सडक सुरक्षाको अवस्था, समस्या र समाधानका उपाय
संयुक्त राष्ट्रसंघको अनुमानमा वर्षेनी करिब १३ लाख मानिसहरु वा दिनहुँ ३ हजारभन्दा बढी मानिसहरु सडक ट्राफिक दुर्घटनाका कारण मर्ने गर्छन्। २ देखि ५ करोड मानिसहरु यस्ता दुर्घटनाहरुकोकारण घाईते हुन्छन् र यस्ता घाइतेहरु अपांग हुने बढी सम्भावना देखिएको छ। यसका अतिरिक्त, सडक ट्राफिक दुर्घटनाबाट मृत्युहुनेहरु मध्ये ९० प्रतिशत विश्वको कम तथा मध्य आय भएका देशहरुमा हुने गर्दछन।एउटा अनुमान अनुसार, यी घटनाहरुको फलस्वरुप संसारभर ५० अरब अमेरिकी डलर अथवा सम्बन्धित देशहरुको कुल राष्ट्रिय उत्पादनको १ देखि ३ प्रतिशत सम्मको आर्थिक क्षति सडक ट्राफिक दुर्घटनाबाट हुने गर्दछ जसलाई विकासोन्मुख देशहरु धान्न सक्दैनन्। यसका अतिरिक्त, संसारमा वढ्दो सवारी साधनको चापलाई मध्यनजर गर्दा यस्ता चुनौतीहरुलाई न्युनिकरण गर्न तत्कालीन, मध्यकालीन तथा दिर्घकालीन रुपमा पहल नहुने हो भने सडक दुर्घटना मानिसहरुमा मृत्युको कारणहरु मध्ये पांचौ प्रमुख कारण हुने प्रक्षेपण गरिएको छ । सडक–सुरक्षाबारे गरिएका काम–कारबाही सुस्त गतिमा अघि बढिरहेको हामी सबैले महसुस गरिरहेका छौं । फलस्वरुप सवारी दुर्घटनामा मानिसको मृत्यु हुने र अंगभंग हुने क्रम जारी छ।
Advertisement 1
सडक सुरक्षाको अवस्था
सवारी दुर्घटना न्यूनीकरणका लागि सबैभन्दा पहिले यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ। दुर्घटनाका कारक तत्वहरू पहिल्याएर भरपर्दो तथ्यांकको विश्लेषणसहित नियन्त्रणका उपायहरू बनाएर लागू गर्न सकिन्छ। कारक तत्वहरूमा मानवीय, वातावरणीय वा यान्त्रिकमध्ये कुनै एक वा धेरैको संयोग पनि हुनसक्छ। हाम्रो देशमा एकातिर सडक पूर्वाधार निर्माण र यातायातका साधनको संख्यामा तीव्र वृद्धि भइरहेको अवस्था विधमान छ । सडक यातायातलाई नियमन गर्ने सरोकारवाला निकायहरूको क्षमता वृद्धि भने हुनसकेको छैन । सवारी दुर्घटनाबारे पर्याप्त जनचेतनामूलक कार्यक्रमको निर्माण र प्रसारण गर्न सकिएको छैन।चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारण रहेको छ। सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीको ज्यान जाने गरेको भए पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान दिन सकिएको छैनन।
Advertisement 2
सडक सुरक्षा अहिले ठुलो चुनौती बनेको छ। हरेक दिन जसो दुर्घटना भइरहेका छन् । सडक दुर्घटनाका कारण नागरिकले अकालमै ज्यान गुमाउनु परेको अवस्था विधमान छ । दुर्घटना पछि समिति गठन गरिन्छ, छानविनका नाममा दुइचार जना भेला भएर एक थान रिपोर्ट तयार पार्छन्, सरकारले घर्रामा थन्क्याउँछ । केही समय पछि विस्तारै सेलाउँदै जान्छ र अर्को ठूलो दुर्घटना पछि फेरी त्यही क्रम दोहोरिरहन्छ। दिर्घकालीन समस्याको समाधान कहिल्यै खोजिँदैन। सतहीरुपमा गरिएका अनुसन्धान अनि औपचारिकताका लागि गरिएका प्रयासहरुले समस्याको समाधान भन्दा पनि झन् बढी दुर्घटना निम्त्याइरहेको छ । सडक सुरक्षासम्बन्धी नेपाल सरकारका सरोकारवाला निकायहरुले लामो समयदेखि नीति–नियम र कानुनको तर्जुमा गरेर तिनलाई लागू गराउने प्रक्रियागत काम–कारबाही गर्दै आएका छन् । यो विषय धेरै निकायको सामूहिक जिम्मेवारीमा पर्ने भएकाले आपसमा समन्वय गर्ने काम भने चुनौतीपूर्ण छ । छुट्टाछुट्टै गरिएका कार्यक्रमहरूले अपेक्षाकृत प्रभावकारी हुन सकेका छैनन्।
सडक अनुशासनको पालना गराउन ट्राफिक प्रहरी अग्रपंक्तिमा देखिने भएकाले झट्ट हेर्दा सुरक्षामा उनीहरु नै जिम्मेवार रहने अवस्था देखिन्छ । तर, सडक सुरक्षाका लागि स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, भौतिक निर्माण तथा यातायात मन्त्रालयबीचको समन्वय अत्यावश्यक हुन्छ । त्यस्तै, नागरिक समाज र गैरसरकारी संघसंस्थाको पनि उत्तिकै जिम्मेवारी देखिन्छ । देशमा संघीयताको अभ्यास सुरु भइसकेको अवस्थामा सडक सुरक्षालाई प्राथमिकता दिएर प्रदेश, नगरपालिका र गाउँपालिकाहरूले आ–आफ्नो क्षेत्रको आवश्यकता अनुसारका कार्यक्रमको तर्जुमा गरेर कडाइका साथ लागू गरिए हाम्रा सडकलाई सुरक्षित बनाउन धेरै समय लाग्नेछैन । स्थानीयस्तरमा सडक सुरक्षाका लागि सरोकारवालाहरूको पहिचान गर्न र तिनलाई परिचालन गर्न अझै सजिलो हुन्छ । यस कार्यमा व्यापक जनसहभागिता पनि आवश्यक हुन्छ।विश्वका कतिपय देशमा सवारी दुर्घटनाका दिवंगतका आफन्त, पीडित वा प्रभावित स्वयंको एकल वा सामूहिक प्रयासबाट सुरु भएका सडक सुरक्षाका कार्यक्रमहरू समय क्रममा राष्ट्रिय महत्वका कार्यक्रमका रुपमा विकसित भएका धेरै उदाहरण छन् । यस्ता उदाहरणलाई नेपालको सामाजिक परिवेशअनुसार आत्मसात् गरी सडक सुरक्षाका अभियन्ताहरूलाई प्रोत्साहन गर्न सकिन्छ। यी काम गर्ने हो भने सडक सुरक्षाका लागि भइरहेका कामबारे जनसमुदायले प्रत्यक्ष महसुस गर्न सक्छन् । त्यसपछि राज्यले सञ्चालन गरेका दीर्घकालीन कार्यक्रममा उनीहरूलाई सहभागी हुन आह्वान गर्न सकिन्छ।
Advertisement 3
सडक दुर्घटनाका कारणहरु
सडक दुर्घटना हुने प्रमुख कारणहरुमा सडकको अवस्था , सवारी साधनको अवस्था रसवारी चालकको अवस्थालाई लिइने गरिन्छ । अन्य कारणहरुमा बाटो काट्ने बटुवा, जनावरहरु र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको पाइन्छ ।सवारी दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर हुँदैन । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ । नेपालमा सडक दुर्घटनाका कारणहरु यस प्रकार रहेको छ।
१) सडकको अवस्थाः
सडकको निर्माण तथा मर्मत सुधारका क्रममा विशेषतः स्थानीय निकायहरुबाट ‘सडक निर्माण मापदण्डको पूर्ण परिपालना नगरिनु, सार्प बेन्ड, ब्लाइन्ड स्पेस र ब्लाक स्पटहरु मापदण्ड अनुरुप नहुनु , प्राविधिक रुपमा अध्ययन नगरी सडक निर्माणमा तीव्रता दिनु ,सार्प स्लोप÷उच्च ग्रेडियन्टयुक्त सडक निर्माण गरिनु ,सडकको नियमित मर्मत सुधार समयमै हुन नसक्नु , समयमै सडकका खाल्डाखुल्डी नपुरिनु , चिप्लो र ओसिलो सडकमा थप सुधार कार्य नगरिनु , पहिरो पन्छाउँदा सवारीसाधन पार गराउने मनसाय मात्र केन्द्रित हुनु ,सडक निर्माणका समयमा सडकको अवस्था झल्काउने पर्याप्त ट्राफिक संकेत तथा चिह्नहरुको प्रयोग नगरिनु ,स्थानीय निकायहरुले डोजर निर्मित (नन इञ्जिनियर्ड) सडक निर्माणलाई प्राथमिकता दिनु ,रात्रि यातायात सञ्चालन हुने सडकहरुमा क्याट आइको पर्याप्त प्रयोग हुन नसक्नु , सडकको लेन मार्किङ पर्याप्त र गुणस्तर हुन नसक्नु ,सडक छेउमा निर्माण गरिएका नालीहरु अनावश्यक चौडा र खुला छाडिनु , सडक किनारामा व्यापारिक प्रयोजनका लागि उत्तेजनायुक्त र भड्किला किसिमका विज्ञापनसँग सम्बन्धित होर्डिङ बोर्डहरुको प्रयोग ,सडकमा आवश्यकता अनुसार गति सीमित संकेत चिह्नहरुको प्रयोग नहुनु , सेफ्टी बेरियर पर्याप्त र गुणस्तरीय नहुनु , भइरहेको सडकको गुणस्तर सुधारभन्दा नयाँ सडक निर्माणमा विशेष जोड दिने प्रवृत्ति रहेको अवस्था विधमान छ ।
२) सवारी साधनको अवस्थाः
सवारी साधनको नियमित मर्मत सम्भार तथा परीक्षण नगर्ने प्रवृत्ति ,निश्चित समयसीमापछि सवारी साधन विस्थपित नगर्ने प्रवृत्ति ,सामान्य बिग्रेको सवारीसाधनको मर्मत नगरी जबर्जस्ती चलाउने मनोवृत्ति ,सवारी साधनमा मुढा लगायतका कृत्रिम÷अस्थायी सीट राखी सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति,सकभर गुणस्तरीय लुब्रिकेन्ट तथा स्पेयर पार्ट्सको प्रयोग नगर्ने प्रवृत्ति ,सवारीसाधन मर्मतको उचित तथा गुणस्तरीय वर्कसपको कमी,सवारीसाधन मर्मतका लागि दक्ष तथा क्षमतायुक्त प्राविधिक जनशक्तिको कमी ,सवारीसाधनको मर्मत एवं सुधारमा गुणस्तरीय सामानको न्यून प्रयोगले दुर्घटना बढाउने गरेको छ।
३) चालकको अवस्थाः
नेपालमा प्रायः ठाउँबाट रात्रिकालीन सवारी साधनहरु चल्ने गर्छन् र सबैजसो सवारी साधन एकजना चालकको भरमा रातभर गुडिराखेका हुन्छन् । एकजना चालकले कति घण्टासम्म गाडी चलाउन सक्छ ? हामी एकजना चालकका भरमा बाजुरा वा जुम्ला वा ताप्लेजुङबाट रात्रिबस काठमाण्डौंसम्म ल्याउन सक्छ भन्ने कल्पना गर्छौं भने कसरी हामी नागरिकको सुरक्षामा ध्यान दिएको बुझिन्छ । नेपालमा अझै व्यवसायिक र गैरव्यवसायिक भनेर चालकलाई वर्गिकण गरिएको छैन । यस्तो निश्चित मापदन्ड नहुँदा व्यवसायिक रुपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुन गरेका छन । किनकी, उसमा अनुभवको कमी हुने ट्राफिक इन्जिनियरहरु बताउँछन् । यसका साथै ट्राफिक संकेत बुझ्न सक्ने क्षमताको जाँच र शैक्षिक योग्यता अझै तोकिएको छैन । कतिपय यात्रुबाहक सवारी कम उमेरका व्यक्तिले चलाउने र चलाउनमा दक्षता नहुँदा दुर्घटना हुने गरेको छ।
४)सडक सुुरक्षा परिक्षणस:
सुरक्षामा केन्द्रित भई व्यवस्थित तरिकाले सडकको जाँच गर्ने विधि नै सडक सुुरक्षा परिक्षण हो । यसरी जाँच गर्दा सडकमा हुन सक्ने संभावित खतरालाई पहिचान गर्ने र समाधान गर्ने गरिन्छ । तर, नेपालमा कुल सडकमध्ये मुस्किलले २ प्रतिशत मात्रै अडिट गरिएको छ । यसका साथै ब्ल्याक स्पट चिनाउने अध्ययन पनि कम हुने गरेको छ।
५)यात्रुको ढिपी:
यात्रुको ढिपीका कारणले पनि सवारी दुर्घटना हुने गरेको छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो हाँक्न लगाउनेलगायतका व्यवहारले पनि दुर्घटनालाई निम्त्याएको अनुसन्धानले देखाएको छ।
६)क्षमताबन्दा बढि यात्रु:
देशका विभिन्न ठाउँमा भएका सडक दुर्घटनालाई केलाउने हो भने क्षमताभन्दा बढि यात्रु पनि एउटा प्रमुख कारण बनेको छ । प्राविधिक रुपमा सक्षम नरहेको सडकमा क्षमताभन्दा बढि यात्रु बोक्दा, सवारी साधनले सन्तुलन गुमाउँदा दुर्घटना हुने गरेको छ।
७)तिव्र गति:
सडक विभागले गरेको अध्ययन अनुसार सवारी सधानको तिव्र गतिलाई दुर्घटनाको मुख्य कारण मानेको छ । सडक निर्माण गर्दा निश्चित मापदन्ड निर्धारण गरिएको हुन्छ । जबकि चालकले सो मापदन्ड तोडेर सवारी साधन चलाउँदा पनि दुर्घटना हुने गरेको छ।
८) यात्री, पैदलयात्री तथा सर्वसाधारणको व्यवहार:
आफूलाई पायक पर्ने स्थानबाट सडक पार गर्ने प्रवृत्ति ,सडकको प्रयोग एवं उपयोगिताको सम्बन्धमा न्यून ज्ञान हुनु , सडक तथा सडक किनारामा बिस्कुन सुकाउने, खेल खेल्ने खेलाउने प्रवृत्ति , सडक तथा सडक किनारमा पशुपन्छी तथा चौपाया छाडा छाड्ने प्रवृत्ति, सडक अतिक्रमण गरी फुटपाथमा व्यापार गर्ने र मेला तथा सडक नाटक देखाउने प्रवृत्ति, राजमार्ग एवं सडक किनाराहरुमा सम्भव भएसम्म होटल तथा व्यापारिक कार्य सञ्चालन गर्ने प्रवृत्ति ,सडक तथा सडक किनारामा निर्माण सामग्री तथा फोहोरमैला थुपार्ने प्रवृत्ति, ट्राफिक नियमको परिपालना एवं सुरक्षित यात्राप्रति उदासीन, सडक सुरक्षाप्रति उदासीसनता, सवारीसाधनमा जथाभावी चढ्ने र ओर्लने प्रवृत्ति ,सवारीसाधनको छतमा बसेर यात्रा गर्ने रहर एवं बाध्यता ,जसरी पनि छिटो र समयमै गन्तव्यमा पुग्ने अभिलाषा , आफूले प्रयोग गरेको यातायात साधनमा देखिएको चालकीय कमजोरीको सूचना सम्बन्धित निकायमा नदिने प्रवृत्ति, ट्राफिक व्यवस्थापनसँग सम्बन्धित निकाय, पदाधिकारीलाई तत्काल घटना लुकाउने प्रवृत्तिले दुर्घटना हुने गरेको छ।
९) संस्थागत एवं अनुगमनसँग सम्बन्धित कारणहरु:
सडक सुरक्षाको संस्थागत संरचना बलियो नहुनु ,सार्वजनिक यातायात व्यवस्थापन एवं अनुगमनसँग सम्बन्धित निकायको व्यवस्थापकीय एवं प्राविधिक क्षमता कमजोर रहनु,सरोकारवाला निकायबीच समन्वयका लागि संस्थागन संयन्त्रको अभाव ,उपभोक्ताहरु आफ्नो अधिकारका लागि सक्रिय र संगठित हुन नसक्नु ,सडक सुरक्षा काउन्सिलको गठन हुन नसक्नु ,सार्वजनिक यातायात व्यवस्थापन एवं सडक सुरक्षाको लागि पर्याप्त बजेट विनियोजन हुन नसक्नु , सेवा प्रदायकहरुमा प्रतिस्पर्धात्मक रुपबाट गुणस्तरीय सेवा प्रदान गर्ने भावना नहुनु,यातायात व्यवसायीहरुमा सामाजिक उत्तरदायित्वको भावना विकास हुन नसक्नु , सार्वजनिक यातायात व्यवस्थापन सञ्चालन तथा संरक्षणका लागि आवश्यक कानुनी व्यवस्थाको कमी ,रुट अनुमति प्रक्रिया समयसापेक्ष र व्यावहारिक हुन नसक्नु ,वर्कसपको मापदन्ड व्यवस्थित गरिएको छैन । सडक र सवारीसाधन नियम समय सापेक्षित छ्रैनन् । त्यस्तै, सडक विभागले गरेको अध्ययनले ड्राइभरको ड्राइभिङ ह्याबिट परिवर्तन नभएको देखाएको छ । यसले गर्दा पनि दुर्घटना बढाएको छ । सडकको मर्मत समयमा हुने गरेको छैन्।
सडक सुरक्षा सुधारको लागि अपनाइने मुख्य रणनीतिहरु
-सडकको मर्मत–सम्भार गरेर जोखिमयुक्त खाल्डाखुल्डी पुर्ने,
-सडकमा चालकलाई निर्देशित गर्ने अति आवश्यक ट्राफिक निर्देश चिह्नहरू राख्ने तथा बत्तीको व्यवस्था गर्ने,
-निश्चित सडकखण्डमा अथवा मोबाइल (चलायमान) अनुगमन प्रणाली अन्तर्गत ट्राफिक प्रहरीबाट नियम पालन गराउन सक्रियता बढाउने,
-स्थानीय टोल, गाउँ वा नगरमा सडक सुरक्षाका लागि काम गरिरहेका व्यक्ति र संस्था पहिचान गरी उनीहरूसँग सचेतना बढाउने कार्यक्रम सञ्चालनका लागि सहकार्य गराउने,
-मोबाइल र इन्टरनेटको प्रयोगलाई प्रोत्साहित गरी नियम मिचेको सूचना संकलन गर्ने पद्धतिको विकास गर्न युवा प्राविधिकलाई आह्वान गर्ने,
-ट्राफिक प्रहरीको संख्या र क्षमता बढाउने,
-बढी दुर्घटना भइरहने सडकखण्डको नजिकै रहेका स्वास्थ्य संस्थाका सबै कर्मचारीहरूलाई प्राथमिक उपचार र आपतकालीन उद्दारसम्बन्धी तालिमको व्यवस्था गर्ने,
-निकायहरु बिचको अन्तरसमन्वय सुधार गर्न, विविध क्रियाकलापहरु उपयुक्त तवरले व्यवस्था गर्न एवं सडक–सुरक्षाका मुद्दाहरुलाई सशक्त रुपमा अगाडी वढाउन विभिन्न निकायहरुलाई कार्य–प्रत्यायोजन गर्ने अख्तियारी सहित भएको एउटा उच्च–तहको राष्ट्रिय सडक सुरक्षा परिषद (रा.स.सु.प.) पुनस्र्थापन गर्न अध्ययन गर्ने ,
-रा.स.सु.प. बाट विभिन्न निकायहरुद्वारा गरिएका सडक–सुरक्षा गतिविधिहरु अनुगमन गर्ने,
-संयुक्त राष्ट्रसंघको विश्वव्यापी कार्ययोजनामा समाविष्ट राम्रा परिपाटीहरु अवलम्वन गरी गम्भीर प्रकारका स.ट्रा.दु. घटाउन निश्चित उपायहरु निर्धारण गर्ने ,
-सडक–सुरक्षाको आवश्यकताहरुलाई यथेष्ट रुपमा अंगाल्न ऐन र नियमहरु संशोधन गरी सशक्त नीतिको व्यवस्था सुनियोजित गर्ने ,
-सकारात्मक असरहरुबाट अत्यधिक लाभ उठाउन सडक–सुरक्षाका विभिन्न कार्यहरुबाट स.ट्रा.दु. न्यूनिकरण गर्न कतिको प्रभावकारी छ सोही अनुरुप प्राथमिकता निर्धारण गर्ने ,
-ग्रामीण भू–भागमा एकल बस दुर्घटना घटाउन त्यस्ता सवारीहरुमा क्षमता भन्दा वढी सामान तथा यात्रुहरु राख्ने प्रबृत्तिलाई हतोत्साह गर्न सवारीहरुकोछड्के जाँच गर्ने उपायहरु अबलम्वन गर्ने,
-सडक–सुरक्षाको योजना तथा हस्तक्षेपकारी उपायहरु मध्ये पैदल यात्रीहरुको सुरक्षालाई प्राथमिकतामा राख्ने,
-मानवीय क्षति प्रतिरोधक सडक तथा पूर्वाधारहरुको विकास गर्ने,
-आवश्यक निर्देशिका तथा डिजाइन स्टान्डर्डमा आवश्यक परीमार्जन गर्ने ,
-निकट भविष्यमा विभिन्न सुरक्षा हस्तक्षेपकारी उपायहरुको प्रतिफलको मुल्याङ्गन पद्धतिको विकास गर्ने ,
-अनुसन्धान विकास, आमजनता र सरोकारवालाहरुलाई जनचेतना अभिवृद्धि गर्नेर आवश्यक तालिमहरुलाई सडक–सुरक्षाको हस्तक्षेपकारी उपायहरुको अभिन्न अंगको रुपमा अंगिकार गर्ने ,
-संभावित बढी दुर्घटना हुने स्थलहरुवारे अन्तर निकाय बिच सूचना आदानप्रदान गर्ने प्रकृया अबलम्वन गरिनेछ । उदाहरणको लागि कुनै अस्पतालले आफ्नो स.ट्रा.दु. विरामीको अभिलेख बाट विश्लेषण गरी यस्ता संभावित बढी दुर्धटनास्थलहरु सडक विभाग, ट्राफिक प्रहरी आदी, लाई तत्काल जानकारी गराउने ,
-सरोकार निकायहरुमा सडक–सुरक्षा विषयमा दक्षता अभिवृद्धी तथा यस सवालमा प्रतिबद्धता सुनिश्चित गर्न ती निकायहरुमा सडक–सुरक्षा शाखा गठन गरिनेछ।
-वास्तविक स.ट्रा.दु. भन्दा न्यून अभिलेख गरिने समस्या हटाउन अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा घाइतेहरुको अभिलेख प्रणाली को विकासमा जोड दिइनेछ।
सडक–सुरक्षा व्यवस्था गर्न सरोकारवालाहरु वीच समन्वयहरु अपर्याप्त, हचुवा प्रकृतीका, प्रायः जसो विभिन्न निकाय अन्तर्गतका समानन्तर समितिहरुमा कामहरु दोहोरिने गरेका र सुरक्षाको लागी अवलम्बन गरिएका प्रयासहरु स्वेच्छचारी तवरले लागुभएको देखिन्छ । सन् १९९० को दशकमा नेपालमा एउटा राष्ट्रिय सडक–सुरक्षा परिषद गठन भएता पनि सो निकाय निष्कृय रहेको अवस्था छ। हालैकानून निर्माता, वरिष्ठ अधिकारीहरु र ट्राफिक प्रहरीहरुले काठमाण्डौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार्न एउटा उच्चस्तरीय सडक व्यवस्थापन वोर्ड वनाउने कुरामा सहमत भएका थिए।
यस निकायको मूख्य प्राथमिकता भनेको ट्राफिक व्यवस्थापन भएता पनि यस्तो प्रयासले सडक–सुरक्षाको क्षेत्रलाई पनि वढावा दिनुका साथै अन्तर निकायहरु बिच हुनु पर्ने आवश्यक समन्वयलाई पनि प्रोत्साहन गर्दै,भएका नीति नियमलाई कडाइका साथ पालना गराउने, पुराना नीति समयसापेक्ष परिमार्जन गर्ने, ट्राफिक नियमन चुस्त बनाउने, लाइसेन्स वितरण प्रक्रिया वैज्ञानिक एवं पारदर्शी बनाउनेजस्ता कार्यले पक्कै पनि सडक सुरक्षाको अवस्था राम्रो बनाउन योगदान गर्नेछ ।दिनहुँ हुने सडक दुर्घटना र मृत्यु संख्या हेर्दा सरकारले यस्को गम्भीरता बुझेजस्तो देखिँदैन । सरकारको तर्फबाट अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहभागितामा एउटा छुट्टै बहुपक्षीय संस्था गठन गर्नु आवश्यक छ।
यसले सम्पूर्ण संस्थाबीच समन्वय गरी साझा लक्ष्य प्राप्तिमा अघि बढ्न सहयोग गर्नेछ। समृद्धिको नारा घन्काएर नथाक्ने सरकारले निर्दोष जनतालाई अकाल मृत्युबाट मात्रै बचाउन सके पनि त्यो पानीजहाज ल्याउनुभन्दा ठूलो योगदान हुनेछ। अन्त्यमा, हामीलाई सडकको अवस्था सुधार गर्न केही समय लागे पनि सवारी साधनको अवस्था र चालकको अवस्था मात्र सुधार गर्न सक्यौं भने पनि सडक दुर्घटना कमीमा उल्येख्य सुधार ल्याउन सकिने देखिन्छ। यसमा सडक नियम पालना गराउन जिम्मा पाएको निकायको प्रमुख रुपमा तदरुकता हुनु आवश्यक छ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्)