व्यक्तिगत स्तरमा अनुशासन सहितको वित्तिय व्यवस्थापन
आफ्नो योग्यता र क्षमता अनुसार हामी सबैले अर्थोपार्जन गरिरहेकै हुन्छौ । तैपनि पैसासंग सम्बन्धित तनाव र चिन्ता हाम्रो दैनिक जीवनको हिस्सा बनेको छ । दैनिक जीवनमा हुने यस्तो तनावले हामीलाई मानसिक रुपमा असन्तुलित बनाएर हाम्रो श्रृजनशिलतालाई मार्दछ र उत्पादकत्वलाई घटाउदछ । यसरी आफ्नो आर्थिक पक्षको व्यवस्थापन गर्न जानिएन भने चिन्ता र तनावको दुष्चक्रमा परिन्छ । सम्भावित प्रगती हुन सक्दैन । त्यति मात्र होईन आफ्नो वित्तिय व्यवस्थापन सही तरीकाले नगर्दा आर्थिक संकटमा परि आत्महत्या समेत गरेको उदाहरण छन् जस मध्ये पछिल्लो उदाहण हो नायिका दिपाशा बि। सी। को आत्महत्या घटना । स्वस्थ र प्रगतीशिल जीवन चाहने हो भने हरेको जीवनमा अनुशासन सहितको वित्तिय व्यवस्थापन हुनु नै पर्दछ । आय आर्जन गर्ने श्रोतलाई व्यवस्थापन गरी आर्जित रकमलाई विवेकपुर्ण तरिकाबाट खर्च गर्ने नियन्त्रित मार्ग नै वित्तिय अनुशासन हो । यसले वर्तमानका आवश्यकतालाई मितव्ययी र प्रभावकारी तरीकाबाट पुरा गरी भविष्यमा सम्पत्ति अधिकतम गराउने मार्ग खोल्दछ ।
व्यक्तिगत स्तरमा अनुशासन सहितको वित्तिय व्यवस्थापनको उद्देश्य देहाय बमोजिम रहेको छः
– विद्यमान वित्तिय घाटा ( ऋण) को मितव्ययी तथा प्रभावकारी व्यवस्थापन गर्ने ।
– नियमित बचत र प्रभावकारी लगानीको माध्यमबाट सम्पत्ति संचयको आधार तयार गर्ने।
– तनाव र चिन्ता मुक्त युवावस्था तथा आरामदायी बृद्धवस्था बनाउने ।
– आपतकालिन अवस्थामा सुरक्षा जालो (Safety Net) को काम गर्ने ।
Advertisement 1
वित्तिय व्यवस्थापनः
विभिन्न श्रोतबाट प्राप्त भएको रकमलाई मितव्ययी तथा प्रभावकारी तरीकाले खर्च गरी वर्तमानको आवश्यकता पुरा गर्ने र भविष्यका लागि बचत, लगानी र सम्पत्ति अधिकतम् गर्ने माध्यम नै वित्तिय व्यवस्थापन हो ।
वित्तिय व्यवस्थापनको प्रकृयाः
व्यक्तिगत स्तरको वित्तिय व्यवस्थापनमा देहाय बमोजिम प्रकृयाबाट गर्न सकिन्छ ।
१) आफ्नो वित्तिय अवस्थाको विश्लेषणः
वित्तिय अनुशासन पालनाको लागि सबै भन्दा पहिले आफ्नो विद्यमान आर्थिक अवस्थाको विश्लेषण गर्नु पर्दछ । यसमा मुख्यतः दुई पक्षको विश्लेषण गरिन्छ । पहिलो आम्दानी श्रोतको विश्लेषण जस्तै आम्दानीका श्रोतहरु कति छन् । नियमित हुने आम्दानी र कहिले काही हुने तथा हुन सक्ने आम्दानीलाई छुट्याईन्छ । विश्लेषण गर्नु पर्ने महत्वपुर्ण अर्को पक्ष खर्च हो । यसको लागि भैरहेको खर्चको ट्रयाक र अभिलेखिकरण गरिन्छ । जसबाट एक किसिमको तथ्याङ्क तयार हुन्छ । यस तथ्याङ्कबाट हामीले नियमित नगरि नहुने खर्च र नगर्दा पनि खासै फरक नपर्ने खर्चहरु छुट्टयाएर विश्लेषण गरिन्छ । साथै घटाउन सकिने खर्च र बढाउन सकिने आम्दानीको अध्ययन गरिन्छ ।
२) आवधिक लक्ष्य निर्धारणः
वित्तिय लक्ष्य छोटो मध्यम या लामो अवधिको बनाउन सकिन्छ । वित्तिय लक्ष्य मुख्यतः निर्धारित अवधिमा कति बचत गर्ने वा लगानी रकम कति बनाउने वा विद्यामान ऋण रकम कति भुक्तानी गर्ने जस्ता लगायतका हुनसक्दछन् । वित्तिय लक्ष्य निर्धारण गर्दा आफ्नो वित्तिय अवस्थाको विश्लेषणका आधारमा निर्धारण गर्नु पर्दछ ।
३) लक्ष्य प्राप्त गर्ने योजनाः
यस अवस्थामा निर्धारण गरिएको लक्ष्य प्राप्त गर्न आवश्यक पर्ने मार्गदर्शन र रोडम्याप तयार गरिन्छ । यसमा आय र खर्चको अनुमानको विवरण यानी बजेट पनि बनाईन्छ । खर्चको विवरण तयार गर्दा सकेसम्म मितव्ययी र प्रभावकारी बनाउने कोशिश गरिन्छ । त्यसैगरी आपतकालिन अवस्थामा गर्नु पर्ने खर्चहरु त्यसको व्यवस्था पनि योजनामा समावेश गरिन्छ । संकटकालिन परिस्थितिमा सरभाईभिङ्ग योजना पनि यसको अभिन्न अंग हो ।
४) कार्यान्वयनः
लक्ष्य निर्धारण भई प्राप्त गर्ने गरी योजना बनाईसके पछि दैनिक जीवनमा कार्यान्वयन गरिन्छ । यसमा मुख्यतः वित्तिय अनुशासनको पालना हुने गरी खर्चहरु मितव्ययी बनाईन्छ भने आम्दानीलाई अनुमान गरेअनुरुप बनाउन कोशिश गरिन्छ ।
Advertisement 2
५) आवधिक पुनरावलोकन तथा परिमार्जनः
निश्चत अवधिको अन्तरालमा लक्ष्य पुरा हुने नहुने पुनरावलोकन गरिन्छ । पुर्व तय गरिएको योजना अनुसार गर्दा निर्धारित लक्ष्य पुरा नहुने देखिएमा लक्ष्य पुरा हुने गरी विद्यमान योजना परिमार्जन गरिन्छ वा नयाँ योजना बनाईन्छ ।
यसरी वित्तिय रुपमा सन्तुलित जीवन यापन गर्न चाहने कुनै पनि व्यक्तिले आफ्नो वित्तिय अवस्थाको विश्लेषण गरी सोका आधारमा आवधिक लक्ष्य निर्धारण गरी लक्ष्य प्राप्त गर्ने योजना बनाएर दैनिक जीवनमा कार्यान्वयन गरी आफ्नो वित्तिय व्यवस्थापन गर्न सक्दछ । जसले सुरक्षित सम्पन्न जीवन यापनको बाटो खोल्दछ ।
वित्तिय अनुशासनः
वित्तिय व्यवस्थापन गर्ने क्रममा पालना गर्नु पर्ने नियमहरु नै वित्तिय अनुशासन हो । वित्तिय अनुशासन बिनाको वित्तिय व्यवस्थापनले वित्तिय लक्ष्य प्राप्त सक्दैन । तसर्थ यो वित्तिय व्यवस्थापनको अभिन्न अंग हो । वित्तिय व्यवस्थापन गर्दा पालना गर्नु पर्ने अनुशासन देहाय बमोजिम रहेको छ ।
१) वित्तिय अनुशासनको महत्वपुर्ण अंश नै बचत र बचतको लगानी हो । त्यसैले धेरै थोरै जति सकिन्छ आजैबाट बचत गर्नुहोस् । आफुलाई प्रयाप्त जानकारी भएको र नियन्त्रण भएको ठाउमा मात्र लगानी गर्नुहोस् । केही सफलताको कथाबाट प्रेरित भएर वा हल्लाका भरमा लगानी गर्नु हुदैन । पैसा कमाउन मेहनत लाग्छ र त्यो भन्दा बढी मेहनत बचत गर्न लाग्छ । त्यसैले लहलहैमा लागेर आफुलाई ज्ञान नभएको क्षेत्रमा लगानी गर्नु घातक हुनसक्छ ।
२) आर्जन गरेको रकम कता खर्च भईरहेछ । त्यसको ट्रयाक राखिरहनु होस् । यसको लागि या ठुलो हरेक खर्च अभिलेखिकण गर्नु पर्दछ । यसले गर्दा खर्चहरु सुपरिवेक्षण भई अनावश्यक र फजुल खर्च पहिचान गरेर घटाउन सहयोग पुग्छ । सुपरिवेक्षण गरिएका वस्तुहरु बेहतर हुदै जान्छन् ।
३) देखाउनैका लागि कहिलै पनि खर्च नगर्नुहोस् । आवश्यक र व्यवस्थापन गर्न सकिने मात्रामा मात्र खर्च गर्नुहोस् । फजुल खर्च र आम्दानीको लिकेज रोक्नु पर्दछ ।
Advertisement 3
४) आवसिय प्रयोजनले बनाईने घर सबै देख्ने महत्वपुर्ण सपना हो । अझै पनि घर जोड्नुलाई सफलताको प्रतिकको रुपमा लिईन्छ । घर जहाँ ठुलो रकम लगानी भएको हुन्छ । नियमित आम्दानी हुने वित्तिकै ऋण गरेर पनि घर जोड्न तिर लाग्छन् अधिकांश मान्छेहरु । अवसर लागतको हिसाबले जुन निकै महंगो पर्न जान्छ । साथै उर्जाकालभरी ऋण र व्याज भुक्तानीको तनाव लिएर हिड्नु पर्ने हुन्छ । तसर्थ सकेसम्म सबै उत्तरदायित्व पुरा सक्ने भएपछि पनि यदि ठुलो रकम बचत छ भने मात्र आवासिय प्रयोजनको निम्ति घर खरिद गर्नु विवेकी कदम हुन्छ ।
५)सबै भन्दा खराब अवस्था आएको खण्डमा पनि कसरी सरभाईभिङ्ग गर्ने त्यसको योजना हुनु पर्छ ।
६) अनुमान गरेको जति बचत भएन भने पनि जीवनमा रमाईलो गर्न स्थगत गर्नु हुदैन किनकी जीवनमा पैसा आउछ जान्छ तर समय जान्छ, फर्केर आउदैन । आम्दानीको ५ देखि १० प्रतिशतसम्म जीवनमा रमाईलो गरेर तरोताजा हुन खर्च गर्नु पर्दछ ।
यदि पैसासङ्ग सम्बन्धित तनाव कम गरी सुरक्षित र सम्पन्न जीवन यापन गर्ने हो भने हरेक व्यक्तिले वित्तिय अनुशासनमा बसी व्यक्तिगत स्तरमा वित्तिय व्यवस्थापन गरेर जीविकोपार्जन गर्नु नै श्रोयकर हुन्छ ।