तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ।
Advertisement 1
चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो।
ऋषिङ–१ र व्यास नगरपालिका–५ का गरी एक सय ४७ परिवारका घर तथा संरचनाको क्षति निर्धारण गरेपश्चात एक सय ३९ परिवारलाई रकम वितरण गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
Advertisement 2
उनका अनुसार बाँकी परिवारको रकम वितरणको प्रक्रियामा छ। भण्डारीले क्षति भएका घरको अनुगमन पश्चात अधिकतम ३ लाख रुपैयाँ र न्यूनतम १० हजार क्षतिपूर्तिबापत रकम तोकिएको जानकारी दिए। ‘जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको रकम वितरण गरिएको छ,’ उनले भने, ‘अब ६ प्रतिशत परिवारले मात्रै रकम बुझ्न बाँकी छ।’