्था गर्ने हिम्मत गरौ न यति गरे कुनै पनि संगठन कसैको भातृसंगठन भए भन्नै परेन आफै अनेक बहानामा आवद्ध गराउने अनि विसुद्ध निजामती कर्मचारीको हकहितका सवालमा सामुहिक सौदावाजी गर्ने अधिकार कटौती कसरी हुन्छ । अर्को कुरा आधिकारीक टेड युनीयनको विगतको निर्वाचनमा सहभागी हुने संगठन चारवटा मात्रै थिए यसहिसावले भन्ने हो भने के नेपालमा चारवटा दल मात्रै रहेका हुन त यदि यस्तो होइन भने कसरी दलैपिच्छेका टे«ड युनियन भनी बदनाम गरिदैछ यसको जवाफ आरोप लाउनेले दिन सक्नुपर्दछ ।

अन्तमा,
निजामती सेवाले विभिन्न कालखण्ड पार गरी हालको अवस्थामा आएको छ । विगतमा निजामती सेवा सञ्चालन र परिचालन हचुवाका भरमा या शासकका शनकका भरमा चलेको भएतापनि कानुनी व्यवस्था गरी सेवा सञ्चालन गरेकै पनि ६ दशक नाघीसकेको छ तापनि जनताको सेवा र सन्तुष्टि अध्ययन गर्दा अझैपनि सामन्ती संस्कार हटी सकेको देखिदैन । लिखित कानुन, योग्यतामुलक पद्दतीको स्थापना, सेवा शर्तको सुरक्षा, समावेशीता, श्रम अधिकारका क्षेत्रमा उल्लेख्य सुधार हुँदाहुँदै पनि यसले कर्मचारीको जागीर सुरक्षित र स्थायी गरेतापनि जन अपेक्षा भने पुरा गर्ने र विकास प्रक्रिया द्रुत हुन भने सकेन । तसर्थ अवको निजामती सेवामा रहेका माथी उल्लेखित विषयमा सुधार गर्ने गरी अगाडी बढाउने रणनीतिका साथ नारामा मात्रै सिमित नगरी पद्दती निर्माण गर्ने गरी निजामती सेवा दिवस मनाउने संकल्प गरौं ।
निजामती सेवा दिवस, २०७८ को सबैमा शुभकामना ।

(लेखक लम्साल सघन सहरी तथा भवन निर्माण आयोजना, बबरमहलका लेखा अधिकृत हुन् । )

प्रकाशित :२०७८ भाद्र २२, मंगलवार ०६:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry