२२ बर्षकै उमेरमा शाखा अधिकृतमा नाम निकाल्ने रजनीले दिईन यस्ता टिप्स

जसले एउटा लक्ष्य लिएर ‘सपना’ देख्छ । त्यो व्यक्ति सफल पनि हुन्छ । सफलताका लागि लगाब, मिहिनेत, दृढता, योग्यता, क्षमता पनि आवश्यक पर्छ । अहिले युवा पुस्ताको ठूलो जमात के गर्ने र कसो गर्ने भनेर अन्योलमा भौंतारिरहेको छ ।युवा पुस्तामा त्यस्ता व्यक्ति पनि छन्, जसले आफ्नो गन्तव्यको खाका कोरेर प्रेरणाको स्रोत पनि बनिरहेका छन् । त्यही युवालाई प्रतिनिधित्व गर्ने एक युवती हुन्– रजनी रेग्मी जो अहिले घरेलु तथा साना उद्योग कार्यालय काठमाडौको शाखा अधिकृ पदीय जिम्मेवारीमा छिन् ।
लोकसेवा प्रवेश
जुन दिन सेन्ट जेभियर्स कलेजबाट पत्रकारिताबाट स्नातक तह उत्र्तीण गरेँ, त्यसैदिन मैले निर्णय गरेँ, निजामती सेवालाई आफ्नो ‘करिअर’ का रूपमा अँगाल्नेछु । सानैदेखि मलाई समसामयिक विषयवस्तुमा रुची थियो, त्यही कारणले गर्दा नै होला मलाई लोकसेवाप्रति तृष्णा जाग्यो । यही तृष्णाले मलाई लगनशील बनायो । तयारीका सम्पूर्ण चरणमा पढाइलेखाइमा मलाई कहिल्यै बोझको आभास भएन । परिवारमा निजामती सेवाको माहोल पनि भएको भएर होला मलाई यसप्रति लगाव थियो । निजामती सेवाको गरिमा र सम्मानप्रति म सधैँ उत्साहित थिएँ । यसमा प्रवेश गरेर आफ्नो पेशागत विकास तथा समाज र देशका लागि योगदान दिन सकिन्छ भन्ने बोध गरेको थिएँ ।
पत्रकारिताको अध्ययन सहयोगी बन्यो
म बाल्यकालदेखि नै कुनै पनि नयाँ विषयवस्तुप्रति जिज्ञासा राख्थेँ । आफू जन्मेको समाजका बारेमा जानकारी राख्नुपर्छ भन्ने लाग्थ्यो । पत्रकारिता विषय पढेकाले पत्रकारिताका अवधारणाले मलाई धेरै सहयोग गर्यो । कुनै पनि विषयका आयाम खोतल्न सहयोग गर्यो । जस्तो पत्रकारितामा ‘पाँच–डब्लु, एक एच’ को अवधारणा छ । यसले कुनै पनि घटना के, कहाँ, कहिले, किन, को र कसरी भयो भन्ने अवधारणा दिन्छ ।
२२ वर्षमा नाम निकालेँ
मैले पहिलोपटक २२ वर्षको उमेरमा लोकसेवाको परीक्षा दिएकी थिएँ । त्यसको एक वर्षपछि नाम निकालेँ । धेरैले कम उमेरमै नाम निकालेको भन्थे । तर, मलाई लाग्थ्यो, उमेर भनेको अंक न हो १ आफ्नो क्षमता र सोच भयो भने उमेरले छेक्ने भन्ने हुँदैन जस्तो लाग्छ । सानै उमेरमा निजामती सेवामा प्रवेश गर्ने युवाहरूमा निजामती सेवाप्रति एक किसिमको अपनत्व र लगाव हुन्छ जस्तो लाग्छ । विषयप्रतिको धारणा स्पष्ट हुनु अतिआवश्यक हुन्छ । मेरो अनुभवमा लोकसेवा आयोगको तयारी गर्दा लोकसेवाको ‘गाइड बुक’ मा जे छ त्यही लेख्न खोज्नुभन्दा पनि विषयप्रति आफ्नो बुझाइ र धारणा स्पष्ट बनाउन जरुरी हुन्छ । त्यसको आधारमा ठोस तथ्यांक समावेश गर्दा मौलिक पनि हुने र तथ्यमा आधारित उत्तर पनि हुने हुन्छ ।
आफैँ शिक्षक, विद्यार्थी पनि आफू नै भएँ
कुनै पनि विषयभित्र प्रवेश गर्नुपूर्व त्यस विषयप्रति आफूले बुझेको, जानेको, विषयको चित्रण गर्थेँ । आफैँ शिक्षक र विद्यार्थी पनि आफैँ भएर आफैँमा अभ्यास गर्थेँ । कुनै पनि विषयमा आफ्नो मौलिक धारणा हुन आवश्यक हुन्छ । आफ्नो एक किसिमको बुझाइ भएपछि मात्र म त्यस विषयबारे गहन अध्यान गर्थेँ ।
पुस्तकमा मात्र कहिल्यै सीमित भइनँ
मैले जति पेपरको परीक्षा दिनुपर्ने थियो, हरेक पेपरका लागि एउटा मात्र ‘रिफरेन्स’ किताब पढेँ धेरै पढ्ने तर थोरै बुझ्ने भन्दा पनि थोरै पढ्ने धेरै बुझ्नुपर्छ भन्ने मेरो धारणा र बुझाइ छ ।हरेक दिन पत्रपत्रिकाको सम्पादकीय तथा विज्ञका लेखहरू पढेर टिपोट गर्थें । इन्टरनेटलाई उपयोग गरेँ । मैले लोकसेवा तयारी गर्दा ५० प्रतिशत जानकारी र अध्ययन किताब र बाँकी ५० प्रतिशत इन्टरनेटबाट गरेँ । अर्थात् किताब र इन्टरनेटबाट बराबर अध्ययन गरेँ ।
गीत र कवितामा सूत्र बनाएर पढेँ
सामान्यज्ञान आफैँमा बृहत् हुन्छ । सयौं मिति, स्थान, भूगोल, इतिहास इत्यादि सम्झनु त्यति सहज छैन । मैले हरेक शीर्षकको एउटा गीत वा कविता बनाउथेँ र त्यही गीतरकवितामा मिति, स्थान, इतिहास, भूगोल आदि समावेश गर्थेँ । परीक्षाभन्दा अघि अध्ययनको पुनरावलोकनका लागि त्यस्तो सिर्जनात्मकताले सहयोग गथ्र्यो ।
समय थोरै हुँदा समय व्यवस्थापनबारे सिकेँ
तयारी कक्षा सुरु हुनुभन्दा ३–४ महिनाअघि नै मैले लोकसेवाको फाराम भरेँ । म मानसिक रूपले तयार थिएँ, मैले समय व्यवस्थापन गर्न सकिन भने मलाई ‘कोर्स कभरेज’ पनि गाह्रो हुन्थ्यो र त्यसले मलाई समय व्यवस्थापनको तनाव हुन्थ्यो । प्रत्येक दिन समयतालिका बनाएर पढेँ । लेखेर बढी अभ्यास गरेँ ।
चातुर्आयामिक सूत्रको उपयोग
अधिकृतस्तरमा कुनै पनि विषयमा सतही ज्ञानभन्दा पनि केही विश्लेष्णात्मक सीप चाहिन्छ । तसर्थ प्रत्येक शीर्षकलाई चार आयामबाट बुझ्नुपर्ने हुन्छ । यो मूल मन्त्र मैले लोकसेवाका विज्ञहरूबाट सुनेँ, र उपयोग गरेँ । यो मेरा लागि निकै उपयोगी बन्यो ।
लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूलाई उनले दिएका टिप्स यस्ता छन्ः
१.लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचारखाका निर्माण गरेर पढ्नुपर्छ ।
२. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ ।
३.सबै विषय र शीर्षकमा औसत ज्ञान राख्नुपर्छ । एउटा विषयमा राम्ररी जान्ने तर अर्कोमा फेल नै हुने अवस्था आयो भने लोकसेवाको परीक्षा पास हुने सम्भावना रहँदै रहँदैन ।
४. खरिदार र सुब्बाको तयारी गर्नेहरूले सूचनात्मक तरिकाले उत्तर दिनुपर्छ, शाखा अधिकृतको तयारी गर्नेहरूले विश्लेषणमा जोड दिनुपर्छ ।
५. शाखा अधिकृतको लागि चौथो पत्र छान्दा आफूलाई सजिलो लाग्ने वा आफूले पढेकै विषय छान्नुपर्छ, साथीभाइको लहलहैमा लागेर चौथो पत्र छान्नु हुँदैन ।
६. सामान्य ज्ञान (जीके) चाहिँ घोक्नैपर्ने विषय हो । तर खरिदारका लागि पढ्ने जीके अधिकृतका लागि पनि काम लाग्छ ।
७. आइक्युले मान्छेलाई नयाँपनको आभास गराउँछ । आइक्युमा राम्रो गर्न सक्ने विद्यार्थीले अरू सबैमा राम्रो गर्न सक्छ ।
८. आफूले पढेका कुरामा स्पष्ट धारणा बनाउनुपर्छ । पढ्दा सकेसम्म दिमागमा सो विषयको चित्र नै उतारेर पढ्नुपर्छ । पढेको विषयमा पनि स्पष्ट धारणा बनेन वा सामान्य जानकारी पनि रहेन भने चाहिँ सोही विषयमा थप मेहनत गरिहाल्नुपर्छ ।
९. गुणन, भाग, जोड र घटाउका सामान्य नियमहरू जान्नुपर्छ । परीक्षामा हिसाब गरेर बस्यो भने काम लाग्दैन । अहिले त क्याल्क्युलेटरको प्रयोगले मान्छेले आफैंलाई विश्वास नगर्ने अवस्था आइसक्यो ।
१०. लेख्ने पेपरमा पढेर मात्रै पुग्दैन । हरेक दिन १५ मिनेट पढेर १५ मिनेटमै एउटा प्रश्नको उत्तर लेख्ने बानी विकास गर्नुपर्छ । यसले आफूलाई राम्रो मात्रै बनाउँदैन परीक्षाको लागि पनि सजिलो हुन्छ ।
११. कुन कुरालाई कहाँ राख्ने भन्ने कुरामा चाहिँ ख्याल गर्नुपर्छ । शव्द चयन र सिलसिला मिलाएर लेख्न सक्नुपर्छ ।
१२. हरेक शीर्षकमा एउटा धारणा चाहिँ बनाउने । जस्तै मुसहर जातिको बारेमा परीक्षामा लेख्न आयो, तर यसका बारेमा आफूलाई केही पनि थाहा भएन । तर त्यसमा पनि नेपालमा विभिन्न जात–जाति धर्म संस्कृति छन् । त्यसमध्ये मुसहर पनि एक हो । यसका पनि आफ्नै प्रकारका विशेषता छन् । मुसहर समुदायका मान्छेले आफ्नो जाति अनुसारका चाडपर्व खुब रमाइलो गरेर मनाउँछन् । त्यसैले मुसहर जाति पनि नेपालको एउटा महत्वपूर्ण जाति हो भनेर चाहिँ लेख्नसक्ने बन्नुपर्छ ।
१३. लोकसेवाको परीक्षा भनेको सुन्दरी प्रतियोगिता हो, त्यहाँ कसलाई राख्ने भनेर मात्रै जाँच लिइएको हो । हैन भने जागिरका लागि सबैजना पहिल्यै योग्य हुन्छन् । त्यसैले जाँचकीको नजरमा भ्रम छर्नेगरी उत्तर लेख्नुपर्छ ।
१४. पहिलेदेखि नै राम्रो गर्दै आएको विद्यार्थीले एक महिना पढेपनि नाम निकाल्न सक्छ । अरू सामान्य विद्यार्थीले ६ महिनासम्म कम्तीमा दिनको पाँच घण्टा पढ्यो भने नाम निकाल्छ ।
१५. तनाव राखेर पढ्नु हुँदैन । आफूले राम्रै गर्दागर्दै पनि नाम निस्किएन भने चाहिँ आफ्नो शैली बदलेर पढ्नुपर्छ ।
१६.हरेक कुरासँग अभ्यस्त हुने कोशिश गर्नुपर्छ । पत्रपत्रिकामा आउने विचारहरू दैनिक पढ्यो भने समसामयिक ज्ञान राम्रो हुन्छ । तर हाम्रो नराम्रो बानी के छ भने हामी नाकैमुनि ठेस लाग्दा पनि देख्दैनौं । सडकछेउमा चेलीबेटी बेचबिखन नगरौं भनेर लेखेको प्रचार टाँसेको हुन्छ । तर हामीले ख्याल गर्दैनौं । तर सोही विषय बारेको ज्ञान लिइहाल्ने कोशिश गर्नुपर्छ ।
१७. विद्यार्थीको कमजोरी कापीमा देखिनु हुँदैन । बडा कूटनीतिक तरिकाले उत्तर दिनुपर्छ । मौलिक हक अन्तर्गत सूचनाको हकको बारेमा लेख्न आयो तर कुन धारामा त्यो हक छ भन्ने ‘कन्फ्युजन’ भयो भने जान्ने भएर धारा उल्लेख गर्नु हुँदैन । धारा उल्लेख नगरेपनि व्याख्या त राम्रोसँग गर्न सकिन्छ । यसरी कमजोरी लुकाउनुपर्छ किनकि जाँचकीले अनुहार त हेर्दैन ।
१८. लोकसेवा यही तरिकाले पढ्नुपर्छ भन्ने कुनै सूत्र छैन । आइक्यु चाहिँ ट्रिक लगाउने कुरा हो । मान्छेलाई मान्छे मन परेको कुरालाई आइक्युसँग तुलना गर्नुपर्छ किनकि त्यो मान्छे किन मन प–यो भन्ने चाहिँ अरूलाई थाहा हुँदैन । आइक्यु पनि त्यस्तै विषय हो ।
१९. किताब मात्रै पढ्ने मान्छे कहिल्यै पास हुँदैन । जीकेबाहेकका अरू कुरामा मौलिकता सबैभन्दा ठूलो कुरा हो । त्यसैले सिर्जनशील बन्नुपर्छ ।
२०. लोकसेवा निकाल्छु भनेर सोच्ने मान्छेले निरन्तरता दिन सक्नुपर्छ । नेपालीहरूमा धैर्य गर्ने बानी एकदमै कम छ । लोकसेवा परीक्षा तयारीका लागि धैर्य चाहिन्छ ।
Advertisement 1
(नयाँ पत्रिकाबाट)