जेनजी सहिदको घरमा सरकारी टोली

बैतडी। जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक साउदको परिवारको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोली उनको घरमा पुगेको छ।
Advertisement 1
साउदको घरमा गएर पारिवारिक अवस्थाबारे जानकारी लिइएको प्रजिअ पौडेलले बताए। उनले भने, “सहिद परिवारको अवस्थाबारे जानकारी लिन उहाँको घरमापुगेका हौंँ। दीपकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छौंँ। परिवारलाई राज्यका तर्फबाट भेटवार्ता र सरकारको भएको महसुस गराउन र सान्त्वना दिन हामी प्रयासरत छौँ।”
भेटवार्ताका क्रममा परिवारका कुनै सदस्यलाई रोजगारीको व्यवस्था गर्न सकिने विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले जानकारी दिए। उनले भने, “सहिद परिवारका सदस्यलाई रोजगारसँग जोड्ने र थप सहयोग गर्न पहल गर्नेछौँ। चौधरी ग्रुपले रोजगारी दिने जानकारी दिएपछि प्रक्रिया अघि बढाइएको हो।”
Advertisement 2
प्रजिअ नेतृत्वको टोली भेट्न आएर पारिवारिक अवस्था बुझिदिँदा केही राहत महसुस भएको सहिद साउदकी आमा लक्ष्मी साउदले बताइन्। उनले भनिन्, “घरमै आएर हाम्रो अवस्था बुझ्नुभयो, सान्त्वना दिनुभयो र रोजगारी दिने विषयमा छलफल भएको छ।”
दीपकको परिवारलाई यसअघि सरकारको तर्फबाट रु १५ लाख र शिवनाथ गाउँपालिकाले रु १ लाख सहयोग गरेको थियो। बीस वर्षीय दीपकलाई जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेको थियो।
Advertisement 3
गोली लागेर गम्भीर घाइते उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो। साउदले कक्षा १२ पास गरी कोरिया जानका लागि काठमाडौँमा भाषा सिकिरहेका थिए।














