पर्वतीय पर्यटन नेपालको शान र पहिचान

नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो। प्राकृतिक सुन्दरताले नै नेपाल संसारको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ। नेपालका हिमाल, पर्वतीय सांस्कृतिक, प्राकृतिक, भौगोलिक, जातीय, भाषिक, वातावरणीयलगायतको विविधता रहेको छ। नयाँ ठाउँ हेर्ने, नयाँ कार्य गर्ने, नयाँ विषय खोज्ने तथा बुझ्ने साथै मनको आनन्द लिने कार्य नै पर्यटनको मूल मर्म हो।
Advertisement 1
भौगोलिक विविधता नेपालको विशिष्ट पहिचान हो। नेपाल पर्यटकीय दृष्टिले र पर्यटकीय क्रियाकलापहरूको सम्भावनालाई बढोत्तरी गर्नमा भौगोलिक विविधताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यस विविधताले नै पर्यटनका विविध क्षेत्रहरूमध्ये साहसिक पर्यटनअन्तर्गत पर्ने पर्वतारोहण सम्भव भएको हो र यसका लागि नेपाल संसारकै आकर्षक गतव्यमा पर्दछ। नेपालमा पर्वतारोहणले समग्र पर्यटन क्षेत्रको महत्त्वपूर्ण र आकर्षक स्थान ओगटेको छ।
नेपाल सरकारले सर्वोच्च शिखर सगरमाथालगायत आठ हजार मिटर माथिका आठवटै हिमालहरू समेत गरेर चार सयभन्दा बढी हिमालमा आरोहण खुला गरेको छ। शताब्दीऔँ पहिलेबाट नेपालमा पर्वतारोहणका कार्य आरम्भ भएको पाइन्छ। सन् १९२१ मा सगरमाथा हिमाल आरोहणको पहिलो प्रयास भएको र उक्त अवधिमा सगरमाथा चढ्ने बाटो पत्ता लागेको अध्ययनबाट देखिन्छ। बेलायत सरकारले लेफ्टिनेन्ट कर्णेल सिके होवार्ड बुरेको नेतृत्वमा जर्ज मेलोरी तथा अन्य पर्वतारोही र सर्भेयरहरू समावेश गरी पहिलोपटक सगरमाथाको आरोहण गर्ने टोली बनाएको थियो। उक्त टोलीले सन् १९२१ को वसन्त ऋतुमा तिब्बतबाट सगरमाथा आधार शिविर जाने बाटो पत्ता लगायो र सगरमाथाको तिब्बती मोहोडातिरबाट लगभग सात हजार मिटरको उचाइसम्म पुगेर फर्किएको इतिहास रहेको छ। यो ठाउँलाई हाल नर्थ कोल भनिन्छ।
Advertisement 2
सन् १९५० मा भएको अन्नपूर्ण हिमालको सफल आरोहण नै आठ हजार मिटरमाथिका हिमालमा मानव पाइला पुगेको पहिलो इतिहास हो। सन् १९५३ मे २९ मा न्यूजील्याण्डका नागरिक, एडमण्ड हिलारी र नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल हुनुभयो। यसपछि नेपालमा पर्वतारोहणले विश्वको ध्यान आकर्षित गर्यो भन्दा अत्युक्ति नहोला। योसँगै नेपालको महाभारत र चुरे पर्वत शृङ्खलामा बनेका ताल, झर्ना, सहासिक खेल र प्राकृतिक सुन्दरताले नेपालको पर्यटनले थप उचाइमा लगेको छ।
विश्वकै सर्वोच्व शिखर सगरमाथासँगै सुन्दर श्रृंखला हुनुले नेपाललाई ‘पर्वतीय गन्तव्य’का रूपमा चिनाएको छ। पर्वतीय शृङ्खलाहरू हाम्रो शान र पहिचान हुन्। यी शृङ्खलामा फस्टाउने पर्यटन उद्योगले आर्थिक सुधारका लागि छिटोभन्दा छिटो नतिजा दिन सक्छ। पर्यटनको विकास हुन सक्यो भने हामीले छिटै आर्थिक समृद्धि हासिल गर्न सक्छौँ। नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउन पर्यटन क्षेत्र एक दरिलो आधार बन्न सक्छ। पर्यटकहरूको आगमन बढेपछि हाम्रो आर्थिक उपार्जनको स्रोतहरू अथाह बढेर जानेछन् भन्ने हाम्रो विश्वास हो। पर्यटकलाई घुमाएर होस् वा खान बस्न दिएर, आफ्नो कला संस्कृति प्रस्तुत गरेर होस् वा कुनै उत्पादन बेचेर, मनग्यै आयआर्जन लिन सकिने सम्भावना रहन्छ।
Advertisement 3
हिमाललाई ब्रान्डिङ गर्ने र भौतिक पूर्वाधारहरू निर्माण गर्ने कार्य अहिलेको आवश्यकता हो। विदेशी मिडियाले पनि नेपालको हिमालमा भएका गतिविधिलाई मुख्य समाचार बनाएको पाउँछौँ। हिमाली पर्यटन अबको नयाँ विकल्प हुने छ। यसलाई नेपालले उपयोग गर्नुपर्छ भन्ने हामीलाई लागेको छ। पछिल्लो समयमा नेपालमा पदयात्री पर्यटकको सङ्ख्या बढेको छ। सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, कर्णाली, पूर्वमा कञ्चनजङ्गा र काठमाडौँ उपत्यका आसपासका पर्वतीय क्षेत्रमा समेत पदयात्रीको आकर्षण बढ्दै गएको देखिन्छ। पर्वतीय पर्यटनलाई थप समृद्ध बनाउन पदयात्रा पर्यटनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सके मात्रै आर्थिक रुपमा अपेक्षित सफलता हासिल गर्न सक्छौँ। पदयात्रा पर्यटनले स्थानीय सम्पदालाई असर नपुग्ने गरी स्वच्छ मनोरञ्जन एवं फरक अनुभूति बटुल्ने पर्यटकका गतिविधिलाई सम्मान गर्दछ। नेपालमा पर्वतीय क्षेत्रको पर्यटन प्राकृतिक तथा सांस्कृतिक सम्पदामा आधारित छ। यसलाई भरपुर उपभोग गर्न नसकेको यथार्थ हाम्रासामु रहेको छ।
हिमाल र पर्वतहरू प्रकृतिका अमूल्य सम्पदा हुन्। यस क्षेत्रलाई जैविक विविधताको मुख्य क्षेत्र भनेर पनि चिनिन्छ। पछिल्ला दिनमा हिमाल र पर्वतहरूले जलवायु परिवर्तनको ठूलो प्रभावको सामना गरिरहेका छन्। जलवायु परिवर्तनका प्रभावहरू तीव्ररूपमा बढ्दा नेपालको हिमाली क्षेत्रमा सबैभन्दा धेरै प्रतिकूल वातावरणीय प्रभाव परेको छ। हिमनदीहरू पग्लिँदै जानु, हिमालमा हिउँ हराउँदै जानु र अनियमित मौसमको सामना गर्नुपर्ने चुनौतीहरू हिमाली क्षेत्रमा खडा भएका छन्। कृषि, जलस्रोत, जैविक विविधतासँगै हिमाल र नजिकका क्षेत्रका समुदायको जीविकोपार्जनमा गम्भीर जोखिम देखिएको छ। हिमालमा जलवायु परिवर्तनको प्रभावले तल्लो र तटीय क्षेत्रमा दूरगामी प्रभाव पार्न सक्छ। यी विषयले अझै पनि विश्वमञ्चमा उचित प्रतिनिधित्व र बहस पाउन सकेको छैन। जलवायु परिवर्तनको विषयमा छलफल र अध्ययन पुगेकै छैन। पर्याप्त अध्ययन गर्न लगानी जरूरी पर्छ।
जलवायु परिवर्तनका विषयमा निरन्तर संवाद गर्नुपर्छ। यसै सन्दर्भमा नेपाल सरकारले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गरेको सगरमाथा संवादले केही हदसम्म अन्तरराष्ट्रिय मञ्चमा नेपालको हिमाल र जलवायु परिवर्तनको प्रभावको विषयमा उजागर गर्ने प्रयास गरेको छ भन्ने हाम्रो बुझाइ हो। तर राजनीतिक परिवर्तनसँगै जलवायु परिवर्तनका विषयलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको पाइन्छ। यसले नेपालको मुद्दालाई अन्तरराष्ट्रिय फोरममा बहसमा लैजान समस्या हुने गरेको छ। आर्थिक सहयोग आउँदा सिजनल रुपमा मात्र कुरा उठाउनेभन्दा पनि निरन्तर अभियान चलाउनु पर्छ। अनुसन्धानबाट आएका तथ्यका आधारमा कसरी काम भइरहेको छ भनेर समीक्षा गर्नु पर्छ। प्रकृतिलाई बिगारेर होइन, सिङ्गारे र विकास गर्नुपर्छ। बोल्नेहरूले त आफैँ कुरा उठाउँछन्। तर नबोल्ने प्रकृतिका विषयमा पनि बोल्नुपर्छ। यो विषय आजको मुख्य दायित्व हो भन्ने लाग्दछ।
यही विषयलाई मनन् गरेर राससले पर्वतीय पर्यटनका विषयमा तस्बिर प्रदर्शनी गरेको हो। यस वर्षको गणतन्त्र दिवसलाई अवसर पारेर नेपालको पर्वतीय पर्यटनलाई टेवा पुर्याउने र नेपाल सरकारको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गरेको छ। यो तस्बिर प्रदर्शनीले राससका फोटो पत्रकारले खिचेका, सम्प्रेषण भएका तस्बिरहरू खोज्ने र अर्काइभिङ गर्ने, राससमा छापिएका तस्बिर संरक्षण गरेर भावी पुस्तालाई अमूल्य सम्पत्ति हस्तान्तरण गर्ने, नेपालमा पर्वतीय पर्यटनको अवस्था र सम्भावनाको विषयमा जानकारी दिने र नेपालका हिमालहरूको विषयमा जानकारी दिने कार्य गर्छ भन्ने हामीलाई लागेको छ।
नेपालका आठ हजार मिटर अग्ला र त्यसभन्दा होचा तर चर्चामा रहेका हिमालहरू, हिमाली क्षेत्रको जनजीवन, पर्वतीय शृङ्खलामा पुगेका विदेशी उच्च पदस्थ व्यक्तिहरू, पर्वतीय शृङ्खला, पहाडी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य, ताल, पोखरीलगायतका विषयमा खिचिएका तस्बिरलाई प्रदर्शनीमा राखेको छ। राससका समाचारदाताहरूले खिचेका र राससको बुलेटिनमा प्रकाशित भएका करिब एक सयवटा तस्बिरबाट नेपालको पर्वतीय पर्यटनलाई चिनाउने प्रयास गरेका छौंँ। प्रदर्शनीमा राखिएका तस्बिरहरू नेपालको हिमाल र पर्वतीय क्षेत्रमा विकास भइरहेको पर्यटनलाई चिनाउने प्रयास मात्र हो।
(लेखक राससका महाप्रबन्धक हुन्।)