सुब्बामारा संघीय निजामती सेवा विद्येयकमा समावेश हुनैपर्ने ५ बिषय

संघीय सदनमा पेश भएको निजामती सेवा विद्येयकलाई कर्मचारीहरुले नासुमारा विद्येयक भएको आरोप लगाएका छन् । उनीहरुले विद्येयकका कथिपय प्रावधानले नासुहरुको वृत्ति विकासको बाटो नै बन्देज गर्ने भएका कारण तत्काल संशोधन गर्ने माग गरेका छन् । राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विद्येयकमाथि छलफल हुँदैदेखि संगठित भएका निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले विद्येयकका विवादस्पद् प्रावधानहरु तत्काल सच्याउन माग गरेको हो ।
गत चैत्र २३ गते सदनमा पेश भएको विद्येकका कतिपय प्रावधानहरुका कारण हजारौंका संख्यामा रहेका नायव सुब्बास्तरका कर्मचारीहरु मारमा पर्ने भएका कारण उनीहरुले यस्तो विभेदकारी प्रावधान संशोधन गर्न माग राखेका हुन् । नासु तहका कर्मचारीहरुले यो विद्येयकलाई सुब्बा मारा ऐन भन्दै आएका छन् ।
देशैभरका फ्रन्ट लाइनमा खटिने सुब्बा तहका कर्मचारीहरु नै मर्काेमा पर्ने गरि विद्येयक ल्याइएको उनीहरुको आरोप छ ।
विद्येयकमा राजपत्रांकित प्रथम श्रेणीमा ८० प्रतिशत बढुवा, १०प्रतिशत अन्तर तह प्रतियोगता र १० प्रतिशत खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने व्यवस्था घुसाइएको छ ।
यस्तै राजपत्रांकित द्वितीय श्रेणीमा ७० प्रतिशत बढुवा, २० प्रतिशत अन्तर तह प्रतियोगता र १० प्रतिशत खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने व्यवस्था गर्दा राजपत्रांकित तृतीय श्रेणीमा भने २० प्रतिशत मात्र बढुवा र बाँकी ८० प्रतिशत खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने प्रस्तावित प्रावधानले हाल कार्यरत नायव सुब्बाको वृत्ति विकासको बाटो बन्द हुने भन्दै उनीहरुले चिन्ता पोखेका छन् ।
राजपत्रांकित प्रथम र द्वीतीय श्रेणीमा क्रमश: ८० र ७० प्रतिशत बढुवा हुन पाउने तर, राजपत्रांकित तृतीय श्रेणीमा जम्मा२० प्रतिशत मात्र बढुवा हुन पाउने प्रस्तावित व्यवस्था अन्यायपूर्ण एवं विभेदपूर्ण भएको भएको कर्मचारीहरुको आरोप छ ।
अभियानले ऐनमा ५ वटा माग समावेश हुनुपर्ने माग राखेका छन् ।
Advertisement 1
राप तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपुर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिष्पर्धाको व्यवस्था हुनुपर्ने ।
यद्यपि १२ बर्षसम्म पनि बढुवा नभएको खण्डमा स्वत वढुवा प्रणालीबाट पदपुर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने । यो व्यवस्था संघीय निजामती सेवाबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका कर्मचारीको हकमा समेत लागु हुनुपर्ने
यस्तै,निजामती सेवामा प्रवेश गरिसकेपछि निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने,सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था हुनुपर्ने,सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने साथै राप प्रथम र राप द्धीतिय श्रेणीको खुल्लामा प्रतिष्पर्धा गर्न सम्बन्धित पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ बर्ष काम गरेको भए योग्य हुनुपर्ने व्यवस्था थप गर्ने उनीहरुको माग गरेका छन ।