नेपालको सार्वजनिक प्रशासनमा पूर्वीय दर्शन तथा सभ्यताको प्रभाव
विषय प्रवेश
दर्शन वास्तविक र सत्य ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो, जसले समग्र जीवन र जगतको व्याख्या गर्दछ । दर्शन अनुसन्धानहरूको पनि अनुसन्धान हो, जसले प्रमाण र सत्य तथ्यको मात्रै व्याख्या गर्दछ र मनमा उत्पन्न हुने विभिन्न जिज्ञासा र तर्कहरूको समाधान दिन्छ । दर्शनले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने जस्ता कार्यहरू गर्दछ।सत्यको सिद्धान्तको व्याख्या गर्ने, ज्ञानका स्रोतको बारेमा व्याख्या गर्ने, मूल्यका सिद्धान्त र तर्कहरू पुष्टि गर्ने कार्य दर्शनले गर्दछ । जसलाई तत्व मिमांसा वा मेटाफिजिक्स, ज्ञान शास्त्र वा एपिस्टेमियोलोजी, मूल्यशास्त्र वा एक्जियोलोजी र तर्कशास्त्र वा लजिक पनि भनिन्छ । यी क्षेत्रका पनि अनेक उपक्षेत्र पनि छन्, जसले सृष्टि विज्ञान, धर्मशास्त्र, मानिसको स्वरूप, वास्तविकता र पहिलो पदार्थका बारेमा अनेक व्याख्या गरेको छ । त्यस्तै, मानिसको ज्ञान ईश्वरीय वाणीबाट र धर्मग्रन्थबाट, आधिकारिक विज्ञबाट, अन्तरमनले देखेर, तर्क र अनुभव जस्ता माध्यमले प्राप्त हुन्छ भनी दर्शनशास्त्रले व्याख्या गर्दछ ।दर्शनलाई सरसर्ती अध्ययन गर्दा पूर्वीय र पाश्चात्य दर्शन भनी वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ । पाश्चात्य दर्शन युरोप तथा पश्चिमी क्षेत्रबाट प्रतिपादित दर्शन हो भने एसिया तथा महाभारत क्षेत्र (भारतवर्ष वा पाकिस्तान, नेपाल, बंगलादेश र भारत) बाट प्रतिपादित र विकसित गरिएको दर्शन पूर्वीय दर्शन हो भनेर मानिएको छ । दर्शनको शाब्दिक अर्थ हेर्नु, देख्नु, केलाउनु भन्ने बुझिन्छ । संस्कृतमा दर्शनलाई दृश्यते अनेन इति दर्शनम् भनिएको छ । यसको अर्थ देखिएको वस्तुको अर्थ निकाल्नु वा त्यस्तो हेराई, जसले सम्पूर्णताको अध्ययन गरी साकार परिणाम दिन्छ भने त्यो दर्शन हो भन्ने बुझिन्छ । यस लेखमा पर्वीय दर्शनको दार्शनीक पक्ष ,पूर्वीय दर्शन तथा सभ्यताको आधारभुत सिद्धान्त र तिनको नेपाली समाज,संस्कृति,परम्परा,मूल्य र समग्र शासकीय व्यवस्था र सार्वजनिक प्रशासनमा परेको प्रभावको वारेमा विश्लेषणत्मक प्रस्तुती गरिएको छ ।
पर्वीय दर्शनको आधारभुत पक्षहरु
पूर्वीय दर्शनले पूर्वी तथा दक्षिण एसियामा उत्पत्ति भएका दर्शनहरूलाई जनाउँदछ । खासगरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका दार्शनिक चिन्तन नै पूर्वीय दर्शनका रूपमा स्थापित भएका हुन्छ। पूर्वीय दर्शनमा नास्तिक र आस्तिक दर्शन भनी विभाजन गर्ने गरिन्छ । भारतवर्ष भनेर चिनिने दक्षिण एसिया क्षेत्रमा उत्पत्ति भएका हिन्दु दर्शन, जैन दर्शन र बौद्ध दर्शन बढी प्रभाव भएका पूर्वीय दर्शन हुन्, जसको ठूलो प्रभाव दक्षिण एसियाका अलावा दक्षिणपूर्वी एसिया, तिब्बत र मंगोलियामा समेत छ । भारत वर्षमा विकसित भएको वा भारतीय दर्शनलाई नै पूर्वीय दर्शन भनिन्छ । पूर्वीय दर्शन अन्तर्गतको मुख्य दर्शन नै हिन्दू दर्शन हो । दर्शनशास्त्रमा प्रशस्त गरिएका पथहरुले व्यक्तिलाई असल त बनाउँछन् नै साथै उसका हरेक कर्म सदाचारयुक्त बनाउनमा सहयोग गर्दछ । पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो ।नेपाल परापूर्वकालदेखि नै एक धार्मिक तपोभूमिको रूपमा स्थापित भएकाले नेपाली समाजमा संस्कार र संस्कृतिको बढी प्रभाव रहेको पाइन्छ । आजपनि पूर्वीय परम्परा अनुसार पूजापाठ, धर्मकर्म, सामाजिक सहकार्य र आत्मज्ञानका लागि ईश्वरीय शक्तिको उपासना गर्ने जस्ता कार्यहरु नेपाली समाजमा जीवन्त छन् । स्वालम्बी बन्ने, परोपकार गर्ने,सबै प्राणीलाई दया गर्ने, उपयुक्त आहारको मात्र खानपिन गर्ने र अचारविचार असल बनाउने जस्ता वैदिक दर्शनका उपदेशहरू अभ्यास भइरहेको पाइन्छ। हिन्दु र बौद्ध धर्म एवम् दर्शनलाई प्राथमिकता दिएर सोही अनुसार नै चाडपर्व मनाउने, योग ध्यान गर्ने, सत्यको अवलम्बन गर्ने र बौद्ध परम्परा अनुरूप आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलमा आधारित भएर विभिन्न क्रियाकलापहरु गरिन्छन् । आयुर्वेद, योग, विपश्यना, शाकाहारी जीवनशैलीप्रति जनचासो वर्षहरूमा बढ्दो क्रममा देखिन्छन् ।
युरोपीय महाद्वीपदेखि पूर्वतर्फका दार्शनिकहरूको चिन्तन भएको हुनाले यस क्षेत्रका दार्शनिक चिन्तनलाई पूर्वीय दर्शन भनिएको हो । पूर्वीय दर्शनलाई जुनसुकै नामले विश्लेषण गरिए पनि यसले जीवन र जगत् सत्य छ, शक्ति नै सर्वोपरि छ, जीवन र जगतमा संसार अडेको छ, हामी मानव भगवानका सिर्जना हौं, शरीर मरणशील छ, आत्मा अमर छ, मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पु–याउँछ भन्ने मान्यता लिएको छ । धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ । वास्तवमा मानवीय जीवन अत्यन्तै सुन्दर छ । अरु जीवहरुले बुझ्न, देख्न र भोग्न नपाएको जीवन मानव मात्रले पाएको छ । यस्तो अनुपम जीवनलाई सार्थक बनाउनका लागि आफूले गर्ने कर्मलाई स्वमूल्यांकन, स्वनियन्त्रण र स्वअनुशासित बनाउनुपर्दछ भन्ने मान्यता र यसका लागि अवलम्बन गर्नुपर्ने मार्गहरुलाई पूर्वीय दर्शनले स्पष्ट पारेको छ । अनेकौँ दर्शन शास्त्र र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अङ्क हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै जसो दार्शनिक, आध्यात्मिक, पौराणिक परम्परा अनुसार परमात्मा भन्नाले त्यो अदृश्य र विशाल चेतना हो, जुन यो भौतिक सन्सारमा चेतनाको विकासको लागि निरन्तर चलायमान छ, जसलाई भगवान भनेर जानिन्छ जसको जन्म अनन्त स्वरूपमा अनन्त प्रकृतिमा बारम्बार लगातार हुन्छ, जसको एक स्वरुप मानब रुप पनि हो र सबै मानव सबै जीव सबै जन्म मृत्यु पछि परमात्मा मै फर्कन्छन । हाम्रो आत्मा पनि परमात्माको नै सानो अंश हो ।परमेश्वर त्यो सर्वोच्च परालौकिक शक्ति छ जसलाई यस संसारको स्रष्टा र शासक मानिन्छ भनी पर्वीय दर्शनको दार्शनीक पक्ष रहेको छ । पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर ‘‘ऋग्वेदलाई मानिदै आएको पाइन्छ । ‘वेद समावेशात्मक अर्थयुक्त शब्द रहेको पाइन्छ । जस अन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उपनिषद् आदि समावेश भएको पाइन्छ । वैदिक कालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ। मानवीय सभ्यताको विकासमा पूर्वीय आर्यहरूको इतिहास, समाजिक नीति, चालचलन, मूल्य र मान्यता, सदाचार, दर्शन र धर्मको पूर्वाधार वेद रहेको बुझिन्छ। वेद, ब्राह्मण र आरण्यक आदि ग्रन्थहरूमा दार्शनिक विचारधाराको प्रवाह पाइए पनि तिनीहरू दर्शनका पृष्ठभूमि रहेको देखिन्छ । दर्शन हुनका लागि चाहिने आवश्यक मापदण्डहरू वैदिक कालमा कम मात्रामा प्रयोग गरिएको पाइन्छ । पूर्वीय दार्शन र नीति मानव सभ्यता, सामाजिक व्यवस्था र राज्य प्रणालीलाई मार्गदर्शन गर्ने आदर्श आधार हो तर पश्चात्य जस्तो प्रचारमा यो छैन। पूर्वीय दर्शन हिन्दु नीतिव्यवस्थामा आधारित छ। अर्को अर्थमा यो पुराणमा आधारित सामाजिक व्यवस्था हो जो धर्म, संस्कृति, जातीयता, वर्ण परम्परा, आदरभाव, कर्तव्य र नैतिकतालाई जोड दिन्छ। हिन्दु शास्त्रव्यवस्थाको उल्लेख संस्कृत साहित्य, जस्तो कि वेद, पुराण, गीता, रामायण, प्राचीन स्मृति तथा श्रुति हुन्। मर्यादा पुरुष भगवान रामका सद्व्यवहार र अभिव्यक्तिलाई पूर्वीय परम्परामा आदर्शका रूपमा लिइन्छ। श्रीकृष्णले गीतामा दिएका उपदेशले समाज, राज्य, परिवार, सम्बन्ध, संगठन र अर्थतन्त्र सञ्चालनमा मार्गदर्शन गर्छ। उनले भनेका थिए– ठूलाका वाणी नीति बन्छ। यसको मतलव ठूला व्यक्तिहरु स्वभावैले समाज व्यवस्थालाई प्रभाव पार्ने हैसियतमा हुन्छन् र उसको अभिव्यक्तिले समाजको प्रतिनिधित्व गर्नुपर्छ भन्ने हो। गीतामार्फत भगवानले शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) लाई महत्व दिएका थिए जो मानव समाजका आधारमूल्य हुन्। गीताका वाणीहरु सर्वकालीन छन्।
कर्मण्येबाधिकारस्ते मा फलेसु कदाचन ,मा कर्मफलहेतुर्भुमा ते सङ्सोक्स्वकर्मणि। (गीता अध्याय २, श्लोक ४७)
मानिसको कर्म गर्नैमात्र अधिकार छ, के प्राप्त गरिन्छ भन्ने आशा गरेर काम गर्नुहुन्न। कर्म नगरे सिद्धि प्राप्त हुँदैन तर आशक्तिमा लिप्त भएर काम गर्नुहँुदैन। आधुनिक संगठन विज्ञानमा कामप्रतिको निष्ठा र समर्पणको स्रोत गीताका श्लोक हुन्। अर्को प्रसंगमा भगवानले भनेका थिए– इन्द्रियहरु शरीरभन्दा बलवान हुन्छन्। इन्द्रियभन्दा मन बलवान हुन्छ, मनभन्दा बुद्धि बलवान हुन्छ, फेरि बुद्धिभन्दा पनि अत्यन्त बलवान आत्मा हो। त्यसैले आत्मिक अनुशासन सबैभन्दा ठूलो आचरण हो र सार्वजनिक जीवनमा यो अझै महत्वपूर्ण हुन्छ।
एशियाका ज्योति गौतम बुद्ध अहिंसा र सत्कर्म शिक्षाका अद्वितीय दार्शनिक, साधक र सिद्धात्मा हुन्। उनले मानव समाजका लागिमात्र अहिंसा सिद्धान्त प्रतिपादन गरेनन्, समस्त प्राणीका पुजारी बने। चार सत्य, अष्ठ मार्ग, पञ्चशील बुद्ध दर्शनका निष्कर्ष हुन्। खराब नगर्नु, सत्य गर्नु, मन स्वच्छ राख्नु बुद्ध वाणी हो जसले मानव सभ्यता सम्बर्द्धन गर्न बल दिन्छ। गौतम बुद्धका अनुसार यदि वाणी सही र दयालु छ भने यसले विश्व बदल्न सक्छ। आफ्नो दियो (प्रकाश) आफैँ बन्नुपर्छ। बुद्ध दया, सत्य र अहिंसाका प्रचारक र प्रयोक्ता पनि बने। त्यसैले बुद्धवाणीहरु दया र सत्यका खानी हुन्, ती व्यावहारिकमात्र होइनन्, शाश्वत पनि छन्।
Advertisement 1
पूर्वीय नीतिशास्त्रका प्रकाण्ड विद्वत् व्यक्तित्व चाणक्य पूर्वीय राज्यदर्शनका स्रोत हुन्। कार्यक्षेत्रअनुसार नाम र पहिचान भएका विष्णु गुप्तलाई आर्थिक दर्शनमा कौटिल्य, नीतिशास्त्रमा चाणक्य र न्याय अनि कामशास्त्रमा वात्सायन भनेर पनि चिनिन्छन्। प्राचीन तक्षशीलाका अर्थशास्त्रका मेघावी प्राध्यापक र मगध सम्राट चन्द्रगुप्त मौर्यका महामन्त्री चाणक्य शास्त्रशक्ति र शस्त्रशक्तिलाई राज्यकौशल मान्थे, असम्भव भन्ने शब्दलाई कातरको शब्द मान्थे अनि वीर र बुद्धिमानले आफ्नो मार्ग आफैँ बनाउँछ भन्ने मान्यता राख्थे। उनका विचार र दर्शनबाट आधुनिक संगठन र समाजले थुप्रै कुरा सिक्न सक्छ। जस्तो कि खास पदहरुमा त्यस्ता मानिसलाई नियुक्त गर्नुपर्छ जसले राजकीय कार्यहरु विशेष योग्यतापूर्वक सम्पन्न गर्न सक्तछ। त्यस्तै कुनै पनि पुरुषको सामर्थ्यको स्थिति उसका कार्यको सफलतामाथि निर्भर गर्छ अनि उसको त्यो कार्यक्षमता उनको विद्याबुद्धिका बलमा मापन गर्न सकिन्छ। नियुक्त गर्नुभन्दा पहिला राजाले उनीहरुको प्रामाणिकता, सत्यवादिता जाँच्नुपर्छ।जुन मानिस सन्तुष्ट छन्, तिनीहरुलाई अरु धन, मान आदिले सत्कार गरिरहनुपर्छ तर असन्तुष्ट व्यक्तिहरुलाई साम, दान, दण्ड र भेद जस्ता जुन नीति अपनाउँदा काम बन्न सजिलो हुन्छ, तिनैलाई प्र्रयोग गर्दै आफ्ना नियन्त्रणमा राख्नुपर्छ।यसर्थ आचार्य कौटिल्यका नीति सूत्रहरु आज पनि व्यवस्थापनका हरेक क्षेत्रमा उपयोग गर्न सकिन्छ। त्यस्तै सत्य, अहिंसा र सदाचारिताका पुजाारी मोहनदास कर्मचन्द गान्धी आफ्ना महान् मानवतावादी कार्यका कारण महात्मा गान्धी बन्न पुगे। पूर्वीय दर्शन र बुद्ध आदर्शका अनुयायी गान्धीले आत्मिक र नैतिक मूल्य आचरण, सत्य, निष्ठा, संयमता र स्वतन्त्रताका लागि जीवन उत्सर्ग गरे। उनले स्थापित गरेका कतिपय कुरामध्ये जीवनका सात पाप (क) कर्मविनाको सम्पत्ति (ख) चरित्रविनाको ज्ञान (ग) नैतिकताबिनाको व्यापार (घ) मानवताबिनाको विज्ञान (ङ) सिद्धान्तबिनाको राजनीति (च) मानवताबिनाको धर्म र (ज) विवेकबिनाको सुखलाई प्रमुखरूपमा लिन सकिन्छ, जसले जीवन व्यवस्थाका सबै पक्षलाई मार्गदर्शन गर्छ। गान्धीका अनुसार चरित्रबिनाको ज्ञान खराबीको शक्ति बन्न जान्छ, चरित्रको शुद्धि नै सारा ज्ञानको ध्येय हुनुपर्छ। गान्धीको जीवन दर्शनबाट सरल र क्रियाशील जीवन, निस्वार्थता, उदाहरणीयता, साद्गीपना, क्षमाशीलता, लगन जस्ता पक्षहरु जो कुनैले सिक्न सक्छ, जुन वैयक्तिक जीवन र कतिपय सार्वजनिक व्यवहारमा आवश्यक मानिन्छन्।
पूर्विय दर्शनअन्तर्गत चीनियाँ, भारतीय, कोरियन, थाइल्यान्ड, म्यान्मारका दर्शनहरु पर्दछ्न् । हाम्रो हावा पानी र आधार सुहाउँदो दर्शन पुर्वोय दर्शन नै हो । त्यसमा पनि हाम्रो नेपाल र भारतीय दर्शन अन्तर्गत हिन्दुवाद र हिन्दु दर्शनका न्याय, योग, मिमाङ्सा, साख्य, वेदान्तजस्ता आस्तिक र जैन, चार्वक, आजिविक, श्रवण, अबिध्या जस्ता नास्तिक प्राचिन भारतिय दर्शनको जगमा छौ ।मानव जीवनमा चरित्रलाई निकै महत्व दिने धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ । हिन्दु र बौद्ध दर्शन पुर्वीया दर्शनका उदाहरण हुन। मानव जीवनमा चरित्रलाई निकै महत्व दिने जैन, कन्फुसियस, ताओ, मोहि, कोरियन, चाइनिजजस्ता छिमेकी दर्शनको ठूलो झुकाव छ हामीमा । बुद्धको जन्मभूमि नेपालमा हरेकको कण कणमा बुद्ध दर्शनका अहिंसा र शान्ति हाम्रो पर्याय हुन् । मनको शान्ती हाम्रो जीवनशैलीको उपज हो । जुन बिकसित भनिएका राष्ट्रमा अत्यन्त कम मात्रमा पाइन्छ। भनिन्छ, त्यहाँ आधा भन्दा बढी मानिसाहरु डिप्रेसनमा छन् । सबै थोक भएर पनि मनमा अशान्ति हुदा आहात छ्न् । भौतारिदै हामीकहाँ आउछ्न् । जुन हामीसँग पहिल्यै देखि सुरक्षीत छन् । हाम्रो दर्शन कला जीवनपद्द्ती हाम्रो अमुल्य निधि हुन् ।
विभिन्न धर्म संस्कृतिजस्तै बुद्ध, हिन्दु, चिनियाँ, कोरियन, जापानी, मुस्लिमलगायत विभिन्न दर्शनहरुलाई पूर्वीय दर्शनका रुपमा विद्वानहरुले व्याख्या तथा विश्लेषण गर्दै आएको पाइन्छ । पूर्वीय दर्शनलाई जुनसुकै नामले विश्लेषण गरिए पनि यसले जीवन र जगत् सत्य छ, शक्ति नै सर्वोपरि छ, जीवन र जगतमा संसार अडेको छ, हामी मानव भगवानका सिर्जना हौं, शरीर मरणशील छ, आत्मा अमर छ, मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पु–याउँछ भन्ने मान्यता लिएको छ । सनातनदेखि मान्दै आएको धर्म संस्कृतिको मूल आधारका रुपमा रहेका धर्मग्रन्थहरुमध्ये वेदलाई हरेक दर्शनहरुको आधारशिलाका रुपमा लिन सकिन्छ । हुन त वेदलाई अन्य पूर्वीय दर्शनको आधार मान्न सकिँदैन भन्ने विचारहरु नसुनिएका होइनन् तथापि विश्व वाङमयमा वेदभन्दा प्राचीनतम पुस्तकहरु अरु छैनन् । वेदले धर्म दर्शनको मात्र कुरा गरेको छैन, मानव सभ्यताको समेत व्याख्या गरेको छ । वेद ऐतिहासिक महत्वसहितको सबैभन्दा पुरानो ग्रन्थ पनि हो । यस अर्थमा सनातनदेखि चलिआएको धर्म दर्शन नै हरेक दर्शनको जननी हो । पूर्वीय दर्शनको आधार हो ।जो व्यक्तिले पूर्वीय दर्शनको रसपान गर्न सक्छ, उसले जीवन र जगतलाई बुझ्दै मानवीय जीवन जिउन सिक्दछ । जीवन जिउनु एक कला हो । हामीले वास्तविक जीवनको घडीलाई नियालेर हेर्ने हो भने जीवनमा जे हुन्छ भनेर सोचिएको हुन्छ, त्यो भइरहेको हुँदैन र जे भइरहेको छ त्यसको सम्बन्धमा सोचिएको पनि हुँदैन । जस्तैः भरपुर क्षमता भएका व्यक्तिहरु पनि सफल भइरहेका हुँदैनन् र सामान्य अवस्थाको व्यक्तिले निकै सफलता प्राप्त गरेको हुन्छ । वास्तवमा यो किन र कसरी भएको छ ? यी सबै कुराको ज्ञान केही हदसम्म पूर्वीय दर्शनले दिएको छ । कर्मले नै यस जीवन र परजीवनमा समेत व्यक्तिको भाग्य निर्धारण गरेको हुन्छ । जसलाई हामी भाग्य मान्छौं, वास्तवमा यो भाग्यभन्दा पनि विभिन्न जीवनमा हामीले गरेका कर्महरुको संयोजनको परिणाम हो । यही परिणामले नै हाम्रो वर्तमान जीवनलाई डो–याइरहेको हुन्छ । मानवीय जीवन, जन्म र जगतबीचको सम्बन्धलाई पूर्वीय दर्शनले अत्यन्तै सूक्ष्म रुपमा व्याख्या गरेको छ ।
पूर्वीय दर्शनभित्रकै बुद्ध दर्शन आज विश्वभर फैलिएको छ । यस दर्शनको भाव पनि कर्मको कारण र प्रभावबीचको सम्बन्ध के हो ? कर्मको प्रभावका कारण पुनर्जन्म हुन्छ वा हुँदैन । कर्मको निवारण कसरी गर्ने ? भन्ने लगायतका विषयमा केन्द्रित रहेको छ । जति भए पनि नपुग्ने तृष्णा नै दुःखको मुख्य कारक हो । दुःखबाट छुटकारा पाउन असल कर्म गर्नुपर्दछ र कर्मको निवारण अष्टमार्गको ज्ञान र सोको अवलम्बनबाट मात्र सम्भव छ । व्यक्तिको असल कर्म, सोच, बानी, व्यवहार, वचन, सम्बन्ध र स्मृतिले मानव जीवनलाई सार्थक बनाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।मानिस जीवनयापनका लागि व्यक्तिगत रुपमा सदाचारी हुनुपर्दछ । व्यक्तिगत जीवन बनाउन आफ्नो शरीर र मनसँग सम्बन्धित विषय, आहार, विहार तथा गर्न हुने वा नहुने काम, कुरा र व्यवहारमा ध्यान दिन सकेमा यसले पारिवारिक जीवन सहज र माधुर्यमय बनाउँछ । यसरी सिर्जना भएको पारिवारिक माधुर्यताले व्यक्तिको सामाजिक जीवनलाई समेत मर्यादित बनाउँछ । पूर्वीय दर्शनले मानिसको हरेक गतिविधिलाई परिवारसँगको सम्बन्ध, समाजसँगको सम्बन्ध र कर्तव्य, राष्ट्रसँगको सम्बन्ध र कर्तव्य तथा प्रकृतिसँगको सम्बन्ध र कर्तव्यसँग जोडेर हेरेको छ । दर्शनका अनुसार मानिसले कुनै पनि कर्म गर्दा यी उल्लेखित सम्बन्ध र कर्तव्यबाट टाढा हुनु हुँदैन । जुन व्यक्तिले आफ्नो अधिकार, कर्तव्य र सम्बन्धबीच त्रिकोणात्मक सन्तुलन कायम गर्न सक्छ, ऊ सदाचारको पथमा सजिलै हिँड्न सक्छ ।
Advertisement 2
दर्शन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा छन्, ती सबैको उद्गमस्थल र समस्या समाधानको बाटो नै दर्शन हो । व्यक्तिले यस संसारमा जे जति क्रियाकलाप गर्छ र आफ्नो ज्ञानको सदुपयोग गरी स्थापित हुन खोज्छ, त्यो कुनै न कुनै दर्शनमा आधारित भएरै गरेको हुन्छ । अझ शिक्षा क्षेत्रमा दर्शन नै मुख्य मियो र शैक्षिक गतिविधि त्यसमा घुम्ने वस्तु हुन् भनेर बुझ्न सकिन्छ ।यद्यपि विभिन्न प्रणालीहरूले आफ्नो–आफ्नो ज्ञानमीमांसाका अनुसार मोक्षको अलग अलग कल्पनाको छ, तथापि अज्ञान, दुःखबाट मुक्त हुन सक्छ। दर्शनमा टेकेर नै शैक्षिक उन्नति, प्रगति र विकास सम्भव भएको हो ।
पुर्वीय दर्शनको विकासक्रम
वैदिक काल
वेदलाई पूर्वीय साहित्यको प्रचीनतम ग्रन्थ मानिन्छ । प्राचीन मानवका धार्मिक र दार्शनिक विचारलाई मानवीय भाषामा सर्वप्रथम लिपिबद्ध गर्ने श्रेय वेदलाई प्राप्त छ । वैदिक कालमा आर्यहरूले संस्कृति र सभ्यताको विस्तारै विस्तारै विकास गरेको पाइन्छ । यही कालमा अरण्य विद्यालय अर्थात् ऋषिकुल अध्ययनको थालनी भएको पाइन्छ । यो समय वास्तविक दार्शनिक विचार विनिमयको समय नरहे पनि अन्धकारबाट उज्यालोतर्फको एउटा प्रभाती किरण देखिएको पाइन्छ । यस समयमा ‘ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद जस्ता महत्त्वपूर्ण रचना निर्माण भएको पाइन्छ । वैदिक काललाई पनि दुई भागमा विभाजन गरिएको पाइन्छ ।क) पूर्ववैदिक काल ःपूर्ववैदिक कालमा वेदका चार संहिताहरू विकसित भएको पाइन्छ । ‘ऋग्वेद, ‘यजुर्वेद, ‘सामवेद र ‘अथर्ववेद चार संहिता रहेको पाइन्छ । ‘ऋग्वेदको पुरुष सूक्तमा विराट पुरुषको परिकल्पनाले दार्शनिक तत्त्व चिन्तनलाई व्यक्त गरेको पाइन्छ । ‘ख) उत्तरवैदिक कालःउत्तरवैदिक कालीन रचनाका रूपमा ब्राह्मण, आरण्यक र उपनिषद् रहेको पाइन्छ । यिनीहरूको प्रत्यक्ष सम्बन्ध चार संहितासँग रहेको पाइन्छ । उपनिषद्भन्दा पछिका रचना मानिने वेदका छ अङ्कलाई सम्बन्धका आधारमा वैदिक साहित्य अन्तर्गत राखिएको पाइन्छ । जसमा शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष पर्दछन् । दार्शनिक साहित्यसँग तिनीहरूको कम सम्बन्ध रहेको पाइन्छ । वैदिक संहिताको उत्कर्षका रूपमा उपनिषद्लाई लिइन्छ । पूर्वीय विचार धाराको परिपाक उपनिषद्मा पुगेर भएको पाइन्छ । उपनिषद्लाई वेदान्त दर्शन र अन्य अवैदिक दर्शनका पृष्ठभूमि पनि मानिएको पाइन्छ । वैदिक कालमा उपनिषद्को प्रवेशले नयाँ शिराबाट चिन्तनको सुरुवात भएको पाइन्छ । उपनिषद् र यस पूर्वका वैदिक ग्रन्थमा के भिन्नता रहेको पाइन्छ भने वैदिक संहितामा कर्म र ज्ञानको व्याख्या गरिएको पाइन्छ भने उपनिषद्मा ज्ञानको मात्र व्याख्या गरिएको पाइन्छ । उपनिषद् ज्ञानकाण्ड रहेको बुझिन्छ । यसमा जन्म र मृत्युभन्दा पनि शाश्वत आनन्दका लागि विवेकात्मक ज्ञानको आलोक रहेको बुझिन्छ । उपनिषद्मा दार्शनिक विचारको व्याख्या गरिएको पाइन्छ । आत्मा र परमात्माको विवेचना गरिएको पाइन्छ ।वेदमा धर्मको व्यापकता, ब्राह्मणमा धर्मको स्थूलता र उपनिषद्मा सूक्ष्म पदार्थको विवेचना गरिएको पाइन्छ । उपनिषद् पूर्वका रचनामा प्रवृत्ति मार्गलाई अवलम्बन गरिएको पाइन्छ भने उपनिषद्मा निवृत्ति मार्ग अवलम्बन गरिएको देखिन्छ । यसमा आत्म ज्ञान, मोक्ष ज्ञान, ब्रह्म ज्ञानको प्रधानता रहेको पाइन्छ । यही कारण ब्रह्म विद्या, मोक्ष विद्या र आत्म विद्या पनि भनिएको पाइन्छ । उपनिषद् वेदका अन्त्य भएको हुनाले वेदान्त पनि भनिएको पाइन्छ । वेदान्तका तिन बाटाहरू रहेको पाइन्छ ‘उपनिषद्, ‘गीता र ‘ब्रह्मसूत्र । उपनिषद्लाई श्रवण प्रधान, ब्रह्म सूत्रलाई मनन प्रधान र गीतालाई निदिध्यासन (निरन्तर चिन्तन) प्रधान मानिएको पाइन्छ । श्रवण, मनन, निदिध्यासनजस्ता दार्शनिक पक्षका माध्यमबाट परमतत्त्वको साक्षात्कार हुन्छ भन्ने उपनिषद्को धारणा रहेको पाइन्छ ।
माहाकाव्य काल (‘रामायण र ‘माहाभारत काल )
महाकाव्य काललाई भारतीय दर्शन शास्त्री राधाकृष्णनले ई.पू.६०० देखि ई.२०० सम्मको अवधि बताएका छन्। यस काललाई संक्रमण काल पनि भनिएको पाइन्छ । यो वेदबाट विकसित भएका दार्शनिक विचारहरू लौकिक जनमानसमा प्रवेश गर्न संक्रमण गरि रहेको समय देखिन्छ । ‘रामायण र ‘माहाभारत वैदिक काल र लौकिक कालका सन्धिका प्रतिनिधि रचना रहेको बुझिन्छ । ‘रामायण र ‘महाभारतले वैदिक कालको अन्त्य गर्दै लौकिक कालको आमन्त्रण गरेको बुझिन्छ । यी ग्रन्थ मानवमा निहित एक नवीन वीरत्व एवं देवत्वको सन्देश फैलाउने माध्यमका रूपमा उपस्थित भएको पाइन्छ । रामायण र महाभारतमा उपनिषद्का कतिपय वैचारिक प्रभावहरू उपस्थित भएको देखिन्छ । जसलाई सम्झाउनका लागि अनेक उदाहरण र दृष्टान्तको उपयोग गरिएको पाइन्छ ।
सूत्र काल
सूत्र कालको समय ई.पू. ४०० रहेको पाइन्छ । यस समयलाई दर्शनको महत्त्वपूर्ण काल मानिन्छ । यसै समयका सेरोफेरोमा ‘सांख्य, ‘बुद्ध, ‘जैन, ‘चार्वाक, ‘योग, ‘न्याय, ‘मीमांसा आदि सूत्र साहित्य दर्शनको रचना भएको बुझिन्छ । विषयवस्तुको गहनता र सूत्रात्मक कथनका कारण यस समयलाई सूत्र काल भनिएको पाइन्छ । सूत्रहरूको बोधका लागि कुनै टीका वा विशिष्ट विद्वान्को सान्निध्यको आवश्यकता देखिन्छ । ती सूत्रको अर्थ बोधका लागि अनेक व्याख्या र टीका ग्रन्थहरूको विकास भएको पाइन्छ ।सूत्रकालीन समयमा दर्शनका विषय र धारणाहरू एक आपसमा अन्तर्सबन्धित हुँदै विकसित भएको देखिन्छ ।
Advertisement 3
टीका काल
टीका काललाई पूर्वीय दर्शनको स्वर्ण काल पनि भनिएको पाइन्छ । ईसाको २५० देखि १४४९ सम्मको समयाबधिलाई टीका काल मानिएको पाइन्छ। यस समयमा दर्शन ग्रन्थका भाष्य, वार्तिक, व्याख्या र टीकाहरू प्रशस्त लेखिएको देखिन्छ । टीका काल सूत्रकालमा लेखिएका दर्शनको व्याख्याको समय मानिन्छ । यस समयमा लेखिएका टीका या ग्रन्थहरू अत्यन्तै शक्तिशाली रहेको पाइन्छ । कुनै कुनै व्याख्या ग्रन्थकारको भन्दा पनि व्याख्याकारको विचार अझ प्रभावशाली बनेको देखिन्छ । उदाहरणका रूपमा कुमारिल भट्ट र प्रभाकरले लेखेको ‘मीमांसा भाष्य, शङ्कराचार्य तथा रामानुजले लेखेको वेदान्त सूत्रको ‘वेदान्त भाष्य, वात्स्यायनको ‘न्याय भाष्य, प्रशस्त पादको ‘वैशेषिक भाष्य, विज्ञान भिक्षुको ‘सांख्य प्रवचन भाष्य र व्यासको ‘योग भाष्य अद्यापि चर्चित रहेको पाइन्छस्वर्णकालका रूपमा मान सम्मान पाएको यस काल विवाद मुक्त भएको पाइन्न । आफ्नो आफ्नो विचार पक्षधरको झण्डा बनाएर आफैलाई सत्य र अन्यलाई झुट सावित गर्नका लागि विवाद र कोलाहल गरिएका प्रसङ्गहरू तत् तत् ग्रन्थमा देखिन्छ । पूर्ववर्ती ग्रन्थका गूढ रहस्य खोतलेर जनसमक्ष पुर्याउन भन्दा पनि आफ्ना विचार शक्तिशाली र समय सापेक्ष रहेको प्रमाणित गर्नमा यस समयका विद्वान्हरूले समय खर्च गरेको देखिन्छ । जसले गर्दा विचार स्पष्टसँग बुझ्नु भन्दा पश्चवर्ती मानव समाज कुन विचार सही हो भन्ने कुरामा दोधार बन्न पुगेको पाइन्छ । जसको फलस्वरुप टीकाकारका विचार केवल शब्दजाल बन्न पुगेको देखिन्छ । कतिपय विचारकमा अत्यन्तै अस्पष्टता, तार्किक जटिलता र मनोवृत्ति अत्यत्तै असहिष्णु रहेको पाइन्छ ।
आधुनिक काल
चौधौं शताब्दीको माधवाचार्यको ‘सर्वदर्शन संग्रहपछि पूर्वीय दर्शनमा आधुनिक कालको आरम्भ भएको मानिन्छ । ईसाको १४५० यता पूर्वीय दर्शनमा आधुनिक काल भित्रिएको भन्ने विद्वान्हरूको धारणा रहेको पाइन्छ । यस कालमा शङ्गर स्वामीको ‘सर्वसिद्धान्त संग्रह, राजा राम मोहन रायको ‘ब्रह्म समाज आदि ग्रन्थको रचना भएको पाइन्छ । स्वामी विवेका नन्दले सार्वभौम धर्ममाथि जोड दिएको पाइन्छ भने माहत्मा गान्धीले भद्र सत्याग्रहबाट देशमा शान्ति, भ्रातृत्व र सद्भावको स्थापना हुन् कुरामा जोड दिएको पाइन्छ । त्यस्तै दयानन्द सरस्वती, भगवान् दास, रामकृष्ण परमहंस, रवीन्द्रनाथ टैगोर, श्री अरविन्द, कृष्णचन्द्र भट्टाचार्य, सर्वपल्ली राधाकृष्णन्, मुहम्मद इकवाल आदि दार्शनिकहरूले मौलिक विचार सहित आधुनिक दर्शनको विकासमा योगदान दिएको पाइन्छ । नेपाली माटोमा गुणनीधि, सन्त शशीधर, ज्ञान दिलदास, जय पृथ्वी बहादुर सिंह, विश्वेश्वर प्रसाद कोइराला, मदन भण्डारी, रुपचन्द्र विष्ट, गोविन्द, भट्ट, षडानन्द अधिकारी, गुरु गोखनाथ, फाल्गुनन्द लिङ्देन, योगमाया न्यौपाने, बालकृष्ण सम, पुष्पलाल, शिवपुरी बाबा, योगी नरहरी नाथ, खप्तडा बाबा, मदनमणी दीक्षित, पुष्पकमल दाहाल प्रचण्ड, योगी विकासानन्द अदिले विभिन्न विचारका माध्यमबाट दर्शनको विकास परिमार्जन र संरक्षण संबद्र्धनमा योगदान थपेको पाइन्छ ।
पूर्वीय दर्शन अन्र्तगतका दर्शनहरु
लोकायत दर्शन
हिन्दू दर्शनको सन्दर्भलाई एकछिन थाँती राखेर अन्य दर्शनको सारतत्व खोजी गर्ने हो भने चार्बाक दर्शनले भौतिकवादअनुसार कल्पनाका कुराहरू गरेर हुँदैन । अहिले आँखाले जे देखिएको छ, त्यो मात्र सत्य हो र अरु असत्य हो । मानिसको अर्को जन्म हुन्छ भन्ने कुरा पनि व्यर्थ हो । यस संसारमा जन्मिएपछि मानिसले आफ्ना गतिविधि आफ्ना इच्छाअनुसार गर्नुपर्छ । बाँचुञ्जेल ऋण गरेर भएपनि घिउ खानुपर्छ, मरेपछि सबै नष्ट हुन्छ भनेर भनेको छ ।ईश्वर, आत्मा वा परमात्मा नमान्ने र भाग्यमा विश्वास नगर्ने लोकायत दर्शन प्राचीन दक्षिण एसियाको एक मात्र भौतिकवादी दर्शन हो । यसलाई ‘चार्वाक मत र ‘बार्हस्पत्य सूत्र पनि भनिन्छ । लोक र आयत दुई शब्द मिलेर बनेको यो दर्शन लोकको पक्षपाती अथवा जनतामा फैलिएको लोकमा आधारित भन्ने हो । यस दर्शनशास्त्रले जनताको पक्षमा काम गर्ने भएकाले जनताको प्रिय दर्शनका रूपमा पनि लिइन्छ । यसले ईश्वर, आत्मा, परमात्मा, पुनर्जन्म, स्वर्ग, नर्क आदि कुनै कुरामा पनि विश्वास गर्दैन । त्यसैले जे छ, वर्तमान छ । जे गर्छौ, वर्तमानमा गर । भविष्यको चिन्ता नगर । मरेपछि स्वर्ग जाने वा फेरि जन्मने कुरामा विश्वास नगर भन्ने विचार राख्छ ।लोकायत दर्शनलाई चार्वाक दर्शन पनि भनिन्छ । यसले आफ्नो कुरालाई पुष्टि गर्नका लागि एउटा सूत्र नै बनाएको छ—
यावज्जिवेत् सुखं जिवेत् ऋणं कृत्वा घृतं पिवेत् । भष्मीभूतस्य देहस्य पुनरागमनम् कुतः । अर्थात् जति बाँच्छौ, सुखले बाँच, ऋण काढेर भए पनि घिउ खाऊ । जलेर खरानी हुने देह फेरि फर्केर आउँछ भन्ने कुरामा विश्वास नगर ।ईश्वर वा धर्मप्रति विश्वास नगर्ने दर्शन भएको हुनाले धेरैले यसको विरोध गरेका भए पनि यस दर्शनका पक्षधरहरूले निर्धक्कसाथ आफ्नो विचारलाई अघि बढाएको पाइन्छ ।
जैन दर्शन
जैन दर्शन संसारलाई जीव र अजीवमा विभाजन गरेर हेर्ने एक निरीश्वरवादी एवम् वेदलाई प्रमाण नमान्ने र ब्राह्मणवाद विरोधी दर्शन हो । यस दर्शनले ईश्वर र कुनै परम सत्तालाई मान्दैन । यो प्राचीन दक्षिण एसियाली दार्शनिक धाराहरूमध्ये अरूभन्दा छुट्टै किसिमको दर्शन हो । यसलाई दर्शनभन्दा बढी धार्मिक विश्वास मानिन्छ ।जैनका दुई सम्प्रदाय छन्— श्वेताम्बर र दिगम्बर । श्वेताम्बरले सेता कपडा लगाउँछन् भने दिगम्बरले कपडा लगाउँदैनन्, निर्वस्त्र हुन्छन् र आकाशलाई नै वस्त्र ठान्छन् । यिनीहरू आफ्ना सम्पूर्ण आवेगलाई शमन गरी आफूलाई पूर्ण रूपमा वशमा राख्न चाहन्छन् ।जैन दर्शनले संसारलाई जीव र अजीव गरी दुई भागमा बाढेको छ । जीवको अर्थ आत्मा हो । यस दर्शनमा सबै शरीरमा जीवले बास गर्दछ । उसले प्रत्येक जन्ममा एक छुट्टै शरीर धारण गर्दछ । जन्म र मरण भइरहन्छ तर जीव वा आत्मा भने अनादि एवम् अनन्त छ भनिएको छ । कुनै पनि परम सत्तालाई स्वीकार नगर्नु र सबै कुरालाई संशयका साथ हेर्नु यस दर्शनको एक प्रमुख विशेषता हो ।जैन दर्शनमा रहेको अणु सिद्धान्त भौतिकवादको नजिक छ । यसले अगाडि सारेको निरन्तर अदृश्य परिवर्तन र अन्तिमको ठुलो परिवर्तनकारी परिणाम भन्ने कुराको मात्रात्मक रूपान्तरण र गुणात्मक परिवर्तनको नियमलाई समात्न खोजेको देखिन्छ । धर्मलाई गतिको आधार मान्ने, समयलाई परिवर्तनको बाह्य एवं सहायक कारण हो भन्ने किन्तु आन्तरिक एवं मूल कारण के हो भन्ने जस्ता कमजोर पक्षहरू यस दर्शनमा रहेका हुनाले यो दर्शन पनि भाववादको चंगुलबाट मुक्त हुन नसकेको स्पष्ट हुन्छ ।
योग दर्शन
विश्वव्यापी लोकप्रिय र वैज्ञानिक किसिमको यो दर्शनका प्रणेता महर्षि पतञ्जलि हुन् । यस दर्शनमा शरीर मिथ्या होइन र साधनाका लागि स्वस्थ शरीर र मन चाहिन्छ भनेर व्याख्या गरेको पाइन्छ । योगाभ्यासद्वारा इन्द्रियहरूलाई नियन्त्रण गरी मोक्ष प्राप्त गर्न सकिन्छ र योग नै मोक्ष मार्ग हो भन्ने दर्शन हो यो । योगदर्शन छः आस्तिक दर्शनहरू (षड्दर्शन)मा एक दर्शन हो । यसको प्रणेता पतञ्जलि मुनि हुन्। प्रकृति, पुरुषको स्वरुपसँग ईश्वरको अस्तित्वलाई मिलाएर मानव जीवनको आध्यात्मिक, मानसिक तथा शारीरिक उन्नतिको लागि दर्शनको ठुलो व्यावहारिकता र मनोवैज्ञानिकता योगदर्शनमा प्रस्तुत भएको छ। यसको प्रारम्भ पतञ्जलि मुनिको योगसूत्रदेखि हुन्छ। योगसूत्रहरूको सर्वोत्तम व्याख्या व्यास मुनि द्वारा लिखित व्यासभाष्यमा प्राप्त हुञ्छ । यसमा भनिएको छ कुन प्रकारले मनुष्य आफ्नो मन (चित)को वृत्तिहरूलाई नियन्त्रण राखेर जीवनमा सफल हुन सक्छ रआफ्नो अन्तिम लक्ष्य निर्वाणलाई प्राप्त गर्न सक्छ ।योग दर्शनका प्रणेता महर्षि पतञ्जलि थिए । महर्षि पतञ्जलिभन्दा अघि महर्षि हिरण्यगर्भ र याज्ञवल्क्यले पनि योग दर्शनमाथि विवेचना गरेका थिए । तर, महर्षि पतञ्जलिले यसलाई अझै व्यापक बनाएका थिए । यिनले योग दर्शनलाई सूत्रका रूपमा सरल रूपमा प्रस्तुत गरेका थिए । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई अष्टांगयोग भन्दछन् । अष्टांगयोगको साधनाबाट मानिसको अज्ञानता नाश भएर जीवन सुखी र सम्पन्न बन्दछ । योगाभ्यासद्वारा इन्द्रियहरूलाई नियन्त्रण गरी मोक्ष प्राप्त गर्न सकिन्छ र योग नै मोक्ष मार्ग हो भन्ने दर्शन हो यो । यस दर्शनको पनि मौलिक योग दर्शनमा चित्त वा मनका क्रियाकलापको नियन्त्रण गर्नुलाई योग भनिन्थ्यो भने पछि आएर योग भनेको मन र ईश्वरका बीच संयोग गराउने साधन वा आत्म ज्ञानको साधन अर्थात् ब्रह्मज्ञान प्राप्त गरी ‘म नै ब्रह्म हुँ’ भन्ने निष्कर्षमा पुगेर सांसारिक बन्धनबाट मुक्त हुने माध्यम हो भन्न थालियो । कतिपय विद्वानहरूले सांख्य दर्शनलाई सिद्धान्त र योगलाई त्यसैको व्यावहारिक पक्षका रूपमा पनि मान्ने गरेका छन् । पछिल्लो चरणमा योग भन्नाले ध्यानद्वारा आत्मालाई ईश्वरसँग जोड्ने साधनका रूपमा लिइएको हुँदा यस दर्शनलाई पूर्णतः भाववादी दर्शनका रूपमा लिइन्छ । तथापि योगद्वारा शरीर, मन, वचन, कर्मको शुद्धि गरिने र यसले शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्ने हुँदा यसलाई व्यावहारिक दर्शनका रूपमा लिन सकिन्छ ।
यस दर्शनको पनि मौलिक योग दर्शनमा चित्त वा मनका क्रियाकलापको नियन्त्रण गर्नुलाई योग भनिन्थ्यो भने पछि आएर योग भनेको मन र ईश्वरका बीच संयोग गराउने साधन वा आत्म ज्ञानको साधन अर्थात् ब्रह्मज्ञान प्राप्त गरी ‘म नै ब्रह्म हुँ भन्ने निष्कर्षमा पुगेर सांसारिक बन्धनबाट मुक्त हुने माध्यम हो भन्न थालियो ।योग दर्शनले सांख्य दर्शनको सिद्धान्तलाई अङ्कीकार गरेको हुँदा यसलाई सांख््य दर्शनसँग जोडेर हेर्ने गरिएको छ । योगलाई ध्यानद्वारा आत्मालाई ईश्वरसँग जोड्ने साधनका रूपमा लिइएको हुँदा यस दर्शनलाई पूर्णतः भाववादी दर्शनका रूपमा लिइन्छ, तथापि योगद्वारा शरीर, मन, वचन, कर्मको शुद्धि गरिने र यसले शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्ने हुँदा यसलाई महत्त्वपूर्ण दर्शनका रूपमा लिन सकिन्छ । शरीर र मनलाई जोड्नु वा आत्मालाई परमात्मासँग जोड्नु योग हो भन्ने यस दर्शनमा मूलभाव पाइन्छ । यस्तो अवस्था भेटाउन अष्टाङ योग मार्गका ८ वटा विधि (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान र समाधि) अनुशरण गर्नुपर्छ भन्ने यो दर्शनको निचोड पाइन्छ ।
न्याय दर्शन
गौतम ऋषिद्वारा प्रतिपादित यो दर्शनले प्रमाण र तर्कलाई मुख्य आधार मान्दछ । उनैद्वारा रचित न्यायसूत्र नै न्याय दर्शनको मूल ग्रन्थ मानिएको छ । यस दर्शनले पनि ईश्वरलाई सर्वोपरि ठानेको छ । न्याय दर्शन वैदिक दर्शनहरू मध्यमा एक दर्शन हो । प्राचीन मिथिला विश्वविद्यालय न्यायशास्त्रको लागि धेरै प्रसिद्ध थियो । यसको प्रवर्तक ऋषि अक्षपाद गौतम हुन् । यो दर्शनको सबै भन्दा प्राचीन एवं प्रसिद्ध ग्रन्थ न्यायसूत्र हो । जुन साधनहरू देखि हामीलाई जान्नु पर्ने तत्वको ज्ञान प्राप्त हुन्छ तिनै साधनलाई न्यायको संज्ञा दिएको छ । भनिएको पनि छ – नीयते विवक्षितार्थः अनेन इति न्यायः यसमा जम्मा ५ भागहरू छन् । तर्क गर्नु, प्रमाणको साधन, प्रमेय,साध्य र साधन,को विवरण यहाँ लेखिएको छ । प्रचीन कालमा वात्स्यायन मुनिले मध्यकालमा वाचस्पति मिश्रले आधुनिक कालमा उदयवीर शास्त्रीले यसमा भाष्य (टिप्पणी) लेखेका छन् ।संसारको निर्माता अर्थात् सृष्टिकर्ता, पालनकर्ता, र संहारकर्ता भनेको ईश्वर हो र ईश्वर नै संसारको भौतिक शासक हो भन्ने मान्यता राख्दछ ।यस दर्शनले ज्ञानलाई २ भागमा (यथार्थ र अयथार्थ) बाँडेर यथार्थ ज्ञानमात्र प्रभा वा मुख्य ज्ञान हो, जसलाई विभिन्न परीक्षणबाट प्रमाणित गर्न सकिन्छ । तर अयथार्थ ज्ञान वास्तविकता नभएको ज्ञान भएकाले यसको कुनै महत्व हुँदैन भनेर व्याख्या गर्दछ । ज्ञानका प्रमाणहरू चार किसिमका (प्रत्यक्ष, अनुमान, उपमा र शब्द) हुने र यसबाट प्राप्त भएको ज्ञान प्रमाणिक हुने मुख्य निचोड यस दर्शनमा पाइन्छ । प्राचीन दक्षिण एसियाली दर्शनमा तर्कशास्त्र, प्रमाण शास्त्र, आन्वीक्षिकी, हेतुविद्या आदि नाम दिइएको न्याय दर्शन वास्तवमा यथार्थवादी ज्ञान सिद्धान्त हो । पदार्थको सम्यक् ज्ञानबाट मोक्ष प्राप्त हुन्छ भन्ने सिद्धान्त नै यस दर्शनको मूल सिद्धान्त हो । यस दर्शनले वस्तु स्वयं के हो भन्नेबारेमा नभई वस्तुका बारेमा ज्ञान हासिल कसरी गर्ने भन्नेबारे रूचि राख्दछ ।
वैशेषिक दर्शन
वैशेषिक दर्शनका प्रणेता महर्षि कणाद हुन । वैशेषिक दर्शनअनुसार दुुःखबाट मुक्ति पाउन भगवानको दर्शन पाउन आवश्यक छ । यसनिम्ति श्रवण, मनन र ध्यान गर्नु आवश्यक हुन्छ । महर्षि कणाद दुईवटा प्रमाणलाई मान्दछन । पहिलोलाई प्रत्यक्ष र दोस्रोलाई अनुमान भनिन्छ । यस दर्शनमा सबै पदार्थमा गुण हुन्छ भनी विश्वास गरिन्छ । यस दर्शनमा पृथ्वीमा गन्ध, जलमा रस, अग्निमा रूप, वायुमा स्पर्श र आकाशमा शब्दजस्ता विशेष गुण हुन्छ भनी उल्लेख गरिएको छ । काल, दिक र आत्माको विशेष गुण हुँदैन भनिएको छ । महर्षि कणादले पदार्थका एघार गुण मानेका छन । यस्ता गुणहरूमा रूप, रस, गन्ध, स्पर्श, संख््या, परिमाण, पृथक्त, संयोग, विभाग, पुरत्व र अपुरत्व पर्दछन ।वैशेषिक दर्शन पदार्थको सच्चा स्वरूप र गुणहरूको ज्ञानद्वारा संसारलाई बुझ्न खोज्ने तथा पदार्थको सच्चा ज्ञानबाट नै मोक्ष प्राप्त हुन्छ भन्ने दर्शन हो । ‘विशेष नामको पदार्थलाई समेत मान्ने हुँदा यसको नाम वैशेषिक रहेको भनिन्छ ।महर्षि कणादद्वारा प्रतिपादन भएको यो दर्शन अनिश्वरवादी दर्शन हुँदाहुँदै पनि यसले वेदलाई नकार्न नसक्ने भएकाले पूर्ण रुपमा नास्तिक दर्शन होइन । यसले पनि न्यायदर्शनले जस्तै प्रमाण खोजी गर्छ र मात्र पुष्टि गर्दछ । यस दर्शनले परमाणुलाई जीवन र जगतको मुख्य आधार मान्ने भएकाले यसलाई परमाणुवादी विचारसमेत भनिन्छ । परमाणु अविभाजित सूक्ष्म अणु हो, जसलाई देख्न सकिंदैन तर यसमा रहेको विशिष्ट गुणका कारण विशेष पदार्थ जन्मन्छ भनेर अन्नको बीउमा भएको गुणले त्यही अन्न उत्पादन हुनु उक्त बीउको विशिष्ट गुण हो भनेर यो दर्शनले प्रमाणिक कुराहरू गर्ने काम गर्छ । पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु र आकाश) विभाजन गर्न नसकिने अणु हो भने प्रत्यक्ष र अनुमान प्रमाण हो भनेर वैज्ञानिक तरिकाको व्याख्या यस दर्शनमा पाइन्छ । साथै, जीवात्मा र परमात्मा नामक् २ द्रव्य नै ज्ञानको स्रोत हो भनेरसमेत यस दर्शनले पुष्टि गरेको छ ।
मीमांसा दर्शन
जैमिनीद्वारा प्रतिपादित यो दर्शन वेदमा उल्लेख भएका विषयवस्तु व्याख्या गर्न र वेदको अस्तित्वमाथि आएको संकट समाधान गर्न आएको दर्शन हो । मीमांसा भन्नाले अनुभव र तर्कबाट कुनै विषयवस्तुको मूलतत्व पत्ता लगाउनु भन्ने हुन्छ । मीमांसाको अर्थ विवेचना गर्नु, तर्क—वितर्कद्वारा कुनै विषयको मूलतत्व वा वास्तविकता पत्ता लगाउनु, निष्कर्ष निकाल्नु र विवादको समाधान गर्नु भन्ने हो । पूर्व मीमांसा र उत्तर मीमांसा गरी यसका दुई भाग छन् । व्यवहारमा पूर्व मीमांसालाई मीमांसा र उत्तर मीमांसालाई वेदान्त भनिन्छ ।मीमांसा दर्शन वैदिक अवधारणमा अर्थात् वेद र ब्राह्मणहरूको व्याख्या गर्ने, वेदका मन्त्रको अर्थ स्पष्ट पार्ने र वैदिक मान्यता एवं आदर्शहरूमा देखा पर्ने अन्तर्विरोधहरूको समाधान गर्नेजस्ता काम गर्दछ । मीमांसा सूत्रमा धर्म, यज्ञ र कर्मकाण्डको विवेचना गरिएको छ । यस दर्शनले वेदको प्रमाणिकतालाई सर्वोपरि ठान्दछ । मीमांसकहरूले वेदलाई स्वनिर्मित, कहिले नाश नहुने संसारको सबैभन्दा श्रेष्ठ मानेका छन् । यो कसै व्यक्तिले रचना गरेको होइन, आफैँ उत्पत्ति भएको हो, त्यसैले यो दोषरहित पनि छ भन्ने उनीहरूको मान्यता रहेको छ ।यो दर्शन आउनु अघि पूजापाठ, यज्ञ, हवन आदिबाट मानिसहरू दिक्क भएको अवस्थामा वेदमा रहेको ज्ञान वा मूलतत्वलाई अर्कैतिर बंग्याउन थालिएपछि बौद्धिक खालको कर्मकाण्ड गराउने उद्देश्यले मीमांसा दर्शन जन्मिएको हो । त्यसैले यसलाई प्राचीन दक्षिण एसियाली दर्शनमध्येको वस्तुगत भाववादी दर्शन भन्न सकिन्छ । यो दर्शनले कर्म गर्नुपर्ने र कर्मद्वारा नै मानिस बन्धनबाट मुक्त हुने भएकाले मुख्य ५ वटा कर्महरू (नित्यकर्म, नैमित्तिक कर्म, काम्य कर्म, निषिद्ध कर्म र प्रायश्चित्त कर्म) को बारेमा यस दर्शनमा उल्लेख गरी वेदलाई ज्ञानको मूलस्रोत हो भनी ईश्वरको सट्टा वेदलाई प्रमुख प्राथमिकता दिएको पाइन्छ ।
वेदान्त दर्शन
वेदान्त दर्शन प्राचीन दक्षिण एसियाली दार्शनिक प्रणाली अन्तर्गतको एक मनोगत भाववादी दर्शन हो । वेदान्त दर्शनको सामान्य अर्थ वेदको सिद्धान्त हो । वेदको अध्ययनपछि निकाल्ने निष्कर्ष वा अन्त्य नै वेदान्त हो । यसलाई वैष्णव दर्शन पनि भनिएको छ । वेदान्त दर्शन उपनिषद्हरूको सिद्धान्तहरूमा आधारित छन् । यसका विभिन्न सम्प्रदायहरू छन् । यिनलाई अद्वैत, विशिष्टाद्वैत, द्वैत र शुद्धाद्वैत भनिन्छ । वेदान्त दर्शनका प्रणेता तथा व्याख्याता महर्षि व्यास हुन । यिनको व्रह्मसूत्र ग्रन्थले वेदान्त दर्शनको सार प्रस्तुत गरेको छ । ब्रह्मको सत्तामा विश्वास गर्ने भएकाले वेदान्त दर्शनलाई ब्रह्मवाद पनि भनिन्छ । वेदान्त दर्शन पछिल्ला वैदिक साहित्यको विवेचना भएकाले यसलाई उत्तरमीमांसासमेत भनिन्छ । ज्ञानमा जोड दिने भएकाले यस दर्शनलाई ज्ञानकाण्ड पनि भनिन्छ ।ज्ञानमा जोड दिने भएकाले यस दर्शनलाई ज्ञानकाण्ड पनि भनिन्छ ।सम्पूर्ण वेदको अन्तिम भाग वा निष्कर्ष (१०८ वटा उपनिषद्) नै वेदान्त हो । श्रीमद्भगवद गीता (संस्कृतःश्रीमद्भगवद्गीता) वा श्रीमद्भागवत गीताहिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ ।श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडि आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख भए यो समस्या हरव्यक्तिलाई आइपर्ने समस्या हो । यसलाई प्राचीन ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो । त्यही वेदको अंतिम भागलाई उपनिषद भनिन्छ । मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीता संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् ।
बौद्ध दर्शन
बौद्ध दर्शन संसारका सबै वस्तुहरू अनित्य एवं क्षणिक छन् भन्ने एक अनिश्वरवादी एवं अनात्मवादी दर्शन हो । यस दर्शनको प्रतिपादन सिद्धार्थ गौतमले गरेका हुन् र त्यही कारण उनी भगवान् गौतम बुद्धका नामले कहलिएका हुन् । बौद्ध दर्शन संसारका सबै वस्तुहरू अनित्य एवं क्षणिक छन् भन्ने एक अनिश्वरवादी एवं अनात्मवादी दर्शन हो ।यस दर्शनका प्रतिपादक सिद्धार्थ गौतम हुन् । आजभन्दा करिब २६०० वर्ष पहिले लुम्बिनीमा जन्मेका उनी राजकुमार थिए तर उनले आफ्नो राजपाट छोडी ज्ञानको खोजीमा हिँडे । लामो त्यागपछि उनले ज्ञान प्राप्त गरे । त्यही ज्ञानको सार नै बौद्ध दर्शन हो । उनको ज्ञान अहिंसामा आधारित छ । उनले प्राप्त गरेको ज्ञान तीन वटा खण्ड (त्रिपिटक) मा समेटिएको छ ।बुद्धका शिक्षालाई सङ्क्षिप्तमा चार आर्य सत्य भनिन्छ । ती हुन— संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख निवारणका उपायहरू छन् । इन्द्रियद्वारा भौतिक वस्तुमा हुने आशक्तिलाई दुःख भनिएको छ । असीमित इच्छालाई त्याग गर्दै तृष्णालाई शमन गर्न सकियो भने दुःखको निवारण हुन सक्छ भन्ने यस दर्शको मान्यता रहेको छ ।दुःख निवारणका लागि आठ वटा उपाय बताइएको छ, ती हुन्— सद् विश्वास, सही अठोट, सत्य कार्य, सत् जीविका, सत् प्रयास, सही चिन्तन र साँचो एकाग्रता । बौद्ध दर्शनले आत्मा, ईश्वर, बह्म आदि कुरालाई मान्दैन । यसले जीव र जगतको सृष्टि ईश्वरले गरेको भन्ने कुरामा पनि विश्वास गर्दैन । यसका साथै बुद्धवादले वेद आदि ग्रन्थलाई स्वतः प्रमाण पनि मान्दैन । यी कुराहरूलाई हेर्दा बौद्ध दर्शन पूर्णतः भौतिकवादी दर्शन हो भन्न सकिन्छ । तर यसले मानिसको पूर्व जन्म र पुनर्जन्ममा विश्वास गर्ने हुँदा यो दर्शन पनि भाववादबाट मुक्त हुन नसकेको देखिन्छ ।यो दर्शन अहिंसामा आधारित छ । गौतम बुद्धले प्रतिपादन गरेको ज्ञान तीनवटा खण्ड (त्रिपिटक)मा समेटिएको छ । बुद्धका शिक्षालाई संक्षिप्तमा चार आर्य सत्य भनिन्छ । ती हुन— संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख निवारणका उपायहरू छन् । यसले जीव र जगतको सृष्टि ईश्वरले गरेको भन्ने कुरामा पनि विश्वास गर्दैन । यसका साथै बुद्धवादले वेद आदि ग्रन्थलाई स्वतः प्रमाण पनि मान्दैन । यसले मानिसको पूर्वजन्म र पुनर्जन्ममा भने विश्वास गर्दछ ।
सांख्य दर्शन
महर्षि कपिलबाट सांख्य दर्शनको प्रतिपादन भएको मानिन्छ । सामान्य अर्थमा साङ्ख्य भन्नाले संख्या वा गणना भन्ने बुझिन्छ तर प्राचीनकालमा संख्या शब्दको अर्थ कुनै विषयलाई प्रमाणित तथा परिष्कृत रूपमा विचार गर्नु हो । यस दर्शनले प्रकृति र पुरुषलाई दुई मूल तत्त्व मान्दछ । यस दर्शनअनुसार प्रकृति जड छ भने पुरुष चेतन नित्य छ । प्रकृति र पुरुषको संयोगबाट नै सृष्टिको अस्तित्व कायम रहेको छ । यस दर्शनले प्रकृति जड र एक मात्र छ तर पुरुष चेतन र नित्य छ भन्ने विश्वास गर्दछ । सांख्य दर्शनले तत्त्वलाई चार भागमा बाँडेको छ– प्रकृति, प्रकृति–विकृति उभयात्मक, केवल विकृति र चौथोेमा अनुभयात्मक । यो दर्शन नास्तिक दर्शनको रुपमा परिचित छ । किनकि यो दर्शनका अनुसार संसारमा ईश्वर छैन र शाश्वत सत्य २ वटा छन् । एउटा पुरुष (आत्मा÷चेतना) हो भने अर्को प्रकृति (शरीर÷पदार्थ) हो र यही नै सत्य हो, यो बाहेक अन्य कुराहरू वाहियात हुन् भन्दछ । संसारको विकासका लागि यी २ वटा तत्वबीच योग हुनुपर्छ भनेर यो दर्शनले व्याख्या गर्दछ । यसका साथै २५ वटा तत्वहरू (प्रकृति १, विकृति १६, प्रकृति विकृति ७ र न प्रकृति न विकृति १) को ज्ञान नभएमा दुःखको कारण बन्दछ र यसबाट छुटकारा पाउन २५ तत्वको ज्ञान हुनुपर्ने भनी यो दर्शनले व्याख्या गर्दछ ।
शैव दर्शन
शैव एवं पाशुपत र शाक्त दर्शन पनि वेदान्त दर्शनजस्तै भाववादी दर्शन हो । वेदान्त दर्शनमा वैष्णववादी व्याख्या गरिन्छ भने यसमा शिव या शैव तत्त्वलाई सृष्टिको कारण मान्ने गरिएको छ । यस धारामा पनि केही उपधारा रहेका छन्, ती हुन्—शैव, पाशुपत र शाक्त । यी तीनै उपधाराहरूको आआफ्नै किसिमले व्याख्या गरिएको छ । शैव दर्शनले कर्मादि सापेक्ष अर्थात् कर्मादिसँग सम्बद्ध परमेश्वरलाई जगतको कारण मानेको छ । पाशुपत धाराले महेश्वरलाई जगतको कारण मानेको छ भने शाक्त धाराले जगतको सृष्टि, स्थिति र प्रलयको कारण चेतनातत्वलाई मानेको छ । यसले निर्विकल्प चेतनालाई शिव भनेर पुकार्छ ।
पूर्वीय दर्शनले मुलुकको सार्वजनिक प्रशासनमा पार्ने प्रभाव
पूर्वीय दर्शनबाट सार्वजनिक प्रशासनमा सकारात्मक ,नकारातमक दुवै प्रभाव पर्ने गरेको देखिन्छ ।भगवत गीतामा “पृथ्वीमा ज्ञान भन्दा शुद्ध चिज केही छैन“ वेदमा “शिक्षा त्यो चिज हो जसले ब्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ“ भनिएको छ भने शंकरचार्यले “आत्मानुभूती नै शिक्षा भनेका छ्न् ।“ आज भन्दा पाँच हजार बर्ष पहिला नै उपनिषद् मा “शिक्षा स्वतन्त्रताको लागि हो“ भनेर उल्लेख गरिएको पाइन्छ । “निष्काम कर्म गर “को मूल संदेश दिएको गीताको महिमा विश्वभरी आज पनि सान्दर्भिक छ ।बुद्धका चार आर्य सत्यहरु– पहिलो–संसारमा दुःख छ, दोस्रो–दुःखको कारण छ । तेस्रो– दुःखको निवारण छ । चौँथो– निवारणका लागि अष्टंगिक मार्ग छ। बुद्धका अष्टांग मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प,सम्यक् वाक,सम्यक् कर्मान्त,सम्यक् आजीवन ,सम्यक् ब्यायाम सम्यक् स्मृति र सम्यक् समाधि हुन् । प्रज्ञा, शिल र समाधिलाई बुद्ध धर्मका त्रिरत्न तथा श्रेष्ठ मार्ग मानिन्छ । यी सत्य हुन् यीनिहरुले समग्र जीवनको यथार्थ बोकेको छ र गन्तब्य देखाएको छ । बुद्धको प्रमुख सिद्धान्त हो– कोहि अर्कोलाई स्वतः प्रमाण नमान, आफै बुझ्ने कोशिस गर । त्रिपिटकले कारण खोजी गर्न प्रेरित गर्छ । सहि विवेकको प्रयोग गरि स्वशिक्षा ग्रहण गर भन्छ । त्यति मात्र कहाँ हो र ? शान्ति र प्रेमको मार्ग देखाउने र अनुभुत गराउने यो दर्शन बैज्ञानिक दर्शन हो । यसैलाई आधार नमान्दा, पालना नगर्दा दिनदिनै विश्वभरी अशान्ति र घृणा बढ्दैछ । मानवीय मनोवृत्ति, उत्प्रेरणा र व्यवहारप्रतिको बुझाइमा परिवर्तन गर्दछ । संसारप्रतिको हाम्रो धारणालाई प्रभाव पार्दछ । सही र गलतको व्याख्याको प्रतिनिधित्व गर्दछ । मानव र संगठन बुझ्न एउटा बाटो एवं तरिका प्रदान गर्दछ । मानव जीवन, स्वतन्त्रता, सम्मानको दायित्ववोध गराउँदछ ।यसमा आत्म–सहायता कौशल (विनम्रता, आत्मनिर्भरता, स्वच्छता आदि), सामाजिक कौशल (असल व्यवहार, राम्रो आचरण, वातावरण सचेतना आदि) नैतिक सीप (साहस, दक्षता, पहल, समयनिष्ठता आदि) जस्ता मूल्यहरू समावेश हुन्छन । शान्ती,समानता, ध्यान, नम्रता, एकाग्रता, आशावाद, धैर्यता, आत्म–विश्वास, आत्मनियन्त्रण, आत्मसम्मान आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । सत्य (त्चगतज) ःशुद्धता, निष्पक्षता, इमान्दारीता, न्याय, ज्ञानको खोज, दृढ संकल्प आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । शान्तिपूर्ण सहअस्तित्व , मनोवैज्ञानिक व्यवहार (परोपकार, करुणा, विचार, नैतिकता, क्षमा आदि) र सामाजिक व्यवहार (भाइचारा, समानता, लगनशीलता, अरूको सम्मान, वातावरणीय जागरूकता आदि) जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् ।
पुर्वीय दर्शनले सहिष्णुता र सद्भाव ,अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने , भाईचारा ,अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, भेदभाव नगर्ने, तेरोमेरो नभन्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरुमा जोढ दिने भएकाले मानिसको दिनचर्या, आश्रम प्रबन्ध र कानुनको पालनाजस्ता विषयमा जोड दिन्छ । यसका साथै कुनै पनि मुलुकको शासन व्यवस्था कस्तो हुनुपर्दछ, नागरिक र राज्यबीचको सम्बन्ध, राज्यले नागरिकका लागि पुरा गर्नुपर्ने दायित्व र नागरिकले मुलुकको हित तथा राष्ट्रिय उन्नति र समृद्धिका लागि पूरा गर्नुपर्ने कर्तव्य समेतलाई व्याख्या गरेको छ । व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरुसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन पूर्वीय दर्शनको रसस्वादन गर्नु आवश्यक हुन्छ । यस्तो रसस्वादन लागि व्यक्ति आफैँले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ । व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी त्याग्नुपर्दछ । अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ताको परिणाम भयावह हुन जान्छ । असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन–कथासँग समेत जोडेर हेर्न सकिन्छ । राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित उल्लेख गरेको छ । वेदको निष्कर्ष, गीताको मुल संदेश, बुद्धका चार आर्य सत्य र अष्टाङमार्ग वाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरु तयारगरी उनिहरुको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दे मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ । नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ । मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु समतामूलक समाजको निर्माण गर्न असल नागरिकको पहिचान दिलाउन समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न सामाजिक न्यायको प्रवर्द्धन गर्न नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन नेपालीहरुबीच आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न राष्ट्रिय एकता प्रवर्द्धन गर्न कला, संस्कृतिको सम्मान, संरक्षण र सम्वर्धन गर्न शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न सुशासन कायम गर्न मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न राज्यका शासकिय प्रशासकिय एवं व्यवस्थापकिय अंगहरुमा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिता सुनिश्चित गर्न सबै प्रकारका भेदभावको अन्त्य गरी सम्मानपूर्वक जीवन यापन गर्न मेलमिलाप कायम गर्न ।नेपालको संविधानले लोकतान्त्रिक शासन र मूल्य मान्यतालाई केन्द्र बिन्दुमा राखेको छ । लोकतन्त्र र मानव जीवनलाई नङमासुको सम्बन्धका रुपमा प्रत्याभुत गर्दै मौलिक हककै रुपमा मानवीय मूल्यहरुलाई स्विकार गरेको छ । मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु–याउँछ ।
गुरुकुल र परिवारले बालबालिकालाई शिक्षा दिँदा र हुर्काउँदा नैतिक शिक्षा दिने चलन, नीति कथा आदिले मानिसलाई आफ्ना अधिकारका लागि लड्नभिड्न मात्र नभई उसले पूरा गर्नुपर्ने कर्तव्यसमेतको बोध गराएको छ । असल संस्कार, वातावरण र संगतमा हुर्किएको व्यक्तिमा गलत सोचको विकास हुने सम्भावना निकै कम रहन्छ । व्यक्तिले आफू, परिवार, समाज र राष्ट्रको व्यक्तित्व निर्माणका लागि प्रकृति अनुरूप समाजसँग मिलेर कर्तव्य निर्वाह गर्नुपर्ने अनिवार्यता शास्त्रमा उल्लेख छ । साथै सबैले व्यक्तिगत रुपमा कर्तव्य निर्वाह गर्दा अरुको अधिकार पनि सुरक्षित हुनुपर्दछ भन्ने मान्यता लिएको सनातन दर्शनले सदाचार नीतिलाई राज्य सञ्चालनको मुख्य आधार मानेको पाइन्छ । अधिकार, कर्तव्य, अनुशासन, विधिको पालना, असल कर्म, सामाजिक मर्यादा, सबैप्रतिको सम्मान भाव र राष्ट्रिय हितलाई सदाचारिताको पूर्वसर्तका रुपमा पूर्वीय दर्शनले व्याख्या गरेको छ । व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव प्रत्यक्ष वा परोक्ष रुपमा राज्य प्रणालीमा पर्दछ । त्यसैले व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न सकेमा मात्र राज्यको व्यक्तित्व निर्माण हुन सक्छ । व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न पुर्वीय दर्शनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
मानिसमा धैर्य, उपकार ,संयम, चोर्नु नगर्नु,पवित्रता,शुद्ध आचरण,विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनिएको छ र उपायाहरु पनि सुझाइएको छ । जुन बिज्ञान सम्वत छ्न् । अपरिहार्य छन् । ब्यक्तिले त्यी बिशेषता हासिल गर्न सक्दा त्यसले नै दृर्घकालिन, शान्ति, खुसी र आनन्द मिल्छ । असत्यबाट सत्यको नजिक लौजाऊ । अंधकारबाट प्रकाशको नजीक लैजाऊ ।। मृत्युबाट अमरताको नजीक लैजाऊ।“ यो नै जीवनको लागि उत्तम मार्गदर्शन हो । बास्तवमा हामीसँग यस्ता दर्शनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो ।कुनै पनि व्यक्तिको जीवनको सार्थकता उसले अरुसँग गर्ने व्यवहारले निर्धारण गर्दछ । पूर्वीय दर्शनले व्यक्तिमा हुने अहंकार, काम, क्रोध, लोभ र मोहलाई त्याग गर्नका लागि स्वमूल्यांकनमा जोड दिएको छ । स्वमूल्यांकन र सदाचारिताबीच सकारात्मक सम्बन्ध रहेको हुन्छ । स्वमूल्यांकन गर्न सक्ने व्यक्ति अनुशासित त हुन्छ नै साथै अरुलाई सम्मान गर्ने, आफ्नो कर्तव्यमा नचुक्ने, सबैसँग मित्रवत् व्यवहार गर्न सक्ने हुन्छ । कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।
निष्कर्ष
पूर्वीय दर्शनको मूल सार भनेकै उत्कृष्ट नागरिक बन्नु, समुन्नत राज्य निर्माण गर्नु हो । जसका लागि हरेक नागरिक आफ्नो जिम्मेवारीप्रति निष्ठावान् हुनुपर्दछ । सकारात्मक सोचको विकास गर्नुपर्दछ । सदाचारितामा सदा समर्पित हुनुपर्दछ । अरुलाई सम्मान गर्नुपर्दछ । असल कर्म नै समुन्नतिको आधार हो भन्ने सोचको विकास गर्न सक्नुपर्दछ । यसका साथै सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले अनावश्यक लोभ, लालच त्यागेर राज्यको नीति नै आफ्नो नीति मानेर कर्म गर्ने र सदाचारितालाई मूल मन्त्र बनाउन सकेमा पूर्वीय दर्शनको ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ । पूर्वीय दर्शनलाई सही रुपमा बुझेर रसपान गर्न सकेमा यसले हरेक नागरिकलाई व्यक्ति, परिवार, समाज र राष्ट्र सबैको हितमा कर्मशील बनाउनुको साथै हरेक तह र तप्कासँगको सम्बन्ध विकास, विस्तार र कर्तव्य पालना गर्न सक्ने समेत बनाउँछ । पूर्वीय दर्शनमा नश्वरतालाई दुःखको कारण मानिएको छ। संसार आवागमन, जन्म–मरण र नश्वरताको केन्द्र छन्। यस अविद्याकृत प्रपञ्चबाट मुक्ति पाउन नैं मोक्ष छ। प्रायः सबै दार्शनिक प्रणालीहरूले संसारका दुःख मय स्वभावलाई स्वीकार गरे छ र यसले मुक्त हुनेको लागि कर्ममार्ग या ज्ञानमार्गको बाटो अपनाएको छ। मोक्ष यस प्रकार जीवनको अन्तिम परिणति हो। यसलाई पारपार्थिक मूल्य मानेर जीवनका परम उद्देश्यका रूपमा स्वीकार गरिएको छ। मोक्षलाई वस्तुसत्यका रूपमा स्वीकार गर्न कठिन छ। फलतः सबै प्रणालीहरूमा मोक्षको कल्पना प्रायः आत्मवादिएको छ। अंततोगत्वा यो एक वैयक्तिक अनुभूति नैं सिद्ध हुन पाउँछ।
पूर्वीय र पाश्चात्य चिन्तन परम्पराका सकारात्मक एवम् व्यवहारिक आयामहरूको समन्वयात्मक दृष्टिकोणलाई अनुसरण गर्दा मानव कल्याण समाज, विकास र विश्व शान्ति प्राप्त गर्न सकिन्छ । धर्म, संस्कार, संस्कृति, कला र साहित्य संग जोडिएको पूर्वीय चिन्तन परम्परामा मानवको चरित्र र सामूहिकतालाई महत्त्व दिएको हुन्छ भने पाश्चात्य चिन्तन परम्परामा वैज्ञानिक खोज, आधुनिक प्रविधि, आलोचनात्मक चेतसहितको ज्ञान र तर्कशास्त्रलाई विशेष प्राथमिकता दिएको हुन्छ । यी दुवै बेग्लाबेग्लै चिन्तन परम्पराको सकारात्मक र व्यवहारिक पक्षको समन्वयात्मक प्रयासबाट अघि बढ्नसकेमा विश्वव्यापी शासन प्रणालीबाट नेपालले पर्याप्त लाभ लिनसक्ने देखिन्छ ।सत्य र अहिंसाको भावना मर्दै गएको शान्ति र सद्भावको अवस्था कमजोर रहेको अपराधका नयाँ नयाँ शृंखला बढ्दै गएको जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको भ्रष्टाचार मौलाएको नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको मानवीयता दिनप्रतिदिन दयनीय बन्दै गएको विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको अवस्थामा पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर दयनिय अवस्थामा रहेको नैतिकता र सादाचारयुक्त कार्यसंस्कृति अभाव रहेको राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मानमा एकरुपता कायम हुने अवस्था कमजोर रहेको अवस्थामा मानविय मूल्यहरु आत्मसाथ गर्दै आफु र समाजप्रति इमान्दार बनाउन सक्ने देखिन्छ । ।(उप्रेती नेपाल सरकारका उपसचिव हुन।)