गुल्मीमा अब सातामा १ पटक मात्र हवाई उडान हुने

गुल्मी। नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ। निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ।
Advertisement 1
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार १ दिन मात्र उडान गरिने जानकारी दिए। निगमका २ वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उनले बताए।
प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन। खराब मौसम र बाक्लो हुस्सुका कारण जिल्लामा पटकपटक उडान प्रभावित हुने गरेको छ।
Advertisement 2
निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि यहाँ बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँ बिहान ७ः३० बजे उडानको तालिका निर्धारण गरेको छ। यस्तै, काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ।
निगमले विसं २०८० वैशाख २९ गतेदेखि यहाँ व्यावसायिक रूपमा उडान सुरु गरेको थियो।