सङ्कलन गरिएको राहत रेडक्रसलाई हस्तान्तरण

दाङ। ‘एक घर एक किलो चामल दान अभियान’अन्तर्गत जम्मा गरिएको राहत सामग्री आज नेपाल रेडक्रस लुम्बिनी प्रदेश, समितिलाई हस्तान्तरण गरिएको छ।
राहत सामग्री थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नं १ दाङ देउखुरीले सङ्कलन गरेको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा उक्त राहत सामग्री नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गरिएको हो।
थारु कल्याणकारी सभा क्षेत्र नं १ का सभापति गोकुलप्रसाद चौधरीले विपद् प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिए।
लमही नगरपालिका–५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका–७ छुट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत सङ्कलन केन्द्र स्थापनागरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सङ्कलन गरिएको थियो।
उनका अनुसार तीनवटा सङ्कलन केन्द्रबाट ३३ हजार २७ किलो चामल सङ्कलन भएको छ। त्यस्तै, एक हजार १०५ किलो दाल, दुई हजार ४३३ किलो नुन, १७७ लिटर तेल, २९८ किलो लसुन, २०२ किलो बेसार, २२ किलो खुर्सानी, ३५ किलो गहुँ र ४० किलो पिठो सङ्कलन गरिएको छ।
यसका अतिरिक्त चाउचाउ र सोयाबिनलगायतका खाद्य सामग्री पनि सङ्कलन गरिएको छ। उक्त राहत सामग्री नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष लालप्रसाद पङ्गेनीलाई हस्तान्तरण गरिएको छ।
स्थानीय समुदायको सहभागितामा जम्मा गरिएको राहत सामग्री विपद् प्रभावित नागरिकसम्म पु¥याउन रेडक्रसमार्फत सहयोग गरिएको हो। विपद् प्रभावितलाई लक्षित गरी राहत सामग्री जम्मा गरिएको र उक्त सामग्री विपद् प्रभावितसमक्ष पु¥याउनेगरी रेडक्रसले भूमिका बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले बताए।
प्रकाशित :२०८३ कार्तिक ११ गते, बुधबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







