काजिमान अर्थात कुशल प्रशासक

@अन्जान कुमार हिमाली

Advertisement 1

 इमान्दार, कर्तब्यनिष्ठ, मृदुभाषी, जनसेवकको पर्याय हुन काजीमान सुनार । न कुनै लोभ, न कुनै मोह , न त समयकै प्रवाह । सेवाग्राहीको सेवामा समय सिनित्त सकिएको पनि पत्तो पाउँदैनन् काजीमान सुनार याने कि जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रजिअ ।

यही कार्यालयमा सहायक भएकाहरूले नै कति कुम्ल्याए लेखोजोखो छैन । सिडिओलाई तेल बेसार दलेर मख्ख पार्ने अनि सेवाग्राहीलाई फल्याङफुस्लुङ पारेर आफ्नो दुनो सोझ्याउने प्रवृत्तिले जनता हायलकायल पनि थिए । लाहुरेहरुको बाहुल्य भएको यो जिल्लामा नागरिकता सच्चाइदिए बापत पचासौं हजार डाड्ने सहायक प्रजिअ पनि नभएका त कहाँ हुन् र । त्यस्तै कालो मन गरेको भए यही बेलापनि पैसो थन्काउन उनले भकारीको जोहोनै गर्नु पर्थ्यो । इमान्दारिताको पापड सेकाएर जिविको चलाएका काजीमान यसैमा सन्तुष्ट छन् । आफ्नो काम भन्दा दायाँ बायाँ मोडिन जानेका छैनन् । कुनै नेतासेताको साखिल्लो तथा हाकिमको नजिक भनेर कामचोर बन्नु भन्दा जनताको सेवाटहलमा समय गुजार्न श्रेयकर ठान्ने उनको जन्म भने पर्वतमा भएको हो ।

Advertisement 2


सामाजिक परिवेश त्यस्तै थियो । भारतीय सेनामा भर्ती हुने वा भरततिरै भाँसिएर भए पनि नोकरी गरी पैसा कमाउने भन्दानी खाड़ी मुलुकतिर पस्नेको जमात कम थिएन । दुईचार पैसा नभएका, त्यसमा पनि दलित समुदायको भनेपछि समाजमा हेयभाव राख्नेको जमात कहाँ कमी थियो र पर्वतको गाउँले परिवेशमा होस । एकमन झोंक नचलेको पनि हैन् लाहुरे हुने तर अर्को मनले धक्का हान्यो निजामती सेवामै प्रवेश गर भनेर । अझ भन्दा स्कूल कलेजसँगै पढेका साथी अविनाश कुँवरले निजामती सेवाबाट जनताको सेवा गर्न सुझाएपछि उनले‌यात्राको स्टेरिङ अन्त मोडे ।
पर्वत जिल्लाको बाजुङ गाउँपालिका- ९ मा २०४५ साल भदौ २३ गते आमा मनभुजाको कोखबाट जन्मिएका सुनारले १६ वर्षको उमेरमा घरबाट आधाघण्टा टाढाको महेन्द्र शिखरी माविबाट २०६१ सालमा प्रथम श्रेणीमा एसएलसी गरे । स्कुले जीवनमा कहिले पहिलो र दोस्रोबाट तल नझरेका सुनारले ईन्टर पनि प्रथम श्रेणीमै पास गरे । बाबा चन्द्रबहादुर मध्यम किसानी । रेगुलर आम्दानीको बलियो स्रोत नभएपछि पैसा दुब्लो हुनेनै भयो । परिवारको उनी माइलो सन्तान । पढ्ने इच्छा मार्न सकेनन् । अनि निजी स्कूल पढाउँदै पिएन क्याम्पस पोखरामा पढ्न थाले । पढ्ने पढाउने गर्दा स्नातक भने सेकेण्ड डिभिजनमा पास भए ।  २०६९ मा नायब सुब्बामा नाम निस्कनु पूर्व पोस्ट मोर्डन बोडिङ्ग स्कूल भलाम पोखरा र त्यसपछि आफूले पाँच कक्षासम्म पढेको गाउँकै विश्व शान्ति प्रावि बाजुङमा अध्यापन शुरू गरेका थिए ।
नासुमा नाम निस्किएपछि खुसीको सीमा रहेन । त्यो परिवारमा सरकारी सेवामा प्रवेश गरेका खासै कोही थिएनन्  । मानवीय विभेद, छुवाछुतको कुप्रथा, आधुनिक जमाना भनिएको यो समयमा पनि उस्तै थियो । चेतनाको अभाव त थिएन तर गाउँलेहरू जानीजानी पनि विभेदको लेप हटाउने पक्षमा थिएनन् । उनको मन चसक्क पोल्थ्यो सीपका खानी शिल्पकारहरु अछुत बनाइएको र हेपिएको देख्दा । कानूनी रूपमा विभेदको अन्त्य भएको भनिएपनि सामाजिक रूपमा झन् मजबुत बन्दै गएको कुप्रथाको अन्त्य सरकारी स्तरबाटै दर्विलो कानुन नबन्दासम्म केही नहुने सोचले पनि सुनार निजामती सेवामा प्रवेश गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा जागिरको पहिलो पाइला टेकेका सुनार सबैसँग मिल्नसक्ने स्वाभावकै कारण छोट्टै समयमा आत्मीयता कमाएका सुनारले नजर जुधेको केही समयमै वैवाहिक बन्धनमा बाँधिए ।
दिन त ठ्याक्कै सम्झना रैनछ । महिना भने भदौतिर रहेछ । तनहुँ साँखेकी सीता विक नागरिकताको लागि जिल्ला प्रशासन कार्यालयमा आइन् । ढड्डामा टाँसिएको फोटोले तानिएका सुनारले छड्के नजर लगाए । गहुँ गोरी हिस्स परेकी, जिउडाल चटक्कै मिलेकी, मृग नयनी सीतालाई देख्ने कसले मन नपराउँदो होला र काजीमानलें नपराउन् । सुनार आफैंले खोजिनीति गरे । यत्तिको सरकारी जागिरे भएको केटो पाउँदा सीताका परिवारले नाइनास्ती भन्ने कुरा नी आएन । २०७१ जेष्ठ ५ गते विवाह भयो ।


वैवाहिक जीवनको वर्षगाँठ मनाउँदै गर्दा शाखा अधिकृतमा अग्रस्थानमा नाम निकालेका उनले पूर्वाञ्चल विश्वविद्यालयबाट एजुेशन प्लानिङ्ग एण्ड म्यानेजमेन्टमा प्रथम श्रेणीमा स्नात्तोकोतर गरे ।  २०७१/८ १८ नाम निस्के पछि उनी २०७२/४/१४ मा जिल्ला कारागार लमजुङमा हाकिम बनेर पुगे । कारागारमा धेरै बस्नुपरेन । सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा जिल्ला प्रशासन कार्यालय लमजुङमै स्थान्तरण भए । प्रजिअ थिए एकदम सुधारवादी सोचका विकासप्रेमी जनताले अति रुचाएका झंकनाथ ढकाल । जिल्ला प्रशासनको हालत बेहाल थियो । दुर्गन्ध उस्तै । रक्सीका पुङहरुको अखडा । ड्राइभर देखि कार्यालय सहयोगी समेतको बेथिति । काजीमानलाई यो कुरा मन नपरेपनि तत्कालीन सिडिओ युवराज मैनाली, र अर्का सहायक प्रजिअ तीर्थ अधिकारीको कारण प्रशासन कार्यालय नाम मात्रको थियो । काजीमान सुधार गर्न चाहन्थे तर उनको हातमा केही थिएन । जब झंकनाथ आए उनले दरो आड पाए ।
उनको काम प्रतिको लगाव, इमान्दारिता र बफादारिताको जति बयान गरेनी कमी हुने हाल नुवाकोटका सिडिओ भएका ढकाल बताउँछन् । माननीय धनन्जय दवाडी खोट लगाउने ठाउँ देख्दैनन् । निकै साधारण स्वभावका डिएसपी गंगाबहादुर थापा पनि खुलेरै प्रशंसा गर्छन् । हालका सिडिओ कृष्णप्रसाद शर्मा पनि इमान्दार र सक्षम भएका कारण कामको चाँजोपाँजो निकै मिलेको छ । पुराना कर्मचारी राजेन्द्र पौडेल, लेखापाल रमेश विक मात्र हैनन् पुराना तथा बेसिशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी सबै ठाउँमा यस्ता इमान्दार कर्मचारी भए सेवाग्राहीले कहिले दुःख पाउन नपर्ने बताउँछन् ।
काजीमान एउटा कुशल प्रशासक मात्र हैनन अब्बल साहित्यकार पनि मानिन्छन् । गजल बिधामा राम्रो दखल राख्ने सुनारका गजल पनि त्यस्तै सामाजिक परिवेशमा आधारित भएको पाइन्छ ।

प्रकाशित :२०७७ आश्विन ३, शनिबार १३:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry