विदेशमा नेपालको पहिचान संग जोडिएको ब्यबसाय
विदेशमा बस्ने नेपालीहरूले गर्ने विभिन्न ब्यबसाय मध्ये त्यहां बस्ने नेपालीहरूलाई नेपाली सामानहरू उपलब्ध गराउने ब्यबसाय पनि एक हो। नेपाली सामानहरू र नेपालीले प्रयोग गर्ने सामानहरूमा सिंगो नेपाल देख्ने नेपालीहरूले आफ्ना चाड पर्वमा नेपाली स्वादको चाहना गर्छन्। विदेशमा बसेर ठमेल र बौद्धको स्वादको मम र चाउमिन खोज्नेहरूलाई त्यसको स्वाद पस्कने देखि लिएर तिज, दशै, तिहार र ल्होसार जस्ता पर्वका पहिरन टक्र्याएर नेपालको झल्को मेटाउने काम नेपाली ब्यबसायीले गरेका छन्। नेपालको करीब एक तिहाई जनसंख्या विदेशिएको सन्दर्भमा तिनीहरूको घर गाऊको रहर पुर्याउन नेपालीहरू ब्यबसायीक रूपमा अगाडि बढ्दै छन्। विश्व परिवेशमा नेपालको पहिचान विशिष्ट किसिमको छ। हाम्रा चाडपर्वका खानपिन र लवाई खवाई हाम्रो पृथक परिचय दिने किसिमका छन्। हाम्रो परिचय केवल नेपाली मनले मात्र पस्किन सक्छ। त्यसैले विश्व बजारमा नेपाली मात्रको पनि पहिचान स्पष्ट रूपमा देखा परी सकेको छ।
Advertisement 1
हाम्रा दौरा, सुरूवाल, टोपी, कोट, आस्कोट, गुन्यू, चोली, लुंगी, क्रेमु, घलेक,खास्टो, भांग्रो, राडी, चुरा, पोते, डोरी, बाला आदि वेशभूषाका सामानहरूले हाम्रो राहदानी, नागरिकताको भन्दा बलियो परिचय दिएका छन्। एउटा टोपी लगाएको मानिस भेटियो भने नेपाली भाषा मै कुरा गरे हुन्छ। गुन्यु, चोलीमा सजिएकी एक नारीलाई तपाईको घर कुन जिल्ला हो भनेर सोधे हुन्छ। यस्तो पहिरन देखे पछि आफ्नै दाजुभाई दिदी बहिनीको झल्को मेटिन्छ। यस किसिमका पहिरनहरू विदेशी माटोमा भेटिदा छाती नै गर्वले फुलेको महसुस हुन्छ। मानवले समाज खोज्छ, समाज संग संस्कृति र संस्कार हुन्छ, संस्कार र संस्कृतिले पहिचान दिन्छ। विदेशमा पनि संस्कार र संस्कृतिको खोजी हुन्छ र यो पहिचानलाई नेपाली मात्रले पस्किन सक्छ। तसर्थ पहिचान संग गासिएको ब्यबसायमा नेपालीपन हुन्छ।
यही पहिचानले नेपालीलाई एकतावद्ध गर्न सक्छ।यही पहिचानले नेपालको मायालाई उजागर गर्छ। हाम्रा मादल, डम्फू, सारंगी, हाम्रा पंचे बाजा,खैजरी, मुजुरा आदिले हाम्रो लोक संस्कृति बोकेका हुन्छन्। विदेशमा रहे बसेका नेपालीलाई लोक संगीतमय बनाएर नेपालका चाड पर्वको झल्को मेटाउन यस्ता ब्यबसायीको ठूलो भूमिका छ। विदेशी विप्रेषणको अर्को साधन यस्तो ब्यबसाय बन्न पुगेको छ। विदेशमा बस्ने नेपालीको चाहना परिपूर्ति गर्ने गर गहना र सांस्कृतिक पोशाकहरू नेपालमै तयार गर्दा यसबाट बढ्दो बेरोजगारीको अन्त्य मात्र नभै विदेशी मुद्रा आर्जन गर्ने बलियो श्रोत पनि बन्न सक्छ यो ब्यबसाय। कच्चा पदार्थ आयात गरेरै भए पनि नेपाली डिजाईनबाट बिभिन्न पहिरन बनाउन सके यसले विश्वभर छरिएर रहेका नेपालीको चाहना पूरा गर्न सक्छ। विदेशमा रहेरै पनि एउटा नेपालीले आफू नेपाली भएको गौरव गर्न सक्छ। जन्म देखि मृत्यु सम्मका संस्कारहरू नेपाली तवरबाट मनाउन पाउदा कुनै नेपालीलाई पनि विदेशमा छु जस्तो लाग्दैन। यसरी नेपालीपनलाई जीवन्त राख्न यी ब्यबसायीले अथक प्रयास गरेका छन्। आफूलाई जन्म दिने आमा, आफ्नो जन्म भूमिको काखमा बस्ने रहर कसलाई हुदैन र?
Advertisement 2
तर आफ्नो प्राण भन्दा प्यारो नाता र भूमि कसैले पनि रहरले छोड्दैन। यसरी बाध्यताले मातृभूमिलाई भौतिक रूपले छोड्नु परे पनि कुनै पनि नेपाली भावनात्मक रूपले सदैव जोडिन चाही रहेको हुन्छ। यसरी जोडिने भावनालाई आफ्नो पहिरन, खानपिन, बोलीचालीले सजीव बनाउन सक्छ। त्यसैले यस किसिमको ब्यबसायले स्वदेशको स्मृतिलाई पुनर्ताजगी गराईरहन्छ। विदेशमा बस्ने नेपालीहरूको संरक्षकको रूपमा हाम्रा कूटनीतिक निकायहरू रहेका हुन्छन्। यिनीहरूले आफ्ना नागरिकको अभिलेख राख्ने, कुन नागरिक संग के विशेषज्ञता छ त्यसको रेकर्ड राख्ने, राष्ट्रियताको संरक्षणमा लागेका संघ, संस्था कहां कहां छन् त्यसको अभिलेख राख्ने, विभिन्न ब्यबसायमा संलग्न नेपालीहरूको अभिलेख राख्ने ब्यबस्था गर्नु उपयुक्त हुन्छ। त्यसै गरी नेपालीहरूको सुख दुःखमा साथ दिने नाममा विदेशमा स्थापना भएका संघ संस्थाहरू संग पनि यस किसिमको अभिलेख हुन आवश्यक हुन्छ। यसरी राखिने अभिलेखको माध्यमबाट नेपालको कला संस्कृतिलाई विदेशमा समेत जीवन दिन सक्छ। ब्यबसाय फाईदाको लागि गरिन्छ यो सही हो तर त्यही ब्यबसायलाई नेपाल र नेपालीको चाहना तर्फ डोर्याउदा नेपालको पहिचान कायम राख्न सकिन्छ भने त्यसो किन नगर्ने? त्यस्तो ब्यबसाय गर्नेलाई किन प्रोत्साहन नगर्ने?