तक्मा थाप्न कति चाहिन्छ तागत ?

सरकारले हरेक बर्ष राष्ट्रसेवक कर्मचारीहरुलाई पुरस्कृत गर्दछ ।
२२ भदौंमा निजामती सेवा दिवसको अवसर पारेर केही कर्मचारीलाई पुरस्कार प्रदान गर्दछ भने संविधान दिवसको छेको पारेर निजामती सेवाभित्रका केही कर्मचारीलाई तक्मा बाड्दै आएको छ ।
तर यसरी बाडिँने तक्मा र पुरस्कार निष्पक्ष,पारदर्शी नभएको टीका टिप्पणी हरेक बर्ष तक्मा,पदक र पुरस्कार बाडिँएसँगै चर्काे आलोचना हुँदै आएको छ ।
राम्रालाई भन्दा हाम्राले यस्ता पदक,तक्मा र पुरस्कार थाप्ने अवसर पाउँदा पदकको गरिमा पनि घट्दै गएको छ ।
जस्तो अघिल्लो बर्ष मुख्यसचिव लोकदर्शन रेग्मीले आफ्नै सवारी चालकलाई तक्मा दिलाए । यस अघि उनैले आफ्नै पिताजीलाई तक्मा दिलाएकै हुन् । यस पटक पनि पदक वाड्नेमध्येका एकले आफ्नै हातमा डाडु पन्यु भएको अवसर छोपी साढुभाईलाई पदक दिलाए ।
उसो त बालुवाटार जग्गा काण्डमा मुछिएकादेखि सुन तस्कर काण्डमा डामिएकाहरु,कार्यसम्पादनमा कमजोर भएर विभागीय कारवाही भोगेकाहरुलाई तक्मा दिँइदा तक्माको गरिमा नै घटेको छ ।

Advertisement 1

प्रधानमन्त्री केपी शर्मा ओलीका दाहिने हात ईश्वर पोखरेल तीन वर्षदेखि प्रत्यक्ष जोडिएका छन् विभूषण वितरण गर्ने समितिमा । उनले दिएका विभूषण बदनाम हुँदै छ, बहिष्कार गर्नेहरू बढ्दैछन् ।
०६७ सालमा २६९, ०६९ सालमा १६४, ०७० सालमा १८९ जनालाई वितरण गरिएको तक्मा अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेलको काँधमा आएसँगै ह्वात्तै बढाइएको छ । जस्तो :- ०७५ सालमा ५१८, ०७६ सालमा ६३३ लाई दिइएको थियो । ०७७ सालमा आएर ५९४ लाई बाँडिँदै छ । जबकि गृहले मापदण्ड बनाएर २ सयभन्दा बढीलाई तक्मा नदिने नीति अख्तियार गरेको थियो ।
एक साताको बीचमा झण्डै २१ करोड खर्चेर १२२७ जनालाई मानपदवी, अलंकार र विभूषण बाँडिएको छ । राष्ट्रपतिले ६ सय ३३ लाई गत शुक्रबार तथा पाँच सय ९४ जनालाई नयाँ वर्षका दिन विभूषित गर्नुभयो ।
केहीअघि गोरखापत्रमा प्रधानमन्त्री ओलीको गुणगानको लामो लेख छपाएबापत सुनसरीका साहित्यकार बद्रीविशाल पोखरेल सुप्रवल जनसेवा श्री (तृतीय) बाट विभूषित हुँदै छन् ।
सरकारका ६ सचिव विभूषित गर्दा सोही सूचीमा छन् सूर्य गौतम । यसअघि नै २ लाख राशिको सर्वाेत्कृष्ट निजामती सेवा पुरस्कार थापेका उनी श्रीमती इन्दिरा ढकालको कपी आफैंले जाँचेर उत्तीर्ण गराएपछि निजामती वृत्तमा बदनाम छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दुईवटा पदक थाप्दै छन्, सुप्रवल जनसेवा श्री (तृतीय) र समाजसेवा रत्न । डा.अञ्जान शाक्य, दुवसु क्षेत्री, अख्तियारका आयुक्त किशोर सिलवाल, एचआइडिसियलको छवि धुमिल पार्ने छविराज पोखरेलले समेत पदक थाप्दै छन् । सहसचिव राजेश्वर ज्ञवाली पदक पाउनेको सूचीमा छन् । अर्का सहसचिव मुकुन्द निरौला पनि यही सूचीमा छन् ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको सिफारिसमा मारवाडी व्यापारी तुल्सीराम अग्रवाल, हिरालाल केडिया, शंकरलाल अग्रवाल, अरबिन्द अग्रवालले विभूषण थाप्दै छन् ।
विभूषण समितिका एक सदस्यले आफ्नै साढुभाईलाई तक्मा बाँडेको भेटिएको छ ।  तक्मा पाउनेमा पनि गृहकै कर्मचारीको हालिमुहाली छ । प्रहरीबाहेककै यसपटक गृहतिरका २३ जना कर्मचारीले तक्मा बुझेका छन् ।

यद्यपि तक्मा पाउने सबैलाई अपमान गर्न खोजिएको हैन्,तक्मा विभूषणको आफ्नै गरिमा र महत्व छ । सो गरिमालाई घट्न नदिन विवादित चरित्र,दाग लागेका,कार्यसम्पादन कमजोर भएका उच्च पदस्थ र सिंहदरबार वरपर,मन्त्रीका छेउछाउमा घुम्नेलाई मात्र नभई दुर्गममा फ्रन्ट लाइनमा खटिएर दिनरात नभनी जनताका सेवा गर्ने राष्ट्र सेवकको खोजी गरी तिनलाई तक्मा,मानपदवी वा विभूषणबाट विभूषित गर्ने हो भने तक्मा वा पुरस्कारको गरिमा झनै बढ्दथ्यो कि ?

Advertisement 2

यता, तक्मा र विभूषणमा मनपरी बढेसँगै बहिष्कार गर्नेहरूको संख्या बढ्दै छ । अस्ति बाँडिएको तक्माबाट चुच्चे नक्सा गायब बनाइएको भन्दै सोमबार सञ्चारकर्मी लक्ष्मी पुनले गृहको आभूषण शाखामा पुगेर तक्मा फिर्ताका लागि निवेदन चढाएकी छन् ।
यसअघि पशुपति शर्मा, महजोडी, शिव गाउँले, झलक सुवेदीझैं वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठ, नीलकण्ठ उप्रेतीलगायत झण्डै तीन सयले तक्मा बहिष्कार गरिसकेका छन् ।

प्रकाशित :२०७८ बैशाख ५, आईतवार १२:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry